८१ हजार रोपनी सार्वजनिक जग्गा अतिक्रमण, १६० संरचना हटाइयो

काठमाडौं । पोखरा महानगरपालिकाले सोमबार पोखरा सभागृहमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा पोखरा बसपार्क, फिर्के खोलालगायत क्षेत्रका सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त बनाउन महानगरले खेलेको भूमिकाले चर्चा पायो । प्रश्नकर्ताले महानगरसँग सम्बन्धित कतिपय विषयमा गुनासा राखे पनि सार्वजनिक जग्गा संरक्षणमा महानगरको नेतृत्वले लिएको पहलकदमीको भने प्रशंसा गरे । महानगरपालिकाले हालैमात्र पोखरा बसपार्क, अमरसिंह चोक र फिर्के खोलाको अतिक्रमित जग्गा खाली गराएको थियो । सबैको सहयोग र समर्थनमा महानगरले अतिक्रमित संरचना डोजर लगाएर हटाएको थियो । कार्यक्रममा पोखराका अन्य क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाबारे उठेका प्रश्नको जवाफ दिँदै महानगर प्रमुख धनराज आचार्यले किन्तु परन्तु भनेर सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछाडि नहट्ने बताए । ‘केही समय भित्रै महानगरले पोखरामा रहेको सार्वजनिक जग्गाको लगत विवरण सार्वजनिक गर्छ, वनक्षेत्र समेत गरी झण्डै ८१ हजार रोपनी सार्वजनिक जग्गा रहेको प्रारम्भिक अनुमान छ,’ उनले भने, ‘सार्वजनिक जग्गा यकिन गर्दा यदि कसैले जग्गा अतिक्रमण गरेको पाइएमा जग्गा खाली गर्न सूचित गर्छौं, सम्बन्धितले खाली नगरेमा प्रक्रियाअनुसार महानगर आफैले अतिक्रमण हटाउँछ, यसमा कुनै सम्झौता हुँदैन ।’ कुनै बेला पाटन र चौरका नामले चिनिने पोखरामा अहिले खुला ठाउँ देख्न पनि मुस्किल हुन थालिसकेको उनको भनाइ छ । प्रमुख आचार्यले महानगरका ३३ वटै वडामा खेलमैदान र उद्यान निर्माणको योजना अगाडि सारिएको सुनाए । उनले फिर्के खोलाको खोला घरभित्र निर्माण गरिएका १६० वटा संरचना हटाइसकिएको र अझै केही संरचना हट्न बाँकी रहेको बताए । अँधेरी कुनादेखि गाईघाटसम्मको ८ किलोमिटरमा समेटिएको फिर्के खोलाको किनारमा पैदलमार्ग र साइकल मार्गसहितको आकर्षक करिडोर बनाउने महानगरको योजना छ । प्रमुख आचार्यले पोखरा बसपार्कमा बसोबास गर्दै आएका सुकुमवासीको उचित व्यवस्थापनपछि बसपार्क निर्माणको काम सुरु हुने जानकारी दिए । कार्यक्रमका सहभागीहरूले बसपार्कका लागि अधिग्रहण गरिएको १८७ रोपनी जग्गाकै बसपार्क बनाउनुपर्ने सुझाव दिएका थिए । प्रमुख आचार्यले बसपार्क क्षेत्रमा कतिपयको व्यक्तिगत जग्गा भएकाले तीनलाई मुआब्जा दिएर अन्यत्र व्यवस्थापन गर्न सकिएमा सबै क्षेत्रमा बसपार्क बन्ने बताए । ‘व्यक्तिको लालपूर्जा भएको जग्गालाई मुआब्जा दिन नसकिने अवस्थामा अहिले रहेकै ठाउँमा व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘बसपार्कको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ, अतिक्रमित जग्गा सबै खाली गरेर बसपार्क बनाउँछौँ ।’ पोखरा–१ स्थित टुँडीखेलको जग्गा पनि यकीन गर्ने काम छिट्टै सुरु गरिने उनले बताए । सडक, राजकुलो, चौरलगायत जुनसुकै सार्वजनिक जग्गा अतिक्रमण गर्नु कानूनविपरीत हुने उनको भनाइ छ । यदि कसैले त्यस्तो जग्गामा मिचेर निजी संरचना, व्यवसाय सञ्चालन गरेको भए पनि आफैं जग्गा खाली गर्न प्रमुख आचार्यले आग्रह गरे । प्रश्नकर्ताले महानगरको सेवा प्रवाह, विकास निर्माणका गतिविधि आदिका विषयमा प्रश्न उठाएका थिए । भूपेन्द्र गिरीले राम्रो काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्नुपर्ने बताए । उनले सार्वजनिक ठाउँमा उद्यान निर्माण गर्न महानगरलाई सुझाव दिए । स्थानीवासीले भरत चालिसेले फिर्के खोलाको मापदण्ड कायम हुनुपर्ने बताए । उनले पोखरामा रहेका राजकुलो र नहरको जग्गा पनि अतिक्रमणमा परेको भन्दै तिनको संरक्षण गर्न माग गरे । अर्का सहभागी प्रभात कँडेलले सार्वजनिक जग्गा मिचेर रिसोर्ट बनाउनेलाई महानगरले बेवास्था गरेको उल्लेख गर्दै कानुन सबैका लागि समान रुपमा लागू हुनुपर्ने बताए । पोखरा-१ का चन्द्रबहादुर गुरुङले १८७ रोपनी जग्गामै पोखरा बसपार्क बन्नुपर्ने धारणा राखे । यस्तै, अशोक राईले सुकुमवासीको उचित व्यवस्थापन गरेर मात्र बसपार्कको निर्माणका प्रक्रिया सुरु गर्नुपर्ने बताए । कार्यक्रममा प्रविण सुवेदी, किशोर भण्डारीलगायत सहभागीहरूले महानगरको कार्यसम्पादन, सेवा प्रवाह आदिका विषयमा प्रश्न राखेका थिए । प्रमुख आचार्यसहित जवाफदेहीका तर्फबाट सहभागीका प्रश्न र गुनासा सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको थियो ।

५ समस्याग्रस्त सहकारीका ३ हजारलाई रकम फिर्ता, १ लाखसम्म पाइने

काठमाडौं । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ । समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम १ लाख रूपैयाँसम्मको बचत रकम फिर्ता गर्न लागिएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिए ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ललितपुरको जवलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्नेछन् । केही दिनअघि मुख्यमन्त्री बानियाँको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो । यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने गरी तयारी भइरहेको समिति सदस्य ढकालले राससलाई जानकारी दिए । समितिले बचतकर्ताको विवरण ‘भेरिफाइड’ गर्ने काम सम्पन्न गरेको छ । बचतकर्तालाई रकम फिर्ता गर्न करिब ९ करोड रुपैयाँ जम्मा भइसकेको छ । समितिले सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताका १ लाख लाख रूपैयाँसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई १० हजार रुपैयाँसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ । यससँगै ५ सहकारीका करिब ३ हजार साना बचतकर्ताले रकम फिर्ता पाउने समितिका सदस्य ढकालले जानकारी दिए ।  समितिले गत जेठ २२ गते समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो ।

आज पनि भारी वर्षाको चेतावनी, बाढी-पहिरोको उच्च जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा र  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले वर्षा हुने क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनु हुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध छ ।