‘एक घर एक पशु बीमा’ अभियान चलाएका छौं- नगरप्रमुख मगर

बागमती प्रदेश अन्तर्गतको रामेछाप जिल्लामा पर्ने ‘रामेछाप नगरपालिका’ कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । पूर्वतर्फ ओखलढुंगा जिल्ला, पश्चिममा मन्थली नगरपालिका, उत्तरमा लिखु गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लासँग सिमाना जोडिएको यो नगरपालिका २ सय २ दसमलव ४५ वर्ग किलोमिटरसम्मको क्षेत्रफलमा फैलिएर रहेको छ । ९ ओटा वडा रहेको यस नगरपालिकाको कुल जनसंख्या चाहिँ २८ हजार ६ सय १२ रहेको छ । नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भईसकेपछि नगरपालिकामा कस्ता खाले परिर्वतन देखापरेका छन्, रोजगारीको अवसर सृजना गर्नमा नगरपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा सो नगरपालिकाका मेयर नर बहादुर थापा मगरसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । नगरपालिकामा कोरोनाले पुर्याएको असर बारे छोटकरीमा बताइदिनुस् न ? कोरोनाको सुरुवाती चरणमा धेरै कठिनाई एवं चुनौतीहरु देखापरेका थिए । बाहिरबाट नगरपालिका प्रवेश गर्नेहरुलाई हामीले कडाइका साथ १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । क्वारेन्टिनमा बस्नेमध्ये वैदेशिक रोजगारबाट फर्किएका एवं भारतबाट आएका नागरिकहरु नै बढि थिए । हामीले नगरपालिकामा १ सय बेडको क्वारेन्टिन स्थापना गरेका थियौं भने व्यवस्थित आइसोलेसन कक्षको पनि व्यवस्था गरिएको थियो । केही नागरीकलाई संक्रमण देखापरे पनि आइसोलेसन कक्षमै राख्नु पर्र्ने अवस्था भने आएन । कोरोनाले यहाँको शिक्षा क्षेत्रका साथै विकास निर्माणका काममा पनि ठुलो असर पुर्यायो । नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? धेरै काम भइरहेको छ । हाम्रो नगरपालिका कृषिमै आत्मनिर्भर बन्दै गएको छ । व्यावसायीक कृषि प्रणालिमा हामीले विशेष जोड पनि दिएका छौं । कृषिमा अनुदान देखि लिएर तरकारीको विउ वितरण कार्यक्रम पनि राखिएको छ । नमुना पकेट क्षेत्रको रुपमा हामीले सबै वडालाई छुट्याएका छौं । कृषि विकासको लागि भनेर सिँचाईको व्यवस्था मिलाएका छौं । बाख्रा पालन, माछा पालन, फलफुल, तरकारी, धान, कोदो खेती लगायत नगरपालिका भित्र गरिएको छ । ‘एक घर एक पशु बीमा’ भनेर हामीले कार्यक्रम पनि राखेका छौं । हामीले नगरपालिका भित्रका धेरै पशुहरुको बीमा गरिसकेका छौं । नगरपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के-के हुन् ? ठुलो योजनाको रुपमा नगरपालिका र संघीय सरकारको साझेदारीमा सडक कालोपत्रे गर्नका लागि डीपीआर गरेर काम अगाडि बढाइरहेका छौं । ४ करोड रुपैयाँ बराबरको बजेटमा यो सडक कालेपत्रे भइरहेको छ । संघीय सरकार र नगरपालिकाको ५०-५० प्रतिशत समपुरक बजेटमा वर्वर हल निर्माणको काम अगाडि बढिरहेको छ । ५ करोड रुपैयाँको बजेटमा टेन्डर प्रक्रियाबाट काम अगाडि बढिरहेको छ । गौरवको आयोजनाका रुपमा नगरपालिकाको आम्दानीबाट ८ मिटरको सडक निर्माण भइरहेको छ । पुल निर्माणको कामहरु पनि सुरु भइसकेको छ । नगरपालिका भित्र भ्युटावरको पनि निर्माण भई रहेको छ । २ करोड रुपैयाँको बजेटमा भ्युटावरको निर्माण भइरहेको हो । लिफ्ट तथा खानेपानी योजनाहरु पनि संघीय सरकारको सहयोगमा अगाडि बढेको छ । यो वर्ष कोरोनाको कारणले राजश्व बाँडफाँडको बजेट आउन सकेको छैन । ५ वर्षको कार्यकालमा जेजति काम गर्ने लक्ष राखेका थियौं त्यो लक्ष्य अनुसार हामीले काम गर्न सकेका भने छैनौं । नगरपालिकालाई समृद्ध बनाउने हाम्रो लक्ष रहेको छ । नगरपालिकाको भवन र वडा भवनको निर्माण पनि गरिसकेका छौं । गत वर्षदेखि नै नगरपालिकाको भवन निर्माण गरेर हामीले नागरिकलाई सेवा प्रवाह गरिरहेका छौं । नगरपालिकाका सबै वडामा सडक अनि विजुली पुगिसकेको छ । यसका साथै अस्पताल र विद्यालय भवनहरु चाहिँ कतै निर्माण हुने क्रममा छन् भने कतै चाहिँ निर्माण भइसकेका छन् । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? हामीले ‘एक वडा एक उद्योग’ को अवधारणा ल्याएका छौं । धेरै ठुलो उद्योग र व्यापारीक कम्पनी भने यहाँ छैनन् । तर हाम्रो नगरपालिका उद्योगको बढि सम्भावना बोकेको ठाउँ चाहिँ हो । नगरपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु धेरै नै छन् । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ? धेरै कर बुझाउने खालका कम्पनी त नगरपालिकामा छैनन् पनि । बरु पसल कर चाहिँ संकलन हुने गरेको छ । त्यहाँका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ? हाम्रो पालिकामा करिव ८० प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् । गत वर्ष हामीले राम्रो कृषि उत्पादन गर्नेलाई पुरस्कारको व्यवस्था मिलाएका थियौं । तर यो वर्ष भने कोरोनाको कारणले सो कार्यक्रम गर्न सकिएको छैन । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित भएर आइसकेपछि नगरपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ? म निर्वाचित भएर आइसकेपछि नगरपालिकामा धेरै परिवर्तन आएको छ । हाल नगरपालिकाको सबै ठाउँमा सडक पुगेको छ भने यातायात सञ्चालन समेत हुन थालेको छ । कच्ची सडकहरु धमाधम पीच हुन थालेका छन् । धेरै ठाउँमा खानेपानीको राम्रो व्यवस्था भएको छ । यहाँको स्वास्थ्य क्षेत्रमा पनि राम्रो परिवर्तन आएको छ भने सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना पनि भएको छ । सिँचाईको कामहरु पनि भएका छन् । नगरपालिकाको भवन निर्माण भएको छ । स्वास्थ्य भवनहरु निर्माण भएका छन् । विद्यालयको भवन निर्माण भएका छन् भने शिक्षामा गुणस्तर ल्याउन लागि परेका छौं । पुलको निर्माण गरेका छौं । मठमन्दिरको निर्माण गरेर धार्मिक पर्यटनलाई बढावा दिन खोजेका छौं । पिकनिक स्पटको निर्माण गरेका छौं । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषि र पशुपालनलाई नै जोड दिन्छु । नगरपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाका लागि भन्दै विभिन्न कार्यक्रमहरु ल्याएका छौं । उनीहरुलाई सुलभ ऋणको व्यवस्था मिलाएका छौं । युवालाई व्यावसायीक तालिमको पनि व्यवस्था मिलाएका छौं । केही युवालाई विकास निर्माणको काममा पनि लगाउदै आएका छौं । नगरपालिकाका धरैजसो युवाहरु कृषि पेशामा आवद्ध रहेका छन् । युवाहरुले पशुपालन, खेती, कुखुरा पालन लगायतका कार्य गरिरहेका छन् । तपाईंलाई विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् जस्तो लाग्छ ? विकास निर्माणका कामहरु प्रभावकारी नै भएका छन् भन्नुपर्छ । तर यति हुँदाहुँदै पनि हामीले लक्षमा पुुग्न भने अझ धेरै काम गर्नुपर्ने छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? समन्वय गरेरै काम गर्ने गरेका छौं । सिंहदरबार गाउँगाउँमा हुन्छ भन्ने अपेक्षा गरिए अनुसार भने अलि भइसकेको छैन । विकास बजेट भनेर प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट आउने गरेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के-के आई पर्छन् नि ? विकास निर्माणका काममा कहिलेकाहीँ समस्या आउने गरेको छ । जनताको अपेक्षा धेरै छ तर बजेटको आकार भने सानो छ । संस्कार हिजोको रहयो मात्र व्यावस्था चाहीँ नयाँ आयो । यसले गर्दा परिवर्तन छिटो नआएको हो । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट पनि सामान्य सहयोग मिल्ने गरेको छ । समपुरक बजेट केन्द्र सरकारबाट आउने गेरको छ । विकास निर्माणको काममा पनि हाम्रो सहकार्य भइरहेको छ । नगरपालिकाले खेलकुद विकासका लागि के कस्ता योजनाहरु बनाएको छ ? नगरपालिकामा सुकाजोर फुटवल स्टेडियमको निर्माण भइरहेको छ । वडास्तरको खेलकुद प्रतियोगिता पनि हामीले राख्ने गरेका छौं । बक्सिङ्ग, भलिवल, कराते, फुटवल लगायतका खेलहरु आयोजना गर्दै आएका छौं । खेलकुल विकासको लागि भनेर हामीले कर्मचारी पनि छुट्याइसकेका छौं ।

गाउँपालिका जमानी बसेर किसानलाई १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउँछ – अध्यक्ष घले

‘नौकुण्ड गाउँपालिका’ बागमती प्रदेश अन्तर्गतको रसुवा जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो । पूर्वमा गोसाईंकुण्ड गाउँपालिका अनि नुवाकोट जिल्ला, पश्चिममा कालिका गाउँपालिका, उत्तरमा गोसाईंकुण्ड गाउँपालिका र दक्षिणमा भने नुवाकोट जिल्लाको सिमानासँग जोडिएको यो गाउँपालिका १ सय २६ दसमलव ९९ वर्ग किलोमिटरमा फैलिएको छ । यसका साथै कालिकार गोसाईंकुण्ड गाउँपालिकासँग यस गाउँपालिकाको सिमाना जोडिनुले पनि यस गाउँपालिकाको विकासमा अथाह सम्भावना थपिदिएको छ । ६ ओटा वडा रहेको यो गाउँपालिकाको कुल जनसंख्या ११ हजार ८ सय २४ रहेको छ भने उक्त जनसंख्याले नौकुण्ड गाउँपालिकालाई रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको गाउँपालिकाको रुपमा परिचित गराएको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, युवालाई रोजगारीको अवसर सृजना गर्नमा गाँउपालिकाले कस्तो भुमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङ्वो घलेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर बारे छोटकरीमा बताइदिनुस् न विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर पुर्याएको छ । कोरोनाको समयमा नागरिकहरु त्रसित भएका थिए । गाउँपालिका भित्र प्रवेश गर्नेहरुलाई हामीले अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । हामीले ५० बेडको क्वारेन्टिन स्थापना गरेका थियौं भने व्यवस्थित आइसोलेसन कक्षको पनि स्थापना गरेका थियौं । यत्तिको तयारी गरेको भएपनि कसैलाई पनि आइसोलेसनमा राख्नुपर्र्ने अवस्था चाहिँ आएन । कोरोनाकालमा गाउँपालिका भित्रका सबै विद्यालयहरु बन्द गरिए । त्यसैगरी विकासनिर्माणका कामहरु पनि ठप्प नै भएका थिए । तर अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले गाउँपालिका भित्रका पर्यटन क्षेत्रको प्रचारप्रसार गरिरहेकै छौं । चुरे ढुङगाले धेरैलाई आकर्षित गर्ने गरेको छ । लकडाउन शुरु भएदेखि गाउँपालिकामा पर्यटकहरुको भिड खासै भएको छैन । हाम्रो पालिकाले पर्यटन तर्फ प्रचूर सम्भावना बोकेको हुनाले गर्दा भोलिका दिनमा फेरि पनि पर्यटकहरु आउनेछन् भन्ने विश्वास छ । हामीले मठमन्दिरको डीपीआर गरेर निर्माण गर्ने काम सुरु गरिसकेका छौं । यसका साथै हामीले पर्यटन पुर्वाधारको विकास पनि गरिरहेका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले कृषि विकासको लागि धेरै काम गर्दै आइरहेका छौं । गाउँपालिका बैंकमा जमानी बसेर भेडा गोठ बनाउने तथा बाख्रा पालन गर्ने कृषकहरुका लागि ३ देखि १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाएका छौं । हावापानी अनुसारको कृषि उत्पादनमा जोड दिएका छौं । यहाँको मुख्य पेशा नै खेतीकिसानी नै हो । कतिपयले पशुपालन गरिरहनुभएको छ । पशुपालन सम्बन्धी विभिन्न कार्यक्रम पनि हामीले राखेका छौं । हाम्रो गाउँपालिकामा आलु, धान, मकै, कोदो, कफि लगायतका कुराहरु धेरै उत्पादन हुने गरेको छ । हामी बजार व्यावस्थापनमा पनि लागि परेका छौं । गाउँपालिकाको तर्फबाट किसानहरुलाई तरकारी र फलफुलको विउ पनि वितरण गर्दै आइरहेका छौं । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित भइसकेपछि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? पहिलेको तुलनामा अहिले धेरै परिवर्तन आएको छ । म निर्वाचित हुनु भन्दा अगाडि गाउँपालिकाको सबै ठाउँमा सडक पुगेको थिएन । अहिले त सडक पुग्नेमात्र होइन यातायातकै सञ्चालन पनि हुन थालिसकेको छ । खानेपानीको राम्रो व्यवस्था गर्न सकिएको छ । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । गाउँपालिकाको भवन निर्माण भएको छ । विकास निर्माणको कामहरु पनि धेरै गरेका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षातर्फ पनि ध्यान दिन सकेका छौं । पुलको निर्माण गरेका छौं । मठ मन्दिरको पनि निर्माण गरेका छौं । गाउँपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के होलान् नि ? खासै ठुलो योजनाहरु त छैनन् । एउटा ठुलो योजनाको रुपमा नौकुण्ड खानेपानी योजना रहेको छ । यो योजनाको डीपीआरको काम अगाडि बढाएका छौं । स्याउवारी–गोसाईकुण्ड सडकखण्डको डीपीआर भइसकेको छ । प्रदेश बाट घोरल्लो चोकसम्म जाने सडक पिच हुन लागेको छ । ५० लाख रुपैयाँ बराबरको बजेटमा यो सडक पिच हुन लागेको हो । पुल निर्माणको काम पनि सुरु भएको छ । यसका साथै अस्पताल भवनहरु चाहिँ कतै निर्माण हुने क्रममा छन् भने कतै चाहिँ निर्माण भइसकेको पनि छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् ? स्थानीय तहमा काम गर्दा सामान्य किसिमका समस्याहरु आइपर्ने गर्छ । मुख्य समस्या भनेको विकास निर्माणका काममा आउँछ । जनताको अपेक्षा धेरै छ भने बजेटको आकार चाहिँ सानो छ । सिंह दरबार गाउँगाउँमा आयो भन्ने सरकारको नारा अहिलेसम्म पनि नाराकै रुपमा रहेको छ । हामीले पिउनलाई नियुक्त गर्ने अधिकार पनि पाएका छैनौं । कमै मात्र अधिकार स्थानीय तहमा छ भने बढि अधिकार केन्द्र सकारसँग नै रहेको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकार बाट पनि सामान्य सहयोग मिल्ने गरेको छ । केन्द्र सरकार बाट ४० लाख रुपैयाँ बराबरको बजेट आउने गरेको छ । केन्द्र सरकारले विकास निर्माणको काममा पनि सहयोग पुर्याएको छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? विदेशबाट फर्केका युवाहरुलाई सामुहिक खेती गर्न लगाएका छौं । हामीले युवा लक्षित कार्यक्रम राखेका छौं भने २० लाख रुपैयाँ बजेट त्यतापट्टि छुट्याएका छौं । बैंकसँग साझेदारी गरेर दक्ष युवाहरुलाई ऋणको व्यवस्था मिलाएका छौं । त्यसैगरी, केही रोजगारी चाहिँ विकास निर्माणको क्षेत्रतर्फ सृजना गरेका छौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? त्यस्तो ठुलो उद्योग अथवा व्यापारीक कम्पनी त हाम्रो पालिकामा छैनन् । बरु स्थानीय नागरिकहरुले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु चाहिँ धेरै छन् । तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? शिक्षा क्षेत्रमा गुणस्तर आइसकेको छैन जसले मलाई सन्तुष्टी मिलेको छैन । यो बाहेक विकास निर्माणको काममा भने म सन्तुष्ट छु । गाउँपालिकामा मानिसहरु प्रायः कस्ता समस्या लिएर आउँछन् ? मानिसहरु गाँउपालिकामा सामान्य किसिमका समस्याहरु लिएर आउने गरेका छन् । कोही खानेपानी अनि सडकको समस्या लिएर आउँछन् । धेरै टाडा भएको एउटा मात्र घरमा सडक पुर्याउनु पर्यो भन्दै आउने पनि छन् । गाउँपालिकामा हाल कस्ता योजनालाई प्राथमिकता दिएर काम गरिरहनुभएको छ ? हामीले भौतिक पूर्वाधारको कामलाई प्राथमिकता दिएका छौं । विद्युत विस्तार कार्य सबै वडामा पुर्याउन कम्मर कसेका छौं । सडक निर्माणतर्फ पनि जोड दिएका छौं । यसका साथै कृषि, सिँचाई तथा विद्यालयहरु तर्फ पनि ध्यान दिइरहेका छौं । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? गाउँपालिकाका नागरीकहरुलाई समृद्ध बनाउने योजना छ । जे होस्, आफुले जिताएको जनप्रतिनिधि गाउँपालिकाको अध्यक्ष भएको छ भन्ने अनुभुति जनतालाई भएको छ भन्ने कुरामा विश्वस्त छु । आफुले गरेका विकास निर्माणको काम प्रभावकारी होस् र जनता पनि सन्तुष्ट रहुन् भन्ने इच्छा मुताविक विभिन्न किसिमका योजनाहरु बनाएको छु । मेरोे कार्यकाल सकिए पछि पनि जनताले राम्रो काम गर्ने मान्छेका रुपमा मलाई सम्झिउन् भन्ने उद्देश्यका साथ काम गरिरहेको छु ।

हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ३७ प्रतिशत, कुन शाखामा कति खर्च ?

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिइएको छ । शुक्रबार आयोजना गरिएको आठौं नगरसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड ९९ लाख १३ हजार ६५२ रूपैयाँ स्वीकृत गरेकामा चालुतर्फ विनियोजन भएको पाँच करोड ४२ लाख ५३ हजार ६६० रूपैयाँ मध्ये दुई करोड ९० लाख ६६ हजार ८२२ रूपैयाँ तथा पुँजीगततर्फ १७ करोड ८१ लाख ६० हजार ९९० रूपैयाँ विनियोजन भएकामा पाँच करोड ६३ लाख ४३ हजार ७४८ रूपैयाँ खर्च भएको हो । गत साउन १ गतेदेखि माघ मसान्तसम्मको अवधिमा चालुतर्फ ५३.४७ प्रतिशत र पुँजीगततर्फ ३१.६२ प्रतिशत वित्तीय प्रगति भएको नगर उपप्रमुख विमला राईले जानकारी दिएका छन् । शिक्षा शाखाका लागि १९ करोड ९५ लाख रूपैयाँ विनियोजन भएकामा सात करोड ९६ लाख ७६ हजार ८६२ रूपैयाँ खर्च भएको, महिला तथा बालबालिका शाखाका लागि ५२ लाख रूपैयाँ विनियोजन भएकामा एक लाख ४० हजार ५२० रूपैयाँ खर्च भएको, स्वास्थ्य शाखाका लागि पाँच करोड ७१ लाख रूपैयाँ विनियोजन भएकामा दुई करोड ७४ लाख ६५ हजार ५४० रूपैयाँ खर्च भएको, योजना शाखाका लागि १७ करोड ८१ लाख ६० हजार ९९० रूपैयाँ विनियोजन गरिएकामा पाँच करोड ६३ लाख ४३ हजार ७४८ रूपैयाँ खर्च भएको तथा युवा तथा खेलकुदका लागि विनियोजन गरिएको २० लाख रूपैयाँ विनियोजन गरिएकामा पाँच लाख ९४ हजार ६९० रूपैयाँ खर्च भएको छ । नगरसभाले चालु आर्थिक वर्षको स्वीकृत आठ वटा योजनालाई औचित्यता, कारण र पुष्ट्याइसहित संशोधन गरेको छ । तीन लाख ५० हजार रूपैयाँ विनियोजन गरिएको कालिका-देवीथान-धोद्रेखोला ग्रामिण सडक निर्माण योजनालाई संशोधन गर्दै गैरीगुठ तारेभीर हलेसी ग्रामीण सडक निर्माण योजना कायम गरिएको छ । रु एक लाख विनियोजन गरिएको ताराखसे-गैरीगाउँ-आहाल तथा इन्टेक निर्माण योजनालाई संशोधन गर्दै उद्यमशीलताका लागि ड्राइभिङ तालीम कायम गरिएको नगरसभामा जानकारी दिइएको छ । नगर उपप्रमुख राईले प्रस्तुत गरेका नगरपालिकाको विषयगत शाखा तथा समग्र कार्यक्रमको वित्तीय र भौतिक प्रगति प्रतिवेदन तथा नगरप्रमुख इवन राईले प्रस्तुत गरेका जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई पारित गरेको छ । एघार वडा रहेको उक्त नगरपालिकाले गत आर्थिक वर्ष राजस्व बाँडफाँटतर्फको तोकिएको बजेट नआउँदा अधुरा रहेका योजना पूरा गर्न चालु आवको साढे पाँच करोड रूपैयाँ बढी रकम खर्च गरेको छ । नगरपालिकाको आठौँ हिउँदे नगरसभामा उपप्रमुख राईले चालु आवको वित्तीय तथा भौतिक प्रगति प्रस्तुत गर्नेक्रममा सङ्घ र प्रदेशले सिलिङअनुसार राजस्व बाँडफाँटतर्फको पैसा नपठाउँदा अधुरो रहेका योजना पूरा गर्न पाँच करोड ५९ लाख ८९ हजार रूपैयाँ आर्थिक दायित्व पूरा गर्नुपरेको जानकारी दिए । कोभिड-१९ को कारण देखाउँदै सङ्घ र प्रदेशबाट सिलिङअनुसारको बजेट नआउँदा आव २०७६/०७७ को अधुरा योजना सम्पन्न गर्ने गरी आर्थिक दायित्व निर्वाह गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको नगरसभामा जानकारी दिइएको छ । गत वर्ष प्रदेश र सङ्घबाट सिलिङअनुसारको बजेट नआएपछि नगरपालिकाको नगरसभाले अधुरा योजना पूरा गर्नका लागि पाँच करोड ५९ लाख ८९ हजार रूपैयाँ विनियोजन गरेको थियो । विनियोजन भएका बजेटमध्ये हालसम्म तीन करोड ७६ लाख १७ हजार रूपैयाँ भुक्तानी भइसकेको र एक करोड ८३ लाख ७२ हजार रूपैयाँमध्ये पुरानो भुक्तानी बाँकी रकम नगर समपूरक कोषमा थप गरी खर्च गर्ने नगरपालिकाले जनाएको छ । यस्तै, नगरस्तरीय २२ वटा अधुरा योजनालाई पनि पहिलो प्राथमिकतामा राखेर चालु आवको नगरसभाबाट बजेट विनियोजन गरेर अघि बढाइएको छ । गत आव सिलिङअनुसारको बजेट नआउँदा अधुरो रहेका वडा नं १ बाहुनीडाँडाका आठ वटा, वडा नं २ डिकुवाका १२ वटा, वडा नं ३ च्यास्मिटारका सात वटा, वडा नं ४ बडहरेका ५ वटा, वडा नं ५ दुर्छिमका चार वटा र वडा नं ६ मङ्गलटारका १० वटा योजनालाई चालु आवको बजेटबाट पूरा गरिएको बताए । यस्तै, वडा नं ७ महादेवस्थानका सात वटा, वडा नं ८ धितुङका नौ वटा, वडा नं ९ सल्लेका चार वटा, वडा नं १० अर्खौैलेका छ वटा र वडा नं ११ राजापानीका चार वटा योजनालाई चालु आव बजेट विनियोजन गरेर पूरा गर्नुपरेको जानकारी दिइएको छ । बजेट अभावमा अलपत्र र अधुरो रहेका योजनालाई पूरा गर्न यस वर्ष प्राथमिकतामा राखिएको नगरप्रमुख राईले बताए । “हामीलाई प्राप्त भएको सिलिङअनुसार बजेट निर्माण गर्याैं, योजना बनायौं र सम्झौता गरेर काम अघि बढायौं”, उनले भने, “तोकिएको बजेट नआएपछि धेरै योजना अधुरो रहन पुगे । त्यही अधुरो योजना पूरा गर्न हामीले चालु आवको बजेटबाट रकम व्यवस्था गरेर अधुरो रहेका कामलाई अघि बढाएका हौं ।” रासस