कालीगण्डकी करिडोरका ४६ ठाउँमा पहिरो, पन्छाउने काम जारी
काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा-बेनी-जोमसोम-कोरला सडकका विभिन्न ४६ स्थानमा पहिरो, डुबान र सडक कटान भई यातायात पूर्ण रूपमा प्रभावित भएको छ । सडक विभागका अनुसार मालढुंगालाई सुरु विन्दु मानी कायम गरिएको चेनेज अनुसार विभिन्न खण्डमा बाटो अवरुद्ध भएको हो । सडकका अधिकांश स्थानमा लेदोसहितको पहिरो खसेको छ । लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी (१, २ र ३ सिरुबारी), जलथले, सुकेबगर, दाना, लाटोखोला, लेतेखोला, पाण्डाखोला, एकलेभट्टी, कागबेनी, तिरीगाउँ वारी, ब्रीन ताङ्बे, ताङ्बे खोल्सा (पहिलो र दोस्रो), छुसाङ खोल्सा, स्याङ्बोचे, घमी, चराङ, छोसेर र नेचुङ भन्सार घुम्तीमा लेदोसहितको पहिरोका कारण आवागमन ठप्प छ । खोला तथा नदीको उच्च बहावले लामाखेत र बेगखोलामा सडक डुबानमा परेको छ भने भिरकाटे, तातोपानी कुण्ड, नाच्याङ, खान्भिस्ता, घ्याकर खोला, समर खोला र झोखोलामा सडक कटान भएको छ । चैलेमा भारी वर्षाले सडक काटेको छ भने पोखरेबगरमा पुल बगेको छ । यसैगरी, नौनीबगरमा ढुङ्गासहितको पहिरो र महभीरमा चट्टानसहितको पहिरो खसेको छ । रुप्से, काभ्रेभीर, खरेखोला, घासा र कैकुखोलामा ठूला ढुङ्गा खसेर बाटो बन्द छ भने मार्फामा कलभर्ट बन्द भई पानी सडकमाथि बगिरहेको छ । सडकमा पहिरो र कटानको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि पछिल्लो अवस्था बुझ्न अनुरोध गरिएको छ । हाल उपलब्ध उपकरण र जनशक्ति परिचालन गरी अवरोध हटाउने कार्य भइरहेको छ ।
दशैंमा माइडियाको विशेष योजना, ३७ हजार ७ सयसम्म क्यासब्याक
काठमाडौं । दशैंलाई लक्षित गर्दै होम एप्लायन्सेस ब्रान्ड माइडियाले विशेष उत्सव योजना सार्वजनिक गरेको छ । ‘दिस दशैं, ब्रिङ होम द सेलिब्रेसन’ भन्ने सन्देशसहित ल्याइएको योजनामा माइडियाका विभिन्न घरायसी उपकरण खरिद गर्ने ग्राहकले क्यासब्याक, सुनिश्चित उपहार र अन्य सुविधा पाउनेछन् । योजनाअन्तर्गत ग्राहकले ३७ हजार ७ सय रुपैयाँसम्मको सुनिश्चित क्यासब्याक पाउनेछन् । साथै विभिन्न उपकरणको खरिदमा आकर्षक उपहारसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर खरिदमा इन्डक्सन कुकटप, फ्रन्ट लोड वासिङ मेसिनमा ६ किलो सर्फ एक्सेल, टप लोड वासिङ मेसिनमा ४ किलो सर्फ एक्सेल र सेमी अटोमेटिक वासिङ मेसिनमा २ किलो सर्फ एक्सेल निःशुल्क दिइनेछ । त्यस्तै, डिसवासर खरिदमा २ वटा वासिङ ट्याब्लेट उपहारस्वरूप पाइनेछ । योजनामा सहभागी ग्राहकले हरेक महिना हुने लक्की ड्रमार्फत माइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने अवसर पनि पाउनेछन् । लक्की ड्रमा सहभागी हुन ग्राहकले उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ । माइडियाले ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा समेत उपलब्ध गराएको छ । छनोट गरिएका उत्पादनमा १० वर्षसम्मको वारेन्टी सुविधा पनि रहेको कम्पनीले जनाएको छ । यो विशेष योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको हो । दशैंमा परिवारसँग बिताइने खुसीका पललाई अझ सहज र विशेष बनाउने उद्देश्यले आधुनिक प्रविधि, उपयोगी सुविधा र आकर्षक उपहारसहित योजना ल्याइएको माइडियाले जनाएको छ । चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा माइडियाका उत्पादन बिक्री गर्दै आएको छ । माइडियाका उत्पादन नेपालभरिका आधिकारिक डिलर, २२ वटा सीजी डिजिटल शोरुम तथा अनमष्नष्तब।िअयm।लउ मार्फत उपलब्ध छन् । नेपालमा माइडियाका रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ ओभन, चिम्नी तथा विभिन्न साना घरायसी उपकरण उपलब्ध छन् । ग्राहकले आफ्नो परिवारको आवश्यकता, घरको आकार र जीवनशैलीअनुसार विभिन्न मोडल छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।
शिवम सिमेन्टले अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीहरूलाई बाँड्यो न्यानो कपडा तथा शैक्षिक सामग्री
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल व्याग सहित विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । एक कार्यक्रममार्फत केन्द्रमा रहेका विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनलाई थप सहज बनाउने उद्देश्यका साथ आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो । करिब ६ महिनाअघि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा रोल्पा नगरपालिका–१०, धाङ्सी निवासी विशेष क्षमता भएका बालक सन्देश बुढा मगरको प्रेरणादायी संघर्षको कथा सार्वजनिक भएको थियो । जन्मजात दुबै हात नचल्ने अवस्थाका बाबजुद खुट्टाको सहारामा लेख्दै अध्ययनलाई निरन्तरता दिइरहेको समाचार सार्वजनिक भएपछि शिवम् सिमेन्ट्स लिमिटेडले उनको शिक्षालाई निरन्तरता दिन पहल गरेको थियो । यसअघि शिवम् सिमेन्ट्स लिमिटेडले सन्देश बुढा मगरको शैक्षिक भविष्य सुनिश्चित गर्ने उद्देश्यले काठमाडौंस्थित अपाङ्ग नवजीवन केन्द्र तथा खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरी उनको माध्यमिक तहसम्मको अध्ययनका लागि आवश्यक सहयोग गर्ने व्यवस्था मिलाएको थियो । उक्त सहकार्य अन्तर्गत अपाङ्ग नवजीवन केन्द्रले आवास, हेरचाह तथा अध्ययन समन्वयको जिम्मेवारी लिएको छ भने विद्यालयले विशेष शिक्षा अन्तर्गत अध्ययनको अवसर उपलब्ध गराइरहेको छ । सन्देशको अध्ययन तथा आवश्यक व्यवस्थापनका लागि लाग्ने खर्चमा शिवम् सिमेन्टले नियमित सहयोग गर्दै आइरहेको छ । कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले शिक्षा हरेक बालबालिकाको मौलिक अधिकार भएको उल्लेख गर्दै विशेष आवश्यकता भएका बालबालिकाहरूले पनि समान अवसरसहित गुणस्तरीय शिक्षा प्राप्त गर्नुपर्नेमा जोड दिएका थिए । साथै समाजका आवश्यकता भएका वर्गहरूको जीवनस्तर सुधार तथा सशक्तीकरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेका थिए । अपाङ्ग नवजीवन केन्द्रका पदाधिकारीहरूले शिवम् सिमेन्टले सन्देश बुढा मगरको शिक्षाका लागि गरेको सहयोग तथा केन्द्रका अन्य विद्यार्थीहरूलाई उपलब्ध गराएको सामग्रीले विद्यार्थीहरूको मनोबल वृद्धि हुनुका साथै अध्ययनमा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।