वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि खुला आवेदन आह्वान

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदपूर्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त आह्वान गरेको छ । मन्त्रालयले मंगलबार (आज) सूचना प्रकाशित गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४१ को उपदफा ९१० बमोजिम बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो । सूचनाअनुसार वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३० बमोजिम तोकिएको न्यूनतम शैक्षिक योग्यता र अनुभव भएका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । दरखास्त युवा, श्रम तथा रोजगार मन्त्रालय, सिंहदरबारस्थित सिफारिस समितिको सचिवालय (प्रशासन महाशाखा) मा बुझाउनुपर्ने मन्त्रालयले जनाएको छ । आवेदन प्रक्रिया, योग्यता तथा आवश्यक कागजातसम्बन्धी थप विवरण मन्त्रालयको आधिकारिक वेबसाइट www.moless.gov.np  मा उपलब्ध रहेको तथा मन्त्रालयको प्रशासन महाशाखामा सम्पर्क गरेर पनि जानकारी लिन सकिने पनि सूचनामा उल्लेख छ ।

ठमेलको कर्मा क्लब पुगेकी १७ वर्षीया किशोरी बलात्कृत, १९ वर्षीय युवक पक्राउ

काठमाडौं । ठमेलस्थित कर्मा क्लबमा पुगेकी एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बुढानीलकण्ठ स्थायी घर भएकी १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । बलात्कार गरेको आरोपमा अछाम घर भएका १९ वर्षीय किशोर सुभम बास्कोटा (नाम परिवर्तन) लाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । कर्मा क्लबमा युवायुवतीको समूह बनाएर क्लब गएको र त्यहीँ चिनजान भएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए । उनका अनुसार किशोरी र किशोरको त्यहीँ चिनजान भएको थियो । क्लबमा रमाइलो गरेपश्चात उनीहरू होटलमा पुगेका थिए । क्लबमा प्रवेश गर्दा वयस्क उमेरको परिचय पत्र देखाएर उनीहरू प्रवेश गरेका हुन् । ‘उनीहरू त्यसपश्चात ठमेलकै एक होटलमा बसोबास गर्छन् । होटलमा पनि किशोरीले उमेर छलेर बसेको देखिन्छ ,’ उनले भने ।  केही समयपछि किशोरीले आफू बलात्कृत भएको उजुरी दिएपछि ती किशोर पक्राउ परेको प्रवक्ता भट्टराईले जानकारी दिए । उनका अनुसार किशोर भने स्नातक तहमा अध्ययनरत छन् । किशोरी भने कक्षा १२ मा अध्ययनरत छिन् । उक्त घटना असार १२ गते भएको थियो । सोमबार युवकलाई पक्राउ गरिएको र हाल उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । १८ वर्षमुनिकालाई क्लब तथा डान्सबारमा छिर्न सरकारले बन्देज लगाएको छ ।

आलोचना बढेपछि सरकारले खेलाडीलाई पुरस्कार दिने भयो

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा उनीहरूको प्रशिक्षण र व्यवस्थापनमा संलग्न जनशक्तिलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियोथेरापिस्ट (फिजियो) तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको हो । सरकारका अनुसार उक्त निर्णयले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउने खेलाडी र उनीहरूको सफलतामा योगदान पुर्‍याउने प्रशिक्षक तथा सहयोगी टोलीको योगदानको कदर गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यस निर्णयसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी पदक जित्ने खेलाडी र उनीहरूको तयारी तथा प्रदर्शनमा प्रत्यक्ष भूमिका खेल्ने प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकले सरकारले तोकेको मापदण्डअनुसार नगद पुरस्कार र सम्मानपत्र प्राप्त गर्नेछन् । यसअघि यस्ता खेलाडीहरुलाई पुरस्कार दिने घोषणा गरिए पनि प्रदान नगरेको गुनासो खेलाडीले गर्दै आएका थिए ।