एकल पुरुषलाई १३ लाख रुपैयाँ भत्ता दिने गाउँपालिका

काठमाडौं । ललितपुरको बागमती गाउँपालिकाले विगत ३ वर्षदेखि देखि एकल पुरुषलाई मासिक भत्ता दिँदै आएको छ । विभिन्न पालिकाहरुले एकल महिला तथा वृद्ध भत्ता दिँदै आएको भए पनि बागमति गाउँपालिकाले भने एकल पुरुषहरुर्लाइ पनि मासिक भत्ता दिँदै आएको हो । एकल महिला, वृद्ध महिला तथा पुरुषको हकमा समाज केही उदार बने पनि एकल पुरुषहरू पनि उत्तिकै पीडित बनेको देखेर आफ्नो गाउँपालिकाले विगत ३ वर्षदेखि एकल पुरुषहरुलाई पनि मासिक भत्ता दिँदै आएको गाउँपालिकाका अध्यक्ष बिरबहादुर लोप्चनले बताए । अध्यक्ष लोप्चनका अनुसार गाउँपालिकाले यो ३ वर्षको अवधिमा गाउँपालिकाका एकल पुरुषहरुलाई १३ लाख रुपैयाँ भत्ता वितरण गरिसकेको छ । ‘हामीले वियोगमा परेका थुप्रै एकल पुरुष देखेपछि उनीहरुका लागि पनि एकल भत्ता दिनु पर्छ भन्ने सोच बनाएका हौं, एकल पुरुषलाई मासिक भत्ता दिने बागमति नै पहिलो गाउँपालिका हो,’ अध्यक्ष लोप्चनले भने । ६० वर्ष पुगेका तर ७० वर्ष ननाघेका एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको उनको भनाई छ । ७० वर्ष माथिका पुरुषहरुलाई गाउँपालिकाले वृद्ध भत्ता दिँदै आएको छ । फाइल फाेटाे विगत ३ वर्षेदेखि एकल पुरुष भत्ता मासिक १ हजार रुपैयाँ दिँदै आएका छौं, अब उनीहरुलाई उपचार खर्च भनेर ५ सय रुपैयाँ दिने योजना पनि बनाएका छौं, अब कुल १५ सय रुपैयाँ उनीहरुले पाउने छन्,’ उनले भने । उनका अनुसार गाउँपालिकामा रहेका ५० जना एकल पुरुषले मासिक भत्ता पाउदै आएका छन् । गाउँपालिकाले वर्षेनी बजेटमा ५ लाख रुपैयाँ एकल पुरुष भत्ताका लागि छुट्याउँछ । ७ सय ५३ स्थानीय तहमध्ये एकल पुरुष भत्ता वितरण गर्ने पहिलो बागमति गाउँपालिका भएको उनको दावी छ । ‘पहिले एकल महिलाले मात्र भत्ता पाउँथे, अब एकल पुरुषलाई पनि दिनु पर्छ भन्ने सोच बनाएर उनीहरुलाई पनि दिँदै आएको उनको भनाई छ । २०७४/०७५ को बजेटबाट  सुरु अध्यक्ष लोप्भनले आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रममा एकल पुरुष भत्ता कार्यक्रम सुरु गरिएको बताए । सुरुमा भत्ता पाउने एकल पुरुषको उमेर ६० पुगेको हुनुपर्ने मापदण्ड बनाइएको छ । ६० देखि ७० वर्षका पुरुषलाई मात्रै भत्ता दिने मापदण्ड बनाइएको छ। ‘७० वर्षदेखि वृद्धभत्ता नै पाउने भएकाले दोहोरो सुविधा नपाउने व्यवस्थाका लागि उमेर हद तोकेका हौं,’ लोप्चनले भने। गाउँपालिकाको सानो सहयोगले बुढेसकालमा एकल बस्नेलाई काम लागोस् भनेर यस्तो व्यवस्था गरिएको उनको भनाई छ । आर्थिक स्तर कमजोर भएका, परिवारमा कोही नभएका, परिवारबाट अपहेलित बनेका, आयस्रोत नभएका पुरुषले यस्तो सुविधा पाउने अध्यक्ष लोप्चनले बताए ।

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सबै सेवा बन्द

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए । गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि शुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट टे«सिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा सङ्क्रमण पुष्टि भएको बताइन्छ । सङ्क्रमितहरु भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य रहेका छन् । कार्यालयबाट सेवा प्रवाह गर्दा सङ्क्रमण अझ बढ्न सक्ने अवस्था रहेकाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा बन्द गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । सभा समारोह र भेला आयोजना नगर्न जिल्ला प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय कास्कीले पछिल्लो समय भारतलगायत छिमेकी देशमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै अनावश्यक सभा समारोह, सम्मेलन र भेला आयोजना नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबारको बैठकपछि प्रशासनले साँझ सूचना जारी गरी कोभिड–१९ नेपालमा पनि बढ्नसक्ने भएकाले सोको नियन्त्रणका लागि विभिन्न छ बुँदे निर्देशन जारी गरेको छ । प्रशासनले नजिकँदै गरेको होलीपर्वलगायत चाडपर्व मनाउँदा र अत्यावश्यकबाहेक गोष्ठी, भेला, कार्यक्रम गर्दा भीडभाड नगरी अनिवार्य जनस्वास्थ्यको पालना गर्न आग्रह गरिएको छ । यसैगरी क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने, सरकारी तथा गैरसरकारी संस्था, व्यावसायिक प्रतिष्ठान, होटल, रेष्टुरेन्ट, बैंक तथा वित्तीय संस्थामा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउने र सुरक्षित तवरले सेवा प्रवाह मिलाउन आग्रह गरिएको छ । मास्कको अनिवार्य प्रयोग, स्यानिटाइजर, भौतिक दूरी कायम गर्न आग्रह गर्दैै प्रशासनले होटल रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा समेत तोकिएको मापदण्डको पालना गर्न भनिएको छ । प्रशासनको आग्रहलाई अवज्ञा गर्ने गराउने व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० तथा प्रचलित कानूनबमोजिम कारवाही हुने प्रशासनले जनाएको छ । रासस

लोकसेवा तयारी गर्ने युवालाई निःशुल्क पढाइरहेको माछापुच्छ्रे गाउँपालिका कसरी अगाडि बढिरहेको छ ?

 काठमाडाैं । कास्की जिल्लामा पर्ने पाँच स्थानीय तहमध्ये माछापुच्छ्रे गाउँपालिका तेस्रो ठुलो स्थानीय तह हो । यस गाउँपालिकाकृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ९ ओटा वडा रहेको यो गाउँपालिका ५ सय ४४ दशमलब ५८ वर्ग किलोमिटरसम्म फैलिएको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिण काखमा रहेको यस गाउँपालिकाका अधिकांश स्थानहरुबाट मनोहर हिमश्रृङ्खला तथा हरिया पहाडहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ । माछापुच्छ्रे हिमालको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । यो गाउँपालिकाको पूर्वतर्फ मादी गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, उत्तरमा मनाङ जिल्ला, त्यसैगरी दक्षिणमा पोखरा लेकनाथ महानगरपालिका र अन्नपूर्ण गाउँपालिका पर्दछन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन् र त्यसैगरीरोजगारीको अवसर सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमाकेन्द्रीत हुँदै हामीले यो सामग्री तयार पारेका छौं । कृषि विकास गाउँपालिकाले वार्षिक नीति, कार्यक्रम तथा बजेट विनियोजन गर्दा कृषिलाई प्रथमिकतामा राख्ने गरेको छ । नेपाल सरकारले फलफुल दशक मनाइरहेको सन्दर्भमा यस गाउँपालिकामा पनि सुन्तला, कागती र जुनार रोपण अभियान चलिरहेको छ । गाउँपालिकाले केही वडालाई पकेट क्षेत्रको रुपमा पनि घोषणा गरेको छ भने‘एक घर एक करेसाबरी’ को अवधारण पनि अगाडि सारेको छ । कृषिलाई व्यवसायिकरण र आधुनिकिकरण गर्नको लागि गाउँपालिकाले कृषकहरुलाई आग्रह गरेको छ । कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफुल संकलन गर्ने केन्द्र पनि गाउँपालिकाले स्थापना गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भइरसका कारण बैदेशिक रोजगारबाट फर्केका तथा बेरोजगार भएर बसेका युवालाई कृषि एवं पशुपालन व्यवसायमा संलग्न गराउनको लागि गाउँपालिकाले स्थानीय सहकारी मार्फत युवालाई अनुदान दिने व्यवस्था पनि मिलाएको छ । सहकारीमार्फत दुध बिक्रि गर्ने कृषकलाई बिक्रिको आधारमा प्रोत्साहन अनुदान दिने व्यवस्था पनि मिलाएको छ । गाउँपालिकामा दुध उत्पादन पकेट क्षेत्र छुट्याएर कृषकसँगको लागत साझेदारीमा स्थानीय प्रजातीका भैँसी प्रवद्र्धन गर्ने कार्यक्रम पनि रहेको छ । २०७६ सालको घर सर्वेक्षण अनुसार यस गाउँपालिकामा ७६ दशमलव ७९ प्रतिशत घर परिवारको मुख्य पेशा कृषि तथा पशुपालन रहेको थियो । गाउँपालिकाको योजना गाउँपालिकाको प्रशासनीक भवन निर्माण भइरहेको छ । १० करोड रुपैयाँको लागतमा सो भवनको निर्माण भइरहको हो । ‘एक घर एक धारा’ अभियान पनि सञ्चालनमा रहेको छ । करिब ८ करोड रुपैयाँको लागतमा गाउँपालिका र वडा कार्यलय जोड्ने पक्कि सडकको निर्माण पनि भइरहेको छ । गाउँपालिकालाई केन्द्रसँग जोड्ने सडकको कामपनिधमाधम भइरहेको छ । १ अर्ब रुपैयाँ बराबरको लगानीमा एन्फा टेक्निकल सेन्टरको काम पनि अगाडि बढिरहेको छ । चालु आर्थिक वर्षको लागि यस गाउँपालिकाको बजेट कुल ६२ करोड ६७ लाख ३९ हजार २ सय ९० रुपैयाँ रहेको छ । जसमा गाउँपालिकाको आन्तरिक स्रोतबाट ३ करोड २६ लाख २० हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । शैक्षिक विकास शैक्षिक क्षेत्रतर्फ पनि गाउँपालिकाले धेरै काम गर्दै आएको छ ।१० ओटा माध्यमिक विद्यालय र २६ ओटा आधारभूत तथा प्रा.वि. गरी जम्मा ३६ ओटा सामुदायिक विद्यालयहरु गाउँपालिकामा सञ्चालित छन् । विद्यालयहरुको भौतिक सुधारको कार्यक्रम पनि गाउँपालिकाले गरिरहेको छ । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा छात्राहरुलाई निःशुल्क रुपमा स्यानेटरी प्याड वितरण गर्दै आएको छ । गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला, लाईबे्ररी तथा सिटि कक्षा स्थापनातथा सञ्चालन भएका छन् । स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन पनि सञ्चालन भइरहेको छ । गाउँपालिकाले गुणस्तर शिक्षामा विशेष जोड दिएको छ । स्वास्थ्य क्षेत्रको विकास गाउँपालिकाले स्वास्थ्य संस्थाहरुको भौतिक विकास तथा सुधार गरिरहेको छ । स्वास्थ्यकर्मीहरुले कुपोषण न्यूनीकरण गर्ने र पोषण सम्बन्धी जनचेतनाको अभियान पनि चलाएका छन् । आधारभूत स्वास्थ्यसेवाको नियमित उपलब्धताको सुनिश्चितताको लागि औषधिको नियमित आपूर्ति र भण्डारको व्यवस्था पनि गाउँपालिकाले मिलाएको छ । नेपाल सरकारको नीति बमोजिम गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल पनि निर्माण भइरहेको छ । स्वास्थ्य बीमामार्फत प्रदान गरिने सेवाको पहुँचलाई विस्तार गरी महिला, बालबालिका,ज्येष्ठ नागरिक, दलित, सिमान्तकृत, शहिद परिवार रद्वन्द्व पीडित नागरिकलाई स्वास्थ्य बीमाको रकम अनुदानको रुपमा दिने कार्यक्रम पनि यस गाउँपालिकामा रहेको छ । खेलकुद विकास खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले ‘एक वडा एक खेल मैदान’ को अवधारण सुरु गरेको छ । यस गाउँपालिकामायुवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबलटेनिस, कराँते, फुटवललगायतका खेलहरू गाउँपालिकामा आयोजना हुने गरेका छन् । गाउँपालिकाका युवाहरू खेलकुदतर्फ उत्सुक छन् ।राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ । पर्यटन विकास यो गाउँपालिका पर्यटकीय क्षेत्रको प्रचुर संभावना बोकेको ठाउँ हो । गाउँपालिकामा होमस्टेको अवधारणा सुरु भएको छ भने ल्वाङ गाउँमा चिया बगान पनि सञ्चालनमा आएको छ । माछापुच्छ्रे मोडल ट्रेकिङ रुट तथा मर्दी हिमाल ट्रेकिङ रुट पनि यो गाउँपालिकामा पर्छ । धम्पुस, अस्ट्रेलियन वेस क्याम्प, धिताल, घलेखर्क सिदिङ, मर्दी हिमाल हाइक्याम्प र लो क्याम्प पनि गाउँपालिकामा सञ्चालित छन् । माछापुच्छ्रे हिमाल यो गाउँपालिकामा पर्छ । भौगोलिक हिसाबले पनि सुन्दर यस गाउँपालिकामा पर्यटकहरुको बाक्लो उपस्थिति रहेको पाइन्छ । गाउँपालिकाले पर्यटन विकासको लागि विभिन्न योजनाको तर्जुमा पनि गरेको छ । पदयात्रा गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षण गर्ने काम पनि गाउँपालिकाले गरिरहेको छ । गाउँपालिका भित्र क्यानोनिङ्ग, रक क्लाइम्बिङ्गजस्ता साहसिक पर्यटकिय स्थलको पहिचान तथा विकास गर्ने योजना रहेको छ । विभिन्न पुराना पदमार्गहरुको संरक्षण गर्न र नयाँ पदमार्गहरुको निर्माण गर्नमा गाउँपालिकाले विशेष ध्यान दिएको छ । युवा रोजगारी युवालाई रोजगार सिर्जना गर्नमा पनि गाउँपालिकाको ठुलो भूमिका खेलेको छ । युवालाई लक्षित गर्दै प्रधानमन्त्रि रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । गाउँपालिकाले युवालाई निःशुल्क सिप विकास तालिम पनि दिँदै आएको छ । लोकसेवा तयारी गर्ने युवालाई गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षाको व्यवस्था मिलाएको छ । यस गाउँपालिकाका धेरै युवाहरु पशुपालन तथा कृषि पेशामा जोडिएका छन् । कृषि पेशा गर्ने युवालाई गाउँपालिकाले अनुदानको व्यवस्था पनि मिलाएको छ । जनप्रतिनिधीहरु तर्फको कुरा गर्नुपर्दा यस गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ्ग हुनुहुन्छ भने उपाध्यक्षमाकृष्ण कुमारी पौडेल दवाडी हुनुहुन्छ । (गाउँपालिकाका सूचना अधिकारी युवराज पाैडेलसँग गरिएकाे कुराकानीमा आधारित)