समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक गरेको हो ।  समितिले सोमबार सूचना जारी गर्दै सरकारबाट विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको नामावली सार्वजनिक गरेको हो । समितिको पछिल्लो निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो । साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका ऋणीलाई सप्रमाण कार्यालयमा उपस्थित हुन समितिले आग्रह गरेको छ । यसैगरी, हालसम्म ऋण चुक्ता नगरेका ऋणीलाई यथाशीघ्र बुद्धनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा कानुनबमोजिम कडा कारबाही गरी असुलउपर गरिने समितिद्वारा जारी सूचनामा उल्लेख छ । 

बागमती प्रदेशले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडाैं । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ ।  प्रदेशसभाको आज साँझ ५ः०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।  यस्तै, प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आव २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तावमाथि आजैदेखि छलफल हुने भएको छ ।  प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सरकारको आगामी आव २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका थिए ।  सो प्रस्तावमाथि आज बिहान बस्ने  प्रदेशसभाको बैठकमा छलफल हुने कार्यसूची रहेको सचिव पौडेलले बताए । 

करिब ६ करोडकाे भेप बरामद, एक जना पक्राउ

काठमाडौं । काठमाडाैंकाे न्यूराेडबाट ६ करोड रूपैयाँमूल्य बराबरको भेपसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ३२ वर्षीय नवीन खड्कालाई अवैध रूपमा राखिएको भेपसहित पक्राउ गरिएकाे हाे ।  काठमाडौं महानगरपालिका २२ स्थित खिचापोखरी आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा सञ्चालन रहेको स्माइल योर च्वाइस पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा भएको भेपमाण्डु ट्रेडर्सको गोदाममा प्रहरीले छापा मारेको थियो । विभिन्न कम्पनीका २८ हजार ५०० वटा बिलबिजक नभएका अवैध सामग्री (भेप) बरामद गरिएको कार्यालयका प्रमुख सन्तोष खडकाले जानकारी दिए । खड्काले गोदाम र पसलका सञ्चालक ललितपुर महालक्ष्मी नगरपालिका ८ का खड्कालाई नियन्त्रणमा लिएको बताए । पक्राउ परेका खड्का उक्त पसलका सञ्चालक रहेको खुलेको छ। बरामद सामग्रीको स्रोत, भित्रिएको बाटो र बिक्री वितरण सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।