किसानहरुले किसान क्रेडिट कार्ड मार्फत २ लाख रुपैयाँसम्म विना धितो ऋण पाउँछन् – नगरप्रमुख आले
नेपालको प्रदेश १ अन्तर्गतको भोजपुर जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय नगरपालिका हो भोजपुर नगरपालिका । १२ ओटा वडा रहेको यस नगरपालिका कृषि उत्पादनका क्षेत्रमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । यो नगर भौगोलिक हिसावले मध्यपहाडी भेगमा पर्छ । यहाँको हावापानी मध्यम खालको रहेको छ । यस नगरपालिका रहेको स्थानलाई मध्यकालीन नेपालमा पूर्व ४ नम्वरको किल्ला भनेर पनि चिनिन्छ । मध्यपहाडी राजमार्गले छोएको हुँदा नेपालको राजधानी काठमाडौंसम्म आवागमन गर्न सहज हुने सम्भावना रहेको यस नगरपालिका पर्यटकीय हिसावले पनि अत्यन्तै सुन्दर एवं मनमोहक देखिन्छ । नेपाल एकीकरण अभियानपश्चात यस क्षेत्रलाई माझकिराँत क्षेत्रको प्रशासनिक केन्द्रका रुपमा चयन गरिएको इतिहास छ । वि.सं. १८७२ सालमा यसै नगर क्षेत्रको टक्सार बजारमा नेपालभर आवश्यक पर्ने डोली पैसाका नामले प्रख्यात टक (पैसा) टकमारी गर्ने काम भएकोले सो बजारको नामनै टक्सार रहन गएको छ जुन बजार हाल यसै नगर क्षेत्रमा पर्दछ । नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भईसकेपछि नगरपालिकामा कस्ता खाले परिवर्तन देखापरेका छन्, रोजगारीको अवसर सृजना गर्नमा नगरपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा सो नगरपालिकाका मेयर कैलाश कुमार आलेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । कृषि क्षेत्रबाटै सुरु गरौं, नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले नगरपालिकामा धेरै काम गर्दै आएका छौैैं । नगरपालिकाका धेरै नागरिकहरू कृषि पेसामा आवद्ध रहेका छन् । नगरपालिकामा किसान क्रेडिट कार्डको लञ्च गर्न लागेका छौं । आउँदो चैत्र १७ गते किसान क्रेडिट कार्ड सम्बन्धी सम्झौता गर्ने कार्यक्रम पनि रहेको छ । किसानहरुले किसान क्रेडिट कार्ड मार्फत २ लाख रुपैयाँसम्म विना धितो ऋण पाउँछन् । किसानले गर्न लागेको व्यवसायको जानकारी अनुसार मात्र यो सेवा पाउनेछन् । हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराउने व्यवस्था पनि मिलाएका छौं । नगरपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र धेरै जसो ५० प्रतिशत अनुदानको बिउ वितरण गर्दै आएका छौं । कृषिलाई आधुनिकीकरण गर्नेतर्फ पनि विशेष ध्यान दिइरहेका छौं । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं । हामीले नगरपालिकाका केही वडाहरूलाई पकेट क्षेत्रका रूपमा पनि छुट्याएका छौैं । ३ र ४ नं. वडालाई सुन्तला पकेट क्षेत्र तथा वडा नं. १ र २ लाई अलैंची पकेट क्षेत्रका रूपमा घोषणा गरेका छौं । केही वडालाई मकै पकेट क्षेत्रको रुपमा पनि छुट्याएका छौं । नगरपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ? नगरपालिका भित्र धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँको मुख्य पेशा खेति किसानी नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ७० प्रतिशत मानिसहरू कृषि पेसामा आवद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । नगरपालिकामा स्वास्थ्य क्षेत्रको विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासका लागि हामीले धेरै काम गर्दै आएका छौं । ‘एक वडा एक स्वास्थ्य चौकी’को अवधारण पनि नगरपालिकामा रहेको छ । सरकारले दिएको औषधीहरू गाउँपालिकाका नागरिकलाई निःशुल्क वितरण गर्ने गरेका छौं । ठुलो रोगको त उपचार नगरपालिकामा हुन सक्दैन । नगरपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । १२ ओटा वडा रहेको हाम्रो नगरपालिकामा १२ ओटै स्वास्थ्य चौकी रहेका छन् । खेलकुद विकासका लागि नगरपालिकाले कस्ता योजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि नगरपालिकामा ‘एक वडा एक खेल मैदान’ भन्ने अभियान चलाएका छौं । खेलकुद समिति पनि नगरपालिकामा गठन भएका छन् । नगरपालिकामा १० ओटा युवा क्लबहरू रहेका छन् । युवा क्लबहरू मार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबलटेनिस, कराँते, फुटबल लगायतका खेलहरू नगरपालिकामा आयोजना गर्ने गरेका छौं । नगरपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पनि नगरपालिकामा हुने गरेको छ । शैक्षिक विकासको लागि नगरपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? शैक्षिक क्षेत्रको विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । नगरपालिकाको शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं । विद्यालयको कक्षा कोठामा स्मार्ट बोड राखेर पढाउने काम पनि भएको छ । आधुनिक शिक्षा प्रणालिलाई पनि ध्यान दिइरहेका छौं । शिक्षा प्रणालिलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामीले प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । बेला बेलामा विभिन्न विज्ञहरूबाट शिक्षकहरूलाई तालिम पनि दिँदै आएका छौं । आफ्नो नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो नगरपालिका पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको ठाउँ हो । नगरपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । नगरपालिकाको वडा नं ३ स्थित सुन्तले बजार र सो आसपासका हिमाल तथा विश्वकै गहिरो अरुण उपत्यकाको महनमोहक दृश्य हेर्न सकिने भएकाले भ्यु टावरको निर्माण गर्ने योजना पनि रहेको छ । सिद्धकाली मन्दिर पनि नगरपालिका भित्र पर्यटकीय स्थलको रूपमा चर्चित छ । टक्सार बजार पाटीपौवा तथा देवीदेवताका मन्दिरहरु रहुनुका कारणले महत्वपूर्ण मानिएको छ । नगरपालिकामा पर्यटन पूर्वधारमा पनि विशेष जोड दिएका छौं । नगरपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ? स्थानीय सरकार बनिसकेपछि नगरपालिकामा विकास निर्माणका कामहरु पनि धेरै भएका छन् । नगरपालिको सबै वडामा कच्ची सडक पुर्याएका छौं । नगरपालिकाका केही कच्ची सडक पिच पनि भएका छन् । खानेपानीको काम पनि गरेका छौँ । १२ ओटा वडामध्ये ४ ओटा वडामा मात्र बिजुली पुगेको थियो । हाल हामीले नगरपालिकाका सबै वडामा बिजुली पुर्याउन सफल भएका छौं । नगरपालिकामा विकास निर्माणको काम पनि धेरै गरिरहेका छौं । नगरपालिकाको भवन र सामुदायिक भवनको पनि हामीले निर्माण गरेका छौं । २१ करोड रुपैयाँको बजेटमा नगरपालिकाको भवन र सामुदायिक भवनको निर्माण भएको हो । प्रदेश सरकारको सहयोगमा भोजपुर एयरपोर्टलाई स्तरोन्नती गरेका छौं । १६ करोड रुपैयाँको लागतमा यो काम भएको हो । १९ करोड रुपैयाँको बजेटमा भोजपुर रङ्गशालको पनि निर्माण भइरहेको छ । अहिलेसम्मको आफ्नो काम गराईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? अहिलेसम्मको काम गराईबाट म सन्तुष्ट नै छु । नगरपालिकामा भएका विकास निर्माणको काम पनि प्रभावकारी नै भएका छन् । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि नगरपालिकामा आएको परिवर्तन बारे केही बताईदिनुस् न पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । देखिने खालका कामहरू पनि धेरै भएका छन् । पहिला प्रशासनिक भवन नभएर शनिवारे बजारको टहरा बाट काम गथ्र्यौं भने हाल हामीले नगरपालिकाको आफ्नै प्रशासनिक भवन बनाएका छौं । भौतिक संरचनाहरूको निर्माण पनि नगरपालिका भित्र भएको छ । अहिले नगरपालिका भित्र सडकको विकास भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । नगरपालिका भित्रका केही सडकहरू पिच पनि भइसकेका छन् । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम पनि अगाडि बढाइरहेका छौं । यस अवधिमा बजेट के कति खर्च भयो ? खर्चअनुसार उपलब्धि प्राप्त भएको छ कि छैन होला ? विकास गरेअनुसारको बजेट खर्च हुने गरेको छ । खर्च गरेअनुसार उपलब्धी पनि राम्रो नै भएको छ । बजेट बनाउँदा वित्त समानिकरण बजेट बनाउनु पर्ने हुन्छ । वित्त समानिकरणको बजेट न्यून रहेको छ । यस वर्ष १० करोड ५० लाख रुपौयाँ थियो । थोरै बजेटले धेरै काम गर्नुपर्ने हुन्छ । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारिक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा ठुला उद्योग त छैनन् । स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरू रहेका छन् । पलिकामा बरु कृषि उद्योग धेरै संख्यामा रहेको छ । कृषकहरूले कुखुरापालन तथा भैँसीपालन लगायतका काम पनि गर्दै आएका छन् । नगरपालिकामा २ ओटा हाइड्रोपावर सञ्चालन भएका छन् । टक्सर पिखुवा हाइड्रोपावरले ८ मेगावाटको विधुत उत्पादन गर्छ भने स्ट्रोन हाइड्रोपावरले ५ मेगावाट विधुत उत्पादन गर्छ । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन् हो नि ? गाउँपालिकामा ठुलो उद्योगहरू नभइसकेपछि धेरै कर तिर्ने कम्पनी पनि हुने कुरै भएन । तरपनि सामान्य व्यवसायहरुबाट कर सङ्कलन हुने गरेको छ । नगरपालिकामा नागरिकहरू प्रायः कस्ता समस्या लिएर आउने गरेका छन् ? व्यक्ति अनुसारको समस्या आउने गरेको छ । धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । कोही शिक्षा क्षेत्रका समस्या लिएर आउँछन् भने कोही चाहीँ विकास निर्माणको समस्या लिएर आउँछन् । तरपनि त्यस्ता समस्याहरूलाई समाधान गरेर मात्र हामी अगाडि बढ्ने गरेका छौं । प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ? पार्टी अनुसारको केन्द्र र प्रदेश बाट बजेट आउने गर्छ । फरक पार्टीको नेतृत्वकर्ता भयो भने बजेट पनि न्यून आउने गरेको छ । तर पनि सामान्य विकास निर्माणको काममा त हाम्रो समन्वय भएकै छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना छ ? ९ ओटा स्थानीय तह रहेको भोजपुर जिल्लामा उत्कृष्ट काम चाहीँ हाम्रै नगरपालिकामा भएको छ जस्तो मलाई लाग्छ । यो ५ वर्षको कार्यअवधिमा सिमित बजेटले पनि नागरिकहरुको आधारभूत आवश्यकता पुरा हुने विश्वास छ । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं ।
स्थानीय तहकाे प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रममा विनियोजित बजेटको खाका तयार गर्न निर्देशन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई प्रशासकीय भवन पूर्वाधार बिकास कार्यक्रम विनियोजित बजेटको खाका तयार गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बजेटको अधिक खर्च गर्ने, त्यसको श्रेस्ता राख्ने, अन्तिम लेखा परिक्षण गर्न निर्देशन दिएको हो । स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार बिकास कार्यक्रम सञ्चालन कार्यविधि २०७७ मा भएको व्यवस्था बमोजिम चालु आर्थिक बर्ष २०७७/७८ मा कार्यक्रम सञ्चालनको लागि बजेट उपलब्ध गराउने गरी छनौट भएका स्थानीय तहहरुलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो । चालु आर्थिक वर्ष २०७७/७८ मा समपन्न हुने आयोजनाहरुका लागि २२ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । माग फारम अनुसार निर्माणाधीन आयोजनाहरुका लागि १० करोड ९० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । माग प्रस्ताव भई निर्माणधीन अवस्थामा रहेको आयोजनाहरुका लागि १७ करोड ६२ लाख रुपैयाँ र माग प्रस्ताव भएका आयोजनाको लागि २५ करोड ५३ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
सिंहदरबार घरघरमा भन्ने आवास जनतालाई दिएका छौं – गाउँपालिका अध्यक्ष थापा
नेपालको गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो देवघाट गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । १ सय ५९ वर्ग किलोमिटरमा फैलिएको यस गाउँपालिकामा ५ ओटा वडाहरु रहेका छन् । गाउँपालिकाको सिमानामा पूर्वतर्फ आँबुखैरेनी गाउँपालिका र चितवन जिल्ला, पश्चिममा ऋषिङ्ग गाउँपालिका र नवलपरासी जिल्ला, उत्तरमा ऋषिङ्ग, बन्दिपुर, आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिका र त्यसैगरी दक्षिणमा नवलपरासी र चितवन जिल्ला रहेको छ । केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०६८ अनुसार जम्मा घरधुरी संख्या ३ हजार ४ सय ३५ रहेको यस गाउँपालिकामा १६ हजार १ सय ३१ जनाको बसोबास रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? गाउँपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । गाउँपालिकाको भूगोल अनुसार कृषि पकेट क्षेत्र पनि छुुट्याएका छौं । कृषिलाई निर्वाहमुखी मात्र होइन व्यवसायिक गर्नुपर्छ भनेर जोड दिएका छौं । पहाडी भूगोल भएको ठाउँमा बाख्रा तथा सुन्तला पकेट क्षेत्र घोषणा गरेका छौं भने समथर भूभाग भएको ठाउँलाई लिच्ची, गाईपालन तथा तरकारी पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । कृषि समूहको गठन गरी कृषकहरूलाई कृषि सम्बन्धी तालिम पनि दिएका छौं । कृषकलाई सुन्तलाका बिरुवाहरू ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएका छौं । यो वर्ष कृषि विकासको लागि वडा नं. २ मा गाउँपालिकास्तरीय सुन्तला र कागतीको बिरुवा उत्पादन गरिरहेका छौं जसलाई हामीले कृषि अनुसन्धान केन्द्र भनेर नामकरण गरिएका छौं । तर यो वर्षबाट सुन्तला र कागतीको बिरुवा कृषकलाई निःशुल्क वितरण गर्ने तयारीमा छौं । बिरुवा वितरण गर्नु अघि कृषकलाई तालिम दिने योजना छ । ‘एक घर एक करेसा बारी’ भन्ने हाम्रो नीति रहेको छ । जस अन्तर्गत हामीले मौसम अनुसारका तराकारीको बिउहरू ५० प्रतिशत अनुदानमा दिने गरेका छौं । वडा नं १ मा पशु विकास फार्मको अवधारणा सुरु गरेर उन्नत जातका घाँसका बिरुवाहरू उत्पादन गरी कृषकलाई निःशुल्क वितरण पनि गरेका छौं । वडा नं १ लाई ‘मुख्यमन्त्री कृषि अर्गानिक नमुना गाउँ’ को रुपमा राखेका छौं । यस ठाउँमा टनेल खेतीहरूको सुरुवात भएको छ । विभिन्न कृषि संघ संस्थासँग समन्वय गरेर गाउँपालिकाको आन्तरिक स्रोतको परिचालन गरी कृषिका ब्लक छुट्याएका छौं । गाउँपालिकाअन्तर्गत लघु उद्यम कार्यक्रम पनि सञ्चालन भएको छ । वडा नं. २ लाई मौरीपालन पकेट क्षेत्र बनाउनको लागि पनि जोड दिइरहेका छौं । गाउँपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ? यहाँका धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ९५ प्रतिशत मानिसहरु कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गत वर्ष हामीले गाउँपालिकामा ३ दिने कृषि उत्सव गर्यौं भने यो वर्ष हामीले कृषि मेला पनि गरेका थियौं । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । पर्यटकीयस्थलको रूपमा देवघाट मन्दिर, शिद्धेश्वर मन्दिर आदि रहेका छन् । गत वर्ष हामीले धार्मिक प्रवद्र्धनको लागि धार्मिक गोष्ठी पनि सञ्चालन गरेका थियौं । यो गोष्ठीमा देशभरका सम्पूर्ण पालिकालाई आमन्त्रण गरेका थियौं । यो आर्थिक वर्षमा देशभरका पालिकाहरूसँग भगिनी सम्बन्ध गर्ने भन्ने लक्ष लिएका छौं । गाउँपालिकामा सरसफाई अभियान पनि सञ्चालन गरेका छौं । गाउँपालिकामा ९० प्रतिशत जनजातिहरुको बसोबास रहेको छ । जनजातिका संस्कृतिलाई प्रवद्र्धन गर्नको लागि ८ ओटा सामुदायिक होमस्टे पनि सञ्चालन गरेका छौं । रमणीयस्थलको रूपमा घन्टाचुलि भन्ने स्थान रहेको छ । पर्यटन विकासको लागि संघीय सरकारबाट भ्यूटावर तथा मठमन्दिर निर्माणको लागि ५ करोड रुपैयाँ बजेट छुट्टिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट झरनाको रूपमा छरछरे झरना रहेको छ । अहिले हामीले पर्यटन प्रवद्र्धन र पर्यटन पूर्वाधार विकासमा पनि विशेष जोड दिएका छौं । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? वडा नं १ मा गाउँपालिकास्तरीय रङ्गशाला बनिरहेको छ । गत आर्थिक वर्षमा खेलकुद मन्त्रालय बाट ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सो बजेटले हामीले गाउँपालिकामा फुटबल ग्राउण्ड बनाएका थियौं । यो चालु आर्थिक वर्षमा पनि २५ लाख रुपैयाँ संघ सरकारबाट र ५ लाख रुपैयाँ गाउँपालिका बाट गरी जम्मा ३० लाख रुपैयाँ बजेट विनियोजन गरी खेल मैदानको निर्माण भइरहेको छ । ‘एक वडा एक खेल मैदान’ को पनि अवधारण गाउँपालिमा रहेको छ । वडा नं. १ मा गाउँपालिकास्तरको रङ्गशला रहेको छ । वडा नं २ मा फुटबल रङ्गशालाको निर्माण भइरहेको छ । वडा नं ३ र ४ मा भलिबल ग्राउण्ड बनेको छ भने वडा नं ५ मा फुटबल र ब्याडमिन्टनको कोर्टहरू बनेका छन् । युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरेका छौं । गाउँपालिकाका युवाहरू खेलकुदतर्फ उत्सुक छन् । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आईरहेको छ त ? गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासको लागि पनि धेरै काम गर्दै आइरहेको छ । ‘एक वडा एक मदर स्कुल’ को अवधारणा लिएका छौं । गाउँपालिकामा बाल विकास केन्द्रलाई पनि विशेष जोड दिएका छौं । त्यहाँ हाल ४ सय ८० जना विद्यार्थीहरु अध्ययनरत छन् । बाल विकास केन्द्र सहित गाउँपालिकामा ४० ओटा विद्यालयहरु छन् । आउँदो चैत्र २५ गते विश्व स्वास्थ्य दिवसको दिन देखि गाउँपालिकामा प्रत्येक बाल विकास केन्द्रमा रहेका ५ कक्षाभन्दा तलका विद्यार्थीहरुलाई दिगो खाजा बापत प्रत्येक दिन प्रति विद्यार्थी १५ रुपैयाँको दरले खाजाको रकम वितरण गर्ने कार्यक्रम पनि रहेको छ । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् नि ? ठुलो योजनाको रुपमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । ६ करोड रुपैयाँ बराबरको लागतमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । १ करोड रुपैयाँको लागतमा सिटि हलको निर्माण भइसकेको छ । वडा नं. २ को वडा भवन पनि निर्माण भइरहेको छ । गण्डकी प्रदेशको तर्फबाट ६ किलोमिटर सडक १४ करोड रुपैयाँको बजेटमा पिच भइरहेको छ । गाउँपालिकाको सबै वडामा बिजुली पु¥याउने काम पनि भइरहेको छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? काम गर्न चाहने युवाहरुका लागि धेरै ठाउँमा अवसर छ । काम गर्न नचाहने युवाहरुका लागि हामीले केही गर्नसक्ने कुरै भएन । युवाका लागि भन्दै विभिन्न कार्यक्रमहरु ल्याएका छौं । उनीहरुलाई सुलभ ऋणको व्यवस्था पनि मिलाएका छौं । युवालाई व्यावसायीक तालिमको पनि व्यवस्था मिलाएका छौं । केही युवालाई विकास निर्माणको काममा लगाउँदै आएका छौं । गाउँपालिकामा धेरैजसो युवाहरु कृषि पेशामा आवद्ध छन् । युवाहरुलाई कृषि सम्बन्धि तालिम पनि दिँदै आएका छौं । युवाहरुले पशुपालन, खेती, कुखुरापालन लगायतका कार्य गरिरहेका छन् । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग छैनन् । व्यपारीकस्थलहरु भर्खरै सुरुवात हुन थालेका छन् । यद्यपी हाम्रो गाउँपालिका उद्योगको बढी सम्भावना बोकेको ठाउँ चाहिँ हो । हाल गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरू छन् । प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ? हाम्रो समन्वय राम्रै गरी भइरहेको छ । समपुरक बजेट पनि प्रदेश र केन्द्रबाट आउने गरेको छ । गाउँपालिकाको विकास निर्माणको कामहरु पनि प्रदेश र केन्द्र सरकार बाटै आएको बजेटमा गर्ने हो । अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? हामीले ‘हाम्रो देवघाट समृद्ध देवघाट’ भन्ने नारा लिएका छौं । यो नारा सफल बनाउनको लागि हामीले विशेष जोड पनि दिएका छौं । कृषि, पशु, स्वास्थ्य, शिक्षा आदिको विकास गर्ने पनि योजना बनाएको छु । गाउँपालिकामा अझै ६ ओटा पुलको आवश्यकता रहेको छ । ६ ओटा पक्कि पुलमध्ये एउटा पुलको डीपीआर गरेर काम सुरु गर्ने योजना पनि बनाएका छौं । हाम्रो कार्यकाल भित्र गाउँपालिकाका सबै ठाउँमा बिजुली पुग्ने छ । सिँचाईको काम पनि अघि बढाएका छौं । खानेपानीको लागि प्रदेश सरकारसँग समन्वय गरेर सोलर लिफ्टीङ खानेपानीको कार्यक्रमहरु पनि अगाडि बढाएका छौं । वडा नं. १ र ५ को पनि आगामी आर्थिक वर्षको बजेटमा बजेट विनियोजन गरी भवनको निर्माण गर्नेनै छौं । ‘एक वडा एक नमुना गाउँ’ को पनि अवधारण लिएका छौं । गाउँपालिकाको भूगोल विकट भएको कारण ७ ओटा ठाउँमा एकिकृत नागरिक सेवाको सञ्चालन गरेका छौं । सिंहदरबार घरघरमा भन्ने आवास जनतालाई दिएका छौं ।