भारीदेखि अति भारी वर्षाको चेतावनी, बाढी–पहिरोको उच्च जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको जनाएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भू-भागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली भू-भागको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै  स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भू-भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भाग तथा मधेस प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । विभागले मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । साथै ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको पनि विभागको भनाइ छ ।

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

काठमाडौं । सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।  गोलबजार-७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा पशुचौपायालाई पानी खुवाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन् ।  रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका उनीहरु गोलबजार-७ मा डेरा गरी बस्दैआएका थिए । कवाडी सङ्कलन गरी जीविकोपार्जन गर्दै आएका तीनै जना आज दिउँसो घरबाट खेल्न निस्किएका थिए । घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पु¥याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासी बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ । बाढीका कारण अन्नपूर्ण गाउँपालिका-८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रुपमा बगाएको छ ।  यसैगरी स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।  उनका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल-घान्द्रुक सडक पूर्ण रुपमा बन्द भएको छ ।  यस्तै, बाढीले किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल समेत बगाएको छ ।  अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा स्वदेशी-विदेशी पर्यटकको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ ।  गाउँपालिकाका अध्यक्ष केसीले किम्रुङ खोलामा लेदोसहितको बाढी आउँदा मोदी खोलामा पानीको सतह बढ्दा क्षति पुगेको बताए ।  ‘एक्कासी आएको बाढीका कारण मोदी खोलाले एउटा घर पूर्ण रुपमा बगाएको छ भने एउटा रेष्टुेन्टमा क्षति पुगेको छ । पर्यटकीय गाउँ घान्द्रुक जाने सडक बगाएको छ’, अध्यक्ष केसीले भने । स्थानीयका अनुसार नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएर एक्कासी खोलिँदा बाढी आएको आँकलन गरिएको छ ।  स्थानीय प्रशासन तथा गाउँपालिकाले नदीको तटीय क्षेत्रका स्थानीयलाई अन्यत्र सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।  स्थानीय प्रशासनले विशेषगरी मोदीखोला आसपास र अन्य स्थानमा समेत बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र आवश्यक परे सुरक्षित स्थानतर्फ जान अपिल गरेको छ । घटनापछि गाउँपालिका अध्यक्ष केसी, वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली घटनास्थलमा पुगेर क्षतिको विवरण सङ्कलन तथा आवश्यक व्यवस्थापनमा जुटेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।