भरतपुर महानगरको प्रमुखमा ३० जनाको मनोनयन

चितवन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको छ । कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार प्रमुखमा नेकपा (एमाले)का विजय सुवेदी, नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गणेश गिरी, विवेकशील साझा पार्टीबाट प्रवीण काफ्ले, राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम शर्मा, नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुलाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी)बाट सूर्यप्रसाद रेग्मी, मङ्गोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुनमगर, राष्ट्रिय नागरिक पार्टीबाट पूर्णबहादुर गुरुङ, जनमत पार्टीबाट सञ्जयकुमार ठाकुर, मौलिक जरोकिलो पार्टीबाट विनोदकुमार गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मण अधिकारी, उन्नत लोकतन्त्र पार्टीबाट दीपेन्द्र बाँस्तोला, सामाजिक एकता पार्टीबाट खेम प्रसाईँले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै स्वतन्त्रतर्फ जगन्नाथ पौडेल, रामकृष्ण ओझा, हरिशचन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल, रुद्रप्रसाद सापकोटा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, उद्धव अर्याल, कुलराज कँडेल, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी र दुर्गाप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिमाल गुरुङ, विवेकशील साझाबाट पुष्पा सापकोटा, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर, मङ्गोल नेशनल अर्गनाइजेशनबाट सुष्मा तामाङ, राप्रपा नेपालबाट कल्पना थापा, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट कौशिला खत्री रहेका छन् । यस्तै स्वतन्त्रबाट उपप्रमुखमा रविचन्द्र अधिकारी, पवित्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कौडाल रहेका छन् । रासस

कामपा प्रमुख पदका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएका हुन् भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका हुन् । प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन् । उपप्रमुखमा उम्मेदारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । उम्मेदवारमध्ये १२ महिला छन् । आसन्न निर्वाचनका लागि १२ गते साँझसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । मनोनयनको पहिलो दिन ११ गते प्रमुखका लागि १६ ले र उपप्रमुखका लागि १७ जनाले उम्मेदवारी दिएका थिए । काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौं जिल्लाका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा प्रमुखका लागि १२५ र उपप्रमुख पदका लागि ५७ जनाले, वडाध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयनपत्र दर्ता गराएका हुन् ।

स्थानीय तह निर्वाचन : एक लाख ३७ हजारको मनोनय दर्ता

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ । यस्तै पालिका अध्यक्षमा तीन हजार २६४ र उपाध्यक्षमा दुई हजार २९६ जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्षमा ३२ हजार २१७, महिला सदस्यमा २३ हजार ५२१, दलित महिला सदस्यमा २१ हजार २२१ र वडा सदस्यमा ४९ हजार २३९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ । आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।