महिला जनप्रतिनिधि भन्छन्ः प्रमुख पदमा नेतृत्व गर्न सक्षम छौँ

काठमाडाैं । तनहुँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व ग्रहण गर्न आफूहरु सक्षम रहेको बताएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनदेखि उपप्रमुख, उपाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका यहाँका जनप्रतिनिधिले अब हुने निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरु सक्षम रहेको बताएका हुन् । व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले महिलाहरु पनि प्रमुख पदको नेतृत्व गर्न सक्षम भएको बताइन् । पाँच वर्षको अनुभवले धेरै कुरा सिकाएको जानकारी दिँदै उनले भनिन्, “यो बीचमा अनुभव बटुल्यौँ, प्रमुख भएर नगरपालिका चलाउने दृढ इच्छाशक्ति र सङ्कल्प छ । हामी केही कुरामा पनि कम छैनाैं ।” “नगरप्रमुखको आकाङ्क्षी धेरै हुने गरेकाले महिलाहरु पनि अब नेतृत्वमा आउनुपर्छ” उपप्रमुख जोशीको भनाइ थियो, “सँगसँगै राजनीति गरेकाहरु प्रदेश सांसद भइसके, निर्वाचनमा अब मेरो दाबेदारी नगर प्रमुखमा रहन्छ ।” जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको उपप्रमुख भएर काम गरिरहँदा सोचे अनुरुपको केही कामहरु भने गर्न नसकिएको उनको भनाइ थियो । घिरिङ गाउँपालिकाका उपाध्यक्ष सरस्वती सिग्देलले अबको निर्वाचनमा आफ्नो दाबेदारी अध्यक्ष पदका लागि हुने बताइन् । टिकट दिने विषय पार्टीको भएकाले महिलालाई अगाडि बढाउन पार्टीले पनि सोच्नुपर्नेमा उनले जोड दिइन् । “पहिला पार्टीबाट अनुमोदन भएर टिकट पाएको खण्डमा जनताबाट पनि अनुमोदन हुन सक्छु भन्ने आत्मविश्वास छ,” उपाध्यक्ष सिग्देलले भन्नुभयो, “अध्यक्ष भएर जनताको सेवा गर्ने सङ्कल्प गरेको छु ।” उनले पाँच वर्षको अवधिमा उज्यालो घिरिङ, घरघरमा धारा, सडक स्तरोन्नतिलगायत कामहरु गरिएको जानकारी दिइन् । “हामी निर्वाचित भएर आउँदा गाउँपालिकाको कार्यालय थिएन, सडक आयोजनाको घरमा बस्यौँ, सङ्घीयतापछिको पहिलो जनप्रतिनिधि भएकाले धेरै कुरा सिक्न समय पनि लाग्यो,” उनले भनिन्, “काम गर्दै जाँदा अनुभव हासिल भयो, अब त अध्यक्ष भएर गाउँपालिका चलाउन सक्छु ।” आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले कोरोना महामारीका कारण सोचे जति काम गर्न नसकिएको बताइन् । “धेरै कुरा गर्छौँ भन्ने जोसका साथ आएका थियौँ, पहिलो वर्ष सिक्नमै समय गयो, दोस्रो वर्ष पहिलो वर्षको कार्यक्रम लागू गर्न अगाडि बढ्यौँ, तेस्रो वर्षदेखि कोरोना आयो,” उनले भनिन्, “यति हुँदाहुँदै पनि भौतिक पूर्वाधार, हरेक वडासम्म पुग्ने सडक निर्माण, वडा कार्यालय भवन, स्वास्थ्य केन्द्रका भवन बनाएका छाैं ।” उपाध्यक्ष भएर काम गरेको अनुभवका आधारमा अब गाउँपालिका अध्यक्ष भएर काम गर्ने इच्छाशक्ति उत्पन्न भएको श्रेष्ठले बताइन्। घिरिङ गाउँपालिका–२ का वडासदस्य सनम थापाले सदस्यमा काम गरेको अनुभवका आधारमा अब वडाध्यक्षका लागि आफ्नो जिकिर रहेको बताइन्। “वडा सदस्य भएर सिकेको अनुभवका आधारमा वडाध्यक्ष चलाउन सक्छु,” उनले भनिन्। व्यास नगरपालिका–४ का वडा सदस्य वसुन्धरा घर्तीले महिलाहरु अब नेतृत्वमा आउनै पर्नेमा जोड दिइन् । “महिलाहरु पनि पुरुष सरह हरेक काममा सक्षम छन्, अब नेतृत्वमा महिला पुग्नुपर्छ, त्यसका लागि सबै महिलाले आवाज उठाउनुपर्छ,” उनले भनिन् । रासस

दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने

भोजपुर । भोजपुरलाई तराईसँग जोड्ने दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने छ । कालोपत्रे गर्न ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) आयोजनाले वातावरणीय परीक्षणको सार्वजनिक सुनुवाइ गरेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए । गाउँपालिकाले अन्य प्रक्रिया पूरा गरिसकेको उनको भनाइ छ । अध्यक्ष राईले भने, ‘भोजपुरवासीको चासोको रुपमा रहेको उत्तर दक्षिण जोड्ने यो सकडको काम चाँडै सुरु हुँदैछ । २२ किलोमिटर सडक कालोपत्रेपछि अन्य क्षेत्रको पनि काम अघि बढ्छ ।’ ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले सडक निर्माणको काम थालेको हो । एक सय २५ किलोमिटर लामो दिंला भोजपुर घोडेटार चुहार हुँदै सुनसरीको चतरा सडकको स्तरोन्नति र कालोपत्रेको काम सुरु भएको छ । एशियाली विकास बैंक (एडिबी)को लगानीमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)ले निर्माण थाल्ने छ । भोजपुर र उदयपुरलाई जोड्न दूधकोसी नदीमा पुल बनिरहेको छ । चुहारको पुल निर्माण सम्पन्न भएसँगै भोजपुर सदरमुकामबाट ९० किलोमिटरको दूरी पार गरेपछि सुनसरीको चतरा पुगिनेछ । भोजपुर सदरमुकामबाट पूर्व हुँदै जाने हो भने ९२ किलोमिटरको दुरी पार गरेपछि धनकुटाको हिले पुगिन्छ । दिंलाबाट चतरा पुग्न १२५ किलोमिटरको यात्रा तय गर्नुपर्ने छ ।

हलेसी तुवाचुङ नगरपालिकामा प्रभावकारी बन्दै ‘बालिका बचत’ कार्यक्रम

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिकाभरिका १२९ बालिकाको नाममा बचत गर्ने काम भइसकेको छ । कार्यक्रमअन्तर्गत हालसम्म ४६ बालिकाको नाममा खोलिएको बचत खातामा दोस्रो किस्ता र ८३ जनाको खातामा पहिलो किस्ताबापतको रकम जम्मा भएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिए । उनका अनुसार खाता खोलेको दश वर्षपछि नवीकरण गर्नुपर्नेछ । नगरपालिकाले वार्षिकरुपमा चार हजारका दरले तीन वर्षमा १२ हजार रकम जम्मा गरिदिने र त्यसमा घरपरिवारले पनि सकेको रकम जम्मा गर्ने गरेका छन् । यसबाट छोरीहरुको भविष्य उज्वल बन्ने आमाहरुको विश्वास छ । नगरपालिकाले छोरीको सम्मान र प्रोत्साहनका लागि सुरु गरेको सो कार्यक्रमअन्तर्गत खाता खोलिएका बालिकाको नाममा नगरपालिकाले जम्मा गरिदिएको भौचर सम्बन्धित बालिकाहरूका आमालाई प्रदान गर्ने गरिएको छ । समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयासस्वरूप नगरपालिकाले सो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख बिमला राईले जानकारी दिइन् । कार्यक्रमअन्तर्गतको सहयोग पाउन गर्भावस्थामा आमाले नियमित स्वास्थ्य जाँच गरेको र वर्थिङ सेन्टर (प्रसूति गृह) वा स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाण सम्बन्धित वडा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ । उपलब्ध प्रमाणका आधारमा वडाले रकम जम्मा गरिदिन नगरपालिकालाई सिफारिस गर्नेछ । वडाको सिफारिसका आधारमा नगरपालिकाले सम्बन्धित बालिकाको नाममा सालपा विकास बैंकमा खोलिएको खातामा रकम जम्मा गरिदिनेछ । कार्यक्रम सुरु गरेपछि नगरपालिकामा नियमित गर्भजाँच गराउने र वर्थिङ सेन्टरमा गएर सुत्केरी गराउने महिलाको संख्यासमेत वृद्धि हुँदै गएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिएका छन् । कार्यक्रमअन्तर्गत छोरीको नाममा खाता खोलेर तीन वर्षको उमेर पुग्दासम्म किस्तागत रूपमा वार्षिक चार हजारका दरले खातामा रकम जम्मा गरिदिने गरेको छ । सालपा विकास बैंकको हलेसी शाखाले सो रकमको वार्षिक नौ प्रतिशतले ब्याज उपलब्ध गराउने छ । बैंक खातामा जम्मा भएको रकम बालिका १५ वर्ष पुगेपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको छ । नगरपालिकाले रकम जम्मा गरिदिएको खातामा स्वयम् बालिकाको परिवारले समेत आफूले सकेको रकम बचत गर्न सक्ने बैंकका प्रबन्धक भाष्कर श्रेष्ठले जानकारी दिए । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले भने अहिलेसम्म उक्त कार्यक्रम लागू गरेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा बर्थिङ सेन्टर भने सबैमा सञ्चालन गरिएको छ । रासस