अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार
सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा उपस्थित प्रदेशभरीका मेयरहरुलाई सम्बोधन गर्र्दै प्रदेश प्रमुख कलौनीले कोषले कर्णालीलाई विशेष प्राथमिकता दिएर लगानी गर्न सुझाव दिए । कर्णालीका स्थानीय तहमा श्रोत मात्रै भएर पनि विकास हुन नसक्ने भन्दै दक्ष जनशक्ति व्यवस्थापनमा पनि सहयोग आवश्यक रहेको उनको भनाइ छ । जवाफमा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले कोषले आगामी ४ वर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको बताउँदै पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढ्ने बचनबद्धता व्यक्त गरे । कार्यकारी निर्देशक सापकोटाले स्थानीय सरकारले पनि अब अनुदानको मात्रै भर नपरी ऋण र अनुदानको अनुपात मिलाउँदै आर्थिक तथा व्यवसायिक दृष्टिले उपयोगी आयोजनामा लगानी गर्न नीतिगत रुपमै स्पष्ट हुनुपर्ने बताए । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यञ्जुले ऋण लिएर पूर्वाधार निर्माण गर्न मेयरहरुलाई नहिच्किचाउन आग्रह गरे । उनले बाहिरी मुलुकका उदाहरण दिंदै नगरपालिकाले आँट गरेर आन्तरिक श्रोत वृद्धि गर्ने खालका आयोजनामा लगानी गर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न प्रेरित गरे । सहभागी कर्णाली प्रदेशभरीका मेयरहरुले संरचना बनाउन जग्गा आश्वश्यक रहेको भन्दै जग्गाको अभावले अधिकांश संरचना बनाउन नसकिएको धारणा राखे । एउटै आयोजनाको जग्गा प्राप्तिका लागि बर्षौंसम्म संघ सरकारमा धाउनुपर्ने बाध्यतालाई अन्त नगरी स्थानीय तहमा संरचना निर्माणमा बाधा आइरहने उनीहरुको भनाइ थियो । कार्यक्रममा मेयरहरुले पार्टी र भनसुनका आधारमा योजना दिइने हो कि भन्दै आशंका जनाईरहँदा कोषका कार्यकारी निर्देशक सापकोटाले कुनै प्रभावमा नभई प्रतिफलका आधारमा लगानी गरिनेमा मेयरहरुलाई विश्वस्त रहन आग्रह गरे । नगरको पूर्वाधार निर्माण तथा क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यका साथ यूरोपियन युनियनको सहयोगमा सञ्चालित नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रमको प्रभावकारिताबारे समेत छलफल भएको नगर विकास कोषका विज्ञ सुमन मेहर श्रेष्ठले जानकारी दिए । यसअघी सुदूरपश्चिम प्रदेश पुगेर नगरपालिकाका प्रमुखहरुसँग छलफल गर्दै विकास साझेदारीका लागि सहयोग गर्ने प्रतिवद्घता जाहेर गरेको नगर विकास कोषले सातै प्रदेशमा यस्ता गोष्ठी आयोजना गर्ने कोषका कार्यक्रम संयोजक सुवास राज पन्तले जानकारी दिए ।
नेपालका २६ पालिकाः कहाँ कस्तो छ पर्यटकीय क्षेत्र, कसरी हुँदैछ विकास ?
काठमाडौं । नेपाल पर्यटन क्षेत्रको लागि प्रचुर संभावना बाेकेकोे ठाउँ हो । नेपालमा ठाउँ अनुसारको फरक फरक हावापानी पाइन्छ । नेपालका हरेक ठाउँ प्राकृर्तिक रुपले पनि एकदमै सुन्दर रहेका छन् । भौगाेलिक बनावट ठाउँ अनुसार फरक फरक रहेको छ । पर्यटन क्षेत्रले नेपालको आर्थिक क्षेत्रमा ठूलो सहयोग पुर्याएको छ । हिमाल, पहाड र तराईका फाँटहरु रहेका हाम्रो देशमा आन्तरिक तथा वाह्य पर्यटनको पनि बक्लो उपस्थिति रहेको पाइन्छ । पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण र सन्त्रासले वाह्य पर्यटनको आवागमन खासै छैन । पर्यटनको लागि देशभरका स्थानीय तहहरुले पर्यटन प्रवद्र्धनमा जोड दिएका छन् । स्थानीय तह अर्थात पालिकाहरुले आफ्नो क्षेत्रभित्र पर्ने पर्यटकीय गन्तव्यको प्रचारप्रसार पनि गरिरहेका छन् । पर्यटन प्रबद्र्धनकै लागि विभिन्न स्थानहरुमा भ्यू टावरहरु पनि निर्माण भइरहेका छन् । यसै सन्दर्भमा विभिन्न पालिकाहरुमा पर्ने चर्चित पर्यटकीय क्षेत्रको परिचय र त्यसको विकास तथा प्रबद्र्धनका लागि पालिकाहरुले के कस्ता कामहरु गरिरहेका छन् भन्ने उदेश्यले यो सामग्री तयार पारेका छौं । वाग्मती गाउँपालिका यो गाउँपालिका बागमती प्रदेश अन्तरगत ललितपुर जिल्लामा पर्छ । पर्यटकीय क्षेत्रः यो गाउँपालिकाभित्र चर्चित विभिन्न पर्यटीकय क्षेत्र छन् । माल्टा फाँट, भट्टेडाँडाको राडार क्षेत्र, सिद्धेस्वर महादेव, महाङ्कालस्थान मन्दिर, बुद्ध बिहार, आश्राङको ध्याम्पे दह, गिम्दीको चमेरो गुफा जस्ता चर्चिय पर्यटीकय क्षेत्र यो पालिकामा पर्छन् । के गर्दैछ पालिका ? गाउँपालिकाका अध्यक्ष बीरबहादुर लोप्चन गाउँपालिकाको पर्यटन क्षेत्र घोषणा गर्नका लागि संघीय सरकारसँग बजेट माग गरिएको बताउँछन् । तर, बजेट परेन । गाँउपालिकाको वडा नं ३ भित्र रहेको तीनपाने राडार पर्यटकीय स्थलका रुपमा चर्चित छ । यो ठाउँमा पर्यटकको धेरै भिड लाग्ने गरेको छ । सातकन्य भन्ने ठाउँमा पनि धेरै पर्यटन आउने गरेका छन् । गाउँपालिका भित्रका मठमन्दिर निर्माण गर्ने काम र प्रचारप्रसारमा पनि जोड दिएको अध्यक्ष लोप्चनले बताए । बेसीशहर नगरपालिका बेसीशहर नगरपालिका गण्डकी प्रदेशमा पर्ने एउटा सुन्दर नगरपालिका हो । पर्यटकीय क्षेत्रः यस नगरपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । लमजुङ दरवार र बरा पोखरी यस नगरपालिकाका चर्चित पर्यटकीय स्थलहरु हुन् । के गर्दैछ नगरपालिका ? नगरपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रको पहिचान र विकासका लागि प्रारम्भिक चरणको कामहरु सकिएको छ । सांस्कृतिक, धार्मिक हिसावले यो नगरपालिका महत्वपूर्ण रहेको छ । लमजुङ दरवारको सिढी करोडौं रुपौयाँको लागतमा निर्माण भइरहेको छ । यस्तै, बरा पोखरी जाने अस्थाई बाटो निर्माण सम्पन्न हुन लागेको र ८ वटा पार्क निर्माणको लागि डिपिआर तपार पारिसकिएको नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताए । षडानन्द नगरपालिका यो नगरपालिका प्रदेश १को भोजपुर जिल्लामा पर्छ । पर्यटकीय क्षेत्रः यो नगरपालिकामा पनि चर्चित पर्यटकीय क्षेत्र छन् । नगरपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्र धेरै छन् । यस नगरपालिकामा बालागुरु षडानन्द गुरुले निर्माण गर्नु भएका धार्मिक क्षेत्र र मठ, मन्दिर छन् । विक्रम सम्वत १९३२ मा षडानन्द गुरुले स्थापना गरेको स्कुल देशकै नमुना स्कुलका रुपमा लिइन्छ । यो नगरपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । यहाँ सतिघाट जस्ता सति जाने भनेर चिनिने स्थानहरु छन् । साउने डाँडामा झरना छ । नगरपालिकाले बेला बेलामा धार्मिक, पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न बिभिन्न कार्यक्रमहरु हुने गरेको छ । योगमायाले तपस्या गरेको ठाँउहरु रहेका छन् । योगमायाले सति प्रथाका बिरुद्ध आन्दोलन गरेको इतिहास छ । यस्तै योगमायाले सति प्रथाका बिरुद्ध आन्दोलन गरेको ठाउँ पनि यहाँ देख्न पाइन्छ । योगमायाले तपस्या गरेको ठाँउ र उनको शालिक पनि देख्न पाइन्छ । के गर्दैछ पालिका ? पर्यटकीय स्थलको डिपिआर तयार पारेर मठ मन्दिरको पनि निर्माण गरिरहेको नगरपालिकाका मेयर वीरवल राईले जानकारी दिए । दोरम्बा गाँउपालिका बागमती प्रदेश अन्तरगत रामेछाप जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो दोरम्बा गाउँपालिका । पर्यटकीय क्षेत्रः यो गाउँपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्रकिृतिक रुपले फरक विशेषता बोकेको क्षेत्र हो । मगर, तामाङ, शेर्पा लगायतका आदिबासी जनजातिको बहुल बासोबास क्षेत्रको रुपमा रहेको छ । यो गाँउपालिका हिन्दु संस्कृतिको अनुपम संगम स्थलको रुपमा रहेको छ । अग्लेश्वर, शैलुङ्ग, कण्ठेश्वर मन्दिर जस्ता धार्मिक स्थल महत्वपूर्ण सांस्कृतिक सम्पदाहरु यस गाँउपालिकामा रहेका छन् । के गर्दैछ पालिका ? शैलुङ्ग क्षेत्र पर्यटकीय स्थलको रुपमा चर्चित छ । बढि पर्यटक आए भने आर्थिक वृद्धि पनि हुन्छ भन्ने लक्षले गाँउपालिकामा मठ मन्दिरको निमार्ण गर्ने काम पनि गरिरहेको गाउँपालिका अध्यक्ष कमानसिंह तामाङले जानकारी दिए । गाँउपालिको वडा नं २ लाई पर्यटकीय स्थलको रुपमा घोषणा गरेका छ । यो गाँउपालिकमा आन्तरिक पर्यटनको बढी आर्कषण रहेको पाइन्छ । पर्यटन आकर्षण गर्नको लागि पर्यटन पूर्वधारको विकास पनि जोड दिइएको छ । पर्यटन विकासको लागि वार्षक २ करोड रुपैयाँ बजेट विनियोजन हुँदै आएको अध्यक्ष तामाङले जानकारी दिए । दुधपोखरी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गतको लमजुङ जिल्लामा यो गाउँपालिका पर्छ । पर्यटकीय क्षेत्रः दूधपोखरी कुण्डको आधारमा यो गाउँपालिकाको नाम राखिएको हो । हिमालको काखमा रहेको दूधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र तीर्थस्थलको रुपमा प्रसिद्ध छ । के गर्दैछ पालिका ? पर्यटन विकासको लागि गाउँपालिकाले बजेट विनियोजन गरेर विभिन्न मठ मन्दिरको पनि निमार्ण गरिरहेको अध्यक्ष छुपीमाया गुरुङले जानकारी दिइन् । यो गाउँपालिकाबाट हिमाली दृश्य अबलोकनका साथै हरिया खर्कको मनोरम दृश्यपान पनि गर्न सकिन्छ । धवलागिरी गाउँपालिका गण्डकी प्रदेश अन्तरगत म्याग्दी जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो धवलागिरी । यो गाउँपालिका म्याग्दी जिल्लाको उत्तर पश्मिमा रहेको छ । पर्यटकीय क्षेत्रः यो गाउँपालिका प्रकृर्तिक रुपले पनि निकै सुन्दर छ । विश्वको सातौं अग्लो धवलागिरी हिमाल यो गाउँपालिकामा पर्छ । यहाँ विभिन्न धार्मिक स्थल पनि छन् । के गर्दैछ पालिका ? यो गाँउपालिका पर्यटन क्षेत्रको लागि प्रवल सम्भवाना बेकेको ठाउँ हो । गाँउपालिका साना तिना हिमालहरु धेरै रहेका छन् । पद मार्ग विकास गरी गाँउपालिमा रहेको मठ मन्दिरको पनि प्रचार प्रसार गरिरहेको र पर्यटनको लागि होमस्टेको पनि व्यावस्थापन मिलाएको गाउँपालिका अध्यक्ष थमसार पुनले बताइन् । पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिकाले बजेट विनियोजन पनि गर्ने गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका हजार वर्ष पुरानो त्रिपुरासुन्दरी मन्दिर नामबाट नामाकरण गरिएको यो गाउँपालिका बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पर्छ । पर्यटकीय क्षेत्रः हरिया पहाडहरु र जुगल अनि गौरीशंकर हिमाल यो पालिकाबाट हेर्न सकिन्छ । काठमाडौंबाट नजिकै रहेको हुनाले आन्तरिक पर्यटनको निकै भिड लाग्ने गरेको छ । पालिकाले शहिद पार्क निर्माण गरेको छ । यो ऐतिहासिक स्थान हो । गाउँपालिका भित्र महाभिर झरना र हरिया डाडाँ धेरै छन् । के गर्दैछ पालिका ? गाउँपालिकाभित्र बुद्ध पार्कको स्थापना गरिएको अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए । सो स्थानमा ३८ फिटको उचाइमा बुद्धको मुर्ति राखिएको छ । तौथलीस्थित टोकलोखु डाडाँमा पार्कको स्थापना गरिएको हो । सो पालिकाको वडा नं ३ बाट सूर्यास्ता पनि देख्न सकिन्छ । गाउँपालिका भित्र मठ, मन्दिर रहेको, प्रचार प्रसार गरी पर्यटन विकासलाई पनि जोड दिई रहेको अध्यक्ष् श्रेष्ठले जानकारी दिए । क्व्होलासोथार गाउँपालिका यो गाउँपालिका गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्छ । पर्यटकीय क्षेत्रः भौगोलिक बनावटले पनि सुन्दर अनि गुरुङ्ग समुदायको बाहुल्यता भएको यस क्षेत्रमा एसिया महादेशको नमुना गाउँ घलेगाँउ र भुजुङ पनि पर्छ । नेपालकै दोश्रो होम–स्टेको अवधारण पनि यसै गाउँपालिकाबाट सुरु भएको हो । कृषि, पर्यटन र आन्तरिक रीति संस्कृतिमा पनि गाँउपालिकाको छुट्टै पहिचान छ । गुम्बा, मठ–मन्दिर र विभिन्न समुदायको भेष–भुषा, चाड–पर्वको विषयमा अध्यान गर्नेको लागि पनि एक गन्तव्य स्थलको रुपमा रहेको छ । ल्होसार, दशैं, तिहार, बुद्ध पुर्णिमा यहाँको प्रमुख पर्व हुन् । घाँटु, सोरेठी नृत्य पनि यो गाँउपालिकाको आकर्षणका रुपमा रहेको छ । पर्यटन, चिया बगान, कफि बगान, अलौंची खेति र भेडा पालन यस भेगका सर्वसाधारणको प्रमुख आय आर्जन गर्ने स्रोत हो । मनोरम दृश्य, सेता हिउले ढाकिएको हिमाल र मनोरम पहाडी दृश्य हेर्नको लागि भ्यु–टावर, गुरुङ समुदायको परापुर्व कालदेखि रिति, संस्कृति र पहिचानको जगेर्ना गर्नका निमित निर्माण गरिएको संग्रालयका साथै घले राजाको पार्कले पनि गाउँपालिकाको सुन्दरता थपेको छ । के गर्दैछ पालिका ? पर्यटन विकासको लागि वार्षिक ५० लाख रुपैयाँ बजेट छुट्याउदै आएको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न कुनै कञ्जुस्याईं नगरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए । गोकुगंगा गाउँपालिका बागमती प्रदेश अन्तरगत रामेछाप जिल्लाको उत्तर पूर्व पहाडी भागमा अवस्थित प्रकिृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो गोकुलगंगा । पर्यटकीय क्षेत्रः यो गाउँपालिकाको अधिकांस भाग पहाडी भूभागले ढाकेको र मूल रुपमा मिश्रित जातजातिको बसोबास रहेको यस गाउँपालिकामा विभिन्न धर्म मान्ने मानिसहरुको बहुल्यता रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा तांबे डाँडा र पाँचपोखरी क्षेत्रहरु रहेका छन् । के गर्दैछ पालिका ? गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवार पर्यटकीय क्षेत्रको रुपमा तांबे डाँडा र पाँचपोखरी क्षेत्रको प्रचार प्रसारका लागि तीब्र रुपमा काम भइरहेको बताउँछन् । पाँचपोखरीसम्म जानको लागि सडक निर्माण गरिएको, तांबे डाँडामा मन्दिरको निर्माण गर्नका लागि डिपिआर तयार पारिएको उनको भनाइ छ । पर्यटको लागि गाउँपालिकामा होमस्टे, होटल सञ्चालन भएका छन् । पर्यटन विकासको लागि गाउँपालिकामा आरसिसि भवन भएका होटललाई सञ्चालन गर्नेलाई पनि अनुदानको व्यवस्था गाउँपालिकाले बनाएको छ । बलेफी गाउँपालिका बागमती प्रदेशको सिधुपाल्चोक जिल्लामा बलेफी गाउँपालिका पर्छ । यो गाँउपालिकाभित्र धार्मिक अनुयायीहरु जस्तै, हिन्दु, बौद्ध र क्रिचियनहरु बसोबास गर्ने गरेका छन् । यहाँको मुख्य भाषा भनेको नेपाली हो । त्यस्तै तामाङ, नेवारी र अरु भाषा पनि बोलिने गरिन्छ । गाँउपालिका कठमाडौंदेखि करिव ७० किमिको दुरीमा रहेको छ । पर्यटकीय क्षेत्रः खास गरेर गाँउपालिकाको २ वटा सिमा रेखा एउटा सुनकोशी नदि रहेको छ भने अर्काे बलेफी नदी रहेको छ । गाँउपालिकामा रहेको भोटे कोशी ‘ह्वाइट रिभर’ नाम मा चिनिन्छ । यो नदिमा राफ्टिङ्ग हुने गरेको छ । यहाँ पुराना मठ मन्दिर, गुम्वा पनि रहेका छन् । के गर्दैछ पालिका ? गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री काठमाडौंबाट विदाको समयमा शनिबार बसेर आईतबार अफिस भ्याउन सक्ने हुनाले पर्यटकीय सम्भावना बढी भएको बताउँछन् । जुगल हिमाल आरोहण गर्न जादा गाँउपालिकाको वाटो भएर जानु पर्छ । यसको प्रचार प्रसार गर्ने सकियो भने वाह्य पर्यटनमा पनि धेरै टेवा पुग्ने अध्यक्ष क्षेत्रीले बताए । यहाँ पुराना मठ मन्दिर, गुम्वा पनि रहेका छन् । पर्यटनको लागि होम स्टेको पनि व्यावस्थापन गरिएको र १० लाख रुपैयाँ लगानीमा होमस्टे सञ्चालन गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । कालिका गाउँपालिका बागमती प्रदेशको रसुवा जिल्लाामा कालिका गाउँपालिका पर्छ । मनोरम पहाडी दृश्यले भरिपूर्ण यो गाउँपालिका पर्यटनको धेरै सम्भावना बोकेको स्थान हो । पर्यटकीय क्षेत्रः प्राकृर्तिक हराभराले सुसजित यो पालिकाभित्र स्याउबारी र कमेरे नदि यहाँको चर्चित पर्यटकीय स्थल हुन् । के गर्दैछ पालिका ? गाँउपालिकाको वडा नं २ को स्याउबारी क्षेत्र एकदमै सुन्दर स्थान हो । यो ठाँउलाई प्रचार प्रसार गर्ने र पर्यटन विकास गरी आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्ने तथा गोसाइँकुण्ड जाने बाटो निर्माणको योजना रहेको गाउँपालिकाकी अध्यक्ष सीता कुमारी (पौडेल) अधिकारीले बताइन् । कमेरे नदि क्षेत्रमा १८१४ मा चीनसँग युद्ध लड्दा लागेका गोलीको संरक्षण गरिएको उनको भनाइ छ । पर्यटन पुर्वाधारको विकासको लागि वार्षिक १ करोड ५० लाख रुपैयाँ बजेट छुट्टयाइने गरिएको छ । कमलामाई नगरपालिका बागमती प्रदेश सिन्धुली जिल्लामा यो नगरपालिका पर्छ । यो नगरपालिकाले मानव विकास क्रममा, मौलिक परम्परा, सांस्कृतिक, सामाजिक संरचनालाई जोड दिइरहेको छ । पर्यटकीय क्षेत्रः यो नगरपालिका पनि एक दमै सुन्दर रहेकोे छ । यहाँका मुख्य पर्यटकीय स्थलको रुपमा सिन्धुलीगढी र कमलामाई मन्दिर लगायत छन् । के गर्दैछ पालिका ? पर्यटन विकासको लागि नरपालिकाले विशेष जोड दिइरहेको छ । ऐतिहासिक सिन्धुलीगढीमा नेपाल–अंग्रेज युद्धताकाका ऐतिहासिक सम्पदाको संरक्षण गरी पर्यटन पूर्वाधान बनाउने र कमलाई मन्दिरमा पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको मेयर खड्गबहादुर खत्रीले जानकारी दिए । खानीखोला गाउँपालिका बागमती प्रदेश अन्तर्गतको काभे्र जिल्लामा यो गाउँपालिका पर्छ । पर्यटकीय क्षेत्रः काभे्रको डाँडापारि भनेर चिनिने यो गाउँपालिकामा पूर्वमा महाभारत, पश्चिममा महांकाल, उत्तरमा वेथान र दक्षिणमा वागमती गाँउपालिका पर्छ । शितल, शान्त, प्रदुषणरहित, हरियाली खेत खानीखोलाले घेरेको बस्ती भनेर चिनिन्छ । यो गाँउपालिकाले प्राकृर्तिक विविधता बोकेको छ । के गर्दैछ पालिका ? आकर्षक पदमार्ग, शितोष्ण हावापानी, विभिन्न र्धािर्मक स्थलहरु, प्रशस्त जैविक विविधता जस्ता सम्पदाहरु रहेको कारण विकास गर्न सकिने ठुलो संभावना रहेको गाउँपालिका अध्यक्ष कृष्ण वहादुर खुलालले जानकारी दिए । पालिकाले पर्यटन पूर्वाधार निर्माणका लागि वार्षिक ६० लाख रुपैयाँ बजेट विनियोजन गर्ने गरेको छ । मनहरि गाउँपालिका बागमती प्रदेशको मकवानपुर जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो । पर्यटकीय क्षेत्रः यो गाउँपालिकामा मुख्य पर्यटक स्थलको रुपमा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज पर्छन् । के गर्दैछ पालिका ? पर्यटन क्षेत्रको विकास लागि पालिकाले समिति नै गठन गरेर अध्ययन गरी योजना तर्जुमा गरिरहेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज पनि सोही पालिकाभित्र पर्ने भएकोले त्यसको उचित प्रबन्ध गर्दै मनहरि पिस पार्क निर्माण गरिरहेको उनको भनाइ छ । यस्तै, ६५ फिट अग्लो बुद्धमुर्ति निर्माण पनि भएको उनले जानकारी दिए । मिक्वाखोला गाउँपालिका प्रदेश १ को ताप्लेजुङ जिल्लामा यो गाउँपालिका पर्छ । पर्यटकीय क्षेत्रः भौगोलिक रुपमा बिकट र दुर्गम भए पनि मिक्वाखोला गाँउपालिका पर्यटकीय, व्यावसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको छ । गाँउपालिकाभित्र पर्यटकलाई आकषर्ण गर्ने खाल्को फुंगफुगे झरना छ । के गर्दैछ पालिका ? गाँउपालिका क्षेत्रभित्र सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम गरिरहेको तथा गाँउपालिका आफैमा एक पर्यटकीय क्षेत्र भएकोले पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार गर्नका लागि वार्षिक २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष रामकुमार सावाले जानकारी दिए । नौकुण्ड गाउँपालिका बागमती प्रदेश अन्तर्गतको रसुवा जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो नौकुण्ड गाउँपालिका । पर्यटकीय क्षेत्रः चुरे ढुङ्गा पर्यटकीय स्थल यो पालिकाको चर्चित स्थान हो । गाउँपालिकाको अन्य धेरै स्थानमा आकर्षक मठ मन्दिर पनि रहेका छन् । के गर्दैछ पालिका ? चर्चित पर्यटकीय गन्तव्यको रुपमा रहेको चुरे ढुङगाको प्रचारप्रसार तथा त्यसका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको अध्यक्ष नोर्बु स्याङ्बो घलेले जानकारी दिए । पालिका क्षेत्रमा रहेका मठ, मन्दिर लगायत धार्मिक पर्यटकीय क्षेत्रको निर्माणका लागि डिपिआर तयार पारेर काम अघि बढेको उनको भनाइ छ । नेत्रावती डबजोङ गाउँपालिका बागमती प्रदेश अन्तर्गतको धादिङ जिल्लामा यो गाउँपालिका पर्छ । वाइवा राजाको नामबाट चिनिएको डबजोङ दरबारको नाम र मार्पाकको बेसी हुदै बगेको नेत्रावती खोलाको नामलाई जोडेर यस गाउँपालिकाको नाम नेत्रावती डबजोङ राखिएको हो । पर्यटकीय क्षेत्रः यो गाउँपालिकाभित्र धार्मिक महत्वका क्षेत्रहरु जस्तै विन्दुकेशर महादेव स्थान, कुण्डला देवी मन्दिर, बाराही मन्दिर र दोश्रो नव बुद्ध क्षेत्र रहेका छन् । के गर्दैछ पालिका ? यो पालिकामा चर्चित पर्यटकीय क्षेत्र डबजोङ दरवार छ । यसको संरक्षण गर्ने लागि १० लाख रुपैयाँ रकम संघीय सरकारले दिएको गाउँपालिकाका अध्यक्ष दुर्गकुमार शाक्यले जानकारी दिए । विन्दुकेशर महादेव भएको स्थानमा चैत महिना भरी मेला पनि लाग्ने गरेको छ । सो ठाउँसम्म पुग्नको लागि सडक निर्माण गनुका साथै मठ मन्दिरको पुननिर्माण र संरक्षण गरिरहेको शाक्यको भनाइ छ । अजिरकोट गाउँपालिका गण्डकी प्रदेश गोरखा जिल्लामा यो गाउँपालिका रहेको छ । पर्यटकीय क्षेत्रः गाउँपालिकाको मुख्य नदीको रुपमा दरौंदी र चेपे रहेका छन् । थेरै समथर टारहरु र अधिकांश हरियाली पहाडी क्षेत्र रहेको यो पालिकाको वातावरण स्वास्थ्य र रमणीय छ । नागपोखरी क्षेत्र यो पालिकाभित्रको चर्चित पर्यटकीय गन्तव्य हो । के गर्दैछ पालिका ? पर्यटन क्षेत्रको लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पर्यटन विकास लागि गत साल ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । पर्यटन विकासको लागि गाउँपालिकामा होमस्टे पनि सञ्चालन भएको छ । गाउँपालिकाभित्र मठ मन्दिरको निर्माण गरिएको छ । भुमेथान मन्दिर र नागेपोखरी गाउँपालिकाको मुख्य पर्यटकीय स्थलको रुपमा रहेको गाउँपालिका अध्यक्ष फणिन्द्र प्रसाद धितालले जानकारी दिए । यो गाउँपालिकाबाट गणेश हिमालको पनि दृश्यावलोकन गर्न सकिन्छ । रामेछाप नगरपालिका बागमती प्रदेश अन्तर्गतको रामेछाप जिल्लामा यो नगरपालिकामा पर्छ । पर्यटकीय क्षेत्रः यस नगरपालिकामा पर्यटन क्षेत्रहरु धेरै रहेका छन् । यस नगरपालिकामा भ्युटावरको पनि निर्माण भइरहेको छ । पिकनिक स्पट पनि धेरै रहेका छन् भने नगरपालिकामा होमस्टेको स्थापना गरेर संचालन भइरहेको छ । के गर्दैछ पालिका ? नगरपालिकामा ‘एक वडा एक पर्यटकीय’ क्षेत्र छुटाएर पर्यटन विकास गरिरहेको मेयर नरवहादुर थापा मगरले जानकारी दिए । नगरपालिका भित्र रहेका मठमन्दिको प्रचारप्रसार गरिरहेको, भ्युटावरको पनि निर्माण भइरहेको, पर्यटन पुर्वधारको विकासमा पनि जोड दिएको पनि मेयरले मगरले बताए । सभापोखरी गाउँपालिका प्रदेश १ अन्तर्गत रहेको संखुवासभा जिल्लामा यो गाउँपालिका पर्छ । पर्यटकीय क्षेत्रः यस गाउँपालिकामा विभिन्न धार्मिक तिर्थहरु (सभापोखरी, बन्दुके तिर्थस्थल, गोरुजुरे हिमाल, रानीढुङ्गा लामालमिन गुफा, महादेव स्थान जस्ता महत्वपूर्ण धार्मिक स्थलहरु) रहेका छन् । के गर्दैछ पालिका ? गाउँपालिका अध्यक्ष रतन वहादुर सुब्बा सो पालिकामा पर्यटन क्षेत्रको प्रचुर संभावना रहेको बताउँछन् । धार्मिक क्षेत्र रुपमा सभापोखरी क्षेत्रलाई विशेष जोड दिएको उनको भनाइ छ । यस्तै, त्रिवेणी धामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ३ करोड रुपैयाँ बजेट विनियोज गरिएको र पर्यटन विकासका लागि वार्षिक ३० लाख रुपैयाँ बजेट छुट्टयाइएको अध्यक्ष सुब्बाले जानकारी दिए । शिवपुरी गाउँपालिका बागमती प्रदेश अन्तर्गतको नुवाकोट जिल्लामा यो पालिका रहेको छ । पर्यटकीय क्षेत्रः शिवपुरी गाउँपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्रकिृतिक रुपले फरक विशेषता बोकेको पालिका हो । भगवान शिवको आराधाना तथा तपस्याको लागि ऋषि, महर्षि तपस्वीहरुले यही स्थान प्रयोग गरेको पौराणिक कथनका आधारमा यस गाउँपालिकाको नाम शिवपुरी रहन गएको छ । यो पालिका शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । के गर्दैछ पालिका ? गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा काठमाडौंबाट नजिकै पर्ने शिवपुरी गाउँपालिकाभित्र धेरै पर्यटन क्षेत्र रहेको बताउँछन् । गाँउपालिका क्षेत्रमा पर्ने चिसापानी एरिया निकै सुन्दर र आकर्षक छ । यसको विकासको लागि विभिन्न योजना बनाइएको अध्यक्ष थापाले बताए । सो स्थानमा पार्क, भ्युटावर बनाउने योजना अगाडी बढाइरहेको र बेला बेलामा पर्यटन प्रवधनको लागि कार्यक्रम सञ्चालन गरी होमस्टेको अवधारण पनि अगाडि सारेको अध्यक्ष थापाको भनाइ छ । सुनकोशी गाउँपालिका बागमती प्रदेश सिन्धुली जिल्लामा यो गाउँपालिका रहेको छ । पर्यटकीय क्षेत्रः यो गाँउपालिका प्राकृतिक रुपमा भित्री मधेशको समथर भुमिदेखि पहाडी भुभाग पनि छ । यो गाँउपालिका प्रकृतिक सुन्दरता एवं एतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो गाँउपालिका काठमाडांैबाट करिब १५० किलेमिटर पूर्वमा रहेको छ । सुनकोशीमा र्याफटिङ्ग गर्न र गाँउपालिका भित्र रहेका विभिन्न धार्मिक क्षेत्र घुम्न रुचाउनेहरुको यहाँ भिड लाग्ने गरेको छ । के गर्दैछ पालिका ? गाँउपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र संरक्षणका लागि प्रारम्भिक चरणको काम सम्पन्न भएको तथा पदयात्रा बनाउनको लागि सम्बन्धित वडाहरुलाई जिम्मा दिइएको गाउँपालिका अध्यक्ष दिपा वोहोराले जानकारी दिइन् । तादी गाउँपालिका गण्डकी प्रदेशको नुवाकोट जिल्लामा यो गाउँपालिका रहेको छ । पर्यटकीय क्षेत्रः यस गाउँपालिकाको पर्यटकीय स्थलको रुपमा गाउँपालिकाको वडा नं ४ को बाघमारा भन्ने क्षेत्र रहेको छ । के गर्दैछ पालिका ? गाउँपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डे आन्तरिक पर्यटनको लागि बाघमारा क्षेत्र चर्चित रहेकोले त्यसको विकासका लागि काम भइरहेको बताउँछन् । थाहा नगरपालिका बागमती प्रदेशको मकवनपुर जिल्लामा यो नगरपालिका रहेको छ । पर्यटकीय क्षेत्रः यस नगरक्षेत्रको उच्च भागमा रहेको दामन भ्युटावरबाट विश्वको सर्वोच्च शिखर सहित २५ भन्दा बढि उच्च हिमशृखलाहरुको प्रत्यक्ष मनमोहको द्धश्य अवलोकन गर्न सकिन्छ । आकर्षक पदमार्ग, शितोष्ण हावापानी, विभिन्न र्धािर्मक स्थलहरु, प्रशस्त जैविक विविधता जस्ता सम्पदाहरु यो क्षेत्रमा रहेका छन् । प्रख्यात सिमभज्याङ्ग, दामन भ्यू टावर, कोट थुम्की प्रशिद्ध ऋषेश्वर मन्दिर, मनकामना मन्दिर प्राचिन शैलीका बस्तुहरु पर्यटकलाई लोभ्याउने थाहा नगरपालिकाको सम्पत्तिहरु रहेका छन् । के गर्दैछ पालिका ? नगरपलिकाका मेयर लवशेर विष्ट पर्यटन क्षेत्रको विकासका लागि विशेष जोड दिएको बताउँछन् । तीनपाटन गाउँपालिका बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो तीनपाटन । पर्यटकीय क्षेत्रः यस गाउँपालिकाको पर्यटन क्षेत्रको रुपमा ठुङ्गरी नदि रहेको छ । यो क्षेत्रमा नेपाल–अंग्रेज युद्धताकाका ऐतिहासिक सम्पदाहरु रहेका छन् । यो पालिकामा जमावती गुफा पनि पर्यटकीय गन्तव्यका रुपमा चर्चित छ । के गर्दैछ पालिका ? जमावती गुफालाई धार्मिक र पर्यटकीय क्षेत्र बनाउनको लागि ५० लाख रुपैयाँ बजेट केन्द्र सरकारबाट आएको र यसको लागि टेन्डर आव्हानको काम भइरहेको अध्यक्ष कर्णबहादुर मगरले जानकारी दिए । भिमसेन थापा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो भिमसेन थापा गाउँपालिका । पर्यटकीय क्षेत्रः नेपालको पहिलो प्रधानमन्त्री, सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियारी तथा राष्ट्रिय बिभुति भिमसेन थापाको नामबाट यो गाँउपालिकाको नामकारण गरिएको हो । यो पालिका भौगोलिक विविधता पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोंच र बेशी तथा अन्य प्राकृर्तिक सम्पदाले भरिएको छ । के गर्दैछ पालिका ? गाउँपालिकामा भिमसेन थापाको सालिक राख्नको लागि सालिक बनाइसकेको र अनुकुल ठाँउका पार्क, भ्युटावर बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए । बिगु गाउँपालिका वागमती प्रदेश अन्तर्गत दोलखा जिल्लामा यो गाउँपालिका पर्छ । पर्यटकीय क्षेत्रः बिगु गुम्बा, देउढुंगा, बौलाहा पोखरी, देउलाङ्गेश्वरी माहादेव, तातोपानी कुण्ड, गोल्मा राजा दरबार, ठाडोखोला महादेव आदि गाउँपालिका भित्रका पर्यटकीय स्थलहरु हुन् । के गर्दैछ पालिका ? पर्यटन स्थलसम्मको पुग्नको लागि सडक निर्माण गर्ने, मठमन्दिरको निर्माण गर्ने र यसका साथै पर्यटन पुर्वाधारको विकासमा पनि जोड दिएको अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए । हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत नवलपरासी जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो । पर्यटकीय क्षेत्रः यो गाउँपालिकामा विभिन्न रमणीय र पर्यटकीय महत्व बोकेका ऐतिहासिक गढी, दरबारका साथै ताल, पोखरी, मठ मन्दिर एवम् मन लोभ्याउने हरिया डाँडाकाँडाहरु रहेका छन् । रुद्र प्रताप सेनको रुद्रपुर गढी दरबार, गोलपोखरी शान्ति पार्क, ऐतिहासिक मगर संग्रालय, दरबार थुम्का, पौराणिककालको मयूरपोखरी आदि जस्ता विशेष महत्व बोकेका ऐतिहासिक धरोहरहरु रहेको हुप्सेकोट गाउँपालिका पर्यटकीय क्षेत्रहरु धेरै छन् । के गर्दैछ पालिका ? पर्यटन विकासको लागि ६ हजार लालिगुराँस रोपेको र पर्यटन विकास समिति पनि गठन गरी गाउँपालिकामा मठ मन्दिरको पनि निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।
३३ नगरपालिकाकाे पूर्वाधार र क्षमता विस्तारकाे लागि विश्व बैंकको साढे १७ अर्ब अनुदान
काठमाडाैं । नेपाल सहरी शासकीय र पुर्वाधार आयोजनाले शहरी पूर्वाधार निर्माण र शहरी शासकिय क्षमता विस्तारका लागि विभिन्न १२ वटा नगरपालिकासंग शसर्त अनुदान सम्झौता गरेको छ । बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा विहिबार आयोजित कार्यक्रममा संघीय सरकारको तर्फबाट शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल र स्थानीय सरकारको तर्फबाट नगरप्रमुखहरुले अनुदान सम्झौतामा हस्ताक्षर गरेका हुन् । विश्व बैंकको साढे १७ अर्ब रुपैयाँ ऋण सहयोगमा सञ्चालनमा आएको नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाले मुलुकभरका विभिन्न ३३ नगरपालिकालाई सहयोग गर्ने कार्यक्रम अनुसार विहिबार १२ वटा नगरपालिका प्रमुखसंग हस्ताक्षर भएको हो । फिदिम, गोलबजार, हरिवन, सन्धीखर्क, अमरगढी, लम्कीचुहा, भिमेश्वर,पुर्व सुस्ता कावासोती, भेरी, मुसीकोट पश्चिम रुकुम, फलेवास र लमही नगरपालिका संग अनुदान सम्झौता भएको हो । बाँकी नगरपालिकासंग शुक्रबार सम्झौता गरिने आयोजनाले जनाएको छ । दिगो शहरी विकासलाई प्रवद्र्वन गर्दै नेपालका रणनैतिक माध्यमिक शहरहरुमा कोभिड-१९ पछिको आर्थिक पुनर्लाभलाई सहयोग पुर्याउने उद्देश्यसहित आयोजनाले २९ नगरपालिकालाई ससर्त अनुदान र थप चार वटा नगरपालिकालाई क्षमता अभिवृद्धिमा सहयोग पुर्याउनेछ । आयोजना प्रमुख परिक्षित कडरियाले आयोजनालाई प्राप्त रकम स्थानिय तहलाई सर्शत अनुदानका रुपमा दिईने बताए । शसर्त अनुदानका लागि नगरपालिका चयन गर्दा भारतीय सिमामा रहेका, पुर्वपश्चिम र उत्तरदक्षिण राजमार्गमा पर्ने शहर तथा कोभिड १९ बाट बढी प्रभावित लाई मुख्य आधार बनाईएको उनले बताए । यस आयोजना अन्तर्गत सञ्चालित कार्यक्रमले ४ वर्षभित्र नेपालका रणनैतिक माध्यमिक शहरहरुमा सेवा प्रवाह र संरचनागत क्षमताको अभिवृद्धि गर्दै श्रम-सघन सार्वजनिक कार्यहरु मार्फत कोभिड १९ पछिको आर्थिक पुनर्लाभलाई गति दिने लक्ष्य राखिएको छ । नेपालको संघीयता कार्यन्वयनपछि संघीय सरकारले व्यवस्थापन र स्थानीय सरकारले कार्यान्वयन गर्ने गरि विश्व बैकले लगानी गरेको यो पहिलो आयोजना हो । यो आयोजनाले संघियताको सुदृढीकरण र लक्षित नगरपालिकाहरुको क्षमता अभिवृद्धिका नतिजाहरु स्थानिय जनताको हितका लागि सुनिश्चित गर्ने विश्वास गरिएको छ ।