काठमाडौं । अध्ययन बिदा सकिएपछि कार्यालयमा हाजिर नभएको भन्दै गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानसँग स्पष्टीकरण माग गरेको छ । सचिवस्तरको कात्तिक १० गतेको निर्णयअनुसार मन्त्रालयले ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिँदै विभागीय कारबाही गर्नुपर्ने अवस्था देखिएको जनाएको छ ।
प्रधान अध्ययन बिदा समाप्त भएपछि कार्यालयमा हाजिर हुनुपर्नेमा सम्बन्धित निकायलाई जानकारी नगराई र बिदासमेत स्वीकृत नगराई अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ । प्रधान २०८३ जेठ १७ गतेसम्म अध्ययन बिदामा रहेको र जेठ १८ गतेदेखि कार्यालयमा हाजिर हुनुपर्ने उल्लेख छ । तर, तोकिएको मितिदेखि उनी कार्यालयमा अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गण मुख्यालय, लखनपुर, झापामा दरबन्दी रहेका प्रधानले आफू अनुपस्थित रहनुको कारण खुलाउँदै बाटोको म्यादबाहेक ७ दिनभित्र स्पष्टीकरण पेस गर्नुपर्नेछ ।
मन्त्रालयले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) अनुसारको कसुरमा कारबाही गर्नुपर्ने देखिएको जनाएको छ । उक्त कसुरमा नियमावलीको नियम ११० को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउनेसम्मको विभागीय कारबाही हुन सक्ने चेतावनी दिएको छ ।
