काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री वालेन्द्र शाहलाई आफ्नै सार्वजनिक प्रतिबद्धताको जवाफ दिन आग्रह गरेका छन् ।
आङ्देम्बेले जोखिमयुक्त बस्तीबाट हटाइएका सुकुम्बासी नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने सरकारको दाबी व्यवहारमा असफल भएको बताएका हुन् ।
उनले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि सरकारले नागरिकलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा पुर्याएको आरोप लगाएका हुन् ।
प्रधानमन्त्री शाहले यसअघि जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित तथा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सार्वजनिक प्रतिबद्धता जनाएको स्मरण गराउँदै आङ्देम्बेले त्यसको कार्यान्वयनबारे प्रश्न उठाए ।
‘प्रधानमन्त्रीजीले जोखिममा रहेका नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानान्तरण गर्ने प्रतिबद्धता गर्नुभएको थियो । आज म सोध्न चाहन्छु, त्यो प्रतिबद्धता कहाँ हरायो? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित व्यवस्थापन ?,’ उनले भने ।
आङ्देम्बेका अनुसार सुरक्षित आश्रयको आश्वासन दिएर कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी नागरिक अहिले डुबान, हिलो, अभाव र असुरक्षाबीच बस्न बाध्य भएका छन् ।
उनले यसलाई सरकारको गैरजिम्मेवारी र कमजोर व्यवस्थापनको परिणाम भएको दाबी गरे ।
उनले होल्डिङ सेन्टरमा पुगेर विस्थापितहरूको अवस्था बुझ्न तथा सरकारसँग जवाफ माग्न गएका युवालाई नियन्त्रणमा लिइएको घटनाप्रति पनि आपत्ति जनाए ।
माजिद अन्सारीसहितका युवालाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउने अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाए ।
लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो ? भन्ने प्रश्न गर्दै सरकार नागरिकका आवाज दबाउने दिशामा गएको टिप्पणी गरे ।
प्रधानमन्त्रीले आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको अवस्थामा आत्मसमीक्षा गर्नुको सट्टा आलोचना गर्ने नागरिकमाथि दमन गर्न खोजेको आरोप पनि उनले लगाए ।
यस्तो प्रवृत्तिले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार कमजोर हुने उनको भनाइ थियो ।