‘इन्टरनेसनल मेयर अवार्ड’द्वारा भरतपुर महानगर प्रमुख दाहाल सम्मानित
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई उक्त अवार्ड अर्पण गरिएको हो । प्रमुख दाहाललाई लण्डनका मेयर सादिक खान सहित मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागी हुनुभएको विशेष समारोहका बीच अवार्ड वितरण गरिएको जनाइएको छ । सो अवसरमा मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो । पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरकफरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो । यस वर्ष उक्त अवार्ड पाउनेमा बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गर पनि रहेको प्रमुख दाहालले जानकारी दिइन् । अवार्ड प्राप्त गरेपछि प्रमुख दाहालले उच्च राजनीतिक नेतृत्वबीच सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताइन् । नेपालमा स्थानीय तहमा भौतिक निर्माणसहित अन्य सूचकमा भरतपुर महानगरपालिका अग्रणी रहेको छ । प्रमुख दाहालले यसअघि बेलायती उपसभामुख एवं सांसदसँग भेटवार्ता गर्नुभएको थियो । प्रमुख दाहालले बेलायती संसद् हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्स् तथा सत्तारुढ कन्जरभेटिभ सांसद एवं पूर्वमन्त्री डिन रसेल र प्रमुख प्रतिपक्षी दल लेबरका सांसद वीरेन्द्र शर्मासँग संसदमा भेटघाट गरेकी थिइन् । त्यस्तै, लन्डनस्थित नेपाली दूतावासले गरेको सम्मान कार्यक्रममा सहभागी भएकी प्रमुख दाहालले देश विदेशबाट भरतपुर महागरपालिकाको काम सूक्ष्म ढङ्गले अध्ययन भएरै आफूले अन्तर्राष्ट्रिय अवार्ड पाउन लागेको बताएकी थिइन् । प्रमुख दाहालले लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई पनि भरतपुर भ्रमणका लागि निमन्त्रणा दिएकी छन् । राजदूत आचार्यले भरतपुर भ्रमण वर्षले समग्र नेपाल भ्रमण वर्षलाई पनि फाइदा पुग्ने बताएको प्रमुख दाहालसँगै रहेका अर्जुन पाठकले जानकारी दिए । प्रमुख दाहालले बेलायतका उच्च अधिकारीहरुलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएको जनाइएको छ ।
महानगरले पुनःसुरु गर्यो स्रोतमै फोहर वर्गीकरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहर वर्गीकरणको काम पुनःसुरु गरेको छ । कामपा–१० मा आजदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको हो । करिब दुई वर्षअघि कामपाले ३२ वटै वडाबाट स्रोतमा फोहर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा लाने काम सुरु गरे पनि प्रभावकारी नभएपछि आजदेखि पुनः सुरु गरेको हो । लामो समयदेखि कामपा वडा नं १० को फोहर सङ्कलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्रोतमा वर्गीकरण गरिएका फोहर सङ्कलन गर्ने सवारीसाधनमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै राख्न कोठा बनाइएका छन् । ‘स्रोतमा फोहर छुट्याएर कुहिने फोहरलाई घरमै मल बनाउन प्रोत्साहन गरेका छौँ’, प्रमुख श्रेष्ठले जानकारी दिए । कामपाले यस वडामा मात्रै नभई ३२ वटै वडामा क्रमिकरुपमा स्रोतमा नै फोहरको वर्गीकरण र व्यवस्थापनको तयारी गरेको छ । अब चाँडै २९ वडामा उक्त कार्य सुरु गरिने उनको भनाइ छ । घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने अभ्यासलाई वडा नं २७ मा माघ २१ देखि थालिएको हो । वडामा घरघरबाट वर्गीकरण गरिएको फोहर छुट्टाछुट्टै सङ्कलन गर्ने गरिएको छ । कुहिने फोहरलाई टेकु ट्रान्सफर स्टेशनमा ल्याएर जैविक मल बनाउने कार्य कामपाले सुरु गरिसकेको छ । के हो, फोहर वर्गीकरण ? ‘भान्छामा कुहिने र नकुहिने गरी दुई खालका फोहर निस्कन्छन् । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहर उत्पादक आफँैले बेच्न सक्छन् । कुहिने फोहर आफैँले पनि मल बनाउन सकिन्छ’, विभागका प्रमुख श्रेष्ठले भने । उनका अनुसार मल बनाउन सकिएन भने कामपाको फोहर सङ्कलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ । तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पातलगायत कुहिने फोहर हुन् । त्यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतलहरु, फलामलगायत वस्तु नकुहिने फोहर हुन् । यससँगै सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक (पिपिइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहरका रुपमा सङ्कलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहरको मात्रा बढ्दै गएको छ । यस्तो फोहर कुहिने र नकुहिने फोहर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्ने कामपा वातावरण व्यवस्थापन विभागको भनाइ छ । रासस
शिवरात्रिमा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिने, हेलिकप्टरको भाडामात्रै ११ लाख
कैलाली । ऐतिहासिक महत्व बोकेको धनगढी उपमहानगरपालिका-१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिने भएको छ । मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा माहाशिवरात्रिका अवसरमा हुन लागेको पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन कार्यक्रमको तयारी भएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज जोशीले जानकारी दिए । हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलो पटक हेलिकप्टरबाट पुष्प वर्षा गरिन लागिएको उनले बताए । कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको आयोजकको भनाइ छ । शुक्रबार महाशिवरात्रिको दिन बिहान ११ देखि मध्याह्न १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दई करोड बत्ती प्रज्वलन गरिने आयोजकले जनाएको छ । पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीले १४ लाख नौ हजार रुपैयाँ सङ्कलन गरिसकेको छ । पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख रुपैयाँ र तीन क्विन्टल फूलको दुई लाख गरी जम्मा १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ । पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि महाभण्डारासमेत चलाउने र उपस्थित सम्पूर्ण भक्तजनलाई निःशुल्क खाना र पानीको व्यवस्था गरिने बताइएको छ । बेहडाबाबा धाममा भक्तजनलाई जान आउनदेखि दर्शन तथा पूजापाठ गर्नसम्मका लागि सम्पूर्ण तयारी गरिएको छ । आवतजावतका लागि बसको व्यवस्था र कडा सुरक्षाकोेसमेत व्यवस्था गरिएको छ । त्यस्तै यस बेहडाबाबा मन्दिरमा लाग्ने महाशिवरात्रिमा दर्शनका लागि छिमेकी मुलुक भारतबाटसमेत दर्शनार्थी आउने गरेका छन् । बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतका लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेको मन्दिर व्यस्थापन समितिका अध्यक्ष जोशीले बताए । रासस