३२ करोडमा नेपालगञ्जमा तयार हुँदै अत्याधुनिक नगरभवन
राँझा । नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माणाधिन अत्याधुनिक नगरभवनको ८६ प्रतिशत काम सम्पन्न भएको छ । सहरी विकास मन्त्रालयको बजेटमा नगर भवन निर्माण भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेका प्रमुख विजय केशर खनालले बताए । ‘हालसम्म सिटी हलको ८६ प्रतिशत भौतिक प्रगति भएको छ, माग गरिए बमोजिमको बजेट तत्काल आउने हो भने यही असारसम्म काम सम्पन्न हुनेछ’, खनालले भने, ‘निर्माण सामग्री समयमा नपाउनु र बीचमै डिजाइन समेत परिवर्तन गर्नु परेकाले तोकिएको समयमा सिटी हलको निर्माण पूरा हुन नसकेको हो ।’ २९ करोड ४५ लाख ५५ हजार नौ सय ५१ लागत रुपैयाँमा लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको सो बहुउपयोगी भवनको डिजाइन परिवर्तन गर्दा बजेट बढेर ३२ करोड रुपैयाँ पुगेको छ । उक्त आयोजना निर्माणका लागि निर्माण कम्पनीले २०७८ साल साउन २५ गते काम सम्पन्न गर्ने गरी २०७५ माघ २५ मा सम्झौता गरेको थियो । बहुउपयोगी भवनमा सात सय ९५ सिट क्षमतासहितका तीनवटा सम्मेलन हल छन् । अत्याधुनिक थिएटरसहितको सभा हलमा पनि छ । सभाहलमा २५ वटा चारपाङ्ग्रे र ६० वटा दुई पाङ्ग्रे सवारी अट्ने क्षमता पनि छ । नगर भवनको डिजाइन परिवर्तन गर्दा थप सात करोड रुपैयाँ बजेट थपिएको छ । माग गरिएको बजेट छिट्टै निकासा भए असार मसान्तसम्म निर्माण सम्पन्न हुने भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाई कार्यालय बाँकेका प्रमुख खनालले बताए । नेपालगञ्ज उपमहानगरपालिकाले पुरानो नगर भवन भत्काएर अत्याधुनिक नगर भवन निर्माण सुरु गरेपनि काम अलपत्र पर्दै आएको छ । निर्माणाधिन नगर भवनको काम समयमै सम्पन्न गर्नतर्फ सरोकारवाला निकायले चासो दिनुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । सहरी विकास मन्त्रालय अन्तर्गतको बजेटमा भवानीयापुरमा निर्माणाधिन नगर भवन समयमै सम्पन्न हुनसके नेपालगञ्जको १४ नं वडा भवानीयापुरमा चहलपहल बढ्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए । रासस
महानगरमा ३३ जनाले लिए निशुल्क उपचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरु गरेको लक्षित वर्ग उपचार सेवाबाट अहिले सम्म ३३ जना बिरामीले सेवा लिएका छन् । तीन महिनाअघिबाट महानगरले सुरू गरेको उपचार सेवाबाट ३३ जनाले सेवा लिएको महानगरले जनाएको छ । निःशुल्क उपचार सेवा लिएकामध्ये १५ जनाको मिर्गौला डायलाइसिस भइरहेको छ । यस्तै १२ जना बिरामी डिस्चार्ज भएका छन् । जसमा तीनजना दम, क्षयरोगजस्ता छातीसम्बन्धी (पल्मोलोजी), दुईजनाले सर्जरी (शल्यक्रिया), दुईजनाले आकस्मिक सेवा, एकजनाले स्त्री तथा प्रसूति रोग सेवा, एकजनाले पेटसम्बन्धी, एकजनाले आँखासम्बन्धी सेवा लिएको महानगरले जनाएको छ । यस्तै उपचार सेवा लिँदालिँदै दुईजना बिरामीको मृत्यु भएको छ ।
काठमाडौं महानगरले देशभरका विपन्न प्रहरीको निशुल्क उपचार गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका विपन्न, असहाय बिरामीको उपचार गर्ने भएको छ । देशभरका कुनैपनि पालिकाको भएपनि महानगरका अस्पतालमा गरिने महानगरले जनाएको छ । विपन्न, असहाय बिरामीले आफ्ना पालिका बाट सिफारिस लिएर आएमा निशुल्क उपचार हुने महानगरका प्रमुख बालेन्द्र शाहले बताएका छन् । महानगरले ५२ अस्पतालका ३ सय ७४ बेडबाट निशुल्क सेवा दिदै आएको छ । महानगर प्रमुख बालेनले कसैको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा रहेको भएपनि जानकारी गराइदिन आग्रह गरेका छन् । यस्तै उनले आफ्नो फेसबुक मार्फत यो सेवा पाउनका लागि ११८० मा फोन गर्न वा महानगरको स्वास्थ्य विभागमा सम्पर्क राख्न शाहले आग्रह गरेका छन् ।