अघिल्लो वर्षको तुलनामा बढ्यो राजस्व संकलन, अनुदानमा पनि वृद्धि

गैरकर भने घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ मा राजस्व संकलन बढेको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष सकिनुअघि असार २६ गतेसम्मको राजस्व संकलन वृद्धि भएको देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१–०८२ को असार २६ गतेसम्म लक्ष्यको ७७.१५ प्रतिशत राजस्व संकलन भएको थियो भने यो वर्ष राजस्व संकलन वृद्धि भएर करिब ८० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्वको लक्ष्य लिएकोमा असार २६ सम्ममा ११ खर्ब ३५ अर्ब ३० करोड ३१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षमा भने कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा असार २६ गतेसम्म (शुक्रबार) १२ खर्ब १८ अर्ब ८९ करोड ८९ लाख रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको ७९.४९ प्रतिशत हो ।

कर राजस्वको प्रगति करिब बराबर, गैरकर भने घट्यो

सरकारको मुख्य स्रोत मानिने कर राजस्व संकलन लगभग बराबरजस्तो देखिएको छ भने गैरकर राजस्व घटेको छ । गत आर्थिक वर्षमा कर राजस्वतर्फ कुल १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँको लक्ष्य राखिएकोमा समीक्षा अवधिमा ११ खर्ब ५ अर्ब ७७ करोड ४९ लाख रुपैयाँ मात्र संकलन भएको देखिएको छ । जुन लक्ष्यको ७७.९१ प्रतिशत हो ।

चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा भने यो वृद्धि देखिएको छ । चालु आवमा सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ कर राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म ११ खर्ब ८१ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ (७९.८४ प्रतिशत) संकलन गरेको छ ।

जसमध्ये जनता र व्यवसायबाट उठाइने कर राजस्वतर्फ संकलन लगभग बराबरजस्तो देखिएको छ । चालु आवको समीक्षा अवधिमा यस्तो कर ८०.६ प्रतिशत रहेको छ ।

१३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ लक्ष्य रहेकोमा हालसम्म १० खर्ब ६८ अर्ब ३६ करोड २४ लाख रुपैयाँ चालु आर्थिक वर्षमा संकलन भइसकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस्तो कर गत आवमा समेत ७७.९९ प्रतिशत संकलन भएको कार्यालयले जनाएको छ ।

यस्तै, चालु आर्थिक वर्षमा सेवा शुल्क र जरिवानालगायतका गैरकर राजस्वतर्फ भने लक्ष्यको ७३.३५ प्रतिशत मात्रै उठेको छ । गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँको लक्ष्य रहेकोमा १ खर्ब १३ अर्ब २६ करोड ५२ लाख रुपैयाँ मात्र संकलन भएको छ । यो गत आवको तुलनामा भने कम हो ।

गैरकर राजस्वको लक्ष्य १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख रुपैयाँ रहेकोमा १ खर्ब ४ अर्ब २४ करोड ५० लाख रुपैयाँ संकलन भएको देखिएको छ । जुन प्रतिशतका हिसाबले ७७.१७ प्रतिशत हो ।

वैदेशिक अनुदान लक्ष्यको आधा हुँदा पनि गत वर्षभन्दा बढी

चालु आवमा पनि वैदेशिक अनुदान प्राप्ति आधा मात्र हुँदा पनि गत वर्षको तुलनामा भने वृद्धि भएको देखिएको छ । गत आवमा लक्ष्यको ४२.१९ प्रतिशत मात्र वैदेशिक अनुदान प्राप्त हुँदा चालु आवमा भने ५५.८३ प्रतिशत प्राप्त भएको देखिएको छ ।

चालु आर्थिक वर्षमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान भित्र्याउने लक्ष्य राखेको सरकारले वर्षको अन्तिम महिना आइपुग्दासम्म जम्मा २९ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ मात्र पाएको कार्यालयले जनाएको छ । यो कुल लक्ष्यको जम्मा ५५.८३ प्रतिशत मात्रै हो ।

गत वर्ष कुल ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदानको लक्ष्य राखिएकोमा २२ अर्ब ७ करोड ८७ लाख रुपैयाँ मात्र आएको थियो । जुन लक्ष्यको जम्मा ४२.१९ प्रतिशत मात्र हो ।

Share News