दुई वर्षभित्र ३९६ आधारभूत अस्पतालहरु निर्माण भइसक्ने
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा विस्तारका लागि शिलान्यास गरिएकाे ३ सय ९६ आधारभूत अस्पतालहरु २ वर्ष भित्र सकिने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले आधारभुत अस्पतालको लागि ६ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएको बताएका छन् ।
अनुमति दिए कोभिड विरुद्धको खोप हामी आफैं किन्न सक्छौं – गाउँपालिका अध्यक्ष केसी
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका पनि प्रभावित भएको छ । फाट्टफुट्ट रुपमा संक्रमितहरु देखा परेका छन् । यति हुँदाहुँदै पनि कोभिड न्यूनीकरणका लागि गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी नै देखिएको छ । गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष नवराज केसी सँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् ः गाउँपालिकामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, जोखिम न्यूनिकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ? अन्य ठाउँमाजस्तै हाम्रो पालिकामा पनि कोरोनाको प्रभाव बढ्दो छ । कोभिडबाट प्रभावित धेरै नागरिकहरू त देखिएका छैनन् । तरपनि केही नागरिकहरूमा कोभिडसँग सम्बन्धित लक्षण देखिएको हुनाले उनीहरूको पीसीआर गरेका छौं । स्थानीयलाई कोरोना हुनुभन्दा पनि बाहिरी जिल्लाबाट आएर सावधानी नअपनाउनेहरुका कारण पालिकामा पनि महामारी भयावह हुने हो कि भन्ने चिन्ता छ । पालिकामा कोरोना महामारी फैलिन नदिनको लागि उच्च सतकर्ता अपनाएका छौं । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले जनचेतनामुखी कार्यक्रम र सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । पालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेको छ । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । पालिकामा ५ बेडको आइसोलेसन सहितको कोभिड अस्पताल पनि छ । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं । विशेष गरी स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकहरूको लागि उच्च सतर्कता अपनाइएको छ । अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका बिरामीलाई सहज उपचारको वातावरण मिलाउन पालिकाले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य पनि गरिरहेको छ । जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं । पालिकामा अक्सिजनको अभाव छ कि छैन नि ? सबैतिर अक्सिजनको अभाव भइरहेको अवस्थामा हाम्रो पालिकामा चाहिँ अक्सिजनको अभाव नहुने कुरै भएन । पालिकामा ५ ओटा अक्सिजन सिलिण्डर छ, यति अक्सिजनले मात्र पालिकामा नपुग्ने अवस्था छ । हामीले अझ केही सिलिण्डर खोजेको भएपनि पाएका छैनौं । पालिकाको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण त गर्दै आएका छौं । पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? पीसीआरको लागि एन्टिजेन परीक्षण मार्फत् कोभिड परीक्षण गर्दै आएका छौं । एन्टिजेन परीक्षणलाई पालिकामा थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि पनि जोड दिइरहेका छौं । पालिकामा सामुदायिक स्वास्थ्य केन्द्र रहेको छ, यसमा कोभिडका बिरामीहरुलाई राख्ने व्यवस्था मिलाएका छौं । कोरोनासँग अन्तर्सम्बन्धित लक्षण देखिएका नागरीकहरूको पीसीआर पनि गर्दै आएका छौं । १ सय ९ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न भनी काठमाडौं पठाएका छौं । पोजेटिभ देखिएकाहरुमा यदी स्वास्थ्य अवस्था सामान्य छ भने सुरक्षित तरिकाले होम आइसोलेसनमै बस्ने व्यवस्था मिलाएका छौं । होम आइसोलेसनमा बसेका तर उसको स्वास्थ्यमा समस्या भयो भने अस्पताल पुर्याउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरेका छौं । होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई स्वास्थ्य अवस्था बुझी सामान्य औषधी पनि दिने व्यवस्था गरेका छौं । आम नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ? जिल्लाले नै निषेधाज्ञा जारी गरेको भएपनि बाहिरी जिल्लाबाट रातीको समय पारेर मानिसहरु आएको पाइएको छ । यसरी काठमाडौं वा अन्य जिल्लाबाट मानिसहरु आइरहेको हुँदा निषेधाज्ञाको पूर्ण पालना नभएको जस्तो लागेको छ । जिल्लाले गरेपनि पालिका आफैंले चाहिँ निषेधाज्ञा जारी गरेको छैन । बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी अपिल गरेका छौं भने स्वास्थ्य मापदण्डको पनि पूर्ण पालना गर्न अनुरोध गरेका छौं । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण पालिकावासी सहित आम जनसमुदायबाट साथ, सहयोग मिलेको नै छ । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि के कस्तो सहयोग मिलेको छ नि ? प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि कुनै पनि सहयोग मिलेको छैन । सङ्घीय सरकारले गत वर्ष पनि १० लाख रुपैयाँ दिने भनेको थियो तर दिएन । गत वर्ष चाहिँ प्रदेश सरकारले ५ लाख रुपैयाँ बजेट दिएको थियो । हालसम्म जोखिम न्यूनिकरण गर्नको लागि कुनै पनि सहयोग मिलेका छैन । संघीय सरकारले अनुमति दिए कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न चाहन्छौं । अनुमति दिए हामी कोभिड विरुद्धको खोप आफैं किन्न सक्छौं, तर खोप खरिद गर्ने अधिकार हामीमा छैन । हामी केही गर्न चाहन्छौं तर अधिकार नभएकोले समस्या छ । नागरिकको सुरक्षाको लागी हामी खटिरहेका छौं । पालिकाको साधनस्रोतले भ्याएजति महामारी नियन्त्रण गर्नमै केन्द्रीत छौं । जोखिम न्युनिकरण गर्नको लागि पालिकामा बजेट अभाव छ कि छैन ? यो महामारी न्यूनिकरण गर्नको लागि हामीलाई बजेटको अभाव भएको छ । कोरोना रोकथाम र नियन्त्रणको लागि जति बजेट हुर्नुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छौं । कोरोना नियन्त्रण भनेर नै हामीले बजेट धेरै छुट्याएका थिएनौं । पालिकामा भएको विकास बजेटहरु विकास निर्माणकै काममा खर्च भइसकेको छ । कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ । विकास निर्माणको कामहरू सबै ठप्प भएका छन् । कोरोनाले गर्दा गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरू पूर्ण रूपमा खोलेका छैनौं । कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिने भएको छ । नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकामा पनि बढ्दो रूपमा रहेका कारण पालिकाको अत्यावश्यक वाहेकका सबै सेवाहरू बन्द हुने भएका हुन् । एक ठाउँबाट अर्को ठाउँमा नजानका लागि अपिल गरिएको छ । मानवीय क्षति हुन नदिऔं भन्ने मनसाय छ । सानासाना तालिमका कामहरू पनि रोकिएका छन् । भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, त्यो समयमा तपाईंले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला त ? प्रधानमन्त्रीले के कारणले चुनावको आव्हान गर्नु भयो हामीलाई थाहा भएन । कोभिड–१९ ले नेपालमा पनि महामारीको बढ्दो रूप लिएको हुँदा चुनाव अहिलेको आवश्यकता होइन । कोभिड–१९ को महामारी नियन्त्रण गर्ने समयमा हाल जनताले चुनाव चाहेका छैनन् । अहिले कोरोना भाइरसको महामारीले जनजीवन अस्तव्यस्त बनाएको अवस्था छ । अहिलेको अवस्थामा राज्यको प्राथमिकतामा नागरिकको जीवन रक्षा पर्नुपर्ने हो । जनतालाई कोरोनाबाट हामी सुरक्षित राख्न चाहन्छौं । कोरोनाको खोप ल्याई जनताको जीवन रक्षा गर्न चाहन्छौं । यो समयमा सरकारकै भर पर्ने हो भने महामारी नियन्त्रण कदापी सम्भव देखिँदैन जस्तो लाग्छ । यो समयमा चुनावको वातावरण छैन । चुनाव हुने कि नहुने भनेर सर्वोच्च अदालतको निर्णय आउन बाँकी छ । अहिले नै चुनाव हुन्छ भन्ने पनि टुङ्गो भइसकेको छैन । त्यसैले अदालतले निर्णय गरेपछि मात्र यसको यकिन हुने हो । तर पनि हामी स्थानीय सरकार भएको हिसाबले हरेक उपायहरु अपनाएर जनताको सुरक्षा गर्नमा लागि परेका छौं । हामी चुनाव हैन कोरोनाबाट जनता बचाउन चाहन्छौं ।
आफुले चढ्ने सवारी अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री ओसारपसारका लागि प्रयोग गर्न दिएको छु – गाउँपालिका अध्यक्ष ढकाल
कोरोना महामारीले नेपाल मात्र नभई संसारका सबै देशहरूनै आक्रान्त भइरहेको अवस्था छ । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा पनि कोभिड–१९ को प्रभाव बढ्दो छ । देशभर निषेधाज्ञा जारी हुँदा संक्रमण त कम हुँदै गएको छ तर मानिसमा अझै पनि महामारीको त्रास छ । पालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पालिकाले कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालसँग विकासन्युजका राजिब न्यौपानेले गरेको कुराकानीको सार ः कोभिडको प्रभाव पालिकामा पनि बढ्दो छ, कोभिड–१९ को महामारीसँग जुध्नको लागि पालिकाले कस्तो प्रयास गरिरहेको छ ? तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाको समयमा पालिका भित्रका धेरै ठाउँमा पूजा तथा विवाहहरु भए । पूजाआजामा धेरै ठाउँबाट मानिसहरू आउने र भेटघाट हुने माहोल बन्यो, त्यसैले जहाँजहाँ पूजाहरू धेरै भए त्यही ठाउँमा कोरोनाले बढी प्रभाव पा¥यो । यो महामारी पालिकामा यसरी फैलिन्छ भन्ने हामीले सोचेका थिएनौं, यसलाई तुरुन्त नियन्त्रण गर्न सकिन्छ भन्ने आशा थियो । एकाएक पालिकामा कोभिड–१९ को प्रभाव तीव्र गतिमा बढ्दै । यस महामारीलाई न्यूनिकरण गर्नको लागि आइसोलेसन तथा अक्सिजनको व्यवस्था ग¥यौं । एक ठाउँको मानिस अर्को ठाउँमा जान नदिने र महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ठहर गरी पालिकामा निषेधाज्ञा जारी गरेका छौं । सत्यवती गाउँपालिकाले बनाउँदै गरेको भवनमा ११ बेडको आइसोलेसन कक्ष तयार गरी कोरोना संक्रमित भएका नागरिकलाई राख्ने व्यवस्था मिलाएका छौं । पालिकामा ३ ओटा एम्बुलेन्स छन् । सुरुसुरुमा एम्बुलेन्स चालकले पनि कोरोनाको बिरामी बोक्न असाध्यै समस्या माने । पछि हामीले एम्बुलेन्स चालकलाई एक ठाउँमा बोलाएर उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु दिई कुनै पनि हालतमा बिरामीलाई अस्पतालसम्म पुर्याउने काम गर्नुपर्छ भन्यौं । विभिन्न समस्याका कारण सुरुमा १/२ जना मानिसको क्षति भई समस्या पनि आयो । केही कोरोनाका संक्रमित भएका बिरामीहरू निको भई घर पनि गएका छन् । पालिकामा उपचार हुन नसक्ने अवस्था आयो भने कोभिडका बिरामीहरूलाई एम्बुलेन्स मार्फत् बुटवल, पाल्पा तथा चितवनसम्म लैजाने व्यवस्था मिलाएका छौं । बेडको अभावले कोभिड–१९ का बिरामीहरूलाई अन्य ठाउँमा पठाउन पनि समस्या भएको छ तर पनि अहिलेसम्म हामीले बेडको व्यवस्था गरी अन्य ठाउँमा पुर्याउने काम गरेका छौं । अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका बिरामीलाई सहज उपचारको वातावरण मिलाउन पालिकाले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य पनि गरिरहेको छ । जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं । अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन दुवै कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नु आजको आवश्यकता छ । पालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेको छ । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । आफुले चढ्ने सवारी अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री ओसारपसारका लागि प्रयोग गर्न दिएको छु । यस महामारीको नियन्त्रणको लागि स्वास्थ्य शाखा, कार्यालयको टिम, जनप्रतिनिधिहरू दिन रात खटिरहनु भएको छ । पालिकामा संक्रमितहरु पछिले समयमा केही कमि भएको भन्ने आवश छ । सी.सी.एम.सी को बैठक बसी कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धी लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी तुरुन्त पालिकाको स्वास्थ्यको टिम गएर यसको परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । पालिकामा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागि पनि जोड दिइरहेका छौं । परीक्षण गरिसकेपछि पोजेटिभ देखिएको खण्डमा सुरुक्षित तरिकाले होम आइसोलेसनमा बस्ने व्यवस्था मिलाएका छौं । होम आइसोलेसनमा बसेका तर उसको स्वास्थ्यमा समस्या भयो भने अस्पताल पुर्याउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरेका छौं । होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई स्वास्थ्य अवस्था बुझी सामान्य औषधी पनि दिएका छौं । कुनै संस्थाले सिलिन्डर, कसैले किटको लागि नगद सहयोग पनि गर्नु भएको छ । पालिकाकामा मानविय क्षति हुन नदिनको लागि कुनै पनि हालतमा जहाँ जे गर्नु पर्छ त्यसमा कुनै पनि कुराको बाँकी नराखौं भन्ने हाम्रो उदेश्य रहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागी वडा कार्यालयहरूको सक्रियता बढेको छ । गाउँपालिको अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन होला ? हामीले स्वास्थ्य सामाग्रीको अभाव हुन दिएका छैनौं । कोभिडका बिरामीहरूलाई धेरै हुँदा पिपिई पनि प्रसस्त मात्रमा चाहियो, केही औषधी त आवश्यकता छ । स्वास्थ्य सामाग्रीलाई खोजी र संक्रमितलाई सकेसम्म स्वास्थ्यको सेवा दिनमा हामी लागि परेका छौं । कोभिड संक्रमित भएका बिरामीहरूलाई निःशुल्क खाने व्यवस्था पनि मिलाएका छौं । औषधी पनि निःशुल्क दिएका छौं । पालिकाका स्वास्थ्य जनशक्तिले भ्याएसम्म र सकेसम्मको काम गर्नु भएको छ । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र पालिकाले बनाएको आइसोलेसन कक्षमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमै सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बस्ने नागरिकहरूलाई सामान्य मेडिकल प्याकेज किट दिने गरेका छौं । स्वास्थ्य चौकीमा औषधी अभाहुन नदिनको लागि विभिन्न काम पनि गर्दै आएका छौं । अनि अक्सिजनको अभाव नि ? बिरामीले बेड, अक्सिजन नपाएको खण्डमा यसलाई सहजिकराण पनि गर्दै आएका छौं । जनचेतनाको लागि स्वास्थ्यकर्मीको मार्फत सचेत बनाउने काम पनि हामी लागि रहेका छौं । पालिकाको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजीकरण पनि गरिएका छौं । हामीसँग प्राथमिक स्वास्थ्य केन्द्र भएको कारण सुरुमा पनि ५÷७ ओटा अक्सिजन थिए । केही अक्सिजनका सिलिन्डर पनि खरिद गरेका छौं । रोजगारीको लागि बिदेशमा गएका केही साथीहरूले १० ओटा सिलिन्डर उपलब्ध गराउने भनेका छन् । हामीले जतिसक्दो अक्सिजन पर्याप्त राख्ने र अक्सिजन अभाव हुन नदिनाको लागि हामीले काम गरिरहेका छौं । पालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेर नै काम गरी रहेका छौं । नागरिकलाई कोरोना संक्रमण हुन नदिनको लागि सचेतनाका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरेका छौं । श्रमजीवी पालिकावासीको लागि पालिकाले कुनै राहतका कार्यक्रमहरू ल्याएको छ कि छैन त ? लकडाउन पछि कोभिड नियन्त्रण हुन्छ भन्ने हाम्रो सोच थियो । तर यो अनुमान भन्दा फरक ढङ्गले कोभिड देखिन थाले पछि हामीले लकडाउनलाई लम्बाउनु पर्ने बाध्यता सिर्जना भएको छ । श्रम गरी खाने विपन्न वर्गलाई पर्न सक्ने प्रवाभकेको लागि हामीले उनीहरूलाई वडा कार्यालयको अध्यक्ष समन्वय गरी राहत लिन सक्ने व्यवस्था मिलाएका छौं । हालै खान नपाएर भोकै बस्नु पर्ने अवस्थाको सिर्जना पालिकामा भएको छैन । खान नै नपाएर बसेका र भोकै बसेका नागरिकको लागि राहत दिएका छौं । यसरी नै कोभिड बढ्दै गयो भने राहतको कार्यक्रमहरू ल्याउनु पर्ने आवश्यकता र अनिवार्यता छ । आम नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ? पहिलो चरणमा कोरोनाको बारेमा कसैले पनि विश्वास नै गरेनन् तर पहिलाको तुलनाको हाल निषेधाज्ञा पूर्ण रूपमा जनताको सहयोग छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकाका धेरै मानिसहरूको स्वास्थ्यमा समस्या परेको छ । अहिलेको स्थितिमा सरकारलाई पूर्ण सहयोग गर्नुपर्छ भनेर आम नागरिकले निषेधाज्ञालाई पूर्ण पालना गरेको छन् । मानिहरुलाई हामीले सकेसम्म भिडभाड नगरौं भनेका छौं । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै र मृतकको संख्या पनि बढ्दो भए पछि नागरिकहरू पनि त्रसित अवस्थामा छन् । पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी अपिल गरेका छौं भने स्वास्थ्य मापदण्डको पनि पूर्ण पालना गर्न अनुरोध गरेका छौं । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण पालिका बासी सहित आम जनसमुदायबाट साथ, सहयोग मिलेको नै छ । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि के कस्ता सहयोग मिलेको छ ? प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि कुनै पनि सहयोग मिलेको छैन । प्रदेश र केन्द्रको राजनैतिक खिचातानीले जनताहरू गाउँमा मरी रहेका छन् । केन्द्र र प्रदेशबाट ठुलो सहयोग हुन्छ र यो महामारीलाई नियन्त्रण गर्न सक्छौं भन्ने कुरामा अपेक्षा पनि छैन । पालिकाको साधना स्रोतले भ्याए जति महामारी नियन्त्रण गर्नमा लागि पारेका छौं । प्रदेश र केन्द्रबाट केही सहयोग मिल्छ र यो महामारीलाई नियन्त्रण गर्न सक्छौं भन्यौं भने महामारी भ्यवह हुन सक्ने अवस्था छ । हामीले हाम्रो तयारीका साथ अगाडि बढेका छौं । प्रदेश र केन्द्रबाट धेरै आशा गरेका छनौं । भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, यो समयमा तपाईंले चुनावमा वा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला र ? कोभिड–१९ ले नेपालमा पनि महामारीको बढ्दो रुप लिएको हुँदा चुनाव अहिलेको आवश्यकता होइन । अहिले कोरोना भाइरसको महामारीले जनजीवन अस्तव्यस्त बनाएको अवस्था छ । अहिलेको अवस्थामा राज्यको प्राथमिकता नागरिकको जीवन रक्षा हुनुपर्ने हो । यो समयमा सरकारकै भर पर्ने हो भने महामारी नियन्त्रण कदापी सम्भव देखिँदैन । किन भने जनता रहेनै हामीले राजनिति गर्ने हो । नीति र निर्माणमा नेताहरू अलमलिइरहेका छन् । गाउँमा जनता मरिरहेका छन् । चुनाव हुने कि नहुने भनेर सर्वोच्च अदालतको निर्णय आउन बाँकी छ । अहिले नै चुनाव हुन्छ भन्ने पनि टुङ्गो भइसकेको छैन । त्यसैले अदालतले निर्णय गरेपछि मात्र यसको यकिन हुने हो । तर पनि हामी स्थानीय सरकार भएको हिसाबले हरेक उपयाहरु अपनाएर जनताको सुरक्षा गर्नमा हामी लागि परी रहेका छौं । कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ । विकास निर्माणको कामहरू सबै ठप्प भएका छन् । एक ठाउँबाट अर्के ठाउँमा नजाऊ भनिएको छ । विकास निर्माण निर्माणको काम त धेरै प्रभाव परेको छ तर पनि विकास भनेको कुरा दोस्रो पाटो हो । किन भने जनता बचाउन सकियो भने विकास केही वर्ष पछि गर्ने पनि सकिन्छ । मानविय क्षति हुन बाट बचाऔं भन्ने छ । केही कोभिडबाट प्रभाव नपर्ने योजनाहरू त अगाडि बढेका छन् । टेन्डरका काम अनि सानासाना तालिमका कामहरू पनि रोकिएका छन् । स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्दै आएको छ नि, यसमा तपाईंको धारणा चाहिँ के छ ? केही हदसम्म यो सही पनि हो । यो भन्दा केही अगाडी प्रदेश सरकारले कुनै पनि आश्वासन पनि दिएको थिएन । स्थानीय सरकारले सुरुबाट नै हेल्थ डेस्कको स्थापना गर्ने, बाहिरी जिल्लाबाट आएका मानिसहरूको सम्पूर्ण डाटा राख्ने काम गरेका थियौं । जब जनताको इच्छा चाहना पुरा हुन सक्दैन तब जनता आक्रोशमा आउनु स्वाभाविक नै हो । कोभिड–१९ को सम्बन्धमा कुनै एउटा निकायको प्रयासले मात्र यो रोग नियन्त्रणमा आउन सक्ने अवस्था छैन । नागरिकहरू जबसम्म सचेत, सजग, अनुशासित अनि स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो गतिविधि गर्नुहुन्न तबसम्म यो रोग नियन्त्रण गर्न सक्दै सकिँदैन । यो समयमा यस महामारीलाई नियन्त्रण गर्नमा हामी लागि परेका छौं ।