केन्द्र र प्रदेशले सहयोग नगर्दा कोरोना नियन्त्रण गर्न गाह्रो भयोः उप–प्रमुख मगरसँगकाे कुराकानी
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण नेपालगञ्ज उप–महानगरपालिका सङ्कटलाई परास्त गर्न लागि परेको छ । खुल्ला सिमाना भएको कारण उप–महानगरपालिकामा कोरोनाको संक्रमण दर उच्च छ भने मृतकको संख्या पनि दिनप्रतिदिन बढ्दैछ । नेपालगन्ज उप–महानगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि कसरी प्रयास गरी रहेको छ, अस्पतालमा अक्सिजन अभाव हुन नदिन उप–महानगरपालिकाले कसरी काम गरिरहेको छ भन्ने लगायतका विषयमा सो उप–महानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी । उप–महानगरपालिकामा कोरोनाको संक्रमण दिन प्रति बढ्दो छ, जोखिम न्यूनिकरण गर्नको लागि के कसरी काम गर्दै हुनु हुन्छ ? उप–महानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेर नै काम गरी रहेका छौं । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । नागरिकलाई कोरोना संक्रमण हुन नदिनको लागि सचेतनाका विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरका छौं । संक्रमण पालिकामा पनि दिन प्रतिदिन बढ्दै गएको छ । पालिकाका धेरै भन्दा धेरै कोरोना संक्रमितहरु होम आइसोलेसनमा बसेका छन् । आइसोलेसनमा बसेका नागरिकहरूको स्वास्थ्य बुझनको लागि स्वास्थ्यकर्मी सहित घरदैलो कार्यक्रम पनि गरेका छौं । उप–महानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण गराउने काम पनि भइरको छ । कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी परीक्षण गरिने भएको हो । नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागि पनि हामीले जोड दिइरहेका छौं । नगरको अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजिकरण पनि गरिका छौं । होम आइसोलेसनमा बसेका तर उसको स्वास्थ्यमा समस्या भयो भने अस्पताल पुर्याउनको लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्थापन गरेका छौं । होम आइसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउँदै आएका छौं । कोरोना रोकथाम र नियन्त्रणका लागी वडा कार्यालयहरूको सक्रियता बढेको छ । बिरामीले बेड, अक्सिजन नपाएको खण्डमा यसलाई सहजिकराण पनि गर्दै आएका छौं । बन्दाबन्दीले बजारमा कालो बजारी नहोस् महङगाइ नबढेस् भनेर दैनिक अनुगमनको कामलाई पनि तीव्रता दिएका छौं । बजार अनुगमन कार्यलाई निषेधाज्ञाको समयमा पनि निरन्तरता दिइने योजना बनाएका छौं । उप–महानगरपालिकाले हाल वडा नं. १६ मा ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आइसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ । पछिल्लो समयमा बेड नपाउन जुन खालको भयाबय स्थिति छ तयसलाई सहजीकरण गर्नको लागि निःशुल्क अक्सिजन आइसोलेसन भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगन्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सइयाको आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो । भेरी अस्पतालको स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगारनिरमा यो आइसोलेसन कक्षको सञ्चालन भइरहेको छ । यो आइसोलेसनमा स्वास्थ्यकर्मीहरूलाई ३ चरणमा विभाजन गरी यस ठाउँमा औषधीहरूको पनि सञ्चालन गरेको छौं । केही जनप्रतिनिधि र कर्मचारीको कोभिडकै कारण निधन भएको छ । धेरै जना संक्रमित भएपनि निरन्तर कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कामहरू भइरहेका छन् । उप–महानगरपालिकासँग नगरका वडाहरूमा पनि कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । चिकित्सकसहितको घरदैलो कार्यक्रम गरी निःशुल्क औषधी, एकसरे र अक्सिजनको व्यवस्था गरिएको छ । नियमित फोन परामर्श, निःशुल्क एम्बुलेन्स सेवा, सेनिटाइजर, हाईजिन किट वितरणका कार्यक्रम जारी रहेका छन् । नगरभित्र निःशुल्क पीसीआर परीक्षण तथा एन्टिजिन परीक्षण गरिरहेको छ । नगरवासीको लागि उप–महानगरपालिकाले कुनै राहतका कार्यक्रमहरू ल्याएको छ कि छैन ? हामीले सामान्य राहतको कार्यक्रम पनि ल्याएका छौं । नगरभित्र रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरूमा निषेधाज्ञाले पारेको प्रभाव र महामारीले परेको असरलाई सहजिकरण गर्न ६ वटा कार्यदल बनाएर कार्य विभाजन गरिएको छ । ६ वटामा कार्यदलले श्रमजीवी वर्गहरूलाई आवश्यक पर्ने सामनहरुको सहजिकरण गर्दै आएका छन् भने निःशुल्क कानुनी सेवा, उद्धार तथा पुनरस्थापना, राहत–सहयोग, सूचना सङ्कलन, अनुगमन निरीक्षण तथा पिसिआर परीक्षणमा सहयोगका लागि कार्यदल बनाइएको छ । कसैलाई राहत चाहियो भने राहत पनि दिन्छौं । राहत वितरण गर्दा धेरै मानिसहरूको भिडभाड हुने भएकाले जोखिम बढ्ने सम्भावना बढ्ने भएकाले समस्या पनि सिर्जना हुने गरेको छ । यस समयमा कुनै घटना, बालविवाह, महिला हिंसा हुन्छ सक्छ भनेर यसलाई सम्बोधन गर्न लागेको भनेर निःशुल्क कानुनी साहयता र साथी संस्थासँग सहकार्य गरेर ५ बेडको छुट्टै आइसोलेसन कक्षा पनि सञ्चालन गरेका छौं । यसैगरी कन्ट्याक्ट ट्रेसिङका लागि ५ वटा समूह निर्माण गरी उनीहरूसहित समग्र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको छ । उप–महानगरपालिको अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन ? कोभिड रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य जनशक्ति अभावको अवस्थालाई मध्यनजर गर्दै उप–महानगरपालिकामा ५४ जना स्वास्थ्यकर्मी करारमा भर्ना गरिएको छ । ती मध्ये १५ जना भेरी अस्पतालमा कार्यरत रहनुभएको छ । अन्यलाई जमुनास्थित हेल्थडेस्क, आइसोलेसन र वडास्थित स्वास्थ्य कार्यालयमा परिचालन गरिएको छ । भेरी अस्पतालमा कोभिडका बिरामीको चापलाई मध्यनजर गर्दै भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा रहने गरी रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सइयाको अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालन गरिएको छ । उप–महानगरपालिको २३ वटै वडामा स्वास्थ्य संस्था रहेका छन् । कोभिड रोकथाम र नियन्त्रणका लागी वडामा फोकल पर्सन चयन गरिएको छ । उनीहरूले होम आइसोलेसनमा बसेका संक्रमितहरुसँग नियमित सम्पर्क गरिरहेका छन् । संक्रमितको स्वास्थ्य समस्या बारेमा थप परामर्शका लागि नेपाल चिकित्सक सङ्घ नेपालगन्जको सहकार्यमा हरेक वडामा चिकित्सकले आवश्यक सहयोग गर्दै आएका छौं । नगरभित्र कुनै पनि स्वास्थ्य समस्या समाधान र आवश्यक सुझाव तथा परामर्शका लागि चिकित्सक सहित विज्ञ समूहको गठन गरिएको छ । भेरी अस्पतालमा उपचाररत कोभिड संक्रमणका बिरामी र उनीहरूका आफन्त तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई सहुलियतदरमा खाना खुवाउन व्यवस्था मिलाएका छौं । भेरी अस्पताल भित्रै २० रुपैयाँमा साँझ र बिहान गरी २ पटक खान खुवाउने अभियान पनि सञ्चालन भएको छ । यस ठाउँमा दैनिक ४ सय जनाले खाना खादै आएका छन् । कोभिडका बिरामीहरूलाई अस्पतालसम्म ल्याउन सहजताका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सञ्चालन गरिएको छ । अक्सिजनको अभाव छ कि छैन ? नेपालगन्जमा २ वटा अक्सिजन प्लान्ट छ । यो २ वटा अक्सिजन प्लान्टले दिनमा ११ सय २० ओटा अक्सिजनको उत्पादन गर्न सक्छ । हामीले सुरु देखिनै अस्पताल भित्रनै प्लान्टको जडान गर्नु पर्छ भनेर भन्दै आएको विषय पनि हो । नेपाल सरकारले प्लान्ट जडान र भोन्टिलेटर जडान गर्ने भनेर १५ करोड रुपैयाँ भेरी अस्पताललाई पठाएको छ । यो रकमलाई तत्कालै कार्यान्वयन गर्नु प¥यो भनेर लागि परेका छौं । हाम्रो प्राथमिकता सकेसम्म सरकारी अस्पतालमा अक्सिजनको व्यवस्था हुर्नुपर्छ भन्ने हो । अस्पतालमा आएका समस्याहरूलाई न्यूनिकरण गर्नमा लागि परका छौं । पालिका भित्र रहेका प्लान्टहरू २४ औ घण्टा सञ्चालन भइरहेको छ । पालिकामा हाल पनि अक्सिजना र सिलिन्डरको अभाव रहेको छ । अस्पतालको क्षमता भन्दा बढि सेवा दिनु पर्ने अवस्था छ । त्यसैले गर्दे अझै पनि अक्सिजनको परिपूर्ति गर्न सकिरहेको अवस्था छैन । भेरी अस्पतालको क्षमता भनेको १ सय ४० बेड हो तर यो अस्पतालले आजको दिनमा २ सय ४९ जनालाई सेवा दिइरहनु परेको छ । भेरी अस्पतालले ३ सय १९ जनालाईसम्म सेवा दिएको रेकड छ । अक्सिजना अभावकै कारण धेरै नागरिक ज्यान पनि गुमाएका छन् । यसलाई सहजिकरण गर्नका लागि भेरी अस्पतालमा नै अक्सिजन प्लानको जडान गर्नु पर्ने आवश्यक रहेको छ । अक्सिजनकै अभावका कारण भरी अस्पतालमा भोन्टिलेटर चलाउन सकेका छैनौं । भारतसँग सीमाना जोडिएको तपाईंको उप–महानगरपालिका भारतबाट आउने नागरिकहरूको चाप कस्तो छ र उनीहरूलाई स्वास्थ्य चेक जाँच कसरी गरिरहनु भएको छ ? हाम्रो उप–महानगरपालिका भारतसँग सिमाना जोडिएको कारण बोर्डर व्यवस्थापन गर्न पनि लागि परेका छौं । भारतबाट फर्किने नेपाली नागरिकको संख्या बढ्दो छ । भारतबाट फर्किनेहरूको सीमानाकामा एन्टिजिन परीक्षणमा पनि गर्दै आएका छौं । एन्टिजिन परीक्षण गर्दा पोजेटिभ देखियो भने उप–महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राख्ने व्यवस्था मिलाएका छौं । एन्टिजिन परीक्षण गर्दा नेगेटिभ आयो भने बस व्यवसाही समितिसँगको सहकार्यमा उनिहरुलाई स्थानसम्म पुर्याउन व्यवस्था मिलाएका छौं । बीसीसीयमसी को समन्वयमा होल्ड सेन्टर पनि बनाएका छौं भने उनिहरुलाई त्यहाँ खानाको पनि व्यवस्थापन गरेको छौं । त्यहाँबाट बसको व्यवस्थापन गरी घर पठाउँने वातावरको सिर्जना गरेका छौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहकार्यमा जमूनाह भन्सारमा भारतबाट फर्किनेहरूको सहजताका लागि होलिडङ सेन्टर सञ्चालन गरिएको छ । सीमानाका आलसम्म पनि बन्न हुन सकेको छैन । सीमानाका बन्दनभएको कारण पालिकामा संक्रमण दर र मृत्युदर उच्च भयो । आम नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन्, नागरिकहरूबाट के कस्तो सहयोग मिलेको छ ? पहिलाको तुलनाको हाल निषेधाज्ञा पुर्ण रूपमा जनताको सहयोग छ । तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकाका धेरै मानिसहरूको स्वास्थ्यमा समस्या परेको छ । अहिलेको स्थितिमा सरकारलाई पुर्ण सहयोग गर्नुपर्छ भनेर आम नागरिकले निषेधाज्ञालाई पूर्ण पालना गरेको छन् । मझदुर र अटोरिक्सा चालको धेरै समस्या देखिन्छ । उनीहरूलाई हामीले सकेसम्म भिडभाड नगरौं भनेका छौं । पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । ज्याला मजदुरी गर्नलाई हामीले केही राहत वितरण गर्दै आएका छौं । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण नगरबासी सहित आम जनसमुदायबाट साथ, सहयोग मिलेको नै छ । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि के कस्ता सहयोग मिलेको छ ? प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि कुनै पनि सहयोग गरेको छैन । यो भन्दा अगाडि पूर्वस्वकृती बजेटमा ५० लाख रुपैयाँ बराबरको बजेट बेड र भवन बनाउने र २७ लाख रुपैयाँको कर्मचारी व्यवस्थापन गर्न भनेर पूवस्वकृती रकम थियो । त्यही बजेट केन्द्र सरकारको सञ्चालनमा छ अहिले । प्रदेश र केन्द्रले हालसम्म कुनै पनि नगद सहयोग गरेको छैन । हामी पटकपटक आर्थिक सहयोगको लागि अपील गरेका छौं । समयमा प्रदेश सरकारले रकम नदिए पनि भेरी अस्पताललाई केही रकम छुट्याएको छ त्यो चाहिँ राम्रो पक्ष हो । यो जोखिम आउन सक्छ भनेर पालिकाले नै धेरै बजेट छुट्याएको थियो र बजेटको अभाव हुन पाएन । प्रदेश र केन्द्रले गर्ने काम पनि हाल हामीले नै गरिरहेका छौं । भेरी अस्पतालमा उपचारको लागि कर्णाली प्रदेश, सुदूरपश्मि प्रदेश, दाङ, प्युठानबाट पनि बिरामीहरू आउने गरेका छन् । कोरोना महामारीले उप–महानगरपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले उप–महानगरपालिकाको सम्पुर्ण कामकाजमा ठुलो असर पुर्याएको छ । विकास निर्माणको कामहरू पनि सबै प्रभावित बनेका छन् । हामी चौमासिक बजेट खर्चको खाका तयार गरी योजना बनाएका हुन्छौं । हरेक शाखाले चौमासिक बजेट खर्च गर्ने आर्थिक वर्षको पहिलो महिनामै बनाएको हुन्छ । करिब करिब ३ चौथाइ विकासका योजनाहरूको काम भइसकेको छ । १ चौथाइ काम बाँकी छ । टेन्डरका र ठूवानि सेवाको कुरामा समस्या हुदो रहेछ । साना साना तलिमका कामहरू रोकिएका छन् । स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्ने लाग्दै आएको छ यसमा तपाईंको धारणा के छ ? केही हदसम्म यो सही पनि हो । तर पूर्ण रूपमा यो निर्माणाय गर्नमा स्थानीय सरकार पनि होइन । एक त सीमानाका हाम्रो अधिकारमा पर्दैन भने यो केन्द्र र प्रदेशको अधिकारमा हो । हामीले पालिकामा कोरोना संक्रमण फैलिएपछि सिमानाका बन्द गराौं भनेका थियौं । यूपीसँग हाम्रो नजिकै पालिका पर्छ । भारतसँग हरेक कुराको सम्बन्ध गाँसिएको कारण नागरिकको आवतजावत पनि बढी हुने गर्छ । यो सिमाना बन्द गरेन भने यो महामारीलाई हामी रोक्न सक्दैनौं भनेकै थियौं । एक हप्ताको लागि सिमानाका बन्द गरौं भनेर पनि हामीले सरकारलाई भनेका थियौं । आजका दिनमा पनि सिमानाका बन्द हुन सकेको छैन । भारतसँग खुल्ला सिमाना भएको कारण नै हामील उप–महानगरपालिकामा कोरोना नियन्त्रण गर्न सकेनौं । पलिकाबाट खुल्ला सिमाना ८० मिटर भन्दा बढि छ । हामीले सिमानाकामा कडाइ गर्न नसक्नु नै ठुलो समस्या हो । त्यसैले स्थानीय सरकारले नै कोभिड नियन्त्रण गर्नमा पहल गरेन भन्न पाइँदैन । धेरै नागरिकहरू भारत बाट नै आएर बिरामी परेका छन् । खुल्ला सीमाना हाम्रो ठूलो चुनाैती हो ।
५ बेडको अस्थायी कोभिड अस्पताल निर्माण गरी संक्रमितको उपचार गरिरहेका छौं – गाउँपालिका अध्यक्ष राई
थुलुङ दुधकोशी गाउँपालिका प्रदेश नं. १ अन्तर्गतको सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो । ९ ओटा वडा रहेको यस गाउँपालिकामा १९ हजार ६ सय ७२ जना मानिसको बसोबास रहेको पाइन्छ । यो गाउँपालिका १ सय ४४ दशमलव ६० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसले पालिकामा के–कस्तो असर पुर्यायो र यसलाई न्यूनीकरण गर्नको लागि पालिकाले के गर्दै छ, स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष असिम राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी । कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ, संक्रमण दरलाई न्यूनीकरण गर्नको लागि कस्तो भूमिका खेल्दै हुनुहुन्छ ? अन्य ठाउँमा जस्तै हाम्रो पालिकामा पनि कोरोनाको प्रभाव बढ्दो छ । तथापी नियमित काम आफू सुरक्षित भएर मात्र गर्नुपर्छ भन्ने हिसाबले हामीले जनतालाई दिने सेवा रोकेका छैनौं । पालिकामा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर नै काम गरिरहेका छौं । पालिकाले ७ ओटा महत्वपूर्ण निर्णय गरी यहाँका जनतालाई सुरक्षित राख्नको लागि स्थानीय सरकारले कुनैपनि कसर बाँकी राख्दैन भन्ने किसिमको भावना पैदा गराउन सकारात्मक खालका भुमिका खेलेका छौं । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । कोभिडले पालिकाको समग्र विकास निर्माणका साथै विभिन्न क्षेत्रहरूमा प्रभाव पारेको छ । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने कोभिड अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एबुलेन्सको पनि व्यवस्था गरेका छौं । स्थानीय सरकार जुनसुकै परिस्थितमा पनि नागरिकको सुरक्षाको लागि उभिन्छ भनेर प्रत्याभूति दिन सकेका छौं । पालिकास्तरको ५ बेडको अस्थायी कोभिड अस्पताल निर्माण गरी यस अस्पतालमा १० जनासम्म कोरोना संक्रमितलाई अक्सिजन दिँदै राख्न सक्छौं । पालिकामा भेन्टिलेटरको अभाव रहेको छ । पालिकामा पीसीआर गर्नका लागि ल्याब छैन । पीसीआर विधिबाट परीक्षण गर्नको लागि समस्या भएको कारण एन्टिजेन परीक्षण चाहिँ धेरै गरेका छौं । जिल्ला भरिका स्थानीय तह मिलेर ल्याब सञ्चालन गरी पीसीआर गर्ने हो कि नेर हामीले सल्लाह पनि गरेका छौं । यस समयमा बाहिरी जिल्लाबाट पालिकामा प्रवेश गर्ने नागरिकहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागि अपिल गरेका छौं । हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । हामीले सबै नागरिकलाई होम आइसोलेसनमा नै बस्न आग्रह गरेका छौं । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागकिलाई मात्र कोभिड अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । होम आइसोलेसनमा बस्ने नागरिकहरूलाई पनि मेडिकलको सम्पुर्ण प्याकेज किट दिएका छौं । स्वास्थ्यकर्मीहरुले प्रत्येक २ दिनमा होम आइसोलेसनमा बसेका नागरिकलाई उनीहरूको स्वास्थ्य सम्बन्धी जनकारी पनि लिइरहनु भएको छ । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । यस महामारीलाई न्यूनीकरण गर्नको लागि सबै लागिपरेका छौं । पालिकाले कृषिक्षेत्रतर्फ के–कस्ता काम गरिरहेको छ ? हाम्रो पालिकामा खेतीतर्फ धेरैको आकर्षण बढ्दै गएको छ । यहाँको आवश्यकता र हावापानी अनुसार तरकारी खेतीको डिपीआर नै गरेर कृषि विकासको कामहरू गरेका छौं । कृषि विकासको लागि कृषिलाई आधुनिकिकरण गर्नमा विशेष जोड दिएका छौं । पालिकामा कृषकहरूलाई कृषिका विभिन्न तालिमहरू दिँदै आएका छौं । यहाँका धेरै नागरिकहरूले कृषि पेसा नै अँगालेका छन् । तरकारी खेतीले राम्रो फाइदा दिन थालेपछि धेरै किसान व्यवसायिक रूपमा तरकारी खेतीतर्फ आकर्षित भएका छन् । कृषकहरूलाई पशुपालनको तालिम पनि दिँदै आएका छौं । धेरै नागरिकहरू कृषि पेशामा आवद्ध भएकाले हामीले पनि पशु र कृषिक्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । बिदेसिएका केही युवाहरू पनि गाउँमै फर्किएर पशुपालन तथा कृषि पेशामा लागेका छन् । कृषि उत्पादनका हिसाबले हाम्रो पालिका उर्वर भूमि पनि हो । युवाशक्तिलाई गाउँमै रोजगारीसँगै आय आर्जनका सम्भावनामा उत्प्रेरित गराउनको लागि जोड पनि दिइरहेका छौं । परम्परागत खेती प्रणाली छाडेर व्यवसायमुखी बन्नु जरुरी ठानेर कृषिका विभिन्न कार्यक्रम पनि गर्दै आएका छौं । कृषि उत्पादन र स्वरोजगारी बढाउनका लागि भनेर विगत वर्षदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका छौं । गाउँमा समूह, सहकारी तथा व्यक्तिगत लगानीमा कृषिको व्यवसायिकतामा यहाँको कृषकहरू पछिल्लो समय आकर्षित हुँदै आएका छन् । उत्पादन र आम्दानी राम्रो भएपछि उनीहरू व्यवसायिक कृषिमा अगाडि बढ्न थालेका छन् । पालिकामा आलु, खुर्सानी, सिमी, बोडी, धनियाँ, गोलभेँडा, भान्टा, धान र मकै खेती हुने गरेको छ । पालिकामा केही गर्छौं भन्ने कृषकहरूलाई ४ प्रतिशत सुलभ ब्याजदरको ऋण दिने व्यवस्था मिलाएका छौं । कृषि सहकारीको साझेदारीमा काम गरेका छौं भने स्थानीयस्तरमा दर्ता भएका कृषि समूहमार्फत पालिकाको समग्र कृषि विकासको लागि काम गर्दै आएका छौं । पालिकामा कृषि समूहको पनि गठन भएको छ । कृषक र पालिकाको साझेदारीमा हामीले ५० प्रतिशत अनुदानमा बिउ बिजन पनि वितरण गर्दै आएका थियौं तर अनुदानले सबै किसानलाई लाभ नपुर्याएको हुँदा हामीले कृषि लोनलाई नै जोड दिएका छौं । कृषि लोन कार्यक्रम अलिक बढि प्रभावकारी पनि भएको छ । पालिकाको सबै वडालाई कृषि पकेट क्षेत्रको रूपमा छुट्याई कृषि विकासको कामहरू अगाडि बढाएका छौंं । पालिकामा गहुँ, आलु, बाख्रा, बङ्गुर पकेट क्षेत्रहरु रहेका छन् । पालिकामा सुन्तला र किवी जोन पनि रहेको छ भने विभिन्न ब्लकका कार्यक्रमहरू पनि रहेको छ । गाउँपालिकालाई समृद्ध बनाउने आधार पनि कृषि हो । गाउँपालिका भित्र तरकारी र फलफूल खेती नै मुख्य रूपमा हुने गरेको छ । उन्नत जातका बाख्रा तथा खसी, स्थानीय जातका कुखुरा पालनसँगै बेमौसमी तरकारी उत्पादन गरिँदै आएको छ । भौतिक पूर्वाधारको विकास गर्दै कृषि तथा पशुपालनलाई वृद्धि गर्दै लैजाने योजना हाम्रो रहेको छ । कृषि क्षेत्रबाट कतिपय कृषकहरुले राम्रो आम्दानी गर्न पनि सफल भएका छन् । खेती योग्य जमिनलाईलाई बाँझो नराख्न आग्रह गरेका छौं । स्थानीय बजारमै सबै तरकारीहरू खपत हुने भएकाले पालिकामा बजारको समस्या छैन । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ? शिक्षा विकासका लागि भनेर हामीले शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधि तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड पनि दिएका छौं । ग्रामीण क्षेत्रका बालबालिकालाई आफ्नै घरमा बसेर पढ्ने वातावरण बनाएका छौं । लगानीको हिसाबले शैक्षिक क्षेत्रमा नै धेरै बजेट छुट्याएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण गरेका छौं । कोभिडको कारण शैक्षिक क्षेत्र पनि प्रभावित बन्दै गएको छ भने हाल सबै विद्यालयहरू बन्द भएका छन् । हामीले अब व्यवसायिक शिक्षा विद्यार्थीलाई दिनुपर्छ भन्ने तर्फ जोड दिएका छौं । शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नका लागी विभिन्न विषयका विज्ञहरुबाट तालिम पनि दिँदै आएका छौं । गुणस्तरिय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयका प्रधानाध्यापक र समितिसँग समयसमयमा छलफल गरिरहेका हुन्छौं । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा नभएको भन्ने जुन खालको एउटा प्रवृत्ति छ त्यसलाई हटाउनको लागि शिक्षा क्षेत्रको विकासको कामहरू अगाडि बढाइरहेका छौं । निजी विद्यालयमा विद्यार्थीको चाप बढि हुने र सामुदायिक विद्यालयमा भने पढाई हुने ठाउँ होइन घुम्न जाने ठाउँ हो भन्ने जुन खालको सोचाई छ त्यो सोचाइलाई अन्त्य गरेर सामुदायिक विद्यालयलाई पनि विद्यार्थीको रोजाइको केन्द्र बनाउनको लागी कम्मर कसेका छौं । पालिकाको शैक्षिक क्षेत्रमा सुधार आएपछि पछिल्लो समयमा निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । शिक्षातर्फ जिल्लाकै सबैभन्दा राम्रो काम गरेको हाम्रो पालिकाले नै हो भन्दा फरक पर्दैन । पालिकाका विद्यार्थीहरूको भविश्य सुनिश्चित छ । प्रदेश नं. १ पहिलो बहुप्रविधिक शिक्षालयको स्थापना गर्ने पालिका पनि हाम्रो हो । शिक्षा विकासका लागि गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती प्रदान गर्ने गरेका छौं । तपाईंहरु निर्वाचित भएर आएको करिब ३ वर्ष पुरा भयो, यो बिचमा जनता सामु गरेका बाचा के–कति पुरा भए अनि कति बाँकी छन् होला ? नेपालको सबै स्थानीय तहमध्येको अब्बल पालिका भनेर दाबी पनि हामी गर्छौं । हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेभन्दा धेरै कामहरू पुरा गर्न सफल भएका छौं । हामीले गरेको कामको परिणाम धेरै समय पछि देखिन थाल्छ नै । त्यस कारणले गर्दा हामीले काम नै गर्न नसक्ने कुराहरू घोषणापत्रमा लेखेका पक्कै थिएनौं । काम गर्नसक्ने कुराहरू मात्र हामीले प्रतिबद्धता गरेका थियौं । कोभिडको कारण गौरवका आयोजनाहरू सबै रोकिएका छन् । हामीसँग आएको बजेट बढिभन्दा बढि जनताको पक्षमा लगेर नै विकास निर्माणको कामहरू अगाडि बढाएका छौं । पर्यटन विकास, शैक्षिक सुधार आदिको काम गर्ने भनेर हामीले घोषणापत्रमा लेखेका थियौं । पूर्वाधारको विकासमा पनि हामीले जोड दिइरहेका छौं । घोषणापत्रमा लेखेको कुराले मात्र पालिकाको विकास हुँदैन । हामीले गर्छौं भनेको कुरा बाहेक अन्य विभिन्न कुराहरू पनि महत्वपुर्ण हुन सक्छन् भन्ने ठानेर समग्र पालिकाको विकास निर्माणमा जुटेका छौं । स्वास्थ्य सेवाको पहुँच सबै नागरिकलाई पुगोस् भनेर हामी काम गरिरहेका छौं । पालिकामा ५० शैयाको अस्पतालको पनि निर्माणकार्य सकिन लागेको छ । जनस्तरबाट नै हामीले अस्पताल निर्माणको लागि १० करोड रुपैयाँ पैसा उठाएका थियौं । यी कुराहरूलाई पुरा गर्न पछिल्लो राजनैतिक अवस्था, सरकार परिवर्तन, प्रदेश सरकारको परिवर्तन र अन्य कारणले गर्दा केही असर पनि भएको छ । तपाईंको पालिकामा सडक सञ्जालको अवस्था कस्तो छ ? सडक सञ्जाल पालिकाको सबै ठाउँमा पुगेको छ । हामीले गाउँपालिकासम्म आउने सडकको कालोपत्रे गर्ने कार्य अगाडि बढाएका छौं । प्रत्येक वडाबाट गाउँपालिकासम्म आउने सडक हाम्रो कार्यकालमानै स्तरोन्नती भइसक्छ । हाम्रो पालिका आउनको लागि वारी र पारी कोशी भएको हुनाले लगभग १ अर्बको जति मोटरेबल पुल निर्माण गर्ने चरणमा छौं । प्रदेश र केन्द्र सरकारको समन्वयमा यो काम पनि अगाडि बढेको हो । ग्रामीण विद्युतिकरणको लागि उज्यालो गाउँ बनाउने अभियानमा लागिपरेका छौं । स्थानीयस्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ? रोजगार बन्नको लागि मान्छेमा सिप हुनुपर्छ । पालिकामा सिप भएका युवाहरू कमै मात्र छन् । सिप विकासको लागि प्राविधिकसँग अन्तर सम्बन्धित विभिन्न तालिम पनि दिँदै आएका छौं । युवालाई स्वरोजगार बनाउनको लागि ठुलो बजेट छुट्याएका छौं । कृषिका अतिरिक्त केही मानिसहरू सरकारी तथा गैरसरकारी सेवामा संलग्न रहेका छन् भने केही व्यापार व्यवसायमा संलग्न भएका छन् । धेरै यूवाशक्ति भने वैदेशिक रोजगारीमा जाने गरेका छन् । युवाहरूलाई कृषिमा जोडिनको लागि आग्रह गरेका छौं । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका छांै । धेरै रोजगारी सिर्जना गर्नको लागि पालिकामा ठुला उद्योग छैनन् । पालिकाको विकास निर्माणको काममा पनि युवाहरूलाई परिचालन गर्दै स्वरोजगार बनाइरहेका छौं । युवालाई स्वरोजगार बनाउनको लागि पनि हामीले जोड नै दिएका छौं । तपाईंको कार्यकालमा भएको सबैभन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? जनताको सेवा नै हाम्रो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि हो । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रतर्फ केही उपलब्धिहरू भएको छ । हामी निर्वाचित भएर आइसकेपछि ‘आमा सुरक्षा’ भन्ने कार्यक्रम सञ्चालन ग¥यौं । यो पालिकामा अन्यत्रभन्दा बढी मातृ मृत्युदर हुने गथ्र्यो । हाल हामीले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्दै गर्भवती भएका महिलालाई ५ हजार रुपैयाँसम्म भत्ता दिँदै आएका छौं । एकमात्र क्षेत्रमा नभएर पालिकाको विभिन्न क्षेत्रहरूमा सुधार र परिवर्तन ल्याउनु नै मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि हो । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? अब १ वर्ष मात्र हाम्रो कार्यकाल बाँकी छ । १ वर्षको अवधिमा पनि धेरै काम त गर्न सक्छौं । हामीले पालिकास्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा विशेष जोड दिएका छौं । आर्थिक विकास, पर्यटन विकास लगायतका कुरालाई दिर्घकालिन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको कुरामा पनि हामी ध्यान दिइरहेका छौं । जनताको सेवाका लागी सधैं तत्पर छौं । पालिकाका विकास निर्माणको कामहरू योजना बनाएर नै गरिरहेका छौं । जनताको आर्थिक स्थिति सुधार गर्नकोलागि कृषि र पशु क्षेत्रलाई विकास गर्ने प्रयासमा छौं । नागरिकको जीवनस्तरलाई उकास्ने र पछाडि परेका टोल क्षेत्रलाई विकास गर्ने सोचमा पनि छु । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । जनताको सुरक्षाका लागि स्थानीय सरकार सधैं तत्पर रहन्छ । मानिसले सोचेभन्दा बढि मात्रामा पालिकामा कोभिड फैलिरहेको छ । सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरूलाई पनि बचाऔं भन्न चाहन्छु ।
कोरोना महामारीमा सरकारः स्थानीय तहलाई भयानक सकस, प्रदेश र केन्द्र राजनीतिमै फोकस
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्व ठूलो संकटमा छ । विभिन्न देशहरु यो संकटलाई परास्त गर्न लागि परेका छन् । नेपाल पनि लामो समयदेखि कोरोना भाइरसको लडाईंसँग जुधिरहेको छ । यो भाइरसकै कारण गत वर्ष लामो समयसम्म लकडाउन भयो । त्यसले पनि मानिसको दैनिकी सँगै आर्थिक गतिविधिहरु ठप्प भए । परिणाम स्वरुप देशले ठूलो अर्थतन्त्रमा नोक्सानी मात्रै व्यहोरेन यो भाइरसकै कारण सयौं मानिसले अकालमै ज्यान गुमाए । अहिले फेरि कोरोना भाइरसको दोस्रो लहरले जनजिवन अस्तव्यवस्त छ । देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ । अझै पनि यो भाइरसको संक्रमणदर कम हुन सकेको छैन । यति ठूलो जनधनको क्षति भइरहेको समयमा भने नेपालमा ठूलो राजनीतिक खेल भइरहेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा विश्वका धेरै देशहरु यो सँग लडाईं गरिरहेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रण गर्नको लागि धेरै देशहरु स्वास्थ्य सामग्री तथा कोरोना विरुद्दको खोपको सहज आपुर्ति मात्र होइन घर भित्रै थुनेर बसिरहेको सर्वसाधारणहरुलाई राहत दिइरहेका छन् । तर, नेपाल भने राजनीतिक लडाईंमा व्यस्त छ । कोरोना भाइरसको यही परिस्थितीमा नेपाल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी फुट्नुमा महत्वपूर्ण हिस्सा मात्रै बोकेनन् उनले यही भयावह अवस्थामा प्रतिनिधि सभा संसद विघटन गरेर आफ्नो नाम संविधानमाथि ‘कु’ गर्ने प्रधानमन्त्रीका रुपमा इतिहासमा लेखाउन भ्याए । कोरोना भाइरसको यो महामारीमा उनको यो सनकको प्रभाव प्रदेश सरकारसम्म पुग्यो । प्रदेश सरकार पनि राजनीतिक रौनक र कित्ता काट गर्न व्यस्त बन्यो । जसको प्रत्यक्ष मारमा सिंगो देश र आम नागरिकलाई पर्यो । कोरोनाको यो विषम परिस्थितिमा धेरै प्रदेश र संघीय मन्त्रीहरु परिवर्तन भए । धरै सासंद कारवाहीमा परे । यही अवस्थामा निर्वाचन हुने सम्मका गतिविधिहरु भए । प्रधानमन्त्रीको त्यो सनक र एकलौटी शासनको परिणाम स्वरुप बहुमत प्राप्त नेपाल कम्युनिट पार्टी अहिले अध्यादेश ल्याएर काम चलाउने मात्र होइन बजेट पास नगराउन सक्ने स्थितिमा पुग्यो । संघ र प्रदेशमा राजनीतिक माहोलमा व्यस्त भइरहँदा स्थानीय सरकारले भने यो महामारीमा संघीयताको गज्जवको अभ्यास गरेको उदाहरण देखाएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रण तथा उपचारमा स्थानीयतहहरुले आफुले सकेसम्मको प्रयास गरिरहेका छन् । यो विषम परिस्थितिा अधिकांश स्थानीय तहहरु एकजुट भएर यो रोगको निदानमा लागि परेका छन् । स्थानीय तहहरुले कोरोना भाइरस नियन्त्रण गर्नको लागि केन्द्र र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गरिरहेका छन् । तथापि उनीहरु खटेरै काम गरिरहेका छन् । विभिन्न स्थानीय तहहरुले कोरोना संक्रमितहरुको निःशुल्क उपचार गर्ने, आइसोलेसन कक्ष निर्माण गर्ने, निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने मात्र होइन घरघरमै गएर पीसीआर परीक्षण गर्ने काम पनि स्थानीय तहले गरेका छन् । कोरोना संक्रमितहरुको मनोबल बढाउन र उपचार सहज होस् भन्ने उद्धेश्यले अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुले आफु चढ्ने गाडी एम्बुलेन्सका रुपमा प्रयोग गरेका छन् भने कतिले प्रदेश र केन्द्र सरकारले सहयोग नगरेको भन्दै सहयोग जुटाउने अभियानहरु सञ्चालन गरिरहेका छन् । हामीलाई जानकारी भएसम्म आफुले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने स्थानीय तहको नाम यहाँ प्रस्तुत गरेका छौं । बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाकी उपमेयरले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरेकी छन् । पालिकामा कोरोनाका बिरामीको चाप बढ्दै गएपछि उपमेयर सुशीला पाख्रीनले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेकी हुन् । बान्नीगढी जयगढ गाउँपालिका अछाम को बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले पनि आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरेका छन् । कोरोना संक्रमितको संख्या उच्च रहेको प्रदेशका रुपमा रहेको यस गाउँपालिकाका अध्यक्ष खड्काले पालिकामा कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेका हुन् । तिलोत्तमा नगरपालिकाका रुपन्देहीमा पर्ने यस नगरपालिकाका मेयर र उपमेयरले चढदै आएको गाडी पनि एबुलेन्सको प्रयोग गरेका छन् । पालिकाका मेयर बाशुदेव घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरीले सवारी साधनका रूपमा स्कूटर प्रयोग गरेर गाडी एम्बुलेन्सका रुपमा सञ्चालन गरेका हुन् । पाँचखाल नगरपालिका पाँचखाल नगरपालिकाका मेयर र उपमेयरले आफूले चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन् । नगरप्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले आफूले प्रयोग गर्दै आइरहेको सरकारी गाडी कोभिड–१९ का बिरामीलाई अस्पताल लैजान एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका हुन् । घ्याङलेख गाउँपालिका सिन्धुली जिल्लामा पर्ने घ्याङलेख गाउँपालिकामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कोरोना संक्रमितको संख्या बढेपछि गाउँपालिका अध्यक्ष जगत बहादुर भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवारले प्रयोग गर्ने गाडीलाई कोरोना संक्रमित बोक्न एम्बुलेन्सका रुपमा प्रयोग गर्न थालेका हुन् । तीनपाटन गाउँपालिका तीनपाटन गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्सँगै एम्बुलेन्स अभाव भएपछि उपाध्यक्ष पदममाया तामाङले चढ्दै आएको गाडी बिरामीको सेवाका लागि प्रयोगमा ल्याइने भएको छ । एम्बुलेन्स पर्याप्त नहुँदा र अन्य सवारी साधनले बिरामीलाई बोक्न नमानेपछि यतिबेला संक्रमित समस्यामा पर्दै आएका छन् । त्यसैलै उपाध्यक्षको गाडी एम्बुलेन्सको ल्याइको छ । रामेछाप नगरपालिका रामेछाप जिल्लामा कोरोना संक्रमित दैनिक बढ्दै गएपछि रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले आफु चढ्ने गाडीलाई कोरोना संक्रमित बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छन् । नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव नहोस भनेर आफुले चढ्ने गाडीलाई एम्बुलेन्स रुपमा प्रयोग गर्न दिएको हो । गाडीमा आवश्यकता अनुसार अक्सिजन सिलिण्डर व्यवस्थापन गरिने छ । बेलका नगरपालिकाका उदयपुरको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले पनि आफू चढ्ने सरकारी गाडी कोभिडका बिरामीका लागि उपलब्ध गराएका छन् । नगरप्रमुख थापाले चढ्ने गरेको गाडी कोभिड प्रभावितको सेवामा समर्पित गरेपछि कोभिडका बिरामीलाई अस्पताल लैजान प्रयोग गरिएको छ । उदयपुरमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै नगर प्रमुख थापाले यस्तो उद्घोष गरेका हुन् । इनरुवा नगरपालिका इनरुना नगरपालिकाकी उप–प्रमुख जमुना गौतम पोखरेले आफू चढ्ने सरकारी गाडी बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छिन् । यो गाडी गर्ववती महिला, कोभिडका बिरामी सथै समस्या परेका नागरिकहरुले यो गाडी प्रयोग गर्न सकिने उप प्रमुख पोखरेले बताइन् । कालीका गाउँपालिका रसुवाको कालीका गाउँपालिकाकी उपाध्यक्ष सिता अधिकारीले पनि आफु चढ्दै गरेको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छिन् । पालिकामा पनि संक्रमण दर तिब्र रुपमा फैलिए पछि एबुलेन्सको अभाव भएको कारण चढ्दै आएको गाडी एबुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छिन् । शहिदनगर नगरपालिका कोरोना महामारीको बेला जनतालाई उपचारमा सहजताको लागि धनुसा जिल्लाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यालब) ले पनि आफुले चढदै आएको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरेका छन् । कोरोना भाइरसको द्रोस्रो लहरले सुरु भएसँगै पालिकामा एबुलेन्सको अभावमा ग्रामिण भेगका नागकिलाई अस्पताल पुगनको लागि कुनै पनि समस्या नहोस् भनेर गाडीलाई एम्बुलेन्सको प्रयोग गर्न दिएको मेयर बरबरियाले जनाए । बन्दिपुर गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लामा यो गाउँपालिका पर्छ । तीब्र गतिमा फैलिएको कोरोना भइरसबाट यो गाउँपालिकाका पनि दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । पालिकामा कोरोनाको उच्च जोखिम बढेसँगै एम्बुलेन्सको पनि अभाव भयो तर एम्बुलेन्स अभाव हुन नदिनको लागि पालिकाकी उपाध्यक्ष करुणा गुरुङले पनिे चढ्दौ आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकि छिन् । मझुवागढी नगरपालिकाका खोटाङको मझुवागढी नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइएको छ । कोभिड–१९ बाट गम्भीर बिरामी भएका संक्रमितलाई नगरपालिकाको आइसोलेसन सेन्टरसम्म पु¥याउन वा थप उपचारका लागि रेफर भएको अवस्थामा काठमाडौं, विराटनगरलगायत अस्पताल लैजान उपयोग गर्ने गरी प्रमुख रिजाल र उपप्रमुख राईले आफ्ले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सका रूपमा उपयोगमा ल्याएको हो । अभियान चलाउँदै धनगढी उपमहानगर सुदूरपश्चिमको कैलालीमा पर्ने धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको उपचारमा स्वास्थ्य सामग्री तथा अक्सिजनको अभाव भएको भन्दै सहयोगको अभियान सञचालन गरिरहेको छ । उपमहानगरले अक्सिजन प्लान्ट स्थापना गर्नको लागि सर्वसाधारण, दातृ निकाय, व्यवसायी लगायतलाई सहयोगको अपील गरेको छ । प्रदेश र केन्द्र सरकारले वास्ता नगरेपछि उपमहानगरले नै सहयोगको अपील गरेको उप प्रमुख सुशिला भट्ट मिश्रले जानकारी दिइन् । यस उपमहानगरपालिकाले धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग मागिरहेको हो । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको जोखिम कम गर्न कुनै पहल नगरेको आरोप पनि लागिरहेको छ । केही दिन अगाडि मात्रै सुदूरपश्चिम प्रदेश सरकार हराएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।