न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीय र व्यवसायीको विरोध
काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले अवरोध गरेका छन् । शुक्रबार बिहानैबाट काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारको काम थाले पनि स्थानीय र व्यवसायीहरुले विरोध गरेका हुन् । स्थानीयहरुले न्युरोडमा फुटपाथ बढाउन नहुने बताएका छन् । स्थानीय र व्यवसायीहरु फुटपाथ विस्तरको विरोधमा उत्रिएपछि ठूलो संख्यामा नेपाल प्रहरी र महानगर प्रहरी खटाएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम शुरु गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन
खोटाङ । यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिच्ची उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकामा नौ मेट्रिक टन, बाराहापोखरीमा शून्य दशमलव ५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८ दशमलव ५०, साकेलामा छ मेट्रिक टन, केपिलासगढीमा शून्य दशमलव ५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक मेट्रिक टन लिच्ची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा उत्पादित लिच्चीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्ने रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका स्थानीय बासिन्दा एवं उद्यमी रामबहादुर राईले बताएका छन् । ‘जिल्लामा उत्पादित लिच्ची दाना नै बिक्री गर्ने चलन छ । यसलाई प्रशोधन गरेर जुसलगायत पेय पदार्थ बनाउन सकिन्छ’, उनले भने, ‘यसप्रति तीनवटै तहका सरकारले योजना बनाउनुपर्छ । जबसम्म कृषि उपज उत्पादनलाई सरकारले प्राथमिकता दिँदैन तबसम्म देश विकास सम्भव छैन ।’ जिल्लामा उत्पादित लिच्ची स्थानीय हाटबजार तथा राजधानी काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादिन लिच्ची बिक्रीबाट किसानले वार्षिक करोडौँ आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । लिच्चीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकार यसप्रति उदासिन देखिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको लिच्चीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानको माग छ । लिच्ची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिच्चीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ । एकपटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले जिल्लाका अन्य किसान पनि लिच्चीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् । रासस
पर्यटकको आकर्षणको केन्द्र बन्दै दियालो बंगला
चितवन । बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला यहाँको दियालो बंगला हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएपछि गत असार २३ गते दियालो बंगला सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । चार दिनसम्म निःशुल्क प्रवेश गराइएकामा असार २७ गतेदेखि शुल्क लिएर प्रवेश दिइएको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार असार २७ गतेयता एक सातामा दुई हजार ८६ जनाले दियालो बंगला अवलोकन गरेका छन् । प्रवेश शुल्कबापत एक लाख ९१ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । सर्वसाधारण नेपालीलाई प्रवेश शुल्क एक सय रुपैयाँ, ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यस्तै, छिमेकी राष्ट्र भारत र चीनका पर्यटकका लागि एक सय ५० रुपैयाँ, ती बाहेकका सार्क राष्ट्रका पर्यटकका लागि दुई सय रुपैयाँ र अन्य मुलुकका पर्यटकलाई तीन सय रुपैयाँ शुल्क तय गरिएको उपप्रमुख अधिकारीले बताए । यहाँ दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे । “भरतपुर–१ मा दियालो बंगला अवस्थित छ । नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो । उठेको राजस्वको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउने गरी व्यवस्थापन गरिएको हो”, उपप्रमुख अधिकारीले भने । महानगर प्रमुख रेनु दाहालले दियालो बंगलाको ऐतिहासिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताए । दरबार क्षेत्रमा बालबालिकाका लागि संरचना नबिग्रने गरी बालउद्यान बनाउने तयारी गरिएको उनले जानकारी दिए । जाडो समयमा राजपरिवारले यही दरबारमा आएर समय बिताउने गर्दथे । सिकार खेल्न आउँदा बस्ने ठाउँका रुपमा यसलाई लिने गरिन्छ । ऐतिहासिक महत्व बोकेको दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ । दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालय सँगै जोडिएका छन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छभने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारीसाधन राख्न ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । दियालो बंगलाले ऐतिहासिक महत्व बोकेकाले विद्यालय र क्याम्पसका विद्यार्थीलाई यहाँ ल्याएर अध्ययन र अवलोकन गराउनुपर्ने महानगर प्रमुख दाहालले बताइन् । लामो समयदेखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्रभित्र के छ भन्ने कौतुहलता मेट्दै सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण मिलाइएको उनले जनकारी दिइन् । बर्सात सकिएसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको दाहालले बताइन् । थप पूर्वाधार निर्माणसँगै बालउद्यानसहितको व्यवस्थापनका लागि महानगरले योजना बनाइरहेको उनले जानकारी दिइन् । रासस