सडक भासिँदा मेची राजमार्ग बन्द, पाँचथर र ताप्लेजुङको झापासँग सम्पर्क टुट्यो
काठमाडौं । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका-९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए पनि गएराति सडक थप भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको हो । सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको छ । इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका ठूलो सङ्ख्याका मालवाहक तथा अन्य सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन् । ‘दिनदिनैको वर्षाले सडक भासिने र पहिरो झर्ने क्रम बढ्दो छ,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिएका थियौँ । जोखिम झन बढेकाले आजदेखि उक्त सडकखण्ड अनिश्चितकालका लागि पूर्ण रूपमा बन्द गरेका छौँ ।’ राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी-सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन आइतबारको बाढीले बगाएपछि उक्त सडक पनि अवरुद्ध भएको छ । यस्तै, इलाम-झापा जोड्ने छोटो दूरीको केचना-कञ्चनजङ्घा सडक (मेची करिडोर) अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाएपछि इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सडक डिभिजन इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि डेढ महिनाअघि नै सिभिल संरचना तयार भए पनि भारत सरकारले निःशुल्क उपलब्ध गराएको बेलीब्रिजको सामग्री हालसम्म नआउँदा समस्या समाधान हुन सकेको छैन । सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि यात्रा गरेका सर्वसाधारण पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन् ।
मण्डीखाटारमा बेनेभिस आइसक्रिमको पाँचौं शाखा सञ्चालनमा
काठमाडौं । बेनेभिस आइसक्रिमले काठमाडौंको पाली मण्डीखाटारमा आफ्नो पाँचौं आइसक्रिम पार्लर सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन अभिनेत्री वर्षा सिवाकोटीको विशेष उपस्थितिमा गरिएको हो । कार्यक्रममा कम्पनीका ग्रुप अध्यक्ष हरि कर्माचार्य, निर्देशक प्रमिला कर्माचार्य, अध्यक्ष सुरेश कुमार धोर्जु, प्रबन्ध निर्देशक विकल कर्माचार्य तथा सेलरमार्ट प्रालिकी प्रबन्ध निर्देशक रश्मी कर्माचार्यले संयुक्त रूपमा रिबन काटेर पार्लरको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सेलरमार्ट प्रालिकी प्रबन्ध निर्देशक रश्मी कर्माचार्यले ग्राहक, साझेदार तथा शुभेच्छुकहरूको निरन्तर विश्वास र साथप्रति आभार व्यक्त गर्दै पाँचौं शाखाको उद्घाटनले बेनेभिसको विस्तार यात्रामा नयाँ अध्याय थपेको बताइन् । उनले गुणस्तरीय उत्पादन, उत्कृष्ट सेवा र अविस्मरणीय ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धतामा कम्पनी अडिग रहेको उल्लेख गरिन् । अभिनेत्री वर्षा सिवाकोटीले बेनेभिस परिवारलाई नयाँ शाखाको शुभारम्भका लागि बधाई दिँदै आगामी दिनमा पनि उत्कृष्ट स्वाद र सेवामार्फत नेपाली उपभोक्तामाझ लोकप्रिय ब्रान्डका रूपमा स्थापित हुँदै जाने विश्वास व्यक्त गरिन् । परिवार, साथीभाइ तथा सबै उमेर समूहका ग्राहकलाई लक्षित गरी आधुनिक अवधारणामा निर्माण गरिएको नयाँ पार्लरमा बेनेभिसका विभिन्न प्रिमियम आइसक्रिम फ्लेभर, डेजर्ट तथा मौसमी विशेष परिकार उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पाँचौं शाखाको सञ्चालनसँगै गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै नेपालभर आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने लक्ष्य लिइएको छ । बेनेभिस आइसक्रिम नेपालका उदाउँदा प्रिमियम आइसक्रिम ब्रान्डमध्ये एक हो । उच्च गुणस्तरीय सामग्रीको प्रयोग, नवीन स्वाद र ग्राहकमैत्री सेवामार्फत कम्पनीले देशभर शाखा विस्तार गर्दै उपभोक्तालाई उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
बीमा दाबी भुक्तानीमा लापरबाही गरे कम्पनी र कर्मचारीमाथि कारबाही गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा अनियमितता, ढिलासुस्ती वा कानुनविपरीतका गतिविधि भए प्रमाणसहित उजुरी दिन सर्वसाधारणलाई आह्वान गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै बीमाको दायित्व निर्धारण तथा दाबी भुक्तानीका क्रममा केही बीमा कम्पनी, तिनका कर्मचारी, बीमा सर्भेयर वा अन्य सम्बन्धित पक्षले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरीत काम गरेको भन्ने गुनासो प्राप्त भइरहेकाले उजुरी आह्वान गरिएको जनाएको हो । प्राधिकरणका अनुसार बीमा कम्पनी, कर्मचारी, सर्भेयर वा अन्य कुनै पक्षले तथ्य लुकाएको, गलत विवरण तयार गरेको, कागजात तोडमोड गरेको, पक्षपातपूर्ण मूल्याङ्कन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै गैरकानुनी कार्य गरेको भए त्यस्ता व्यक्तिविरुद्ध बीमा ऐन, २०७९ बमोजिम कारबाही गरिनेछ । प्राधिकरणले उजुरी दिँदा उजुरीकर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको विवरण, बीमा दाबी नम्बर, बीमालेख नम्बर तथा घटनासँग सम्बन्धित कागजात, फोटो, भिडियो वा अन्य प्रमाण अनिवार्य रूपमा संलग्न गर्न आग्रह गरेको छ । उजुरी नेपाल बीमा प्राधिकरणको दर्ता शाखामा प्रत्यक्ष, इमेलमार्फत वा हुलाकमार्फत गर्न सकिने व्यवस्था गरिएको छ । प्राधिकरणले प्राप्त हुने सबै उजुरी र प्रमाणको गोपनीयता कायम राख्दै बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।