आइएमई इेलेक्ट्रिकले ललितपुर महानगरलाई दियो राफ्ट स्कूटर
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इेलेक्ट्रिकले ललितपुर महानगरपलिका लाई ५ वटा राफ्ट इेलेक्ट्रिक स्कूटर हस्तान्तरण गरेका छ । बिहीबार ललितपुरमा एक कार्यक्रममा आयाेजना गरी कम्पनीले ललितपुर महानगरपलिकालाई स्कूटर हस्तान्तरण गरेका हो । आइएमई इेलेक्ट्रिक नेपालको लागि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु आधिकारिक विक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । याे स्कुटर एक पटक फुल चार्जे गर्दा १०० कि मि रेन्जसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ । चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर सुविधा हुने बताए । यस्तै, नगर प्रमुख सिताराम हाछेथुले भने क्विक रेसपोन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताए ।
रक्सी खाने र बिक्री गर्नेलाई एक महिना ढुंगा बाेकाइने
डोटी । यहाँका स्थानीय तहले मदिरा सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए । वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो । वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ । यसैगरी जिल्लाकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्नेलाई ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए । यसैगरी मदिरा सेवन गर्नेलाई पहिलोपटक दुई हजार ५०० र दोस्रो पटक सेवन गर्नेलाई पाँच हजार जरिवाना तोक्ने निर्णय गरिएको छ । सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी जानकारी दिए । जिल्लामा नौवटा स्थानीय तह रहे पनि अन्य पालिकामा भने मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ । कतिपय स्थानीय तहमा लाइसेन्स लिएर मदिरा बिक्री वितरण भइरहेकाले तिनीहरुलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी खड्काले जानकारी दिए । रासस
करार कर्मचारीलाई नहटाउन स्थानीय सरकारलाई आग्रह, अनुभवीबाट सेवा प्रभावकारी
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल गाउँपालिकामा कार्यरत करारका कर्मचारी नहटाउने सबै गाउँ पालिकालाई आग्रह गरेको छ । साउन ४ गते महासंघले ६० गाउँपालिकाहरुलाई पत्राचार गर्दै यसअघि स्थानीत तहमा कार्यरत अनुभवी कर्मचारी परिचालन गरेर मात्र स्थानीय सरकारको सेवा प्रभावकारी हुनेमा जोड दिएको छ । ‘गाउँसभाबाट स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिम दरवन्दीमा रहेका करारका कर्मचारीको हकमा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भै आएपश्चात स्वतः करार अवधि समाप्त हुने नै छ । तर हाल कार्यरत अनुभवी जनशक्तिलाई उनिहरुको कार्यक्षमताको कुनै मूल्याङ्कन नगरी एकमुस्टरुपमा हटाउने र पुनः सोही पदमा करारमा नियुक्ति गरिनु न्यायिक तथा रोजगारीको हकको दृष्टिकोणबाट समेत उपयुक्त हुदैन । यो अभ्यासले स्वयम् गाउँपालिकाको कार्यसम्पादनमासमेत प्रभावकारीता आउदैन’ महासंघले जारी परिपत्रमा उल्लेख छ । स्वीकृत दरबन्दी भित्र विद्यमान कानुनबमोजिम प्रकृयासम्मत नियुक्ती भएका र सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी सेवा लिनु स्थानीय सरकारको लागि समेत अवसर भएको महासंघले जनाएको छ । ती कर्मचारीको अनुभव र क्षमता अभिबृद्धिका लागि राज्यको लगानी परिसकेको तर्फ पनि महासंघले पालिकाहरुको ध्यानाकर्षण गराएको छ । स्थायी नियुक्तिका लागि सम्बन्धित प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर नआएसम्मका लागि नियमानुसार स्वीकृत दरवन्दीमा करारमा नियुक्ति पाएका अनुभवी जनशक्तिहरुलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा म्याद थप गरी स्थानीय सरकारको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनेतर्फ केन्द्र्रित हुनु पर्ने महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।