धवलागिरिमा खुल्दै नयाँ ‘भर्जिन रुट’, ३ करोड बजेट विनियोजन

काठमाडौं । प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी-गुर्जा-रुघाचौर-जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ । हालसम्म पर्यटकका लागि नखुलेको यस ‘भर्जिन रुट’लाई आगामी हिउँदे यामदेखि सञ्चालनमा ल्याउने योजना बनाइएको छ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पर्यटन विभागको सहयोगमा हालै सम्पन्न सम्भाव्यता अध्ययनका आधारमा धवलागिरि गाउँपालिका-४ मुदीदेखि वडा नं १ गुर्जा हुँदै वडा नं २ स्थित जलजलासम्मको पदमार्ग सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।  ‘यो एकदमै नयाँ अर्थात् ‘भर्जिन रुट’ हुनेछ । यस पदमार्गमा पर्यटक लैजान आवश्यक तयारी गर्न पर्यटन व्यवसायी र स्थानीयवासीलाई अनुरोध गर्दछु,’ मन्त्री पुनले भने । उनका अनुसार पदमार्गका अप्ठ्यारा स्थानमा बाटो निर्माण, रेलिङ जडान, विश्रामस्थल तथा झोलुङ्गे पुल निर्माणमा पर्यटन मन्त्रालयले सहयोग गर्नेछ । यही असारको पहिलो, दोस्रो र तेस्रो सातामा मन्त्री पुनको बेनीस्थित सम्पर्क कार्यालयका प्रमुख चित्र तिलिजाको नेतृत्वमा गएको टोलीले मुदी-गुर्जा-जलजला, धौलागिरि चक्रीय पदमार्ग तथा अन्नपूर्ण गाउँपालिका-१ दोवादेखि रघुगङ्गा गाउँपालिका-७ सोवाङधुरी हुँदै चिमखोला जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन गरेको थियो । टोलीले तयार पारेको प्रतिवेदनमा जलविद्युत् आयोजना र सडक विस्तारका कारण धौलागिरि चक्रीय पदमार्गको इटाली आधार शिविरसम्मको मार्ग जोखिममा पर्नसक्ने उल्लेख गरिएको छ । त्यसको विकल्पका रूपमा मुदी-गुर्जा-रुघाचौर-जलजला तथा दोवा-सोवाङ-चिमखोला पदमार्ग सडक विस्तारबाट प्रभावित नहुने भएकाले दीर्घकालीन सम्भावना रहेको निष्कर्ष निकालिएको छ । उक्त प्रतिवेदन गत साता मन्त्री पुन र पर्यटन मन्त्रालयलाई बुझाइएको थियो । धौलागिरि चक्रीय पदमार्ग योजनाका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै मुदी-गुर्जा-जलजलालगायत पदमार्गको सम्भाव्यता अध्ययनका लागि २१ लाख रुपैयाँ बजेट छुट्याइएको मन्त्रालयको वार्षिक पुस्तिकामा उल्लेख छ । मुदीका स्थानीय विजय घर्तीले नयाँ पदमार्गले सुस्ताएको पर्यटन क्षेत्र पुनः चलायमान हुने विश्वास व्यक्त गर्दै मुदी-गुर्जा खण्डमा आधारभूत पदमार्ग, सञ्चार सुविधा तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनका अनुसार पदमार्ग सञ्चालनले स्थानीयस्तरमा रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना गर्नेछ । सडक विस्तारसँगै पुराना पदमार्ग विस्थापित हुन थालेपछि नयाँ पदमार्ग पहिचान गरी पूर्वाधार निर्माण र प्रवर्द्धन गर्न स्थानीयवासी तथा जनप्रतिनिधिले लामो समयदेखि माग गर्दै आएका थिए । धौलागिरि हिमाल र ढोरपाटन सिकार आरक्षलाई जोड्ने प्रस्तावित यो पदमार्ग साहसिक, प्राकृतिक र सांस्कृतिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिएको छ । संसारको सातौँ अग्लो धौलागिरि हिमालको फेदीमा रहेको मुदीमा मगर र दलित समुदायको बसोबास छ भने ‘लुकेको गाउँ’का रूपमा परिचित गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको छ । गुर्जादेखि ढोरपाटन जाने बाटोमा पर्ने रुघाचौर तथा ढोरपाटन सिकार आरक्षभित्रको जलजलाबाट धौलागिरिलगायत हिमशृङखलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । धवलागिरि गाउँपालिका-४ का वडाध्यक्ष यामप्रसाद घर्तीले सडक निर्माणको सम्भावना न्यून र बस्तीबाट टाढा रहेकाले धौलागिरि-ढोरपाटन पदमार्ग दीर्घकालीन रूपमा पर्यटकीय आकर्षण बन्नसक्ने विश्वास व्यक्त गरे । उनले यस पदमार्गले धवलागिरि क्षेत्रको पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरे । 

गर्मी छल्न रिगतालमा पर्यटकको ओइरो, असारमै हुन्छ पुस–माघको चिसो महसुस

काठमाडौं ।  हिजोआज दैनिक जसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङको तल्लो क्षेत्रमा निकै गर्मी छ । जसका कारण समुन्द्री सतहदेखि तीन हजार २०० मिटरको उचाइमा रहेको रिगताल क्षेत्रमा सितल छ । यहाँ पुस माघ महिनाको जस्तो चिसो सिरेटो चलिनै रहन्छ । गर्मी छल्न आन्तरिक पर्यटक दिनहुँ यहाँ पुग्छन् । उच्च पहाडी हावापानी, शान्त वातावरण र प्राकृतिक सुन्दरताको रसास्वादन गर्न आउने पर्यटकका कारण रिग क्षेत्रमा चहपहल बढेको हो । बर्खा याममा फूलेका भुइँफूल र अहिया पालुवाले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्ने गरेको छ । बागलुङको निसीखोला गाउँपालिका-६ मा पर्ने रिग ताल एक दशक अगाडिसम्म ओझेलमा थियो । तर पछिल्लो समय प्रचारप्रसार हुँदा पर्यटक आकर्षणको केन्द्र बनेको हो । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिकै पर्ने रिग क्षेत्रमा प्रकृतिसँगै गोठाले जनजीवन, हजारौं सङ्ख्याका बस्तुभाउ र वन्यजन्तुसँग रमाउन आउनेको संख्या बढी छ । बागलुङ, रोल्पा र पूर्वी रुकुम जिल्लाको सङ्गम स्थल पातीहाल्नेदेखि १५ मिनेटको पैदल यात्रामा पुग्न सकिने रिगतालसम्म सडक पनि पुगेको छ । जसले पर्यटकलाई सवारी साधानमै तालसम्म पुग्न सहज बनाएको छ । पछिल्लो सात वर्षमा रिग ताल क्षेत्रमा आउने पर्यटकको सङ्ख्या ह्वातै बढेको निसीखोला गाउँपालिका-६ का पूर्णबहादुर घर्ती मगरले बताए । पहिले गोठालाले चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएको रिगतालमा अहिले दैनिक पर्यटक आउने गरेका छन् । असारको पहिलो सातादेखि नै दैनिक एक सयभन्दा बढी पर्यटक रिग क्षेत्रमा आउने गरेको घर्ती मगरले सुनाए । उनले भने, ‘सडकको विकासले गोठाला बस्ने ठाउँमा पर्यटक आउन थाले, पहिले त निसी, भल्कोट गाउँका गोठालाहरू भेडाबाख्रा, गाईभैँसी लिएर बर्खा भरि बस्ने ठाउँ हो, तर अहिले रिग डाँडाभरी मान्छेहरूको भिड लाग्छ, ठाउँ पनि राम्रो छ ।’ अरू बेलाभन्दा बिदाको दिन ५०० बढी पर्यटक रिग तालमा आउने गरेका घर्तीले जानकारी दिए । पर्यटकले गोठमै आएर दूध, दही र घ्यूसमेत खरिद गर्दा आम्दानी राम्रो हुने गरेको बताए । पर्यटकले प्लास्टिकका बोटल, बियरका सिसा र अन्य प्लास्टिकजन्य फोहोर जथाभाबी गर्ने गरेको उनले गुनासो गरे । खासगरी बुटवल, दाङ, नेपालगन्ज, चितवन, भैरहवा लगायतका ठाउँबाट पर्यटकहरू गर्मी छल्न यति बेला रिगताल आउने गरेका छन् । नेपालगन्जबाट घुम्न आएका रितेश ताम्राकारले तराईमा निकै गर्मी बढेको हुँदा एक साता सितल खोज्दै पहाड उक्लिएको बताए । पहाड आएको समयमा चौरीखर्क, ढोरपाटन, निसेलढो र रिगतलामा घुमेको उनले सुनाए । ‘तराईमा निकै गर्मी बढेको छ, यहाँको जस्तो सितल हावा पाउन त निकै गाह्रो पर्छ, यहाँको हावापानी धेरै राम्रो रहेछ, एकै छिन बस्यो भने जाडोले काप्ने अवस्था आउँछ । गर्मी महिनाभरि यतै बसौँ जस्तो लाग्यो,’ उनले भने ।  भैरहवाका प्रवेश पौडेलले पहाड घर गुल्मी आएको बेला साथीहरूसँग रिगताल घुम्न आएको बताए । भैरहवामा अत्यधिक गर्मी बढेको सुनाउँदै उनले रिगताल आएपछि यहाँको प्रकृति र हावापानीसँग रमाउँदै आनन्द आएको बताए ।

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट सिफारिस गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए १० दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो । सूचनाअनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्की (मोरङ) तथा निर्वाचन आयुक्तहरुमा सिफारिस गरिएका डा. राजीव सुब्बा (काठमाडौं) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) विरुद्ध प्रमाणसहित नेपाली वा अङ्ग्रेजी भाषामा उजुरी दिन सकिनेछ । उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख गर्नुपर्नेछ । उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ । समितिका अनुसार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालयमा बुझाउन वा जिल्ला प्रशासन कार्यालयमार्फत दस्तुरबिनै पठाउन सकिनेछ । समितिले उक्त सूचना पहिलो पटक असार २६ गते प्रकाशित गरेको जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा यही असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले उहाँहरुलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।