अश्लील भिडियो र तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्ने दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या, ब्ल्याकमेल तथा मानसिक दुःख–हैरानी दिएको आरोपमा एक भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पीडित महिलाको अश्लील भिडियो तथा तस्बिर दुरुपयोग गर्दै ब्ल्याकमेल गर्ने, अनुचित लाभका लागि बारम्बार दबाब दिने र माग पूरा नभएपछि टिकटकमा सामग्री सार्वजनिक गरी चरित्रहत्या गर्ने कार्यमा संलग्न भारतको आसाम राज्य, गुवाहाटीको मदनपुर निवासी २६ वर्षीय जावरुल हक पक्राउ परेका हुन् । उनलाई असार २६ गते काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरिएको हो ।

यसैगरी, प्रेम सम्बन्ध विच्छेद भएपछि फेसबुकमार्फत अश्लील सामग्री पोस्ट गरी चरित्रहत्या गर्ने, मानसिक तनाव र दुःख–हैरानी दिने आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका २४ वर्षीय सरोज कार्कीलाई पनि सोही दिन पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

दुवै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

Share News