गण्डकी गाउँपालिका, जहाँ सुत्केरी महिलालाई ७ हजार रुपैयाँसम्म भत्ता दिइन्छ
काठमाडौं । नेपालको गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाँउपालिका हो गण्डकी गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ८ ओटा वडा रहेको यो गाउँपालिका १ सय २३ दशमलब ८६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिका भित्र विभिन्न जातजाती हरु मिलेर बसेका छन् । यो गाउँपालिकाको पूर्वतर्फ धादिङ जिल्ला, पश्चिममा चितवन जिल्ला, उत्तरमा शहिद लखन गाउँपालिका र गोरखा जिल्ला, त्यसैगरी दक्षिणमा धादिङ जिल्ला पर्दछन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन् र त्यसैगरी रोजगारीको अवसर सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै हामीले यो सामग्री तयार पारेका छौं । कृषि विकास गाउँपालिकाले कृषि विकासको क्षेत्रमा धेरै काम गर्दै आएको छ । कृषि विकासको लागि गाउँपालिकाले संघीय सरकार तथा स्थानीयस्तरबाट आएका कार्यक्रमहरु स्थानीय वडाका कृषकहरुसँग समन्वय गर्दै अघि बढाएको छ । गाउँपालिकाले ३ र ४ नं वडालाई कुखुरा पकेट क्षेत्रको रुपमा छुट्याएको छ भने वडा नं. १, ५, ६, ७ र ८ लाई बेमौशमी तरकारी खेती पकेट क्षेत्र तथा वडा नं. २ लाई चाहिँ सुन्तला पकेट क्षेत्रको रुपमा छुट्याएको छ । गाउँपालिकाले राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको व्यवस्था पनि मिलाएको छ । गाउँपालिकामा विभिन्न किसिमका अनुदानका कार्यक्रमहरु पनि रहेका छन् । गाउँपालिकाका करिब ७५ प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् । कृषिलाई व्यवसायिकरण र आधुनिकिकरण गर्नको लागि गाउँपालिकाले कृषकहरुलाई आग्रह गर्दै आएको छ । गाउँपालिकाका ठुला योजना गाउँपालिकाको ठूलो योजनाको रुपमा सडक संजाललाई नै लिन सकिन्छ । आग्रीडाँडा, दलभञ्ज्याङ, रानीस्वारा कौदी, पौवा, हटिया, कुवापानी तथा बतासे भञ्ज्याङमा हाल सडक निर्माणको काम भइरहेको छ । शैक्षिक विकास शैक्षिक क्षेत्रको सुधारतर्फ पनि गाउँपालिकाले धेरै काम गर्दै आएको छ । ९ ओटा माध्यमिक विद्यालय र ३६ ओटा आधारभूत गरी जम्मा ४५ ओटा विद्यालयहरु गाउँपालिकामा सञ्चालित छन् । विद्यालयहरुको भौतिक सुधारको कार्यक्रम पनि गाउँपालिकाले गरिरहेको छ । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । गाउँपालिकाले स्थानीय स्रोत शिक्षकलाई तलब भत्ताको व्यवस्था गरेको छ भने विद्यालयहरुलाई अनुदान दिने व्यवस्था पनि मिलाएको छ । विद्यालयका भवनहरु पनि निर्माण भएका छन् । अत्तिरिक्त क्रियाकलाप र खेलकुद पनि विद्यालयमा हुने गरेको छ । गाउँपालिकामा नमुना विद्यालयहरु पनि सञ्चालनमा आएका छन् । स्वास्थ्य विकास गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ५ ओटा स्वास्थ्य चौकी, २ ओटा आधारभूत सेवा केन्द्र र १६ ओटा सामुदायिक स्वास्थ्य इकाईहरु रहेका छन् । नेपाल सरकारको नीति बमोजिम यहाँ १५ शैयाको आधारभूत अस्पताल पनि निर्माण भइरहेको छ । गाउँपालिकामा स्थानीय र करार गरी स्वास्थ्य शाखामा जम्मा ७२ जनाको दरबन्दी रहेको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्यसेवाको नियमित उपलब्धताको सुनिश्चितताको लागि औषधीको नियमित आपूर्ति र भण्डारको व्यवस्था पनि मिलाएको छ । गाउँपालिकामा कूल ६६ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन् । दीर्घरोगीहरुलाई गाउँपालिकाले निःशुल्क औषधिको पनि व्यवस्था मिलाएको छ । सुत्केरी महिलालाई ७ हजार रुपैयाँसम्म सुत्केरी भत्ता दिँदै आएको छ । आधारभूत स्वास्थ्य उपचारहरु गाउँपालिकामा नै हुने गरेको छ । महामारी रोग तथा सरुवा रोग लगायतका रोगहरुसँग लड्न गाउँपालिका लागि परेको छ । सबै बालबालिका तथा महिलाहरुलाई लगाउनु पर्ने खोप सुविधा समेत गाउँपालिकामा मौजुद रहेको छ । खेलकुद विकास खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकामा खेलकुद समिति गठन भएको छ । खेलकुदका औपचारिक कार्यक्रम पनि गाउँपालिकामा हुने गरेका छन् । गाउँपालिकामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । गाउँपालिकाले खेल मैदानको पनि व्यवस्था मिलाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा वडागत खेलकुद प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ । पर्यटकीय स्थल गण्डकी गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकाले आन्तरिक तथा वाह्य पर्यटक ल्याउन जोड दिइरहेको छ । गाउँपालिकाले पर्यटकीय स्थलहरुको पहिचान गरी स्तरोन्नती र प्रचार गर्ने काम पनि अगाडि बढाएको छ । पर्यटकीयस्थलहरुको पहिचान गर्ने तथा मठमन्दिरहरुको निर्माण गर्ने काम पनि सँगसँगै अगाडि बढाइएको छ । यो गाउँपालिका धार्मिक हिसाबले महत्वपूर्ण त छ नै साथै पर्यटन विकास गर्ने हेतुले सो सम्बन्धी योजना पनि गाउँपालिकाले तयार पारिसकेको छ । भैरवी मन्थला, मन्थला मन्दिर, महादेव डाँडा, फुजेलर र बुट्टार आदि स्थानहरु गाउँपालिकाका पर्यटकीय स्थलहरुका रुपमा चर्चित छन् । नागरिकको समस्या गाउँपालिकाको नगरिकहरु प्रायःजसो खानेपानी, बाटोघाटो, घरनक्सा पास, संस्था दर्ता, राहत सहयोग, रकम भुक्तानी, न्याय निरुपण, पशुपन्छीको रोग, कृषिसम्बन्धी लगायतका समस्याहरु लिएर आउने गरेका छन् । युवा रोजगारी युवालाई रोजगार सिर्जना गर्नमा पनि गाउँपालिकाले ठुलो भूमिका खेलेको छ । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । करिव १ हजार ३४ जना व्यक्तिले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी पनि पाएका छन् । गाउँपालिकाले युवालाई निःशुल्क सिप विकास तालिम दिँदै आएको छ । यहाँका धेरै युवाहरु पशुपालन तथा कृषि पेशामा जोडिएका छन् । कृषि पेशा गर्ने युवालाई गाउँपालिकाले अनुदानको व्यवस्था पनि मिलाएको छ । जनप्रतिनिधीहरुतर्फको कुरा गर्नुपर्दा यस गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगर हुनुहुन्छ भने उपाध्यक्ष चाहिँ ललिता अधिकारी हुनुहुन्छ । (गाउँपालिकाका सूचना अधिकारी बेदहरि अधिकारीसँग गरिएको कुराकानीमा आधारित)
पर्यटन गुरुयोजना तयार गर्नको लागि १० लाख रुपैयाँ बजेट छुट्याएका छौं – अध्यक्ष तामाङ
नेपालको उत्तरमा हिमालयदेखि दक्षिणमा महाभारत पर्वतसम्म फैलिएकोे बागमती प्रदेश अन्तर्गतको धादिङ जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाँउपालिका हो खनियाबास गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित छ । गाउँपालिकाको पूर्वतर्फ नुवाकोट जिल्ला, पश्चिममा गंगाजमुना गाउँपालिका, उत्तरमा रुवीभ्याली गाउँपालिका र त्यसैगरी दक्षिणमा नेत्रावती गाउँपालिका रहेका छन् । सदरमुकाम धादिङबेसीदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने गरी कच्ची सडकको निर्माण भइसकेको छ । धादिङबेसी सदरमुकामबाट २ देखि ३ घण्टामा गाउँपालिका कार्यालय पुग्न सकिन्छ । १ सय २० दशमलब ८ वर्ग किलोमिटरसम्म फैलिएको यस गाउँपालिकाले धादिङ जिल्लाको कुल क्षेत्रफलको जम्मा ५ दशमलब ५२ प्रतिशत भूभाग ओगटेको छ । २०७५ सालको तथ्याङ्क अनुसार यस गाउँपालिकाको जनसंख्या १३ हजार ९ सय २२ जना रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् ? ठुला योजनाको रूपमा गाउँपालिकामा सडक निर्माणको काम नै रहेको छ । गाउँपालिकामा सडक निर्माणको स्तरोन्नतीको काम पनि भइरहेको छ । खानेपानीको योजना पनि गाउँपालिकामा रहेको छ । गाउँपालिकामा ‘एक घर एक धारा’ अभियान सञ्चालन गरिएको छ । यस अभियान अनुसार मिटर जडान गरेर नागरिकको घरमा खानेपानी पुर्याउने काम भइरहेको छ । वडा नं.२ मा सडक पुर्याउन बाँकी रहेको छ भने अरु वडामा सडक पुगिसकेको छ । २ नं वडामा पनि सडक निर्माणको लागि टेन्डर प्रक्रियाबाट काम अगाडि बढिरहेको छ । यस सडक निर्माणको लागि पालिकाबाट ५० लाख र प्रदेशबाट २५ लाख रुपैयाँ बजेट बिनियोजना भई जम्मा ७५ लाख रुपैयाँमा सडक निर्माणको काम अगाडि बढिरहेको छ । हाम्रो गाउँपालिकामा कुनैपनि सडक पिच हुन सकेको छैन । यो वर्ष सडक पिच गर्ने हाम्रो लक्ष्य रहेको छ । गाउँपालिकाको सबै वडामा बिजुली बाल्न पनि सफल भएका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । अधिकांश नागरिकहरू कृषि पेशामा नै आधारित छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । भेटेरीनरी र कृषि शाखामा २ जना कर्मचारीहरू रहेका छन् । तरकारी तथा फलफूल किनेर खान नपरोस् भन्ने अभियानमा हामी लागिपरेका छौं । व्यवसायिक रूपमा कृषि खेतीको पनि सुरुवात भएको छ । सानातिना तरकारीको बिउ निःशुल्क र धेरैजसो ५० प्रतिशत अनुदानमा बिउ वितरण गर्दै आएका छौं । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं । कृषि सम्बन्धी १५ वर्षे गुरुयोजना पनि हामीले तयार पारेका छौं । कृषकलाई कृषि तालिम पनि दिँदै आएका छौं । फलफूल तथा तरकारी नर्सरीको तालिम पनि कृषकहरुलाई दिँदै आएका छौं । वडा नं २ र ३ लाई आलु ब्लक क्षेत्रको रूपमा छुट्याएका छौं । बाख्रा पकेट क्षेत्रको रूपमा वडा नं ४ र ५ लाई छुट्याएका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँको नागरिकहरू वैदेशिक रोजगारीको लागि पनि गएका छन् । प्रतिशतमै भन्नुपर्दा करिब ९५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । हामीले गोरु जोत्ने मानिसलाई पनि नगद ५ हजार रुपैयाँसम्म पुरस्कार दिने व्यवस्था मिलाएका छौं । अनुदानको रूपमा कृषकलाई नगद पुरस्कार दिने व्यवस्था पनि मिलाएका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । सिचेत पोखरी तथा बिजुली युङ्वा पनि पर्यटकीयस्थलको रूपमा निक्कै चर्चित छन् । पर्यटन गुरुयोजना तयार गर्नको लागि हामीले १० लाख रुपैयाँ बजेट छुट्याएका छौं । वडा नं ५ मा घले दरबारको अवशेष रहेको छ । हाम्रो गाउँपालिका धार्मिक हिसाबले पनि एकदमै महत्वपुर्ण रहेको छ । होमस्टे पनि गाउँपालिकामा सञ्चालन भएको छ । हामीले पर्यटन पूर्वाधारमा पनि विशेष जोड दिएका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? हाम्रो गाउँपालिकामा जम्मा २७ ओटा विद्यालयहरु तथा ६ ओटा माध्यमिक विद्यालयहरू रहेका छन् । गाउँपालिकाका धेरै विद्यार्थीहरु नेपालकै अन्य शहर तिर पढ्न जाने भएकाले बाहिर जानु नपरोस् भनेर सबै वडाका विद्यालयमा बोर्डिङस्तरको कक्षा पनि सञ्चालन गरेका छौं । यो वर्ष बाट प्रत्येक वडामा नयाँ ईसीजी कक्षा सञ्चालन गरी बजेट विनियोजन गरेर पढाउने कामको पनि सुरुवात भएको छ । विद्यालयका भवनहरू निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिएका छौं । पहिलो प्राथमिकताको रुपमा गाउँपालिकामा शैक्षिक क्षेत्रलाई नै राखेका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयका प्रधानाध्यापक तथा समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्राविधिक शिक्षाको लागि पनि विशेष जोड दिएका छौं । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? धेरै युवाहरूले रोजगारी पाउन् भनेर रोजगार सम्बन्धी कार्यक्रम र तालिम पनि सञ्चालन गरेका छौं । उद्यम विकासको लागि तालिम तथा गोस्ठीजस्ता कार्यक्रमहरु गर्नका लागि २५ लाख रुपैयाँ बजेट पनि छुट्याएका छौं । उद्यम बन्ने युवाहरुका लागि निःशुल्क व्याज अनुदानमा दिने भनेर ५० लाख रुपैयाँ बजेट छुट्याएका छौं । युवाले विना धितो ऋण लिएर काम गर्छन् भने २ वर्षसम्मको व्याज गाउँपालिकाले मिनाहा पनि गरिदिन्छ । गाउँपालिकामा युवाहरूले साना तथा घरेलु उद्योगहरु पनि सञ्चालन गरेका छन् । युवालाई ३ महिने इलेक्ट्रिशियन तालिम पनि दिएका थियौं । जसमा ५० जना युवाहरूको सहभागिता रहेको थियो । हाल ५० जनामध्ये २० जनाले व्यवसायिक काम पनि गरिरहनुभएको छ । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । हाल कस्ता किसिमको योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? हामीले सडकलाई नै प्राथमिकता दिएका छांै । शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा नै राखेका छौं । गाँउपालिकामा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सकिन्छ कि भन्ने बारेमा पनि ध्यान दिएका छौं । विशेष गरी शिक्षाको विकास विना कुनैपनि प्रकारको चेतनाको विकास हुँदैन भनेर शिक्षालाई विशेष जोड दिएका छौं । खानेपानी र विद्युतलाई पनि प्राथमिकतामा राखेका छौं । गाउँपालिकाको स्रोत साधनको परिचालन गरी कसरी विकास निर्माणको काम अगाडि बढाउने भनेर पनि ध्यान दिएका छौं । हाम्रो पालिकामा ६४ प्रतिशत भुभाग वनजङ्गलले ओगटेको छ । पालिकामा ६४ प्रतिशत वनजङ्गललाई बढाएर ८० प्रतिशत बनाउने हाम्रो लक्ष रहेको छ । वन नर्सरी तालिम पनि पालिकामा सञ्चालन हँुदै आएको छ । १ सय ३४ थरीको जडीबुटी पनि हाम्रो पालिकामा पाइन्छन् । स्वास्थ्य क्षेत्रको विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? गाउँपालिकाको सबै वडामा स्वास्थ्यचौकीहरू छन् । गाउँपालिकामा आवश्यकतानुसार स्वास्थ्य भवनहरू रहेका छन् । स्वास्थ्यसम्बन्धी जानकारी पनि स्वास्थ्यकर्मीहरुले दिइरहनुभएको छ । गाउँपालिकामा ईसीजी र ल्याबको पनि स्थापना भएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलमा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । हाम्रो पालिकामा स्वास्थ्यचौकीका भवनहरू कतै बनिसकेका छन् भने कतै बन्ने क्रममा छन् । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । स्वास्थ्य युनिटबाट बेलाबेलामा आँखाको उपचार पनि हुने गरेको छ । गाउँपालिकामा विकास निर्माणका कामहरू कत्तिको प्रभावकारी भएका छन् ? विकास निर्माणको कामहरू प्रभावकारी नै भइरहेको छ । जनप्रतिनिधिको रूपमा गाउँपालिकामा आइसकेपछि हामीले गरेका विकास निर्माणका कामहरु प्रभावकारी नै भएका छन् । विकास राम्रो भएकाले जनताहरू मसँग खुसी छन् । विकास निर्माणको काम प्रभावकारी भएर जनताको आवश्यकता पुरा भयो भने त्यो नै मेरो लागि सन्तुष्टि हो । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? ठुलो उद्योग त हाम्रो पालिकामा छैन । यहाँ गरिने प्रमुख पेसा भनेको खेतीकिसानी नै हो । केही कृषकहरूले भने कुखुरापालन, बाख्रापालनजस्ता कामहरू पनि गरिरहेका छन् । पालिकामा केही हाइड्रोपावरहरु पनि सञ्चालनमा आएका छन् । पालिकामा होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । क्रसर उद्योग पनि गाउँपालिकामा रहेको छ । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ? सामान्य ढुङ्गा, गिट्टी, बालुवाजस्ता व्यवसायहरूबाट कर सङ्कलन हुने गरेको छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? अबको ५ वर्ष भित्रमा गाउँपालिकाको ८० प्रतिशत भूभाग जङ्गलले घेरेको तथा हरियाली भएको बनाउने योजना रहेको छ । सकेसम्म गाउँपालिकामा सबै सडकलाई ग्राबेल गर्ने हो । स्वास्थ्य तथा शिक्षालाई राम्रो बनाउने हो । कृषिलाई आधुनिकीकरण गर्ने पनि मेरो योजना छ । यसका साथै पूर्वाधार विकासमा पनि हामीले जोड दिएका छौं । जनताको इच्छा र चाहना पुरा गर्ने योजना पनि मैले बनाएको छु । गाउँपालिकामा नागरिकहरू प्रायः कस्ता समस्या लिएर आउने गरेका छन् ? व्यक्ति अनुसारको समस्या आउने गरेको छ । धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । कोही शिक्षा क्षेत्रका समस्या लिएर आउँछन् भने कोही चाहीँ विकास निर्माणको समस्या लिएर आउँछन् । तरपनि त्यस्ता समस्याहरूलाई समाधान गरेर मात्र हामी अगाडि बढ्ने गरेका छौं । प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ? पार्टी अनुसारको केन्द्र र प्रदेश सरकारबाट बजेट आउने गर्छ । प्रदेश र केन्द्रबाट ठुलो योजना त पालिकामा पर्न सकेको छैन । तर पनि सामान्य विकास निर्माणको काममा भने हाम्रो समन्वय भइरहेकै छ ।
हामीले गाउँपालिकामा बालमैत्री शासन लागू गरेका छौं- अध्यक्ष सिलवालसँगको कुराकानी
नेपालको बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाँउपालिका हो सिद्धलेक गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक किसिमको विशेषता बोक्न सफल पनि छ । ७ ओटा वडा रहेको यो गाउँपालिका १ सय ६ दशमलव ९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकाको पूर्वतर्फ निलकण्ठ नगरपालिका र गल्छी गाउँपालिका, पश्चिममा गोरखा जिल्ला, उत्तरमा ज्वालामुखी गाउँपालिका र निलकण्ठ नगरपालिका एवं दक्षिणमा गजुरी र बेनिघाट रोराङ गाउँपालिका रहेका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ? गाउँपालिकाकै ठुलो योजनाका रूपमा खानेपानीको योजना रहेको छ । गाउँपालिकामा ८ ओटा डिप बोरीेङ पनि सञ्चालनमा आएका छन् । गैर सरकारी निकाय र गाउँपालिकाको साझेदारीमा खानेपानीको काम भएको छ । डिप बोरिङ खानेपानी योजनामा १४ करोड रुपैयाँ बराबरको बजेट खर्च भएको छ । गाउँपालिकाको सडकको स्तरोन्नती गरेर ७० किलोमिटर सडकलाई पिच गर्न सुरु पनि गरेका छौं । ३ ओटा साविकको गाविस मिलेर हाम्रो गाउँपालिका बनेको छ । ३ ओटा सडकको स्तरोन्नती गर्नको लागि १२ करोड रुपैयाँ खर्च भएको छ । गाउँपालिकाको वडामा मात्र नभएर टोल टोलमा पनि सडक पुगेको छ । गाउँपालिकाको थोरै घर वाहेक बिजुली पनि पुगि सकेको छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । कृषि प्याकेजका कार्यक्रमहरु पनि संघ र प्रदेशबाट परेको छ । कृषि गर्ने कृषकको लागि ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर पनि वितरण गर्दै आएका छौं । अहिलेसम्म हामीले करिब ३ सय ओटा हाते ट्«याक्टरहरु वितरण गरिसकेका छौं । किसानलाई मौरीका घार पनि वितरण गरेका छौं । भँैसी पालन गर्न कृषकको लागि नगद अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । कृषक महिला समुह पनि गाउँपालिकामा गठन भएको छ । समुहगत रूपमा ४० हजार बाख्रा महिला समूहले पालन गरेका छन् । महिलाहरुले दशैँमा मात्र ८ हजार खसी बिक्री गर्ने गरेका छन् । हाम्रो गाउँपालिकामा कृषि उपज सङ्कलन केन्द्र पनि स्थापना भएको छ । कुखुरापालन पनि गाउँपालिकामा उत्साहजनक छ । व्यवसायिक रूपमा गाउँपालिकामा कृषि खेतीको पनि सुरुवात भएको छ । गाउँपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र धेरैजसो ५० प्रतिशत अनुदानको बिउ वितरण गर्दै आएका छौं । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं । आधुनिक कृषि प्रणालीलाई पनि हामीले विशेष जोड दिएका छौं । कृषकलाई कृषि सम्बन्धी तालिमको पनि व्यवस्था मिलाएका छौं । गाउँपालिकामा मकै ब्लक क्षेत्र पनि छुट्याएका छौं । वडा नं. ६ लाई बाख्रा ब्लक क्षेत्रको रूपमा छुट्याएका छौं । भँैसीपालन गर्नको लागि २५ लाख रुपैयाँ प्रदेश र संघबाट आएको बजेट वडा नं ३ र ४ लाई छुट्याएका छौं । गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ? यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँको नागरिकहरु वैदेशिक रोजगारीको लागि पनि गएका छन् । प्रतिशतमै भन्नुपर्दा करिब ७५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । यो वर्षबाट कृषकलाई अनुदानको रूपमा नगद पुरस्कार दिने पनि भनेका छौं । साना किसान सहकारीलाई पनि गाउँपालिकाले प्रवद्र्धन गराउने र सहकारीले उत्पादनको आधारमा नगद दिने व्यवस्था मिलाएको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । वडा नं. २ मा सिद्धबाबाको मन्दिर रहेको छ । सिद्धबाबाको नाम बाट नै हाम्रो गाउँपालिकाको नाम सिद्धलेक राखिएको हो । यहाँ बेला बेलामा मेला पनि लाग्ने गरेको छ । शिवरात्रीको समयमा सिद्धबाबा भएको ठाउँमा हजारौं मानिसको उपस्थिती रहेको थियो । हाम्रो गाउँपालिका बुढिगण्डकी आयोजना सफल भएको खण्डमा पर्यटकीय क्षेत्रको लागि ठुलो महत्वपुर्ण पनि हुन सक्छ । गाउँपालिकाको वडा नं ५ मा होमस्टे पनि सञ्चालन भएको छ । पर्यटकका लागि गाउँपालिकामा खानेबस्ने सुविधासहितका होटलहरु पनि सञ्चालनमा छन् । गाउँपालिकामा कफि डाँडा पनि रहेको छ जहाँ अर्गानिक कफि खान पनि पाइन्छ । पर्यटन विकासका लागि पर्यटन सम्बन्धि योजनाहरु पनि तयार पारेका छौं । हामीले गाउँपालिकाको पर्यटन पूर्वाधारमा पनि विशेष जोड दिईरहेका छौं । नेचरक्याम पनि गाउँपालिकामा सञ्चालन भएको छ । स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? आधारभुत स्वास्थ्य चौकीहरु गाउँपालिकाको सबै वडामा छन् । गाउँपालिकामा ३ ओटा स्वास्थ्य चौकी, ४ ओटा आधारभूत स्वास्थ्य चौकी तथा ५ ओटा स्वास्थ्य विन्दुहरु रहेका छन् । कोभिडको प्रभाव फेरी प¥यो भने कोभिड नियन्त्रण गर्ने सामान्य व्यवस्था पनि मिलाएका छौं । गाउँपालिकामा आवश्यकता अनुसार स्वास्थ्य भवनहरु रहेका छन् । स्वास्थ्यसम्बन्धी जानकारी पनि स्वास्थ्यकर्मीहरुले दिइरहनुभएको छ । यसै वर्षबाट हामीले ६० वर्ष पुगेका बृद्ध बाआमालाई स्वास्थ्य स्याहारसुसार गर्नको लागि समिति पनि गठन गरेका छौं । गाउँपालिकाका स्वास्थ्यकर्मीहरू परिचालन गरी बृद्ध बाआमाको जानकारी लिने काम पनि भएको छ । बृद्ध बाआमाले बृद्ध भत्ता पनि पाइरहनुभएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलमा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँपालिकामा लागु भएको छ जस अन्तर्गत वडा नं २, ४ र १ मा १५ लाख रुपैयाँ बजेट छुट्याएका छौं । युवाहरुको व्यवसायलाई प्रवद्र्धन गर्नको लागि गाउँपालिकाले युवाले गर्न लागेको व्यवसायको पहिचान गरी युवाको आय दर्ता गरेको खण्डमा उनीहरुलाई सुलभ ऋण दिने व्यवस्था पनि मिलाएका छौं । कृषि व्यवसाय गर्न कृषकलाई धेरै ऋण दिनसक्ने अवस्था त छैन तर पनि गाउँपालिकाको सिफरिसमा कुमारी बैंकबाट युवाले ४ प्रतिशत व्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण पाउँछन् । युवाहरु मनोरञ्जन तिर बढि लागेको पाइन्छ । काम गर्ने तथा स्वारोजगार बन्ने युवाहरुको मानशिकता देखिँदैन । खेलकुद तर्फ पनि धेरै युवाहरु लागेका छन् । अहिलेको समयमा युवाहरु कुलतमा पनि फसेको पाइन्छ । बालमैत्री शासन पनि हामीले गाउँपालिकामा लागु गरेका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? हाम्रो गाउँपालिकामा १३ ओटा माध्यमिक विद्यालय र ३४ ओटा आधारभूत प्राथमिक विद्यालयहरू रहेका छन् । ५ कक्षासम्म मात्र भएका विद्यालयहरुमा एक दरबन्दी अनुदानको रूपमा थपेका छौं । ५ कक्षासम्मको विद्यार्थीहरुलाई हामीले ड्रेसको पनि व्यवस्था मिलाएका छौं । शिक्षकले लगाउने ड्रेस पनि नेपाल सरकारले तोकेकोभन्दा फरक र भिन्न बनाएका छौं । विद्यालयको भवनहरू निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिएका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्राविधिक शिक्षाको लागि पनि विशेष जोड दिएका छौं । जो–जो सरकारी कर्मचारी, जनप्रतिनिधि, शिक्षक हुनुहुन्छ ती सबैका बालबच्चा सामुदायिक विद्यालयमा पढाउनु पर्ने तथा निजी विद्यालयमा पढाउन नपाइने निर्णय पनि गरेका छौं । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएको परिवर्तन बारे केही बताईदिनुस् न पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । पहिला कर्मचारीहरूले चलाइरहनुभएको थियो । हाल देखिने खालका कामहरू पनि धेरै भएका छन् । संरचना पनि बनेका छन् । अहिले गाउँपालिका भित्र सडकको विकास भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । जनताको आवश्यकता पुरा गर्नमा हामी खटिरहेका छौं । हाल गाउँपालिकाको कुनै पनि सेवा प्रवाहमा समस्या रहेको छैन । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रहरु रहेका छन् । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम अगाडि बढिरहेको छ । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि हामीले खेलकुद समितिको गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रम कसरी अगाडि बढाउने भनेर छलफल गरिरहेका हुन्छौं । गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । खेल मैदानको व्यवस्था पनि हामीले गरिरहेका छौं । यस अवधिमा बजेट के कति खर्च भयो ? खर्च अनुसार उपलब्धि प्राप्त भएको छ ? पहिलो वर्षमा गाउँपालिकामा ३२ करोड रुपैयाँ बजेट आएको थियो । विकास बजेट भनेर १७ करोड रुपैयाँ आउने गरेको छ । बाढी, पहिरो गएर गाउँपालिकामा सडक बाटो आदि तहसनसह भएका थिए । यसको स्तरोन्नती गर्नको लागि २ करोड ५० लाख रुपैयाँ लाग्यो । विकास गरे अनुसारको खर्च हुने गरेको छ । खर्च गरे अनुसार उपलब्धि पनि राम्रो नै भएको छ । खानेपानीको काम भइरहेको छ । कच्चि सडकहरु पिच हुन थालेका छन् । परिवर्तन भनेको जनताले महशुस गर्ने कुरा पनि हो । गाउँपालिकामा विकास निर्माणको कामहरूको अनुगमन पनि हामी गरिरहेका हुन्छौं । केन्द्र र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? समन्वय गरेरै काम गर्ने गरेका छौं । प्रदेश र केन्द्र सरकारले व्यवस्था गरेका प्रतिनिधिका कुराहरू अवलम्बन गर्नुपर्छ । विकास निर्माणको कुरामा पनि हाम्रो समन्वय भएको छ । ठुला–ठुला योजनाहरू हामीले प्रदेश र केन्द्र सरकारसँग माग गर्छौं र विकास निर्माणको काम अगाडि बढाउँछौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? हाम्रो गाउँपालिकामा ठुला उद्योगहरु त छैनन् नै । उद्योग सञ्चालन गर्नको लागि गाउँपालिको क्षमताले भ्याउँदैन । गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योग भने केही मात्रामा छन् । पालिकामा बरु कृषि उद्योग धेरै संख्यामा छन् । कृषकहरूले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायतका काम गर्दै आएका छन् । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ त ? हामीले सुरु गरेका योजनाहरू सम्पन्न गर्ने हो । बनिरहेका सडक तथा पुलका संरचनाहरू पूरा गर्ने पनि योजना रहेको छ । ४५ सय धरधुरीलाई ‘एक घर एक धारा’ पुगिसकेको छ । बाँकि ठाउँमा पनि पुर्याउने मेरो योजना छ । खानेपानीलाई दिगो बनाउनको लागि खानेपानी परियोजना सञ्चालन गरेर वैकल्पिक व्यवस्थापन गर्ने हो । शिक्षा तथा स्वास्थ्यलाई गुणस्तरीय बनाउने योजना बनाएको छु । कृषिमा कृषकहरुलाई आत्मनिर्भर बनाउने पनि योजना बनाएको छु ।