काठमाडौं महानगरका औषधि पसल मापदण्डविपरीत, बन्द फ्रिजमै खोप भण्डारण
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का धेरै र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त कमजोरी पत्ता लगाइएको विभागको भनाइ छ । वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको पाइयो । यसरी भेटिएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको कामपाको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिए । अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको छ । ‘औषधि पसलले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।’ अनुगमनको अवस्था बुझिसकेपछि कामपाको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’ औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाणपत्र छ । पसलमा अर्कै व्यक्ति बसेको पनि अनुगमनका क्रममा भेटिएको छ । अनुगमनका क्रममा भेटिएका केही प्रतिनिधि पसलबाहेक धेरैमा समस्या देखिएको कामपाको भनाइ छ । कामपाले गत मङ्सिरमा महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । सूचनाको बेवास्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो । अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार कारबाही हुनेछ । औषधि पसल सञ्चालन गर्न कामपामा अनुमति लिनुपर्छ, फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल कामपामा दुई हजार छ सय औषधि पसल सञ्चालनमा रहेको बताइएको छ । औषधि पसलको यो प्रवृत्तिमा तत्काल सुधारको खाँचो रहेको बताउँदै कामपाले गत असोजदेखि नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा समस्या देखिएका पसललाई कारबाहीको दायरामा ल्याउने कामपाले जनाएको छ । रासस
चन्द्रागिरि र कर्जा सुरक्षण कोषबीच सहकार्य : बिनाधितो कर्जा प्रवाह गरिने
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाको समन्वयमा विपन्न वर्ग तथा लघु उद्यमीलाई बिनाधितो प्रवाह हुने कर्जामा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिदिने भएको छ । सोबापत वित्तीय संस्थाले कोषलाई तिर्नुपर्ने वार्षिक सुरक्षण शुल्क ऋणीको तर्फबाट नगरपालिकाले व्यहोरिदिने भएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोषका बीचमा बिहीबार द्विपक्षीय समझदारी भएको छ । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी तथा आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काको उपस्थितिमा सम्पन्न सो समझदारीपत्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरे । सम्झौताले बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्ग तथा लघुउद्यमीलाई बिनाधितोे निर्धक्क कर्जा प्रवाह गर्न थप बाटो खुला भएको जनाइएको छ । साथै यसबाट चन्द्रागिरिले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न थप सहयोग पुग्ने अपेक्षा गरेको छ । हाल नगरपालिकाले सहकारी संस्थाको सहकार्यमा आफ्ना उत्पादनलाई प्रवर्द्धन गर्न स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्री मेला (सहरी हाटबजार) तथा स्थानीय उत्पादन बिक्री केन्द्र सञ्चालनमा सहयोग गर्दै आएको छ । नगरपालिकाले उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाका समन्वयमा दिइने विशेष ब्याज अनुदान कार्यविधि, २०७९ नै जारी गरेको छ । कार्यविधिअनुसार प्रवाहित कर्जाको सुरक्षण प्रदान गर्ने प्रयोजनले बैंक तथा वित्तीय संस्थाले कोषमा तिर्नुपर्ने वार्षिक सुरक्षण शुल्कको शून्य दशमलव चार प्रतिशत नगरपालिकाले कोषलाई तिर्ने समझदारीमा उल्लेख छ । समझदारीमा बैंकले कार्यविधिअनुसार प्रवाह गर्ने कर्जालाई लघुवित्त तथा लघुकर्जामा वर्गीकृत हुनेगरी छुट्टै उपशीर्षक खडा गरी वा सोही शीर्षकमा आबद्ध गरी कोषले बैंकसँग नियमावलीअनुसार सम्झौता गर्ने, कोषसँग लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण कार्यक्रममा यसअगाडि आबद्ध बैंकले कार्यविधिअनुसार प्रवाहित कर्जाको सुरक्षणका लागि कोषसँग पुनः सम्झौता गर्नुपर्ने छैन । तर कार्यविधिअनुसार कर्जा प्रवाह गर्ने बैंकले यसअगाडि कोषसँग यस्तो सम्झौता नगरेको भए कोषसँग सम्झौता गरेपश्चात सम्झौताअनुसार कोषले सुरक्षण गर्नेलगायतका बुँदा उल्लेख छ । सो अवसरमा नगरप्रमुख गिरीले उद्यमशीलताको विकास गर्दै आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय बढाउन नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको बताए । उनले भने, ‘स्थानीयस्तरमै रोजगारी सिर्जना एवं व्यवसाय प्रवर्द्धन गर्न नगरपालिकाको साथ र सहयोग रहने छ’, प्रमुख प्रशासकीय अधिकृत अर्यालले नगरका विपन्न वर्ग तथा लघुउद्यमीलाई थप प्रवर्द्धन गर्न सम्झौता महत्त्वपूर्ण रहेको बताए । आर्थिक विकास शाखा प्रमुख खड्काले स्थानीयस्तरमै रोजगारी सिर्जना, उत्पादन, सहरी हाटबजार, व्यवसाय प्रवर्द्धन गर्न शाखाले काम गर्दै आएको बताए। कोषका प्रमुख कार्यकारी अधिकृत घिमिरे र प्रबन्धक मन्दिरा थपलियाले नगरपालिका र कोषबीचमा भएको सम्झौताले विपन्न वर्ग तथा लघुउद्यमीलाई बिनाधितो प्रवाह हुने कर्जा निर्धक्क गर्न बाटो खुला भएको बताए । कोषले लघु उद्यमीलाई ब्याजमा अनुदान दिनका लागि विभिन्न्न १८ कमर्शियल बैँकसंग सम्झौता गरिसकेको जनाइएको छ । रासस
सार्वजनिकस्थलको सुन्दरताका लागि काठमाडौं महानगरपालिमा भित्ते चित्र राखिने, बजेट ५० लाख
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउने भएको छ । यसका लागि कामपाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरिसकेको छ । पहिलो चरणमा माइतीघरबाट बबरमहलको दायाँतर्फको पर्खाल, प्रदर्शनीमार्गका पर्खाल, अन्तरराष्ट्रिय विमानस्थल बाहिरको पर्खालका साथै मीनभवन र लैनचौरस्थित समाजकल्याण परिषद्को पर्खालमा भित्ते चित्र बनाउनका लागि स्वीकृति दिइसकिएको कामपा सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले जानकारी दिए । स्वीकृत भएका नमूनाबमोजिम ती स्थानमा प्रतिष्ठानले भित्ते चित्र बनाउने भएको छ । यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिने प्रमुख शाक्यले भने । भित्ते चित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेस गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ । चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरूसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्याङ्कन गर्ने, भुक्तानी दिने, जवाफदेहिता बहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ । यसका लागि कामपाले रु ५० लाख उपलब्ध गराउनेछ । सम्झौता भएपछि ६० प्रतिशत (रु ३० लाख) र कार्यसम्पन्न भइसकेपछि ४० प्रतिशत (रु २० लाख) प्रदान गरिने बताइएको छ । सम्पदा चिनारीका लागि क्यूआर कोड कामपाले नन्दीकेशर मन्दिर, शङ्करकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारीसम्बन्धी जानकारी दिन क्यूआर कोड राखेको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका स्मारक घुम्न आउने आगन्तुकले सजिलै जानकारी पाउन सकुन् भनेर वडा कार्यालयले प्रविधिको प्रयोग थालेको हो, वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ । क्यूआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भनेर यस किसिमको व्यवस्था गरिएको हो ।’ क्यूआर कोडमा नेपाली, अङ्ग्रेजी, जर्मनी, हिन्दी, फ्रेन्च, चिनियाँ, कोरियाली, स्पेनी, जापानी र अरेविक गरी १० भाषामा अडियो सुन्न सकिन्छ । वडा नं १ मा चारवटा प्राचीन ढुङ्गेधाराका साथै नागपोखरी, हिटीपोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण (आधा विष्णु आधा शिव), साइ केन्द्र, सोराहिटी, जमल विहार, लाल गणेशजस्ता सांस्कृतिक सम्पदा छन् । रासस