सबै वडामा प्रशस्त बजेट दिएँ, धेरै जिम्मेवारी पूरा गरेँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन् । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइदिएको बताए । शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसकेपनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताएका हुन् । मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकिर गरे । सबै वडाहरुलाई प्रशस्त बजेट दिने, काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै मेयर शाक्यले सबै काम सम्पन्न नै भइसक्यो भनेर दावी गर्न भने नसक्ने बताए । ‘सबै पूरा गर्न नसके पनि धेरै जिम्मेवारी पूरा गरेको छु । मैले टिमलाई व्यवस्थित ढंगले परिचालित गरेको छु । सबैलाई उचित जिम्मेवारी दिएर काम गर्ने वातावरण बनाइ दिएका छौं । सबै वडा कार्यालयहरुलाई प्रशस्त बजेट पनि दिने, जिम्मेवारी पनि दिएर काम गराएका छौं’ उनले भने । उपमेयर हरिप्रभा खड्गीले सहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरुको काम गरेको बताइन् ।

वालुवामा पानी हाले जस्तै उपमहानगरको सौर्यबत्ती लगानी, एक वर्ष नबित्दै बिग्रीयो

फाइल फोटो काठमाडौं । बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गरेका छन् । ६ महिनादेखि राम्ररी बलेको छैन । तर, बत्तिको मर्मतसंभार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीय बताउँछन । सौर्यबत्ती मर्मतको लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गर्ने गरेको छ तर बत्ती मर्मत भएर बलेको देखिदैन । उपमहानगरपालिका भित्र दुई सय ५० ओटा सौर्यबत्ती जडान भएका छन् । तर, जडान भएका मध्ये अधिकांशबत्ती बल्दैनन् । बत्ती नहुँदा रातको समयमा नियमित आवातजावत गर्न समस्या हुनका साथै पटक–पटक सडक दुर्घटना भएको समेत हुने गरेको छ । तर उपमहानगरपालिकाका जनप्रतिनिधिले भने खासै चोसो नदेखाएको स्थानीय ललितकुमार रौनियारले बताए । उनले सडकमा जडान गरिएका बत्ती बल्न छाडेकाले सडकमा हिड्ने मानिसहरु हिंडडुल गर्दा दुर्घटनाको जोखिम बढेको गुनासो गरे । ‘सोलार बत्ति जडान गरिएको दुई, तीन महिना मज्जाले बल्यो, तर त्यसपछि बिग्रिएर उज्यालो दिन सकेको छैन, त्यसैले चाँडो भन्दा चाँडो सौर्यबत्तिको मर्मत गर्न सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ,’ उनले भने । तर यता उप–महानगरपालिकाकी उपमेयर उमा थापामगरले भने उपमहानगरपालिकाले सडक बत्ती मर्मत कार्य गरिरहेको बताईन । उनका अनुसार उप–महानगरपालिका भित्र विग्रिएको सडक बत्ती मर्मतका लागि यो वर्ष २० लाख बजेट विनियोजन गरिएको थियो । सौर्यबत्तीको एक बर्ष मात्र वारेन्टी हुने भएकाले सडक बत्ती विग्रिने गरेको बताईएको छ । उपमहानगरपालिकाको समन्वय र संसद कोषबाट नेपालगञ्जमा सौर्यबत्ती जडान गरिएको थियो ।

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

राँझा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरु रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिए । उनका अनुसार, गत आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्षको हालसम्म कार्यक्षेत्रअन्तगर्तका चार जिल्लाका उजुरीमध्ये बाँकेका २६५, दाङका २०९, बर्दियाका १११ र रोल्पाका ३३ गरी कूल ६१८ उजुरी दर्ता भएका छन् । तीमध्ये ३०७ उजुरीको छानबिन सम्पन्न भएको छ भने ३११ उजुरी फछ्र्यौट हुन बाँकी रहेका छन् । कार्यालयको कार्य क्षेत्रअन्तर्गतका चार जिल्लामध्ये सबैभन्दा धेरै बाँकेका स्थानीय तहका ११३ उजुरी दर्ता भएका छन् । तीमध्ये ६८ उजुरी फछ्र्यौट भएका छन् भने अझै ६५ उजुरी फछ्र्यौट हुन बाँकी छन् । जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाका २८ उजुरी दर्ता भएको कार्यालय प्रमुख पौडेलले बताए । स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने/नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रवृत्ति पाइएको छ । रासस