हरियालीसहितको अपाङ्गमैत्री फुटपाथ निर्माण गर्दै प्राधिकरण, पालिकाले प्रस्ताव पेश गर्नु पर्ने
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यका भित्र हरियाली सहितको अपाङ्गमैत्री फुटपाथ निर्माण गर्ने भएको छ । प्राधिकरणले उपत्यका भित्रका पालिकाहरूसँग साझेदारी गरेर सो फुटपाथका निर्माण गर्ने भएको हो । उपत्यकका ३ शहर काठमाडौं, भक्तपुर र ललितपुर भित्रका पालिकामा हरियाली सहितको अपाङ्गमैत्री फुटपाथ निर्माण गर्ने योजना रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्ता नारायण प्रसाद भण्डारी बताए । प्राधिकरणले सो योजना चालु आर्थिक वर्ष २०७९/८० मा समावेश गरेको छ । प्रवक्ता भण्डारीका अनुसार यही वर्षभित्र फुटपाथ निर्माणको काम सुरु भई सम्पन्न हुनेछ । उपत्यका भित्रका विभिन्न सडकमा हरियाली सहितको फरक क्षमता मैत्री फुटपाथ निर्माण हुनेछन् । सबैको लागि हिँड्न उपयुक्त हुने गरी फुटपाथ निर्माण गर्ने लक्ष्य लिएको पनि भण्डारीले बताए । उक्त फुटपाथ निर्माण गर्नको लागि प्राधिकरणले १४ करोड रुपैयाँ विनियोजन गरेको छ । उनका अनुसार अपाङ्गमैत्री फुटपाथका निर्माण गर्नको लागि प्राधिकरणले काठमाडौंमा ६ करोड, भक्तपुरमा ३ करोड र ललितपुर जिल्लामा ५ करोड रुपैयाँ गरी कुल १४ करोड रुपैयाँ विनियोजन गरेको छ । सो फुटपाथ उपत्यका पालिकाहरूसँग प्राधिकरणले साझेदारी गरेर निर्माण गर्ने पनि भण्डारीले बताए । केही दिनअघि मात्र प्राधिकरणले फुटपाथ बनाउन इच्छुक पालिकाहरूलाई प्रस्तावको आव्हान गरेको थियो । जसमध्ये केही पालिकाले प्राधिकरणलाई प्रस्ताव पेश गरेको पनि भण्डारीले बताए । अपेक्षा अनुसारको प्रस्ताव चाहिँ पेश भएको छैन । भण्डारीका अनुसार सोही किसिमका फुटपाथ निर्माण गर्न इच्छुक पालिकाले साउन अन्तिमसम्म प्रस्ताव पेश गर्न सक्ने छन् । प्रस्ताव पेश भएका पालिका भित्र सम्पुर्ण अध्ययन तथा डिपिआर तयार गरी फुटपाथ निर्माणको कार्य अगाडि बढाइने प्राधिकरणले जानकारी दिएको छ । पालिकाको आवश्यकता हेरेर फुटपाथको निर्माण हुने पनि भण्डारीले बताए । कुन ठाउँमा कति किलोमिटर फुटपाथको निर्माण हुन्छ भनेर यकिन छैन । ‘गाडी चढेर हिँड्नेले इन्धनको खपत गर्छ, पैदल हिँड्ने मान्छेले स्वास्थ्य राम्रो बनाउँछ, त्यसैले हिँड्ने मान्छेलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेर हरियाली सहितको अपाङ्गमैत्री फुटपाथ निर्माण गर्ने योजना बनाएका हौं,’ उनले भने । प्राधिकरणले यसको सम्पूर्ण अध्ययन गरेर मात्र फुटपाथ निर्माण गर्ने योजना बनाएको छ । सर्वसाधारणको लागि हिँड्ने उपयुक्त ठाउँ फुटपाथ बनाउने सोचका साथ सो योजना समावेश गरेको पनि भण्डारीले बताए । ‘फुटपाथ शहरका हरेक ठाउँमा निर्माण भएको छन्, तर व्यवस्थित फुटपाथ भने कतै छैन, फुटपाथमा हिँड्दा पनि सर्वसाधारण सास्ती भइहरेको छ, नगरपालिका भित्रका अव्यवस्थित फुटपाथलाई प्राथमिकता दिएर काम गर्न लागेका हौं,’ उनले भने । प्राधिकरणका अनुसार पालिकाको अति आवश्यक ठाउँमा मात्र फुटपाथको निर्माण हुनेछ । यो योजना प्राधिकरणले छिटै अगाडि बढाउने तयारीमा छ ।
ल्याण्डफिल साइटमा फोहोर बोकेर गएको गाडी तोडफोड
काठमाडौं । गए राती फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीमा तोडफोड भएको छ । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौं महानगरपालिकाका २ वटा डोजरमा तोडफोड भएको छ । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीको रातको समय पारेर आलेटारनजिक पार्किङ् गरेर राखिएका गाडीहरुमा तोडफोड भएको हो । वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार महानगरले गरेको छ । तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका महानगरले जनाएको छ । घटनाका बारेमा महानगरका प्रमुखको सचिवालय सदस्य ईञ्जिनियर सुनिलले महानगरमा बालेन्द्र शाह (बालेन) ले प्रमुखका रुपमा निर्वाचित भएर आएदेखि नै अवरोध हुँदै बताएका छन् । ‘शुरुवातमा हामीले मुख्य समस्या भनेको सडक हो भन्ने बुझेर त्यही अनुसार काम गर्यौं, यसका लागि सडक विभागलाई नियमित कामका लागि दबाब दिँदै गर्यौं, यसरी काम गरिरहँदा हामीलाई के जानकारी भयो भने अवरोध हुनुको पछाडि फोहोर र पूर्वाधार निर्माणसँग सम्बन्धित स्थानीय व्यवसायको सम्बन्ध छ,’ उलने भने ।
बालेनले नर्भिकलाई भने : सरकारी जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउनु, नहटाए कारवाही गर्छु
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले नर्भिक अस्पतालले सरकारी जग्गमा बनाएको संरचना २४ घण्टाभित्र हटाउन निर्देश्न दिएका छन् । सोमबार महानगरले नर्भिकलाई पत्र लेख्दै लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा तत्काल हटाउन निर्देशन दिएका हुन् । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् । पत्रमा लेखिएको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कि.नं. २०८५ क्षे.फ. १–८–१–१ जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिम तर्फ निर्मित संरचनाहरु (क्यान्टिन भवन लगायत) नेपाल सरकारसंग भएको सम्झौता विपरीत र नक्शापास स्वीकृत नगरी निर्माण भएको पाइएकोले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टा भित्र हटाउनु हुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार कार्वाही गरिने व्यहोरा समेत सूचित गरिन्छ।’