हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ३७ प्रतिशत, कुन शाखामा कति खर्च ?

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिइएको छ । शुक्रबार आयोजना गरिएको आठौं नगरसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड ९९ लाख १३ हजार ६५२ रूपैयाँ स्वीकृत गरेकामा चालुतर्फ विनियोजन भएको पाँच करोड ४२ लाख ५३ हजार ६६० रूपैयाँ मध्ये दुई करोड ९० लाख ६६ हजार ८२२ रूपैयाँ तथा पुँजीगततर्फ १७ करोड ८१ लाख ६० हजार ९९० रूपैयाँ विनियोजन भएकामा पाँच करोड ६३ लाख ४३ हजार ७४८ रूपैयाँ खर्च भएको हो । गत साउन १ गतेदेखि माघ मसान्तसम्मको अवधिमा चालुतर्फ ५३.४७ प्रतिशत र पुँजीगततर्फ ३१.६२ प्रतिशत वित्तीय प्रगति भएको नगर उपप्रमुख विमला राईले जानकारी दिएका छन् । शिक्षा शाखाका लागि १९ करोड ९५ लाख रूपैयाँ विनियोजन भएकामा सात करोड ९६ लाख ७६ हजार ८६२ रूपैयाँ खर्च भएको, महिला तथा बालबालिका शाखाका लागि ५२ लाख रूपैयाँ विनियोजन भएकामा एक लाख ४० हजार ५२० रूपैयाँ खर्च भएको, स्वास्थ्य शाखाका लागि पाँच करोड ७१ लाख रूपैयाँ विनियोजन भएकामा दुई करोड ७४ लाख ६५ हजार ५४० रूपैयाँ खर्च भएको, योजना शाखाका लागि १७ करोड ८१ लाख ६० हजार ९९० रूपैयाँ विनियोजन गरिएकामा पाँच करोड ६३ लाख ४३ हजार ७४८ रूपैयाँ खर्च भएको तथा युवा तथा खेलकुदका लागि विनियोजन गरिएको २० लाख रूपैयाँ विनियोजन गरिएकामा पाँच लाख ९४ हजार ६९० रूपैयाँ खर्च भएको छ । नगरसभाले चालु आर्थिक वर्षको स्वीकृत आठ वटा योजनालाई औचित्यता, कारण र पुष्ट्याइसहित संशोधन गरेको छ । तीन लाख ५० हजार रूपैयाँ विनियोजन गरिएको कालिका-देवीथान-धोद्रेखोला ग्रामिण सडक निर्माण योजनालाई संशोधन गर्दै गैरीगुठ तारेभीर हलेसी ग्रामीण सडक निर्माण योजना कायम गरिएको छ । रु एक लाख विनियोजन गरिएको ताराखसे-गैरीगाउँ-आहाल तथा इन्टेक निर्माण योजनालाई संशोधन गर्दै उद्यमशीलताका लागि ड्राइभिङ तालीम कायम गरिएको नगरसभामा जानकारी दिइएको छ । नगर उपप्रमुख राईले प्रस्तुत गरेका नगरपालिकाको विषयगत शाखा तथा समग्र कार्यक्रमको वित्तीय र भौतिक प्रगति प्रतिवेदन तथा नगरप्रमुख इवन राईले प्रस्तुत गरेका जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई पारित गरेको छ । एघार वडा रहेको उक्त नगरपालिकाले गत आर्थिक वर्ष राजस्व बाँडफाँटतर्फको तोकिएको बजेट नआउँदा अधुरा रहेका योजना पूरा गर्न चालु आवको साढे पाँच करोड रूपैयाँ बढी रकम खर्च गरेको छ । नगरपालिकाको आठौँ हिउँदे नगरसभामा उपप्रमुख राईले चालु आवको वित्तीय तथा भौतिक प्रगति प्रस्तुत गर्नेक्रममा सङ्घ र प्रदेशले सिलिङअनुसार राजस्व बाँडफाँटतर्फको पैसा नपठाउँदा अधुरो रहेका योजना पूरा गर्न पाँच करोड ५९ लाख ८९ हजार रूपैयाँ आर्थिक दायित्व पूरा गर्नुपरेको जानकारी दिए । कोभिड-१९ को कारण देखाउँदै सङ्घ र प्रदेशबाट सिलिङअनुसारको बजेट नआउँदा आव २०७६/०७७ को अधुरा योजना सम्पन्न गर्ने गरी आर्थिक दायित्व निर्वाह गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको नगरसभामा जानकारी दिइएको छ । गत वर्ष प्रदेश र सङ्घबाट सिलिङअनुसारको बजेट नआएपछि नगरपालिकाको नगरसभाले अधुरा योजना पूरा गर्नका लागि पाँच करोड ५९ लाख ८९ हजार रूपैयाँ विनियोजन गरेको थियो । विनियोजन भएका बजेटमध्ये हालसम्म तीन करोड ७६ लाख १७ हजार रूपैयाँ भुक्तानी भइसकेको र एक करोड ८३ लाख ७२ हजार रूपैयाँमध्ये पुरानो भुक्तानी बाँकी रकम नगर समपूरक कोषमा थप गरी खर्च गर्ने नगरपालिकाले जनाएको छ । यस्तै, नगरस्तरीय २२ वटा अधुरा योजनालाई पनि पहिलो प्राथमिकतामा राखेर चालु आवको नगरसभाबाट बजेट विनियोजन गरेर अघि बढाइएको छ । गत आव सिलिङअनुसारको बजेट नआउँदा अधुरो रहेका वडा नं १ बाहुनीडाँडाका आठ वटा, वडा नं २ डिकुवाका १२ वटा, वडा नं ३ च्यास्मिटारका सात वटा, वडा नं ४ बडहरेका ५ वटा, वडा नं ५ दुर्छिमका चार वटा र वडा नं ६ मङ्गलटारका १० वटा योजनालाई चालु आवको बजेटबाट पूरा गरिएको बताए । यस्तै, वडा नं ७ महादेवस्थानका सात वटा, वडा नं ८ धितुङका नौ वटा, वडा नं ९ सल्लेका चार वटा, वडा नं १० अर्खौैलेका छ वटा र वडा नं ११ राजापानीका चार वटा योजनालाई चालु आव बजेट विनियोजन गरेर पूरा गर्नुपरेको जानकारी दिइएको छ । बजेट अभावमा अलपत्र र अधुरो रहेका योजनालाई पूरा गर्न यस वर्ष प्राथमिकतामा राखिएको नगरप्रमुख राईले बताए । “हामीलाई प्राप्त भएको सिलिङअनुसार बजेट निर्माण गर्याैं, योजना बनायौं र सम्झौता गरेर काम अघि बढायौं”, उनले भने, “तोकिएको बजेट नआएपछि धेरै योजना अधुरो रहन पुगे । त्यही अधुरो योजना पूरा गर्न हामीले चालु आवको बजेटबाट रकम व्यवस्था गरेर अधुरो रहेका कामलाई अघि बढाएका हौं ।” रासस

निर्वाचनका बेला प्रतिवद्धता गरेका कामहरु पुरा गर्न सफल भएको छु- अध्यक्ष शाक्यसँगको कुराकानी

नेपालको बागमती प्रदेश अन्तर्गतको धादिङ जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो ‘नेत्रावती डबजोङ गाउँपालिका’ । ५ ओटा वडाहरु रहेको यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न सफल मानिन्छ । वाइवा राजाको नामबाट चिनिएको डबजोङ दरबारको नाम र मार्पाकको बेसी हुँदै बगेको नेत्रावती खोलाको नामलाई जोडेर यस गाउँपालिकाको नाम नेत्रावती डबजोङ जुराइएको हो । यस गाउँपालिकाको सिमाना पूर्वमा नुवाकोटको मेघाङ गाउँपालिका, पच्चिममा त्रिपुरासुन्दरी र गंगा जमुना गाउँपालिका, उत्तरमा खनियाबास गाउँपालिका र दक्षिणमा निलामण्ड नगरपालिका सम्म फैलिएको छ । यस गाउँपालिका भित्र धार्मिक महत्वका क्षेत्रहरु जस्तै विन्दुकेशर महादेवस्थान कुण्डला देवी मन्दिर, बाराही मन्दिर र दोश्रो नवबुद्ध क्षेत्र वकाराहा रहेका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कसरी भूमिका खेलेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर तथा हाल त्यहाँको अवस्थाका वारेमा पनि छोटकरीमा बताइदिनुस् न विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर पुर्यायो । सो कालमा हामीले गाउँपालिकाका सबै वडाको विद्यालयमा क्वारेन्टिन स्थापना गरेका थियौं । एउटै विद्यालयमा ६० जनासम्म बस्न सक्ने क्वारेन्टिन निर्माण गरेका थियौं । शिक्षाका साथै विकास निर्माणका कामहरु पनि त्यो वेला प्रभावित भएका थिए । अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । सर्वसाधारणहरु पनि त्रासरहित भएर आफ्नो काम गरिरहनु भएको छ । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले कृषि विकासका क्षेत्रमा धेरै नै काम गर्दै आइरहेका छौं । कृषि विकासकै लागि भनेर हामीले ‘एक घर एक टनेल’ को पनि व्यवस्था मिलाएका छौं । हामीले गाउँपालिकामा कृषि कार्यक्रम पनि राख्दै आएका छौं । समय समयमा कृषकहरुलाई कृषि तालिम पनि दिने गरेका छौं । कतिपय कृषकहरु पशुपालन पनि गरिरहनुभएको छ । पशुपालन सम्बन्धी पनि हामीले केही कार्यक्रमहरु राखेका छौं । पकेट क्षेत्र छुट्याइएको छ भने त्यसमा फरकफरक तरकारीहरुको उत्पादन हुने गरेको छ । उन्नत जातको बाख्रा पनि हामीे वितरण गर्दै आईरहेका छौं । कृषि विकासका लागि भनेर वार्षिक ९० लाख रुपैयाँ बराबरको बजेट छुट्याउँदै आएका छौं । गाउँपालिकाको तर्फबाट फलफुल र तरकारीको विउ निःशुल्क रुपमा वितरण पनि गर्ने गरेका छौं । गाउँपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् होला ? हाम्रो गाउँपालिकामा १५ सय बेडको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । ५ करोड रुपैयाँ बराबरको बजेटमा सो अस्पतालको निर्माण भइरहेको छ । त्यसैगरी गाउँपालिकाको भवन बनिरहेको छ भने ३ करोड ३५ लाख रुपैयाँको बजेटमा वडा भवनको निर्माण हुन लागेको छ । यसका साथै स्वास्थ्य भवनहरु चाहिँ कतै निर्माण हुने क्रममा छने भने कतै निर्माण भइसकेका छन् । त्यसैगरी, सडक निर्माणका कामलाई पनि तिव्रता दिएका छौं । २ करोड रुपैयाँ बराबरका सडक निर्माणका कामहरु यहाँ धेरै छन् । पालिका भित्र २ करोड रुपैयाँसम्मको खानेपानी योजनाहरु चलिरहेको छ । ठाउँठाउँमा विद्यालय भवनहरु निर्माण गर्ने काम पनि भइरहेको छ । गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? प्रभावकारी नै भएको छ भन्नुपर्छ । हामीले ‘एक घर एक धारा’ अभियान पनि चलाएका छौं । यो वर्ष गाउँपालिका भित्रका ३ हजार घरधुरीमा खानेपानी पुग्ने छ । विकासका कामहरु सोचेझैं भएकोले होला जनताहरु पनि मसँग खुसी नै छन् जस्तो लाग्छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? पहिलाको तुलनामा अहिले धेरै परिर्वतन आएको छ । म निर्वाचित हुनु अगाडि गाउँपालिकाको सबै ठाउँमा सडक पुगेको थिएन । अहिले गाउँपालिकामा बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ । पहिला खोलामा झोलुङ्गे पुल पनि नरहेको अवस्था थियो भने हाल झेलुङ्गो पूलको स्थापना भएको छ । खानेपानीको राम्रो व्यावस्था भएको छ । टनेल खेतीको व्यवस्था मिलाएका छौं । सिँचाईको काम पनि हामीले गरेका छौं । बाख्रा पकेट क्षेत्र पनि छुट्याएका छौं । अपाङ्ग नागरीकहरुलाई विभिन्न किसिमका तालिम दिई रहेका छौं । विकास निर्माणको काम पनि धेरै गरेका छौं । विद्यालय भवन निर्माण भएको छ । गुणस्तरीय शिक्षातर्फ ध्यान दिएका छौं । मठ, मन्दिर अनि गुम्बाको निर्माण गरेका छौं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? हामीले युवालाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु राखेका छौं । हातमा सिप भएका युवालाई सहकारीसँग समन्वय गरेर ऋणको व्यवस्था मिलाएका छौं । यदी कुनै युवा केही गर्न चाहन्छ भने गाउँपालिकाको तर्फबाट १ लाख रुपैयाँ र सहकारीबाट १ लाख रुपैयाँ गरी जम्मा २ लाख रुपैयाँ ऋण पाउन सक्छ । अदक्ष कामदारको लागि श्रम बैंकको पनि व्यवस्था मिलाएका छौं । हामीले श्रमदानमार्फत युवाहरुलाई रोजगारी पनि दिने गरेका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा रहेको छ । सो कार्यक्रममा छनोट भएका युवालाई हामीले रोजगारी पनि दिने गरेका छौं । केही समय अगाडि ग्रामीण कृषि कार्यकर्ता भनेर पनि हामीले कार्यक्रम चलाएका थियौं । त्यसैगरी, विकास निर्माणको काममा लगाएर भएपनि रोजगारको सृजना गरेका छौं । बागमती प्रदेशले सवलोनको व्यवस्था गरेको छ । उत्पादनमा काम गर्ने समुहलाई ऋण चाहिएमा ३ प्रतिशत व्याजदरमा विना धितो ५ लाख रुपैयाँ ऋण दिने र यदी व्यक्तिगत रुपमा ऋण चाहिएको छ भने चाहिँ धितो राखेर १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाएका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले गाउँपालिका भित्रका पर्यटन क्षेत्रहरुको प्रचारप्रसारमा राम्रो ध्यान दिएका छौं । एसै त हाम्रो गाउँपालिकाले पर्यटन तर्फ प्रचूर सम्भावना बोकेको छ । पर्यटन क्षेत्रका रुपमा यहाँ डबजोङ दरबार रहेको छ । यसको संरक्षण गर्नका लागि १० लाख रुपैयाँ केन्द्र सरकारबाट आएको छ । विन्दुकेशर महादेव भएको स्थानमा चैत महिना भरी मेला पनि लाग्ने गरेको छ । पिक्निक स्पटहरु पनि टन्नै छन् । सेमजोङ भन्ने ठाउँ पूर्वको ईलामजस्तै सुन्दर र रमणीय छ । नव बुद्ध क्षेत्र पनि आकर्षणको केन्द्रका रुपमा रहेको छ । हामीले पर्यटन पुर्वाधारको विकास पनि गरिरहेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ ? गाउँपालिकाले शैक्षिक विकासका लागि धेरै काम गर्दै आएको छ । यहाँका सम्पूर्ण विद्यालयहरुमा पक्की भवन निर्माण भएको छ । विद्यालयमा खानेपानीको तथा लाइब्रेरीको व्यावस्था मिलाएका छौं भने यसका अलावा माध्यमिक विद्यालयमा कम्प्युटरको व्यवस्था गरेका छौं । विज्ञान प्रयोगसालाको व्यवस्थापन गरका छौं । गाउँपालिकाका विद्यालयहरुमा १–१ ओटा स्मार्ट टीभी वितरण गरेका छौं । विद्यालयलाई गाउँपालिकाको तर्फबाट स्मार्ट बोर्ड पनि दिने कुरा भइरहेको छ । शिक्षकहरुलाई बेला बेलामा तालिम दिने गरेका छौं । तपाईंको पालिकामा सवैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? ठुलो उद्योग त हाम्रो गाउँपालिकामा छैन भन्दा पनि हुन्छ । बरु कृषि उद्योग चाहीँ धेरै संख्यामा छन् । गाउँपालिका भित्र मझौला उद्योग पनि सञ्चालन भएको छ । कृषकहरुले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायत गर्दै आएका छन् । गाउँपालिकामा हाल कस्तो योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? हामीले भौतिक पूर्वाधारको कामलाई नै अगाडी सारेका छौं । युवाहरुको क्षमता अभिवृद्धिका कुराहरु पनि प्राथमिकतामा छ । विद्युत विस्तार कार्य सबै वडामा पुर्याउनुपर्छ भनेर जोड गरेका छौं । जनताको आधारभुत आवश्यकतालाई पनि अगाडी सारेका छौं । सडकको विकासका लागि पनि हामीले जोड दिएका छौं । यसका साथै कृषि, सिँचाई तथा विद्यालयको पूर्वाधार लगायतका कामलाई पनि प्रथामिकतामै राखेका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? स्थानीय तह र प्रदेश सरकारबीच राम्रो समन्वय भएको छ । स्थानीय तहमा ठुलो बजेटमा विकास निर्माण गर्नुपरेको अवस्थामा डीपीआर गरेर प्रदेश सरकारलाई पठाउने गरेका छौं । विकास निर्माणको काममा पनि प्रदेश सरकारसँग समन्वय हुने गरेको छ । गाउँपालिकाले सोचे अनुसारको नै बजेट तथा योजनाहरु आईरहेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् नि ? स्थानीय तहमा काम गर्दा सामान्य किसिमका समस्याहरु देखा पर्ने गर्दछन् । केही समय अगाडी कर्मचारीहरुको अभाव थियो । पहिला गाविस भएको कारणले गर्दा बजेट पनि थोरै आउने गरेको थियो । हाल यो समस्याको सामाधान भइसकेको छ । उपभोक्ता समितिमा पनि समस्या रहेको छ । कहिलेकाहीँ विकास निर्माणको काममा पनि समस्या देखापर्ने गरेको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ त ? केन्द्र सरकारले हामीलाई सहयोग गरेकै छ । विशेष अनुदानको रुपमा हामी केन्द्र सरकारसँग पनि काम गरिरहेको छौं । केन्द्र सरकारबाट वार्षिक १० करोड रुपैयाँ बराबरको बजेट आउने गरेको छ । विभिन्न क्षेत्रमा बजेट छुट्याएर केन्द्र सरकारले पठाउने गरेको छ । तपाईंले गरेको विकास निर्माणका कार्यप्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? म त एकदम सन्तुष्ट छु । विगतमा कुनै पनि संरचना थिएन । विगतकोभन्दा अहिले धेरै नै विकास निर्माणका कामहरु भएका छन् । निर्वाचनमा बोलेका कुराहरु पूरा गर्न सफल पनि भएका छौं । जनताको गुनासोलाई सम्वोधन गर्न सकिएको छ । म मात्र होइन विकास निर्माणको काम प्रभावकारी भएकाले यहाँको नागरिक पनि सन्तुष्ट भएको नै पाएको छु । सायद उहाँहरुको सन्तुष्टीले नै मलाई पनि सन्तुष्टि मिलेको हुनुपर्छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मूख्य योजना भनेकै जनताको आधारभुत आवश्यकतालाई पुरा गर्ने हो । गाउँपालिकाको प्रत्येक घरमा विद्युत पुर्याउने लक्ष रहेको छ । खानेपानीको उचित व्यवस्था गर्ने, सबै वडामा स्वास्थ्य भवनको निर्माण गर्ने, आधारभुत अस्पतालको निर्माण गर्ने, गुणस्तरीय शिक्षामा जोड दिने, पुर्वाधारको विकासतर्फ कम्मर कसेर अघि बढ्ने मैले योजना बनाएको छु ।

पूर्वाधार निर्माणका क्षेत्रमा केन्द्र सरकारले खासै सहयोग गरेको छैन – गाउँपालिका अध्यक्ष सुब्बासँगको कुराकानी

प्रदेश नं १ अन्तर्गत संखुवासभा जिल्लामा पर्ने ‘सभापोखरी गाउँपालिका’ कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा पनि निक्कै चर्चित एवं रमणीय गाउँपालिका हो । यो गाउँपालिकाले ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक विविधता बोकेको त छ नै साथै प्राकृतिक रुपले पनि निक्कै सुन्दर छ । वि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १० हजार ४ सय ९२ जनाको वसोवास रहेको छ भने यहाँ ६ ओटा वडाहरु रहेका छन् । सभापोखरी, बन्दुके तिर्थस्थल, गोजरुजुरे हिमाल, रानीढुङ्गा लामालमिन गुफा, महादेवथान लगायतका स्थानहरुले यस गाउँपालिकालाई विशेष बनाएको छ । यस गाउँपालिकाबाट नेपालको छोटो नाका किमाथांकासँग जोड्ने वैकल्पिक मार्गको समेत संभावाना देखिएको छ । सभापोखरीजस्तो प्रमुख तिर्थस्थलमा केवलकार सञ्चालन गरी पर्यटकलाई गाउँपालिकामा तान्न सके मात्र पनि सिङ्गो नेपालको आर्थिक विकासमा पक्कै पनि टेवा पुग्ने थियो । यस गाउँपालिका भित्र कार्ज, तामा, कुरिङ, तुर्मालिङ लगायतका खानी रहेका छन् । यस गाउँपालिका भित्रबाट बग्ने नदीनालाहरुमा सभाखोला, लंखुवाखोला, धुपूखोला, भोटीखोला, याक्सुवाखोला, ठगुवाखोला आदि रहेका छन् भने उक्त खोलाहरुबाट यस क्षेत्रलाई धान्न सक्ने विध्युत उत्पादन हुने कुरा पनि अध्ययन बाट देखिएको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रित हुँदै सो गाउँपालिकाका अध्यक्ष रतन वहादुर सुब्बासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर वारे छोटकरीमा बताइदिनुस् न विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि नराम्रो असर गर्यो । कोरोनाकालमा हामीले ४० जनासम्म राख्न मिल्ने क्वारेन्टिन स्थापना गरेका थियौं भने १४ बेडको आइसोलेसन कक्षको निर्माण गरेका थियौं । अप्ठ्यारो वेलामा सहज होस् भन्ने हेतुले हामीले कोरोना कोषको पनि स्थापना गरेका थियौं । कोरोना कोषको लागि ३० लाख रुपैयाँ बजेट छुट्याएका थियौं । हामीसँग दक्ष स्वास्थ्यकर्मीको अभाव थियो । स्वास्थ्यकर्मीको अभाव कारण संक्रमितहरुलाई नजिकैको सदरमुकाम खाँदवारीमा पठाएका थियौं । कोरोनाले शिक्षाका साथै विकास निमार्णको कामहरु ठप्पप्रायः नै भए । अहिले भने गाउँपालिकाको अवस्था सामान्य भइसकेको छ । सर्वसाधारणहरु पनि त्रास रहित भएर आफ्नो काम गरिरहनु भएको छ । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के छन् ? ठुलो योजनाको रुपमा त सडक नै रहेको छ । हामीले धेरै बजेट सडक निर्माणको लागि भनेरै छुट्याएका छौं । गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडकको स्तरोन्नतीका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएका छौं । त्यस बाहेक गाउँपालिका भित्रका सडक निर्माणको लागि भनेर वार्षिक ६ करोड रुपैयाँ बजेट छुट्याएका छौं । त्यसैगरी खानेपानी व्यवस्थापनको लागि पनि बजेट छुट्याएका छौं । यसका साथै गाउँपालिकाको भवन टेन्डर प्रक्रिया बाट ठेक्का लगाएर निर्माण भइरहेको छ । २ करोड ८६ लाख रुपैयाँ बराबरको बजेटमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । यतिवेला ४ र ५ नं वडामा मात्र विद्युत पुग्न बाँकि छ भने सडक चाहिँ सबै वडामा पुगिसकेको छ । उक्त २ ओटा वडामा विद्युत पु¥याउन विद्युत प्रविधिकरणलाई हामीले ठेक्का लगाएका छांै । गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् त ? धेरै नै प्रभावकारी भएको छ जस्तो लाग्छ मलाई । हामीले मिहिनेत पनि कम्मर कसेरै गरिरहेका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि पनि प्रचूर संभावना बेकेको ठाउँ हो । धार्मिक क्षेत्रका रुपमा हामीले सभापोखरीलाई विशेष जोड दिएका छौं । त्रिवेणी धाम जसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि हामीले १२ करोड रुपैयाँ माग गरेका थियौं । जसमा ३ करोड रुपैयाँ पर्यटन मन्त्रालय बाट बजेट विनियोजन भएको छ । पर्यटन क्षेत्रको विकासको लागि हामीले वार्षिक ३० लाख रुपैयाँ बजेट छुट्याउँदै आएका छौं । यहाँका सभाखोला तथा लंखुवाखोलाका असला माछा नेपालभित्रको मात्र नभएर विभिन्न वैदेशिक मुलुकहरुसम्म पनि चर्चित रहेको छ । त्यसैगरी पर्यटकहरुका लागि भनेर हामीले होमस्टेको पनि अवधारणा बनाइरहेका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । यहाँका धेरै मानिसहरु खेतीकिसानी गर्छन् । कृषिलाई अधुनिकिकरण गर्नका लागि हामीले विशेष जोड दिएका छौं । केहि बजेट हामीले कृषि क्षेत्रलाई पनि छुट्याएका छौं । प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमतर्फबाट २४ लाख रुपैयाँ बजेट अनुदानको रुपमा आएको छ । हावापानी सुहाउँदो विउविजन पनि लगाएका छौं । हामीले गाउँपालिकामा धान, तरकारी र मकैको विउ ७५ प्रतिशत अनुदानमा दिँदै आएका छौं । नगदे वालीको रुपमा अलंैची तथा रुद्राक्ष उत्पादन हुने गरेको छ भने खाद्यान्न तर्फ भने धान, मकै, कोदो, गहुँ, आलु आदिको उत्पादन हुने गरेको छ । किवि खेती पनि केही मात्रामा हुने गरेको छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ? म निर्वाचित भएर आइसकेपछि गाउँपालिकामा धेरै परिर्वतन आएको छ । यहाँको सबै वडामा आधारभुत स्वास्थ्य सेवा सञ्चालन भएको छ । स्वास्थ्य भवनको निर्माण पनि भइसकेको छ । वडा कार्यालयको भवन निर्माण भएर जनतालाई सेवा दिने काम भएको छ । सबै वडामा सडक पुर्याउने तथा निर्माण हुने काम भइरहेको छ । बाह्रविशे बजारमा ढलान भएको छ । गुणस्तरीय शिक्षालाई अगाडि बढाई रहेका छौं । स्थानीय तहमा कामगर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? स्थानीय तहमा कामगर्दा सामान्य किसिमका समस्याहरु देखा पर्ने गर्छन् । केही समय अगाडि कर्मचारीको अभाव थियो । सेवाग्राहिलाई समयमै सेवा दिन समस्या थियो । हाल यो समस्याको समाधान भइसकेको छ । कहिलेकाहीँ विकास निर्माणको काममा पनि समस्या देखापर्ने गरेका छन् । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? स्थानीय तह र प्रदेश सरकारबीच समन्वय भइरहेकै छ । प्रदेश सरकारबाट आउने बजेटलाई हामीले विभिन्न क्षेत्रमा विनियोजन गरेका छौं । स्थानीय तहमा हुन लागेका विकास निर्माणको काममा पनि हाम्रो समन्वय भएको छ । स्थानीय तहमा ठुलो बजेटमा विकास निर्माण गर्नुपरेको अवस्थामा डीपीआर गरेर प्रदेश सरकारलाई पठाउने गरेका छौं । प्रदेश सरकारले भने विकास निर्माणका क्षेत्रमा धेरै ठुलो परामर्श नगरेको महशुस गरेको छु । प्रदेश सरकारले ल्याउनु पर्ने कार्यक्रमहरु खासै ल्याएको पनि छैन । त्यसोभए केन्द्र सरकारबाट चाहिँ कत्तिको सहयोग मिलेको छ नि ? गाउँपालिकाको सडक, झोलुङ्गे पुल लगायतको निर्माणका लागि हामीले केन्द्र सरकारको सहयोग मागेका थियौं तर यस काममा सहयोग पाउन सकेनौं । केन्द्र सरकारबाट सामान्य बजेट मात्र आउने गरेको छ । त्यो भनेको समपुरक अनुदानको रुपमा वार्षिक १४ करोड रुपैयाँ बजेट आउने गरेको छ । गाउँपालिकाले युवाहरुका लागि रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रहेको छ । हामीले युवा लक्षित विभिन्न कायक्रमहरु पनि ल्याएका छौं । कृषि विकास र क्षमता विकास अन्तर्गत युवालाई हामीले बजेट छुट्याएका छौं । युवाको क्षमता विकास गर्ने काम गरिरहेका छौं । हामीले युवालाई विकास निर्माणको काममा लगाएर रोजगारी दिने गरेका छौं । गाउँपालिकामा धेरै युवाहरु कृषि पेशामा लागेका छन् । यहाँ उद्योगधन्दाको विकास गर्न खासै सकिएको चाहिँ छैन । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? ठुलो उद्योग हाम्रो पालिकामा रहेको छैन भन्दा पनि हुन्छ । तरपनि यहाँ विभिन्न उद्योगहरु सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना भने रहेको छ । हाल गाउँपालिका भित्र ५ मेगावट बराबरको लंखुवा हाइड्रो सञ्चालनमा छ । हाम्रो गाउँपालिकाका नागरिकहरुको मुख्य पेसा भनेको खेती किसानी नै हो । कृषकहरुले खेती, कुखुरा पालन, पशुपालन लगायतका कामहरु गर्दै आइरहेका छन् । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषि र पशुपालनलाई नै जोड दिनेछु । तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? म सन्तुष्ट नै छु । गाउँपालिकाको स्रोत र साधनले भ्याए अनुसार सक्दो कार्य गरेका छौं । विगतको भन्दा धेरै विकास पनि भएको छ । मुख्य कुरा त यहाँका नगारीकहरु सन्तुष्ट भएको पाएको छु । र सायद उहाँहरुको सन्तुष्टीले नै मलाई पनि सन्तुष्टि मिलेको हुनुपर्छ । गाउँपालिकामा मानिसहरु प्रयाः के कस्ता समस्याहरु लिएर आउने गर्छन् ? गाउँपालिकामा मानिसहरु विभिन्न किसिमका समस्या लिएर आउने गरेका छन् । कोही आवासको समस्या लिएर आउने गरेका छन् । प्रदेश सरकारले दिएको सहरी विकास अन्तर्गतको जनता आवास कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा आउन सकेन । त्यसका अलावा विकास निर्माणको काममा अलि बढि बजेट छुट्याउनुप¥यो भन्ने जस्तो गुनासो लिएर आउनेहरु पनि छन् । गाउँपालिकाले हाल कस्तो योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ? हामीले भौतिक पूर्वाधारका कामलाई नै अगाडी सारेका छौं । विद्युत विस्तार कार्य सबै वडामा पुर्याउनु पर्छ भनेर जोड गरेका छौं । त्यसका साथै कृषि, सिँचाई तथा विद्यालयको पुर्वधार लगायतका कामलाई पनि प्राथमिकतामा राखेका छौं । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालमा यहाँका सम्पूर्ण वडाका कुनाकाप्चासम्मै सडक तथा विद्युत पुर्याउने योजना बनाएको छु । खानेपानीको व्यावस्था गर्ने, सबै वडामा स्वास्थ्य भवनको निर्माण गर्ने, आधारभुत अस्पतालको निर्माण गर्ने, गुणस्तरीय शिक्षामा जोड दिने, युवालाई सिप सिकाएर आत्मनिर्भर बन्न सघाउने समेत योजना बनाएको छु ।