वायुको गुणस्तर सुधार गर्न ‘हावाको कुरा गरौँ’ अभियान सुरु
काठमाडौं । सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । काठमाडौं महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । यस अभियानमा सवारी साधनको प्रयोगलाई कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने, यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजाने लगायत क्रियाकलाप हुनेछन् । यो सांस्कृतिक विकासका लागि आवश्यक पर्ने सहरी पूर्वाधार निर्माण गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पर्यटन व्यवस्थापनसँग जोडेर स्थानीयबासीको आयमा टेवा पुर्याउने, परम्परागत उद्यम तथा उद्यमशीलताको विकासलाई प्रवद्र्धन गरिनेछ । यस प्रकारका क्रियाकलापबाट काठमाडौंका सम्पदाहरुको संरक्षण र प्रवर्धन तथा वातावरणीय सुधारमा टेवा पुग्नेछ । मौलिकपन र जीवन्तता पुनःस्थापना हुनेछ । यस अघि हाँडीगाउँमा यस प्रकारका क्रियाकलाप सञ्चालन गरिएका छन् । सवारी प्रवेश निषेध गरिएका ठाउँमा हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत वाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको छ । कला, साहित्य, सिर्जना र सहरी वातावरण सुधारका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुले सूचना तथा जानकारीमूलक प्रदर्शनी गर्ने गरिएको छ । यी क्रियाकलापबाट सामाजिक सद्भाव वृद्धि, मौलिकताको जगेर्ना र वायुको गुणस्तर सुधारमा सहयोग पुगेको छ । यस कार्यक्रममा स्थानीयहरुको अपनत्व वृद्धि भएको छ । काठमाडौंको मौलिकता पुनःस्थापनामा हाँडीगाउँबाट थालिएको अभियान महानगरका अन्य स्थान तथा क्षेत्रसँगै उपत्यकाभित्र विस्तार हुनेछ । यो प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ हो । यसका सवल पक्ष अन्य स्थानका लागि सिकाइ बन्न सक्छन् ।
भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते, ५० हजार बढी स्थानीय सहभागि हुँदै
काठमाडौं । भरतपुर भ्रमण वर्षको यही फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको सहभागिता हुने महानगरले अनुमान गरेको छ । भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । नारायणगढ–गोन्द्राङ छ लेन सडकलगायत केही पूर्वाधार निर्माणमा ढिलाइ हुँदा उद्घाटन पछि सारेर मार्च १ अर्थात् फागुन १८ गते गर्न लागिएको हो । नारायणी नदी किनारमा भव्य समारोहकाबीच भ्रमण वर्षको उद्घाटन गरिँदैछ । महानगर प्रमुख रेनु दाहालका अनुसार उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्रीहरु, दलका प्रमुखहरु, सङ्घीयमन्त्री, प्रदेशका प्रमुख एवं मुख्यमन्त्री, प्रदेशका मन्त्री, जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय एवं प्रदेशका सांसदलगायतलाई निमन्त्रणा गरिएको छ । उनका अनुसार उद्घाटन समारोहपूर्व सबै वडाबाट झाँकीसहितको र्याली नारायणगढ नजिक नारायणी नदी किनार आइपुग्नेछ । विभिन्न जातजाति एवं सङ्घसंस्थाले झाँकी प्रदर्शन गर्ने दाहालले बताए । उनले भने, ‘भ्रमण वर्ष उद्घाटनमा ५० हजारभन्दा बढीको सहभागिता हुने अनुमान गरेका छौँ । महानगरका सबै वडासहित जिल्लाका अन्य पालिका र छिमेकी जिल्लाबाट समेत उद्घाटन समारोहमा सहभागिता हुनेछ ।’ कार्यक्रमको घोषणापूर्व र उद्घाटनसत्र पछि राष्ट्रिय तथा स्थानीय कलाकारले नदी किनारमा साँझसम्म साङ्गितक प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यकोसमेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको हो । भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति बनाइएको छ । समितिको शनिबार बैठक बसेको थियो । प्रमुख दाहालकै संयोजकत्वमा सात सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, एक सय एक सदस्यीय सल्लाहकार समिति र २९ उपसमिति गठन गरिएका छन् । उपसमितिमा सात सय सदस्य रहेका छन् । भ्रमण वर्षमा गरिने विभिन्न कार्यक्रम स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा गरिँदैछ । महानगरका उपप्रमुख अधिकारीका अनुसार रु छ करोडभन्दा बढी सरकारी तवरबाट भ्रमण वर्षमा खर्च हुँदैछ । यसका लागि महानगरले रु तीन करोड विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले बताए । यसैगरी पर्यटन बोर्डबाट रु ६५ लाख निकासा भइसकेको उपप्रमुख अधिकारीले जानकारी दिए । यससँगै भ्रमण वर्ष तयारीका क्रममा भौतिक निर्माणमा समेत महानगरले खर्च गरेको छ । पर्यटकीय पूर्वाधार निर्माण महानगरको योजनाबद्ध खर्च भएको उहाँले बताउनुभयो । भ्रमण वर्षसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्र चलायमान हुने अधिकारीको अपेक्षा छ । महानगर प्रमुख दाहालले भ्रमण वर्षमा दुई लाख बाह्य र पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए। भ्रमण वर्षका अवसरमा महानगरभित्र रहेका होटल, रिसोर्ट र रेष्टुरेन्टले विशेष छुटमा प्याकेज दिँदैछन् । प्रमुख दाहालका अनुसार महानगरभित्र २० शय्याभन्दा माथिका ६५ पर्यटकीय होटल छन् । मध्यमस्तरका सहित सात हजार जना अट्ने क्षमता महानगरभित्रका होटलमा रहेको छ । भ्रमण वर्षलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गर्नेगरी विभिन्न कार्यक्रम गरिँदै छ । प्रमुख दाहालका अनुसार ५० भन्दाबढी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गरिँदै छन् । ऐतिहासिक दरबार दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरिँदैछ । भ्रमण वर्षको उद्घाटनपछि लगत्तै दियालो बङ्गला सञ्चालनमा ल्याइनेछ । त्यहाँ पुनःनिर्माणको काम भइरहेको उनले बताए । यसैगरी दुर्लभ पाटेबाघ पर्यटकले हेर्न मिल्ने गरी खुला खोरमा राख्न लागिएको छ । भ्रमण वर्षको उद्घाटनअघि नै बाघ राखिनेछ । महानगरको देवनगरमा बाघसँगै सोही क्षेत्रमा गैँडा राख्नका लागि खोर बन्दैछ । दाहालले भनिन् ‘अब यहाँ आउने पर्यटकले निकुञ्जमा बाघ, गैँडा नहेरी फर्कनु पर्दैन ।’ महानगरपालिकाले गैँडाको खोर, मचान र त्यहाँ पुग्ने ठाउँसम्मका लागि बाटो निर्माण गर्न रु एक करोड खर्च गरेको छ । बाघको खोर निकुञ्ज आफैँले बनाएको हो । भ्रमण वर्षका अवसरमा विश्वका विभिन्न देशमा बस्ने भरतपुरवासी, समग्र नेपाली र सोही मुलुकका नागरिक घुम्न आउनका लागि निम्तो दिइएको छ । प्रमुख दाहालले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान बनाउन भ्रमण वर्ष उपयोगी हुने अपेक्षा छ ।’ भ्रमण वर्षका सन्दर्भमा गरिने गतिविधिका लागि महानगरपालिकाले एक वर्षदेखि गृहकार्य गर्दै आएको थियो । उनले भने, ‘भ्रमण वर्ष सफल पार्न सरकारी प्रयासले मात्रै हुँदैन, निजी क्षेत्र पनि सक्रियरुपमा लाग्नुपर्छ ।’ सबैको साथ र सहयोगले भ्रमण वर्ष सफल हुने उनको अपेक्षा छ । देशमै स्थानीयस्तरमा भौतिक पूर्वाधारमा अग्रणी मानिएको भरतपुर महानगरपालिकामा यहाँको भौतिक निर्माण हेर्न अन्य स्थानीय तहबाट जनप्रतिनिधि आउने अपेक्षा गरिएको छ । भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले भ्रमण वर्षले सिथिल भएको समग्र अर्थतन्त्र चलायमान हुने बताए। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुर हुँदै पर्यटक निकुञ्ज प्रवेश गर्ने गर्दछन् । राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगर पर्या–पर्यटन, धार्मिक र संस्कृतिक हिसाबले महत्वपूर्ण छ । सुवेदीले भने, ‘सरकारी तवरबाट यो ढङ्गले पर्यटन प्रवर्द्धनका लागि गरिएको यो प्रयास निजी क्षेत्रका लागि कोसेढुङ्गा हुनेछ ।’ उनका अनुसार भरतपुर महानगरभित्र अन्तर्राष्ट्रियस्तरको रङ्गशाला र सिटिहल बन्दैछ । प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ । राजधानी नजिक रहेको यो महानगर आर्थिक नगरीका रुपमा विकास हुँदै गएको छ । यस्ता कार्यक्रमले यहाँको पर्या–पर्यटनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस
उत्कृष्ट नगर सन्धिखर्कका प्रमुख भन्छन्- पर्याप्त बजेट हुन्थ्यो भने धेरै काम गर्न सकिन्छ
प्राकृतिक स्रोत तथा वित्त आयोगले फागुन ९ गते १७ वटा सूचकका आधारमा आर्थिक वर्ष ०७९/८० मा ७५३ वटा स्थानीय तहले गरेको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । नतिजाका आधारमा ७५३ वटा स्थानीय तहमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका उत्कृष्ट बन्न सफल भएको छ । देशभरका पालिकामध्ये सन्धिखर्क कसरी उत्कृष्ट बन्न सफल भयो भन्ने विषयमा विकासन्युजका लागि नारायण अर्यालले उक्त पालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठसँग कुराकानी गरेका छन् । प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन मूल्यांकनको आधारमा तपाईंको पालिकालाई उत्कृष्ट पालिकाको घाेषणा गरेकाे छ, यो नतिजा हासिल गर्न कसरी सम्भव भयो ? जनप्रतिनिधिहरूले पनि आफ्नो जिम्मेवारीअनुसार पूर्णरूपमा समय दिएर काम गर्ने र कार्यसम्पादनमा तोकिएका कामहरुलाई ध्यानपूर्वक काम गर्ने गरेका छौं । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृतदेखि सबै शाखाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । साथै, संघीय सरकार र प्रदेश सरकारले दिएको निर्देशनअनुसार १७ वटा बुँदामा हामीले जे जति सक्यौं त्यति काम गर्यौं । पालिकाका हामी प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतदेखि सबैको राम्रो अनुभवका कारणले पनि यो सम्भव भएको हो । यो हुन पनि जरुरी छ । भएन भने पालिकाहरू कमजोर हुन्छन् । निर्वाचित जनप्रतिनिधिहरू र कर्मचारीको सहकार्यबाट मात्रै यो नतिजा हासिल गर्न सम्भव भयो वा राजनीतिक दल र समाजसँग पनि सहकार्य गर्नुभएको छ ? काम गर्दा पूर्व जनप्रतिनिधिहरूको पनि हामीले सल्लाह लिनुपर्छ, विशेषगरि यसमा जनप्रतिनिधिहरूको टिम नै बढी जिम्मेवार रहनुपर्छ । साथै प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा रहेको जुन टिम हुन्छ, त्यो काममा चुस्तदुरुस्त भएन भने नतिजा हासिल गर्न सम्भव छैन । त्यो टिम चुस्तदुरुस्त बनाउने विषयमा नगर प्रमुख उप-प्रमुखको मुख्य जिम्मेवारी हुन्छ । राज्यले दिएका निर्देशनहरू कार्यान्वयन भयो कि भएन, के कति प्रगति भयो भएन भनेर समीक्षा गर्ने र त्यसलाई कार्यान्वयन गर्यो भने सम्भव हुने रहेछ । सूचकमा रहेका पूर्ण खोप र एसईईको नतिजा उत्कृष्ट बनाउन पालिकाले कसरी काम गरिरहेको छ ? पूर्ण खोपको सन्दर्भमा संघीय सरकारले कार्यनीति बनाउँछ, सो कार्यनीतिमा हाम्रो पालिकाभित्र कतिवटा बिन्दु राख्दा यो खोप सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सही निर्णय गरेका छौं । एसईईको सन्दर्भमा हामीले आधारभूत विद्यालयहरूलाई कसरी राम्रो बनाउन सकिन्छ, गुणस्तरीय शिक्षा कसरी कायम गर्न सकिन्छ, अहिले विद्यालयहरुप्रति विद्यार्थीहरुको आकर्षण घट्दो रहेको, कक्षा १२ पढेपछि विद्यार्थीहरु नेपालमा बस्ने वातावरण नै नरहेको अवस्था छ । यी विषयहरुलाई सम्बोधन गर्न हामीले एक कक्षा देखि नै पठनपाठनमा राम्रो व्यवस्थापन गर्न सक्नुपर्छ । त्यसैले विद्यालयहरूको नियमित अनुगमन गर्ने, विद्यार्थी र अभिभावकहरूसँग नियमित सल्लाह गर्ने काम हामीले गरिरहेका छौं । विद्यालय व्यवस्थापन समिति विद्यार्थीप्रति बढी जिम्मेवार हुनुपर्छ, साथै अभिभावकहरू पनि आफ्ना बालबालिकाको भविष्य कस्तो बनाउने भनेर उत्तिकै जिम्मेवार हुनुपर्छ । त्यसैले व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी सबैलाई राखेर कसरी गुणस्तरीय शिक्षा बनाउन सकिन्छ त्यसमा तपाईंहरुको ध्यान जान जरुरी छ । तपाईंहरूले हिजोको शिक्षा र अहिलेको शिक्षामा व्यवस्थापन गर्दा आमुल परिवर्तन हुनेगरी लाग्नुपर्छ भनेर यो अभियानसँग जोडेका छौं । योजना तर्जुमा गर्दा कार्यान्वयन पक्ष समेटियो भने अपनत्वसहित कार्यान्वयन हुने अनुभवले देखाउँछ, तपाईंको पालिकाले योजना तर्जुमाको पक्षलाई कसरी अभ्यास गर्ने गरेको छ ? योजना तर्जुमाको धेरै काम वडास्तरमा नै हुन्छ । वडाले योजनाहरूको तर्जुमा गर्दा त्यहाँ हुने टोलविकास संस्थाका प्रतिनिधिहरूमार्फत टोलमा के समस्या छ ? टोलमा के काम गर्दा विकास देखिन्छ जनताले राहत पाउँछन्, सानोतिनो बजेटले पनि के सम्भव हुन्छ र के गर्न सकिन्छ भनेर जनप्रतिनिधिहरूले तयार गरेको टिपोर्टका आधारमा बजेटको सीमाभित्र रहेर क्रमागतरूपमा पहिलो दोस्रो गरेर कार्ययोजना अगाडि बढाउने अभ्यास गरेका छौं । ७५३ वटा पालिकामा अर्बौं बजेट भएका महानगरहरुलाई समेत उछिनेर कार्यसम्पादनमा तपाईंको पालिका उत्कृष्ट हुन सफल भएको छ । के व्यवहारिक रूपमा महसुस हुने गरी पालिकाले शुसासन र समृद्धिको दिशा लिएको छ ? हामी हरेक कुरामा अगाडि बढेका छौं । सन्धिखर्क पहाडी जिल्लाको पालिका हो । अहिले हामीले संघ र प्रदेश दुवै तहबाट आवश्यक बजेट पाउन सकेका छैनौं, नत हामी स्थानीय सरकारसँग स्रोत र साधन छ । सीमित स्रोत साधनमा रहेर काम गर्दा हामीलाई आर्थिक व्यवस्थापनको ठूलो समस्या छ । जसले गर्दा विकास निर्माणका काम ओझेलामा परेका छन् । संघीय सरकार र प्रदेश सरकारबाट पर्याप्त बजेट प्राप्त हुन सकेमा थप नतिजा दिन सकिन्छ । पालिकाको काम गर्दा के कस्ता कानुनी तथा नीतिगत समस्या भएको अनुभूति गर्नुभएको छ, जसलाई सम्बोधन गर्दा पालिकाको कामले थप गति लिन सक्छ ? कतिपय कामहरू गर्दा संघीय सरकार र प्रदेश सरकारको कानूनहरू बाझिने, स्थानीय सरकारको हिसाबले हामीले आफूखुसी कानुनहरू बनाउन नपाउने, स्थानीय सरकारलाई २२ वटा कानूनको अधिकार भएपनि अन्य कानून बनाउनलाई जटिलता हुने र प्रदेश र संघीय सरकारको कानुनलाई हेरेर बस्नुपर्ने अवस्थाले धेरै समस्याहरू रहेका छन् । अरुको मुख नहेरी आफूलाई आवश्यक पर्ने कानूनहरु बनाउन पाएको भए अहिलेको तुलनामा धेरै कामहरु हुन्थ्यो जस्तो लाग्छ ।