अक्सिजनसहित ३५ शय्याको आइसोलेशन निर्माण, नगरप्रमुख भन्छन्- सङ्क्रमित बढ्दै गए श्यया थप्दै जानेछौं 

फाइल फाेटाे गलकोट । बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछि अक्सिजनसहितको आइसोलेशन कक्ष तयार पारेको छ । नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको वडा नं. ३ स्थित रातामाटामा ३५ श्ययाको अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको जनाएको छ । नगरपालिका क्षेत्रमा रहेको धौलागिरि अस्पतालमा रहेका आइसोलेशन श्यया भरिँदै जान थालेपछि आइसोलेशन कक्षको निर्माण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘अस्पतालमा रहेको २५ श्यया क्षमताको आइसोलेशन लगभग भरिन थालेको छ, कोरोनाको दोस्रो लहरमा अक्सिजनको निकै आवश्यक रहेको हुँदा अक्सिजनसहितको आइसोलेशन निर्माण गरेका हौं’, नगरप्रमुख पौडेलले भने, ‘अहिले ३५ श्ययाको तयारी गरेका छौं, सङ्क्रमित बढ्दै गए श्यया थप्दै जानेछौं ।’ धौलागिरि अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । अस्पतालमा २५ जनालाई राखेर उपचार गर्न सक्ने क्षमता छ । गत वर्ष सङ्क्रमित धेरै भएपछि धौलागिरि बहुमुखी क्याम्पसमा राखेर उपचार गरिएको थियो । अस्पतालमा उपचाररत दुई जनाको बिहीबार मृत्यु भएको छ । एक सङ्क्रमित र अर्का एकजना शङ्कास्पद बिरामीको मृत्यु भएको थियो । आइसोलेशनका सबै श्ययामा अक्सिजन जडान भएकाले अक्सिजन आवश्यक सङ्क्रमितलाई समेत आइसोलेशन श्ययामा राख्न सकिने नगर स्वास्थ्य शाखा संयोजन रामप्रसाद खनालले बताए । जिल्लामा सङ्क्रमित भएका अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले आइसोलेशन निर्माण गर्दा अक्सिजन जडान गर्नुपरेको हो । रासस

बाह्रबिसे नगरपालिकाकी उपमेयरको उदाहरणिय कामः आफु चढ्ने गाडीलाई बनाइन् एम्बुलेन्स

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकामा कोरोना संक्रमण दर बढ्न थालेपछि उपमेयरले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरेकी छन् । पालिकामा कोरोनाका बिरामीको चाप बढ्दै गएपछि उपमेयर सुशीला पाख्रीनले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेकी हुन् । पालिकामा कोरोनाको संक्रमणदर उच्च रहेको र एबुलेन्सको अभाव भएको कारणले आफुले चढ्ने सवारी एबुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेको उनले जानकारी दिइन् । पाख्रीनले चढ्ने गाडी आजबाट एबुलेन्सको रूपमा प्रयोग भएको छ । कोरोना संक्रमति बिरामी बोक्न, स्वाब परीक्षणका लागि अस्पतालसम्म लैजान तथा अन्य आवश्यक कामका लागि गाडी प्रयोग हुने उपप्रमुख पाख्रीनले जानकारी दिइन् । पालिकाले सर्वसाधारणहरुको पीसीआर परीक्षण गर्न सुरु गरेको एक हप्ता भएको छ । कोरोनाको लक्षण देखिएका नागरिकहरूको पीसीआर निःशुल्क गर्दै आएको पनि पाख्रीने जानकारी दिइन् । पाख्रीनका अनुसार हाल पालिकामा ११ जना सक्रिय संक्रमित रहेका छन् । अक्सिजन सहितको १५ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा रहेको उनको भनाई छ । पालिकामा अक्सिजन र आइसोलेसन कक्ष बढाउने तयारी भइरहेको पनि उनले जानकारी दिइन् । उनले आफु चढ्े गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरेर उदाहरणिय काम गरेकी छन् ।

टोखामा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा, उपप्रमुख भन्छिन्- मेरो गाडि बिरामीको सेवाका लागि दिन्छु

काठमाडौं । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएको जानकारी दिए । ‘डाक्टर र औषधसहित निर्माण गरिएको आइसोलेशन केन्द्रमा आजैदेखि टोखाका कोरोना सङ्क्रमित बिरामीको उपचार हुनेछ’, उनले भनिन् । बिरामीको अवस्था हेरेर उक्त स्वास्थ्य केन्द्रमा ५० श्ययाको आइसोलेशन केन्द्र निर्माण गरिने उपप्रमुख डङ्गोलको भनाई छ । सो नगरपालिकाले नगर उपप्रमुख डङ्गोलको संयोजकत्वमा आइसोलेशन सेन्टर व्यवस्थापन तथा अनुगमन समिति निर्माण गरी कोभिडका बिरामीको उपचारका लागि सम्भावित स्थानको अध्ययन गरिरहेको छ । यस्तै नपाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र निर्माण गर्न लागेको छ । नगरपालिकाले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)सँगको सहकार्यमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेशन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए । ‘अक्सिजन थेरापीसहित आइसोलेशन केन्द्र स्थापना भएसँगै अक्सिजनको मात्रा कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ’, उनले भने । राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र ८० श्ययाको हुने नगरपालिकाले जनाएको छ । उक्त नगरपालिकाभित्रका जनप्रतिनिधि तथा कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि यही वैशाख ३० गतेसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको छ । यस्तै सो नगरपालिकाले दोस्रो चरणको कोरोनाबाट गम्भीर रहेका बिरामीको उपचारका लागि स्थानीय तहभित्रका निजी अस्पतालसँग सहकार्य गर्ने भएको छ । नपाले ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल तथा प्रसूति गृह गोङ्गबुसँग टोखाभित्रका सङ्क्रमित बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए । उत्तरमा नुवाकोटसँग सिमाना जोडिएको टोखामा ११ वडा रहेका छन् । उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ । देशभर कोरोना सङ्क्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्नका लागि उक्त गाडी प्रयोग गरिनेछ । नगर उपप्रमुख डङ्गोलले डाइलोसिस, डेलिभरीलगायतका अत्यावश्यक बिरामीलाई घरबाट अस्पताल लैजान तथा अस्पतालबाट घर ल्याउनका लागि आफ्नो गाडीको प्रयोग गरिने जानकारी दिए । ‘कोरोना महामारी र विपद्को समयमा जनताको सेवा गर्नु जनप्रतिनिधिको मुख्य धर्म हो, म आफू गाडी प्रयोग नगरी बिरामीको सेवाका लागि आजैदेखि दिन्छु’, उनले भनिन् ।