काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दो शक्ति संघर्ष अहिले नयाँ मोडमा पुगेको छ ।
संस्थापन इतर समूह तत्काल कुनै निर्णायक कदम चाल्ने पक्षमा नदेखिए पनि आगामी साउन ६ गतेको बीपी स्मृति दिवसलाई एउटा राजनीतिक टर्निङ प्वाइन्टका रूपमा हेरिरहेको उक्त समूहका नेताहरूले बताउने गरेका छन् ।
त्यही दिनसम्म पार्टीको शक्ति सन्तुलन, सभापति गगन थापाको राजनीतिक कदम र संस्थापन पक्षको रणनीति मूल्याङ्कन गरेर मात्र आफ्नो आगामी निर्णय सार्वजनिक गर्ने मनस्थितिमा इतर समूह पुगेको नेताहरूले बताएका छन् ।
अघिल्लो आइतबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको इतर समूहको बैठकमा नेताहरूले पार्टीभित्रको लामो अन्योल अब अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।
छलफलको निष्कर्ष तत्काल विभाजन वा नयाँ संगठन घोषणा गर्नेभन्दा पनि केही दिन राजनीतिक घटनाक्रमलाई नियाल्ने र त्यसपछि मात्र स्पष्ट रणनीति तय गर्ने रहेको नेता जितजंग बस्नेतले जानकारी दिए ।
बैठकपछि नेता मीन विश्वकर्माले पनि अब निर्णय टार्ने अवस्था नरहेको संकेत गरेका थिए । उनले अधिकांश वक्ताले ‘अब अलमल नगरौं, जे गर्ने हो छिटो गरौं’ भन्ने धारणा राखेको संकेत गरेका थिए ।
यस समूहका एक नेता डा. प्रकाशशरण महतले अहिले आफूहरूको मुख्य चासो गगनकुमार थापाको अन्तिम राजनीतिक स्ट्यान्ड के हुन्छ भन्नेमा केन्द्रित रहेको जानकारी दिए ।
यदि गगनले पार्टीभित्र सबै पक्षलाई समेट्ने पहल गरे भने एकताको सम्भावना अझै जीवित रहने उनको भनाइ छ ।
बैठकमा पनि अधिकांश नेताहरूले एकताको प्रयास निष्कर्षमा पुग्न नसके आफ्नो राजनीतिक बाटो अलग ढंगले तय गर्न सक्ने सम्भावनामा खुलेर छलफल भएको थियो ।
यही कारण इतर समूहले बीपी स्मृति दिवसअघि कुनै ठूलो घोषणा नगरी परिस्थिति हेर्ने रणनीति बनाएको बुझिएको छ । साउन ६ सम्मको समयलाई उनीहरूले अन्तिम राजनीतिक वेटिङ पिरियडका रूपमा लिएका छन् ।
कांग्रेस नेता तथा पूर्वसहमहामन्त्री समेत रहेका डा. महत यस बीचमा घटनाक्रमले खासै विकसित स्वरूप ग्रहण नगरेको बताउँछन् । बरु आफूहरू ६ गतेको तयारीमा लागेको जानकारी डा. महतले दिए ।
पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति शेरबहादुर देउवा पक्षले यस वर्ष बीपी स्मृति दिवसलाई विगतभन्दा फरक ढंगले मनाउने तयारी गरिरहेको छ ।
पूर्वप्रवक्ता समेत रहेका डा. महतका अनुसार कार्यक्रमलाई केवल श्रद्धाञ्जलीमा सीमित नराखी पार्टीको भावी राजनीतिक दिशा र संगठनात्मक सन्देश दिने मञ्चका रूपमा प्रयोग गर्ने तयारी भइरहेको छ ।
त्यसैले देउवा पक्षको कार्यक्रमलाई कांग्रेसभित्र शक्ति प्रदर्शन र सन्देश प्रवाहको अवसरका रूपमा पनि हेरिएको छ ।
साउन ६ गते बीपी स्मृति दिवशको दिन कांग्रेसको संस्थापन पक्षले लामो समयदेखि सुरु गरेको जरा अभियान पनि समापन गर्ने घोषणा गरेको छ ।
कांग्रेस नेताहरू समापन कार्यक्रमलाई भव्य कार्यक्रमको रूपमा सञ्चालन गर्ने तयारीमा रहेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका नेता प्रकाशसिंह कार्की बीपी स्मृति दिवश र जरा अभियानको समापन समेत भएकोले उक्त दिन पार्टी जीवनको विशेष दिन हुने बताउँछन् ।
अघिल्लो आइतबारको बैठकमा बोल्ने इतर पक्षका नेताहरूले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । तर, एकता सम्भव नभए शक्ति निर्माण वा आवश्यक परे नयाँ संगठनात्मक संरचनासमेत निर्माण गर्न पछि हट्न नहुने धारणा पनि बैठकमा बलियो रूपमा उठेको विश्वकर्माले बताएका थिए ।
राजनितिक विश्लेषक अधिवक्ता परसुराम घिमिरेका अनुसार कांग्रेसभित्र अहिले देखिएको गतिविधिले एउटा स्पष्ट संकेत भने दिएको छ । उनका अनुसार दुवै पक्ष सार्वजनिक रूपमा पार्टी एकताको पक्षमा देखिए पनि भित्री रूपमा आ–आफ्नो शक्ति संगठित गर्न व्यस्त छन् ।
बीपी स्मृति दिवस त्यसको पहिलो सार्वजनिक परीक्षण बन्न सक्ने घिमिरेको विश्लेषण छ ।