धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व संकलन
अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उपमहानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो । सम्पत्ति करबाट २ करोड ९१ लाख ५० हजार, भूमि कर ८२ लाख ८५ हजार, बहाल कर ५ करोड ३७ लाख ८८ हजार, बहाल विरौटी कर ११ लाख ८७ हजार, सवारीसाधन कर ४ लाख ३२ हजार र अन्य करबाट ४ लाख ७८ हजार राजस्व संकलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए । उनका अनुसार सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ६८ लाख पाँच हजार, अन्य सेवा शुल्कबाट २४ लाख ७९ हजार, शिक्षा क्षेत्रको आम्दानी १३ लाख ४४ हजार, पार्किङ शुल्कबाट ५२ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट २ करोड २७ लाख ७७ हजार, सिफारिस दस्तुरबाट १ करोड ३२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै व्यक्तिगत घटना दर्ता दस्तुर १० लाख ७ हजार, नाता प्रमाणित दस्तुर३ लाख ६१ हजार, अन्य दस्तुरबाट ७ लाख ५६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ४४ लाख ११ हजार, व्यवसायबाट ३ करोड १७ लाख २६ हजार, अन्य राजस्व ४ करोड ९९ लाख ५२ हजार, बेरुजुबापत ५ लाख ८६ हजार, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार र विज्ञापन करबाट ५ हजार राजस्व संकलन भएको उनले जानकारी दिए । करको दायरा बढ्दै जाँदा राजस्व संकलनमा वृद्धि हुँदै गएको शाखा प्रमुख ओझाको भनाइ छ । उनले भने, ‘प्रत्येक वर्ष करको दायरा बढ्दै जान्छ, आगामी आवमा पनि करको दायरा बढ्छ, तर करको दर भने यथावत रहन्छ ।’ गत आव २०७९/८० मा उपमहानगरपालिकाले कुल २७ करोड ९२ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ ।
महानगरको सीप मेलामा १० हजार बढीको आवेदन
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु गरेकामा १० हजार बढीले आवेदन दिएका हुन् । कामपा सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम दिने तयारी गरिएको छ । यही वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइने उनले जानकारी दिए । उनीहरुलाई वैशाख २८ गते शुक्रबारभित्र तालिमको तालिका उपलब्ध गराइने योजना रहेको उनको भनाइ छ । | वैशाख २० गतेपछि फाराम भर्नेहरुको हकमा विभिन्न क्याम्पस र सामुदायिक विद्यालयसँगको सहकार्यमा विभिन्न चरणमा तालिम उपलब्ध गराइने प्रमुख कोइरालाले जानकारी दिए । ‘मेलामा सहभागी हुनका लागि अनलाइनको माध्यमबाट करिब पाँच हजार जनाले फाराम भर्नुभएको छ । विभिन्न वडाहरुबाट करिब तीन हजार दुई सय र टुँडिखेलमा आएर प्रत्यक्ष रुपमा फाराम भर्नेको सङ्ख्या गरी १० हजार बढी छ । अहिले पनि फाराम भर्न रोकिएको छैन’, प्रमुख कोइरालाले भने । फाराम भरेका मध्येबाट दुई हजार ८१ लाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षसम्म तालिम दिइने उनले जानकारी दिए । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृृद्धि’ अन्तर्गत सीप मेला सुरु गरिएको कोइरालाले जानकारी दिए । मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरेको छ । मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको कामपाले जनाएको छ । मेलाले छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउन मद्दत गर्ने कामपाको विश्वास छ । १८ वर्ष उमेर पूरा भएका ५८ वर्ष समूहसम्मका व्यक्तिले तालिममा सहभागी हुन पाउने प्रमुख कोइरालाले जानकारी दिए । अनलाइनमार्फत विवरण भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरुले उक्त स्थानबाटै फाराम भर्न पाउनुपर्छ भनेपछि त्यहाबाट पनि फाराम भरिएको प्रमुख कोइरालाले जानकारी दिए । रासस
महाँकाल विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
पाटन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास, धार्मिक पर्यटन प्रवर्द्धनका लागि आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेटिने बताएका छन् । प्रज्ञा-स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाँकाल गाउँपालिकामा आजदेखि सुरु भएको ‘प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कृषि क्षेत्रको विकास र दुग्ध उत्पादन तथा बिक्री वितरणका लागि सरकारका तर्फबाट थप सहज बनाइने बताए । ‘उपत्यकाभित्र रहेको ललितपुरको यो क्षेत्र विकासका दृष्टिकोणले दुर्गम बनाइएको महसुस गरेँ । एक घण्टामा काठमाडौं पुग्ने गरी सडकको विस्तार आवश्यक छ । यहाँको सडक सञ्जालको स्तरोन्नतिका लागि यस पटकको बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गर्ने व्यवस्था हुनेछ,’ उनले भने । प्रधानमन्त्री दाहालले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्न प्रदेश सरकारलाई आग्रह गर्ने र सङ्घले पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गर्ने बताए । आफ्नो दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेर स्थापित गरेको स्मरण गर्दै उनले खेल क्षेत्रलाई व्यापकता दिन खेलाडीले अनुशासितरूपमा खेल प्रदर्शन गरी सभ्य र भब्य बनाउन आग्रह गरे । उद्घाटन कार्यक्रममा महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको गाउँपालिकामा बैतर्णीधाम, कालेश्वर महादेव मन्दिर, लोङ्तोङ गुम्बा, सिम्बा झरना, चनढुङ्गालगायत क्षेत्र रहेको र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन आवश्यक बजेटका लागि सङ्घीय तहबाट व्यवस्थापन गरिदिन आग्रह गरे । प्रतियोगिता संयोजक डोल्मा माया गोलेले प्रतियोगिता नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनका लागि गरेको योगदानको स्मरण गर्दै समाज र राष्ट्रका लागि उनले अतुलनीय योगदान पुर्याएको बताइन् । विकासको दृष्टिकोणले पछाडि परेको यस क्षेत्रको कृषि, पर्यटन तथा धार्मिक क्षेत्रको विकासमा यस किसिमको खेलकुद प्रतियोगिताबाट स्थानीय विकासका लागि अवसरको ढोका खोल्न मद्दत पुग्ने बताइन् । महाँकाल गाउँपालिकास्थित महाँकाल माविको प्राङ्गणमा भइरहेको प्रतियोगिताको सुभारम्भको पहिलो खेलमा महाँकाल गाउँपालिका ‘ए’ र मकवानपुरको हेटौँडा उपमहानगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको संयोजक गोलेले जानकारी दिइन् । कुल पुरस्कार राशि १२ लाख रहेको उक्त प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले दुई तथा तृतीय हुने दुई टोलीले एक–एक लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक र खेलाडी पाँच जनालाई जनही ५० हजार पुरस्कार दिइने छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको सो प्रतियोगिताको सह आयोजक ललितपुर जिल्ला खेलकुद विकास समिति रहेको छ । प्रतियोगितामा नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ ।