उपत्यकाको फोहर बिहीबारदेखि पुनःव्यवस्थापन हुने
काठमाडौं । एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर भोलि बिहीबारदेखि पुनःव्यवस्थापन हुने भएको छ । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न सकेको थिएन । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो । बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको छ । कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आआफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो । हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ । यसैबीच कामपाले उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको कामलाई तीव्रता दिएको छ । यसका लागि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहकै अग्रसरतामा कुहिने फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने काम भइरहेको छ । कामपाले फोहरको प्रभावकारी व्यवस्थापनका लागि यही साउन १ गतेदेखि ३२ वटै वडाबाट कुहिने र नकुहिने फोहर फरक किसिमले नै व्यवस्थापनको कार्य सुरु गरिसकेको छ
करारमा आफ्ना मान्छे राखेकाे भन्दै १० दिनदेखि नगरपालिकाको काम ठप्प
काठमाडौं । स्थानीय तहमा चुनिएका नवनिर्वाचित पदाधिकारीहरुले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प बनेको छ । सुनसरीको इनरुवा नगरपालिकाका करार कर्मचारीहरु गत १० दिन यता निर्वाचित जनप्रतिनिधिले आफ्ना मान्छे बाहेक अरुलाई निकालेको भन्दै आन्दोलन गरेका हुन् । करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका कर्मचारी आन्दोलनमा उत्रिँदा नगरसहित वडाको कामकाज प्रभावित बनेको छ । कार्य मूल्यांकनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निस्कासनमा परेका कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् । निस्कासनमा परेका कर्मचारीहरुले राजनैतिक स्वार्थ र पहुँचका आधारमा आफ्ना बाहेककालाई हटाइएको आरोप लगाएका छन् । नगरपालिकाका मेयर केदार भण्डारीले नगरपालिकालाई त्यति धेरै कर्मचारीको आवश्यक नपरेकोले हटाएको बताए । उनले नगरपालिकाले आर्थिक भार व्यहोरेर त्यत्तिका मात्रामा कर्मचारी राख्न नसक्ने बताए । करार म्याद थप नहुने दाबी गरे । इनरुवा नगरपालिकाले सूचना प्रकाशित गर्दै साउनको १ गतेबाट लागू हुनेगरी ५७ जना कर्मचारीको म्याद थप नहुने जनाएको थियो । नगरपालिकाले ५७ जनालाई हटाएपनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरेको छ । विवादको समाधानका लागि मेयर भण्डारीले भने २० गतेसम्मको समय माग गरेका छन् ।
गोरखाको भीमसेन थापा गाउँपालिकामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
गाेरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ । गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए । गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने उद्देश्यले पालिकाभित्रका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट ‘ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम’ सञ्चालन गरी सेवा सुरु गरेको उनले बताए । ‘प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरी प्रत्येक वडाका स्वास्थ्य संस्थामा तालिकाअनुसार स्वास्थ्यकर्मी परिचालनको व्यवस्था मिलाएका छाैं’, उनले भने, ‘तिनै स्वास्थ्यकर्मीबाट वडामा गर्भवतीको गर्भ अवस्थाबारे भिडियो एक्सरे गरी गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाबारेमा नियमित जानकारी लिन्छौँ ।’ गाउँपालिकामा ‘फोकल पर्सन’ नभएकाले तत्कालका लागि भने नजिकै रहेको छिमेकी बारपाक सुलिकोट गाउँपालिकाबाट बोलाएर उनीहरुकै नेतृत्वमा सेवा सञ्चालन गरिरहेको शाखा प्रमुख खनालले जानकारी दिए । ‘यसअघि गर्भवतीलाई भिडियो एक्सरेका लागि गोरखा अस्पताल वा सदरमुकाम नै धाउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘अब त्यो बाध्यता हटेको छ ।’ वडावडामा पुगेर निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेसँगै अब कोही पनि गर्भवतीले आफ्नो गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाको परीक्षणका लागि नछुट्ने उनले बताए । ‘यसअघि पनि हामीले अस्पतालमा पुगेर नियमित गराउनका लागि जनचेतना प्रदान गर्ने काम त गरेका थियौँ’, प्रमुख खनालले भने, ‘तर कतिपयले जानुहुन्थ्यो, अब गाउँमा सुविधा भएपछि कोही छुट्दैनन् भन्ने विश्वास छ ।’ अहिले पालिकाभित्रैबाट प्रत्येक वडामा पुगरे सेवा उपलब्ध गराउँदा समयमै समस्याको पहिचान गरी उपचार गर्नसक्ने अवस्था सिर्जना भएको प्रमुख खनालको भनाइ छ । ‘सेवा सुरु गरेको छोटो अवधि दुई जना गर्भवतीलाई जोखिमबाट सुरक्षित गर्नसकेका छौँ,’ उनले भने, ‘एक जना महिलाको तत्काल शल्यक्रिया गर्नुपर्ने र एक जना महिलाको शिशुको स्वास्थ्य अवस्था ठीक नभएको पाइएपछि आमाको सुरक्षाका लागि गर्भपतन गर्न सुझाव दिएकाले समयमा गर्भपतन गर्दा ज्यान खतराबाट जोगिएको छ ।’ गर्भावस्थाभरिमा कम्तीमा चार पटक भिडियो एक्सरे परीक्षण गर्नुपर्ने भएकाले गाउँपालिकाले वडामा नियमित तालिका बनाएर सेवा उपलब्ध गराउँदै आएको उनको भनाइ छ । सार्वजनिक बिदाको दिन पनि सेवा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । रासस