विकास निर्माणको काममा केन्द्र सरकारले सहयोग गरेको छैन : गाउँपालिका अध्यक्ष घलेसँगको कुराकानी

‘क्व्होलासोथार गाउँपालिका’ गण्डकी प्रदेश अन्तर्गतको लमजुङ जिल्लामा पर्ने सुन्दर गाँउपालिकाका रुपमा परिचित छ । यो गाँउपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा निक्कै चर्चित पनि छ । गुरुङ्ग समुदायको बाहुल्यता भएको यो गाँउपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्रकिृतिक विशेषता बोकेको त छ नै साथै एसिया महादेशको नमुना गाउँ मानिएको घलेगाँउ र भुजुङ पनि यहि गाउँपालिकामा पर्नुले अझ सुनमा सुगन्ध थपिदिएको छ । नेपालकै दोश्रो होम–स्टेको अवधारणा पनि यसै गाउँपालिका बाट सुरु भएको हो । गुम्बा, मठ–मन्दिर, भेष–भुषा, चाड–पर्व लगायतका विषयमा अध्ययन गर्नेका लागि यो गाउँपालिका एउटा गन्तव्यस्थल नै हो । घाँटु सोरेठि नृत्यले मुग्ध बनाउने यस ठाउँमा पर्यटन, चिया बगान, कफि बगान, अलौंची खेती र भेडा पालन लगायतलाई  सर्वसाधारणले आय आर्जनको स्रोत बनाउँदै आएका छन् । सेता हिउँले ढाकिएको हिमाल हेर्नको निम्तिी भ्यु–टावर, गुरुङ समुदायमा केन्द्रीत संग्रहालय एवं घले राजाको पार्कले पनि गाउँपालिकाको सुन्दरतालाई थप्ने काम गरेको छ । निःशुल्क इन्टरनेटको सुविधा र सौर्य उर्जाको प्रयोगका निम्ति सर्वसाधारणलाई प्रोत्साहन गर्दै आएको यस गाँउपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, कोरोनाले शैक्षिक क्षेत्रमा पुर्याएको असर, रोजगारी सृजना गर्नमा गाँउपालिकाले खेलिरहेको भुमिका लगायतका विषयमा केन्द्रीत हुँदै सो गाँउपालिकाका अध्यक्ष प्रेम वहादुर घलेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः गाँउपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ ? कोरोनाको कारण गाँउपालिकामा हुने विकास निर्माणको काममा असर पुग्यो । कोरोनाकालमा हामीले सम्पूर्ण वडाहरुमा क्वारेन्टिन बनायौं । गाँउपालिका भित्र ११० बेडको क्वारेन्टिन स्थापना गर्यौं । सो वेला बाहिरी जिल्लाबाट आउनेलाई हामीले गाँउपालिका प्रवेशमा रोक लगायौं । कोरोनाकै कारणले गाँउपालिकामा रहेका कोहि पनि नागरिकको ज्यान जान भने पाएन । हिजोआज कोरोनाको प्रभाव खासै छैन पनि । यहाँका नागरिकको जीवन सामान्य बनिसकेको छ । गाँउपालिकामा कस्ता किसिमका योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? हामीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । गाँउपालिकाको सबै वडामा सडक र बिजुली पुगेको छ । भौतिक निर्माणका काम पनि गरिरहेका छौं । सिँचाइ र विद्यालयका भौतिक पुर्वाधार आदिलाई पनि प्राथमिकता दिँदै अघि बढेका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ नि ? स्थानीय सरकार र प्रदेश सरकार बिच समन्वय गरेर नै हामी अगाडि बढिरहेका छौं । मागे जति बजेट प्रदेश सरकार बाट आइरहेकै छ । विकास निर्माणको काममा पनि प्रदेश सरकारको सहयोग पाएका छौं । गाँउपालिकामा बन्न लागेको ३५ कि.मि बाटो पिच गर्नमा पनि प्रदेश सरकारको सहयोग मिलेको छ । विकास निर्माणको काम देखि लिएर अन्य काममा प्रदेश सरकारले सहयोग पुर्याएको छ । बजेटको कुरा गर्नुपर्दा चाहिँ यो वर्ष ७० करोड रुपैयाँ प्रदेश सरकार बाट आएको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् ? स्थानीय तहमा सानातिना समस्या देखा परिरहन्छन् । मुख्य रुपमा भन्नुपर्दा विकास निर्माणको काममा कतैकतै समस्या देखा पर्ने गरेको छ । केन्द्र सरकारबाट चाहिँ कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारमा मेरो गुनासो रहेको छ । केन्द्र सरकार बाट खासै सहयोग मिलेको छैन । केन्द्र सरकार बाट योजना आएको छैन भन्दा पनि हुन्छ । विकास निर्माणको काममा पनि केन्द्र सरकारले सहयोग गरेको छैन । गाँउपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? गाँउपालिकामा गरिएका विकास निर्माणका कामहरु प्रभावकारी नै छन् । गाँउपालिकाको सबै वडामा सडक पुगेको छ । खानेपानी र बिजुली सबै ठाउँमा पुगेको छ । विकास निर्माणका धेरै कामहरु हामीले गरिरहेका छौं । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित हुनुभन्दा पछाडि गाँउपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? अहिले गाँउपालिकामा धेरै परिवर्तन आइसकेको छ । म निर्वाचित हुनु अघि यहाँ सडक, खानेपानी, बिजुली पुग्न नसेकेका ठाउँहरु धेरै थिए । तर आज यस्तो सुविधा पर्याप्त मात्रामा उपलव्ध भइसकेको छ । पहिला सेवा प्रवाहमा पनि कठिनाइ आइरहेको थियो । हाल यो समस्या हटिसकेको छ । अहिले हामीले तरकारी खेती पनि सुरु गरेका छौं । सडकहरुलाई कालोपत्रे गर्ने काम पनि सुरु भइसकेको छ । तपाईंले गरेको विकास निर्माणको काममा त्यहाँका नागरिकहरु सन्तुष्ट छन् त ? मैले गरेका विकास निर्माणको काममा गाँउपालिकाका नागरिक खुसि पनि छन् र सन्तुष्ट पनि छन् भन्ने ठानेको छु । मेरो विपक्षी साथिहरु पनि खुसि नै हुनुहुन्छ । हामीले ४० वटा बैठक सभा बस्दा कुनैमा पनि विवाद नहुनुले मेरो कुरालाई पुष्टि गरेको छ । आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले पर्यटन क्षेत्रका लागि भनेरै वार्षिक ५० लाख रुपैयाँ बजेट छुट्याउने गरेका छौं । हाम्रो गाँउपालिका आफैंमा एउटा पर्यटकिय क्षेत्र पनि हो । गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न हामिले कुनै कञ्जुस्याईं गरेका छैनौं । चिरपरिचित घलेगाउँ र भुजुङ हाम्रै गाउँपालिकामा पर्छन् । विभिन्न मठ मन्दिरको पनि हामीले प्रचारप्रसार गरिरहेका छौं । गाउँपालिका भित्र पर्यटकका लागि होमस्टेको पनि व्यवस्था गरिएको छ । कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पुर्याएको असरका साथै हालको शैक्षिक अवस्थाका वारेमा केहि बताइदिनुस् न कोरोनाको प्रभाव शैक्षिक क्षेत्रमा पनि परेको छ । नेपालमा लकडाउन भएको समयमा गाउँपालिकाको सबै विद्यालयहरु बन्द भएका थिए । इन्टरनेटको असुविधाका कारण अनलाइन बाट विद्यार्थीलाई शिक्षा दिन सम्भव थिएन । त्यसकारण विद्यालयमै बोलाएर सामाजिक दूरी कायम गर्दै पठनपाठन सञ्चालन गर्यौं । हाल यहाँ कोरोनाको प्रभाव खासै छैन जसका कारण सबै विद्यालयको पठनपाठन निरन्तर रुपमा सञ्चालन भइरहेको छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? यहाँका युवाहरुलाई ठुला रोजगारीको अवसर दिन नसकेता पनि हामीले विकास निर्माणका काममा साथै कृषि क्षेत्रमा पनि थोरबहुत अवसर दिन सकेका छौं । हामीले आयमुलक काममा युवाहरुलाई लगाएका छौं । गाउँपालिकाका केही युवाहरु बाख्रापालन पनि गरिरहेका छन् । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? आधुनिक कृषि खेती गर्ने योजना गाउँपालिकाले बनाएको छ । कृषिलाई आधुनिकिकरण गर्नका लागि भनेर हामीले ३६ लाख रुपैयाँ बराबरको उन्नत जातको आलुको विउ खरिद गरेका छौं । बढि मात्रामा आलुको उत्पादन हुने भएकाले आलुको विउ खरिद गरिएको हो । हामीले कृषकलाई विउ विजनामा ५० प्रतिशत अनुदान समेत दिने गरेका छौं । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् त ? गाउँपालिकामा ३५ कि.मि बाटो पिच भईरहेको छ । मोटर पुलको निर्माण पनि हुँदैछ जसका लागि १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ८० लाख रुपैयाँ बराबरको टेन्डरको काम पनि भइरहेको छ । तपाईंको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालमा गाउँपालिकालाई विकसित बनाउने योजना बनाएको छु । ७ करोड रुपैयाँमा स्वास्थ्य भवन बनिरहेको छ र यसलाई पुरा गर्न लागिपरेको छु । कृषि र पर्यटनमा बढि जोड दिँदै यहाँका युवाहरुलाई यसतर्फ प्रोत्साहन पनि गरिरहेको छु । म चाहन्छु कि मेरो कार्यकालमा गरिएका सम्पूर्ण कामहरु एकदमै प्रभावकारी होस् ।

‘एक वडा एक उत्पादन’ भन्ने अभियान चलाएका छौं – नगर प्रमुख खत्री

बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा पर्ने एउटा रमणिय नगरपालिका हो ‘कमलामाई नगरपालिका’ । यो नगरपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि चर्चित छ । यो नगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक अनि प्राकृतिक रुपले फरक विशेषता बोकेको क्षेत्र हो । यहाँका प्राकृतिक श्रोत साधन र ऐतिहासिक तथा पुरातात्विक सम्पदा जीवन्त रहन सक्षम छन् । यो नगरपालिका चुरे तराईको प्रचण्ड गर्मी देखी महाभारतको उच्च श्रृंखलासम्म विस्तारित छ । नगरपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ, नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन्, कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, रोजगारीको अवसर नगरपालिकाले कसरी सिर्जना गरिरहेको छ भन्ने लगायतका विषयमा सो नगरपालिकाका मेयर खड्ग वहादुर खत्रीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः नगरपालिकामा कोरोनाले पुर्याएको असर तथा हालको ताजा अवस्थाका वारेमा केहि बताइदिनुस् न विश्वभरी नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो नगरपालिकामा पनि ठुलो असर पुर्याएको छ । कोरोनाको कारण विकास निर्माण देखि लिएर सबै क्षेत्रमा असर पुर्याएको छ । कोरोना बाट नै यहाँका ५ जनाले ज्यान गुमाउनुपर्यो । नगरपालिका भित्र हामीले क्वारेन्टिन स्थापना गरेका थियौं । हामीले सिन्धुली कोभिड अस्पतालको पनि निर्माण गरेका छौं । हामीले स्थानिय अस्पतालमा आइसोलेसनको सञ्चालन पनि गरेका थियौं । अब नगरपालिकामा कोरोनाको खासै प्रभाव छैन । अवस्था सामान्य बन्दै गएको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? प्रदेश सरकारका माननीय, मन्त्री तथा कर्मचारी सबैसँग समन्वय गरेर हामी अगाडि बढि रहेका छौं । सिन्धुलीगढी दरबार बनाउन पनि हामीले प्रदेश सरकारसँग नै समन्वय गर्यौं । नयाँ सडक निर्माण, भएका सडकहरु पिच गर्ने लगायतका योजना छन् । बहुवर्षे योजनामा पनि हामीलाई प्रदेश सरकारले सहयोग गरेको छ । नगरपालिकाको विकास निर्माणदेखि भौतिक पूर्वधारसम्मका योजनाहरुमा पनि प्रदेश सरकारसँग समन्वय गरेरै अघि बढेका छौं । प्रदेश सरकारको साथ स्थानीय सरकारलाई मिलको छ । हाम्रो नगरपालिकाको एकमुष्ट बजेट १ अर्व १६ करोड १२ लाख रुपैयाँ रहेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आईपर्छन् ? स्थानीय तहमा काम गर्दा समस्या धेरै आउने गरेका छन् । सडक निर्माण गर्नुपर्यो भने सिमानाका कुराहरु आउन सक्छ । बजेट विनियोजन गर्ने कुरामा मानिसको अपेक्षा धेरै रहेको हुन्छ । तर हाम्रो बजेट भने अपेक्षा गरेभन्दा थोरै रहेको हुन्छ । भौगोलिक दृष्टिकोणले विकट गाँउपलिकालाई मिलाएर नगरपालिका बनाइएको छ । जे होस् जनता हाम्रो कामसँग सन्तुष्ट नै छन् भन्नुपर्छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? नगरपालिकामा केन्द्र सरकार बाट पनि सहयोग भएको छ । केन्द्र सरकारकै सहयोगको कारणले गर्दा ‘उज्यालो नगरबासीको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना’ भनेर गाउँ–गाउँमा बिजुली पुर्याउन संघीय सरकार बाट बजेट ल्याएर हामीले काम गरेका हौं । विकास निर्माणको काममा पनि हामीले केन्द्र सरकारको सहयोग पाइरहेका छौं । ठुला विकासको योजनामा पनि केन्द्र सरकार बाट सहयोग मिलिरहेकै छ । नगरपालिकामा गरेको विकास निर्माणको काम कत्तिको प्रभावकारी भएको छ ? नगरपालिकामा गरेको विकास निर्माणको कामहरु सबै प्रभावकारी भएका छन् । विकासको काम प्रभावकारी भएकाले म यसमा सन्तुष्ट रहेको छु । त्यहाँ भएका विकास निर्माणका कामको उदाहरण दिनुपर्दा के भन्नुहुन्छ ? मुख्यतः सडक सबै ठाउँमा पुर्याउने काम भइसकेको छ । प्रदेश सरकार र संघिय सरकारको समन्वयमा सडकहरु पिच गर्ने कार्य भइरहेको छ । बिजुली वत्ति घर घरमा पुर्याइरहेका छौं भने खर तथा परालको छानो अन्त्य गर्ने अभियानमा हामी जुटेका छौं । मा.वि स्कुलका भवनहरुको निर्माण र व्यवस्थापन गर्ने कार्य गरिएको छ । तपाईं निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि नगरपालिकाका नागरिकमा कस्तो परिर्वतन आएको छ ? नगरिकको आर्थिक स्थितीमा परिर्वतन आएको छ । पहिले यो नगरपालिका दुधमा, मासुमा आत्मनिर्भर थिएन तर आज यी कुराहरुमा आत्मनिर्भर भइसकेको छ । तरकारीमा पनि आत्मनिर्भर भएको छ । सानासाना मझौला उद्योग खोल्न चाहने नागरिकले नगरपालिका बाट विना व्याज विना धितो १ करोड रुपैयाँ नगर स्वारोजगार र १ करोड रुपैयाँ युवा स्वारोजगार पाउन सक्छन् । विभिन्न मजदुरको स्वास्थ्य बीमा भएको छ । ६ सय घर परिवारका २८ सय मान्छे स्वास्थ्य बीमा बाट लाभान्बित भएका छन् । सबै वडामा कृषिका भेटेरिनरीका जेटिएहरुलाई पठाएका छौं । अस्पताल नभएका वडाहरुमा अस्पताल भवनको निर्माण गरेका छौं । नेपाल सरकारबाट प्राप्त निःशुल्क औषधी हामीले जुनसुकै समयमा पनि वितरण गरेका छौं । तपाई निर्वाचित भएको ३ बर्ष पुरा हुँदा नगरपालिका भित्र सम्झिन लायक काम के–के गर्नुभयो ? त्यस्ता काम धेरै नै छन् । नेपाली सेनाको सहयोगमा सिन्धुली गढी संंग्रहालय अन्तिम चरणमा पुगेको छ । सिन्धुली गढी दरबारको निर्माण भइरहेको छ । सिद्धलाला मन्दिरमा भ्यू टावर बनिरहेको छ । वडा नं ९ र १० जोड्ने पक्कि पुल टेन्डर भएर चलिरहको छ । नगरपालिकादेखि तीनपाटन गाँउपालिका जोड्ने बाटो ५२ करोड रुपैयाँमा पिच हुने काम अगाडि बढि रहेको छ । नगरपालिकाको वडा नं ६ र ५ जोड्ने पुलको निर्माण भइरहेको छ । वृद्ध बाआमाहरुले निःशुल्क रुपमा आँखाको उपचार पाइरहनु भएको छ । नगरपालिका भित्रका विद्यालय व्यवस्थित रहेका छन् । भवन निर्माणका कामहरु भएका छन् । त्यसैले मैले सम्झिन लायकका काम धेरै भएका छन् भन्दा फरक पर्दैन । बुँदागत रुपमा भन्नुपर्दा नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? नगरपालिकाको ठुला योजनाहरुमा – १. सिन्धुली गढी दरबारको योजना (बजेट ७ करोड रुपैयाँ), २. सिन्धुली गढी हिलिफीर बन्ने योजना (बजेट ३ करोड रुपैयाँ), ३. सिद्ध लाला मन्दिर भ्यू टावरको निर्माण (बजेट ३ करोड ५० लाख रुपैयाँ), ४. नगरपालिका हुँदै चकमके जाने बाटोको योजना (५२ करोड रुपैयाँको प्रजेक्ट), ५. नगरपालिकाको वडा नं. ९ र १० जोड्ने पुलको निर्माण (१२ करोड रुपैयाँको योजना) लगायत छन् भने नगरपालिका भित्रका साना तिना योजानाहरु त धेरै नै रहेका छन् । आफ्नो नगरपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ नि ? पर्यटन क्षेत्रको प्रचारप्रसार राम्रैसँग गरेका छौं । सिन्धुली गढी हेर्न भन्दै वाह्य तथा आन्तरिक पर्यटकहरुको भिड लागिरहेकै छ । कमलामाई मन्दिरको उचित व्यवस्थापन गरेका छौं भने यस मन्दिरको प्रचारप्रसार पनि गरिरहेका छौं । पर्यटकहरुका लागि होमस्टेको व्यवस्थापन गरेका छौं । कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पुर्याएको असर तथा हालको शैक्षिक अवस्थाका वारे पनि बताइदिनुहुन्छ कि कोरोना भाइरसले नगरपालिका भित्रको शैक्षिक क्षेत्रमा ठुलो असर पुर्याएको छ । कोरोनाको समयमा नगरपालिकामा रहेको सबै विद्यालयहरु बन्द भएको थियो । कोरोनाको प्रभाव नपरेका ठाँउमा सामजिक दूरी कयम गर्दै पठनपाठन सञ्चालन गर्यौं । नगरपालिकामा इन्टरनेट तथा रेडियोका माध्यम बाट पनि पढाउने व्यवस्था गर्यौं । हाल गाँउपालिकामा कोरोनको खासै प्रभाव छैन । नगरपालिकामा रहेका सबै विद्यालयको पठनपाठनहरु नियमित रुपमा सञ्चालन भइरहेको छ । विद्यालयमा माक्स, सेनिटाइजर आदिको प्रयोगलाई अनिवार्य गराएका छौं । नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हामीले नगरपालिकामा बाँझो जमीन नराख्न तथा खेतीयोग्य जमीनको उपयोग गर्न लगाएका छौं । तरकारी खेती गर्नका लागि टनेल पनि वितरण गरिरहेका छौं । हरेक वडामा एउटा जेटिएको व्यवस्थापन गरेका छौं । विउको साटो विरुवा नै दिने अभियानमा रहेका छौं । एक वडा–एक उत्पादन भन्ने अभियान नगरपालिकाको छ । नगरपालिका भित्र जे उत्पादन हुन्छ त्यसै अनुसारका विउ विजन वितरण गर्दै आएका छौं । नगरपालिकामा विभिन्न खाले तरकारी उत्पादन हुने गरेको छ । अनुदानलाई भन्दा खेती अथवा तरकारी व्यावस्थापन तर्फ जोड दिएका छौं । नगरपालिकाले कृषिमा १ करोड र भेटेरिनरीमा १ करोड रुपैयाँ बजेट छुट्याएको छ । नगरपालिकाले रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? नगरपालिकाले युवा स्वरोजगारका लागि भनेर १ करोड रुपैयाँ बजेट छुट्याएको छ । नगर स्वारोजगारको पनि कार्यविधि बनिरहेको छ । युवाहरुलाई विकास निर्माणको काममा लगाएर पनि हामीले रोजगारी दिने वातवरणको विकास गरिरहेका छौं । नगरपालिकामा मानिसहरु प्रायः कस्ता समस्या लिएर आउने गर्छन् ? कोहि खानेपानीको पाइप चाहियो भन्दै आउनुहुन्छ, कोहि रोजगारी चाहियो भन्दै आउनुहुन्छ, कोहि भने स्वास्थ्य सेवा राम्रो हुनुपर्यो भन्नेजस्ता समस्याहरु लिएर आउनुहुन्छ । तपाइँको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालमा सबै वडामा बिजुली पुग्नेछ । नगरपालिका तरकारीमा आत्मनिर्भर बनिरहेकै छ । सबै वडामा सडक पुर्याउने योजना बनाएको छु । नगरपालिकामा रहेका हरेक स्वास्थ्य चौकी सञ्चालमा रहेका छन् । जे होस्, आफूले जिताएकोे जनप्रतिनिधि नगरपालिकको मेयर भएको छ भन्ने अनुभुति जनतालाई भएको छ भन्नेमा विश्वस्त छु ।

युवाको चाहना तथा सीप अनुसारकै रोजगारी दिन प्रयासरत छौं- नगर प्रमुख विष्ट

बागमती प्रदेश अन्तर्गतको मकवानपुर जिल्लामा पर्ने एउटा सुन्दर नगरपालिका हो ‘थाहा नगरपालिका’ । कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित यो नगरपालिका महाभारत श्रृंखलाको मध्य भागमा रमणिय उपत्यकाको रुपमा रहेको छ । यस नगरक्षेत्रको उच्च भागमा रहेको दामन भ्युटावरबाट सर्वोच्च शिखर सगरमाथा सहित २५ भन्दा बढि हिमश्रृंखलाहरु अवलोकन गर्न सकिन्छ । रमाइलो पदमार्ग, शितोष्ण हावापानी, विभिन्न धार्मिकस्थलहरु, प्रशस्त जैविक विविधताजस्ता सम्पदाहरुले थाहा नगरपालिकालाई विशेष बनाएको छ । त्यसैगरी, यहाँको प्रशस्त उर्वर कृषि भुमी त यस क्षेत्रले पाएको वरदान नै हो भन्दा फरक पर्दैन । यस क्षेत्रबाट वार्षिक २ अर्व बरावरको तरकारी देशका प्रमुख शहरहरुका साथै छिमेकी देश भारतमा समेत निर्यात हुने गरेको छ । मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथले यस नगरलाई करिव बिच भागवाट चिर्दै तराईलाई राजधानी काठमाडौसँग जोडेको छ । नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के के रहेका छन्, कोरोनाकाल पछि नगरपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ, महामारीले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, नगरपालिकाले रोजगारीका अवसरहरु कसरी सिर्जना गरिरहेको छ भन्ने लगायतका विषयमा नगर प्रमुख लवशेर विष्टसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्: नगरपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ ? कोरोनाले पक्कै पनि असर पुर्याएको छ । सजगता अपनाउँदा अपनाउँदै पनि कोरोनाका कारण यहाँका २ जनाको ज्यान गयो । महामारीका वेला हामीले २० बेडको क्वारेन्टिन र आइसोलेसन निर्माण गरेका थियौं । हाल भने कोरोनाको त्रास हट्दै गएको भान हुँदैछ । स्थिती पहिलेभन्दा सामान्य बन्दै गएको छ । नगरपालिकामा कस्तो किसिमको योजनालाई प्रथमिकता दिएर काम गरिरहनुभएको छ ? गत साल कोरोनाले विकास निर्माणमा ठुलो असर पुर्याएको थियो । कोरोनाको असर भए पनि सामान्य तरिकाले विकास निर्माणको कामलाई अगाडि बढाएका थियौं । हामीले अहिले भौतिक पूर्वाधार लगायत नागरिकका आवश्यकतासँग सम्बन्धित विकास निर्माणलाई जोड दिएका छौं । सडक, विद्युत, खानेपानी लगायतलाई पनि नगरपालिकाले प्रथमिकतामा राखेको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? हामी अहिले संघियताको पहिलो अभ्यासमा रहेका छौं । पहिले जनप्रतिनिधि नहुने भएको हुनाले कानुन मिलेको थिएन । के-के अधिकार हाम्रा हुन् , के-के अधिकार प्रदेशका हुन् भन्ने कुराहरु छलफल भइरहेको अवस्था थियो । संविधानले तोकेको कुराहरु पनि कसले कसरी प्रयोग गर्ने भन्ने हुन्थ्यो । हाल स्थानीय तह र प्रदेश सरकारबिच राम्रोसँग समन्वय भैरहेको छ । समन्वय गरेरै विकास निर्माणका कामहरु अघि बढाईरहेका छौं । स्थानीय तहमा काम गर्दा मुख्य रुपमा के-कस्ता समस्याहरु आईपर्ने रहेछन् ? स्थानीय तहमा धेरै नै समस्याहरु रहेका छन् । मुल समस्या भनेकै जुन गतिमा विकास हुनुपर्ने हो, त्यो अनुसारको नहुनु नै हो । खानेपानीमा समस्या छ, त्रिभुवन राजपथ छियाछिया परेको छ । खोलाहरुमा पुल निर्माणदेखि लिएर सिँचाइसम्ममा समस्यै समस्या रहेको छ । हामी त्यस्ता समस्याको पहिचान गर्दै त्यसलाई समाधान गर्नेतर्फ केन्द्रीत रहेका छौं । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ नि ? केन्द्र सरकारबाट राम्रै सहयोग मिलेको छ । नगरपालिकालाई बजेट पनि सोचेअनुसारको नै आउने गरेको छ । हाम्रो नगरपालिकामा ९० करोड रुपैयाँ बराबरको बजेट बन्ने गरेको छ । नगरपालिकाले विकास निर्माण गरेका कामहरु कत्तिको प्रभावकारी भएका छन् ? नगरपालिकाले प्रभावकारी काम गरेको छ । योजना कसरी ल्याउने भन्ने विषयमा बनाइएको मोडल अनुसार वडा अध्यक्ष तथा सदस्यहरु गाउँ-टोलमा गएर पहिचान गर्नुहुन्छ । आजसम्म नगरपालिकामा जे-जति विकास निर्माणका काम भएका छन् सबैमा सबैजना सन्तुष्ट भएको पाएको छु । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसके पछि नगरपालिकामा कस्ता परिवर्तन आएका छन् ? म निर्वाचित हुनु अघि बजेटको आकार सानो थियो । काम गर्ने तरिका पनि छिटो छरितो थिएन । नगरिकको माग पनि राम्रोसँग सम्वोधन हुँदैनथ्यो । म निर्वाचित भएपछि विभिन्न क्षेत्रमा सुधार आएको छ । स्वास्थ्य सेवामा पनि परिवर्तन आएको छ । बजेटको आकार सानै भएपनि विकास निर्माणतर्फ सन्तुष्ट गर्ने ठाउँ रहेको छ । तपाईं निर्वाचित भएको ३ वर्ष पुरा हुँदा नगरपालिका भित्र सम्झन लायक काम के-के छन् नि ? खोलामा पुल निर्माण गरेका छौं, घरघरमा खानेपानी पुर्याउने वातावरण बनाएका छौं, आधुनिक कृषि प्रणालीतर्फ नागरिकलाई अवसर प्रदान गरेका छौं, पर्यटन क्षेत्रमा पनि विकास भएको छ, बसपार्कको निर्माण गरेका छौं, हरेक वडामा सडक कालोपत्रे गर्नका लागि कम्मर कसेका छौं, सडकलाई ग्राबेल गरेर यातायातहरु बर्खामा पनि सञ्चालन हुने वातावरण बनाएका छौं, खेल मैदानको निर्माण भईरहेको छ, भुकम्पले क्षति गरेका विद्यालय पुनः निर्माण गरेका छौं, शिक्षा क्षेत्रमा पनि निक्कै परिवर्तन ल्याएका छौं, वडामा एक-एक वटा स्वास्थ्य केन्द्रको स्थापना गरेका छौं, १५ बेडको अस्पतालका लागि टेन्डर प्रकिया अगाडि बढिरहेको छ । तपाईसँग चुनाव लडेका प्रतिस्पर्धीको साथ कस्तो पाइरहनु भएको छ ? मसँग चुनाव लडेका प्रतिस्पर्धीको राम्रै साथ पाइरहेको छु । चुनाव भनेको निर्वाचित भएर आउने एउटा विधि हो । मैले सबै बाट साथ र सहयोग पाइरहेको छु । नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? हामीले केठेश्वर १७ सय मेट्रिक टनको निर्माण गरेका छौं । यस आर्थिक वर्ष भित्र सम्पन्न गर्ने योजना रहेको छ । कोरोनाले गर्दा पनि यसको काममा ढिलाई भएको छ । ११ करोड ४७ लाख रुपैयाँ बराबरको बजेटमा यो काम अघि बढिरहेको छ । २ ठुला पुल निर्माण गरिरहेका छौं । एउटा पुल ५ करोड रुपैयाँको लागतमा र अर्काे पुल ७ करोड ५० लाख रुपैयाँको लागतमा बनिरहेको छ । खानेपानीको एउटा योजना सम्पन्न भएर घरघरमा धारा पुगिसकेको छ । आफ्नो नगरपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हामीले पर्यटन क्षेत्रको प्रचारप्रसारमा बढि जोड दिएका छौं । गाउँघरका सानातिना उत्पादन तथा लोप हुन लागेका समानहरुको प्रचारप्रसार गरिरहेका छौं । सामाजिक अनि धार्मिक क्षेत्रको पनि प्रचारप्रसार गरिरहेका छौं । दामन भ्यु टावरबाट सगरमाथासहित २५ भन्दा बढि उच्च हिमशिखरहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस बाहेक रमाइला पदमार्गहरु, प्रख्यात सिमभन्ज्याङ्ग लगायतले पर्यटकलाई लोभ्याउने हुनाले पनि हामीले यिनको प्रचारप्रसारमा जोड दिएका छौं । कोरोना भाइरसले शैक्षिक क्षेत्रमा पुर्याएको असर तथा हालको शैक्षिक अवस्था वारे बताइदिनुस् न कोरोनाले सबैभन्दा बढि असर शैक्षिक क्षेत्रमा पुर्याएको छ । नगरपालिकामा निजि र सामुदायिक गरी जम्मा ६२ वटा स्कुलहरु रहेका छन् । लकडाउनको समयमा अनलाइन बाट पढाउन सकिन्छ कि भनेर धेरै प्रयत्न गरेका थियौं । सबैका घरमा इन्टरनेट नहुनाले त्यो सम्भव भएन । रेडियोका माध्यम बाट पनि पढाउन थाल्यौं तर त्यो पनि प्रभावकारी भएको थिएन । पछिल्लो समयमा विद्यार्थीहरुलाई विद्यालयमै बोलाएर सामाजिक दुरी कयम गराउँदै पठनपाठन सञ्चालन गरिरहेका छौं । हाल नगरपालिकामा कोरोनाको खासै प्रभाव छैन पनि । नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हाम्रो नगरपालिकामा आलुको धेरै उत्पादन हुने गरेको छ । यसमा प्रधानमन्त्री कृषि आधुनिकिकरण पनि लागु भएको छ । कृषि विकासको लागि नगरपालिकामा रहेको कृषि शाखाले पनि काम गरिरहेको छ । हामीले धेरै मात्रामा हाते ट्रयाक्टरहरु वितरण गरेका छौं । टनेल खेतीलाई विकास गर्नुपर्छ भन्ने ठानेर ५० प्रतिशत अनुदानमा टनेल दिएर प्रोत्साहन गरेका छौं । नेपाल सरकार तथा युएनडीपीको सहयोगमा बजार विकास पनि लागु भएको छ । अनुदानमा नगरपालिकाको नगद दिने कार्यक्रम चाहिँ रहेको छैन । नगरपालिकाले युवाहरुका लागि रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? रोजगारी सिर्जना गर्नका लागि हामीसँग कलकारखाना छैनन् । अहिले हामीले विदेश बाट फर्केका तर रोजगारी नभएकाहरुलाई अनलाइन फर्म भर्न लगाएका छौं । युवाहरुको चाहना तथा सीप उनीहरुसँगै सोधेर कामको अवसर मिलाउने वातावरण तयार गरिरहेका छौं । मानिसहरु नगरपालिकामा प्रायः कस्ता समस्या लिएर आउने गर्दछन् ? मानिसहरु विभिन्न किसिमका समस्या लिएर आउने गरेका छन् । सबैभन्दा बढि त सडकको कुरा लिएर आउँछन् । तपाइँको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? नगरिकको मागलाई सकेसम्म सम्वोधन गर्न प्रयासरत छु । म आफ्नो कार्यकालमा जे-जति पूर्वाधार विकासका कामहरु गर्छु, इमान्दारीतापूर्वक गर्नेछु । कमसेकम यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई इमान्दारपूर्वक काम गर्ने मान्छेका रुपमा सम्झने गरे भने मेरो लागि त्यही नै सबै भन्दा ठुलो सफलता हुनेछ ।