वैदेशिक रोजगारबाट फर्केहरूका तथ्याङ्क सङकलन सुरु
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाहरुको तथ्याङ्क सङकलन सुरु गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्रै रोजागरी उपलब्ध गराउन नगरपालिकाले तथ्याङ्क सङकलनको कार्य अगाडि बढाएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले स्थानीय तहको सहकार्यमा त्यस व्यक्तिलाई पुनः एकीकरणका कार्यक्रम सञ्चालनका लागि नगरपालिकाका १२ वटै वडामा तथ्याङ्क सङ्कलन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले जानकारी दिए । वैदेशिक रोजगार बोर्डको सचिवालयबाट स्वीकृत पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ बमोजिम कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ । कार्यक्रम स्थानीय तहको माग, आवश्यकता बमोजिम स्थानीय तहमार्फत् सञ्चालन हुने उनको भनाइ छ । स्वदेशभित्रै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारी माथिको परनिर्भरतालाई क्रमशः कम गर्दै लैजाने उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन हुन लागेको छ । ‘नगरपालिकाका सबै वडामा यसबारे पत्राचार गरी सकेका छौँ’, उनले भने, ‘वडा कार्यालयमार्फत् सात दिनभित्र तथ्याङ्क सङ्कलनपछि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले इच्छाएका कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइनेछ ।’ नगरपालिकाका अधिकांश युवाहरु रोजगारीका लागि भारतलगायत खाडीमुलुकमा जाने गरेका छन् । विदेशमा सिकेको सीपको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्नका लागि कार्यक्रमले सघाउने नगर प्रमुख रणबहादुर महराको भनाइ छ ।
काठमाडौं उपत्यकामा मेट्रो चलाउन सहकार्य गरौं : चिरिबाबु महर्जन
काठमाडाैं । ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उनले उपत्यकामा मेट्रो चलाउन निकै आवश्यक रहेकाे बताउँदै त्यसकाे लागि आफूहरु सहकार्य गर्न तयार रहेको पनि बताए । ‘काठमाडौं महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसंख्या छ, ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ, तसर्थ अब यहाँ एककिसिमको मेट्रो अथवा ¥यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ, तसर्थ यसमा म काठमाडौं महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडी बढौँ,’ उनले भने । यस्तै, उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गरे । उनले ललितपुरमा यस वर्ष ३० किलोमिटर साइकल लेन थप्न लागेकाे पनि जानकारी दिए । ‘ललितपुरबाट काठमाडौंमा पनि जोडौँ, काठमाडौंले बुढानिलकण्ठमा जोडेर शिवपुरीको टुप्पोसम्म बाइसाइकल लेन बनाएर त्यो गोदाबरीको गार्डेनसम्म पु¥याउन पायौँ भने एकदमै राम्रो हुन्छ, यसको निमित्त गोदाबरी नगरपालिकाले ललितपुर महानगरपालिकाको बोर्डरबाट बोडानिकल गार्डेनसम्म बनाउनको लागि बजेटको व्यवस्थापन गरिसकेको छ । तसर्थ यता विलम्व नहोस् भनेर मैले सुझाव दिएँ,’ उनले भने ।
ललितपुर महानगरले हस्तकला क्षेत्रमा छलाङ मार्ने मेयर महर्जनकाे दाबी
काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले हस्तकला क्षेत्रमा छलाङ मार्ने योजना राखेर अगाडि बढेको बताएका छन् । बुधबार नेपाल हस्तकला महासंघको स्वर्ण वर्षको समापन तथा १०औं हस्तकला दिवसको शुभारम्भ समारोह कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो बताएका हुन् । ललितपुर क्षेत्रमा उत्पादित हस्तकलाका सामानहरू राख्ने कोसेली घर पाटन ढोकामा स्थापना गरेको पनि महर्जनले बताए । महानगरपालिका विश्वको ३५ औं हस्तकला सहर हो । महानगरलाई विश्व शिल्प परिषद्ले हस्तकला सहर भनेर सदस्यता प्रदान गरेकाे छ । सदस्यता प्राप्त गरेपछि हस्तकलामा राम्रो काम गर्ने सोचमा राखेको तर सदस्यता प्राप्त गरे पनि कोभिड–१९ का कारण राम्रो काम गर्न नसकेको महर्जनले बताए । अब भने हस्तकला क्षेत्रमा महानगरको छलाङ मार्ने याेजना रहेकाे महर्जन दाबीको छ । ‘हामीसँग हस्तकलाका सामान उत्पादन गर्न सक्ने अनुभव छैन, एकादुईसँग राम्रो अनुभव छ, तर त्यसले पुग्दैन, हामी हस्तकलाकाे कार्यलाई अझ चुस्तदुरुस्त बनाउन हस्तकला संघसँग सहकार्य गरेर अगाडी बढ्दैछौं,’ उनले भने । मेयर महर्जनका अनुसार माघको पहिलो हप्ता नै कोसेली घरकाे उद्घाटन गर्ने तयारी छ । महानगर भित्र पर्यटकको बसाइ छोटिएको कारण हस्तकलाका सामानले बजार नपाएकाे उनले बताए । पाटनमा भिजिट गर्न आउने पर्यटकहरूले हस्तकलाका सामान खरिद गर्न नपाइएको गुनासोहरू आइरहेको पनि महर्जनले बताए । सोही कुरालाई सम्बोधन गरेर महानगरले इभी बस सञ्चालन गर्ने तयारी गरिरहेको छ । इभी बस महानगर भित्र सञ्चालन गर्ने योजना सफल भने भइसकेको छैन । तर, अब चाँडै नै इभी बस महानगर भित्र सञ्चालन गर्ने तयारी रहेको पनि महर्जनले बताए ।