काठमाडौंको यातायात प्रणाली सुधार्ने गुरुयोजनाका लागि सुझाव माग

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको सहरी यातायात प्रणालीसम्बन्धी गुरुयोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कन (एसईए) प्रतिवेदन तयार गर्ने भएको छ ।  पूर्वाधार विकास मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको प्राविधिक सहयोगमा ‘काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना’ को रणनीतिक वातावरणीय मूल्याङ्कन प्रतिवेदन तयार गर्न लागेको हो ।  मन्त्रालयका अनुसार ‘जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात’को उद्देश्यसहित गुरुयोजना तयार भइरहेको छ । गुरुयोजनाले उपत्यकाको जनसङ्ख्या वृद्धि, पूर्वाधार र बढ्दो सवारी चापलाई आधार बनाएर भविष्यमा आवश्यक योजना तथा नीति निर्माणका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । गुरुयोजनाबाट काठमाडौं उपत्यकाको सवारी चाप व्यवस्थापन, सार्वजनिक यातायात प्रणालीको सुदृढीकरण तथा दिगो सहरी यातायात प्रणाली विकासमा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले ३० दिनभित्र गुरुयोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनको मस्यौदा प्रतिवेदनमाथि राय–सुझाव उपलब्ध गराउन सरोकारवालालाई आग्रह गरेको छ । राय–सुझाव पूर्वाधार विकास मन्त्रालय, सिंहदरबार, काठमाडौंमा वा मन्त्रालयको इमेलमार्फत पठाउन सकिनेछ । प्रतिवेदन मन्त्रालयको आधिकारिक वेबसाइटमा समेत राखिएको मन्त्रालयले जनाएको छ ।

पुरानो साटेर नयाँ टीभिएस चढ्ने मौका, भृकुटीमण्डपमा ५० भन्दा बढी भ्यालुएटरसहित महा एक्सचेन्ज मेला

काठमाडौं । नेपालका लागि टीभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भृकुटीमण्डपमा 'अचम्मैको महा एक्सचेन्ज' मेलाको आयोजना गरेको छ । असोज १२ गते देखि असोज १८ गतेसम्म सञ्चालन हुने उक्त मेलाको उद्घाटनसँगै टीभिएसका दुई नयाँ मोडल- एन्टोर्क १५० र एपाचे आरटीआर २०० ४भी युएसडीसहितको प्रोजेक्टर हेडल्याम्प मोटरसाइकलको अनावरण गरिएको छ ।  कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियार, निर्देशक दीपा अग्रवाल, टीभिएस इन्डियाका एसिया रिजनल बिजनेस हेड अनुभव बाली तथा ब्रान्ड म्यानेजर प्रसाद सुन्दरमले नयाँ सवारी साधनहरूको संयुक्त रूपमा अनावरण गरेका थिए ।  आगामी दशैं-तिहारलाई लक्षित गर्दै प्रिमियम र रेसिङ डीएनमा आधारित एन्टोर्क १५० को मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ र अपसाइड-डाउन फोर्क तथा प्रोजेक्टर हेडल्याम्पयुक्त नयाँ एपाचे आरटीआर २०० ४भीको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ । उद्घाटन समारोहमा चर्चित कलाकार व्योमाको सांगीतिक प्रस्तुति, लो मान्थाङ विशेष भिडियो र रोमाञ्चक स्टन्ट शोले भृकुटीमण्डपको माहोल ऊर्जामय बनाएको थियो ।  कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवाल र टीभिएसका एसिया रिजनल बिजनेस हेड अनुभव बालीले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र पर्फर्मेन्स उपलब्ध गराउन दुवै मोडल कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।  मेलामा ग्राहकका लागि पुरानो दुईपाङ्ग्रे सवारी साधनको उच्चतम मूल्याङ्कनका लागि ५० भन्दा बढी भ्यालुएटरहरू खटाइएको छ । साथै १०० प्रतिशत क्यासब्याक, १० लाखसम्मको नगद छुट वा गोल्ड की जित्ने अवसर, नागरिकता र लाइसेन्सकै आधारमा सरल फाइनान्स, र दैनिक दुई जनालाई ५ वर्षसम्म निःशुल्क सर्भिस जस्ता सुविधाहरू राखिएका छन् ।  जिमखाना स्टन्ट, टेस्ट राइड, गेम जोन र फुड स्टलसहित बिहान १० बजेदेखि साँझसम्म सञ्चालन हुने यो मेलाले चाडपर्वको माहौललाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ ।

सुनचाँदी आयात तथा बिक्री-वितरणका समस्या सल्टाउन बैंक, व्यवसायी र राष्ट्र बैंक एकै ठाउँमा

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा जारी सुनचाँदीको आयात तथा बिक्री-वितरणसम्बन्धी कार्यविधिको कार्यान्वयनका क्रममा वाणिज्य बैंक तथा व्यवसायीहरूले भोगिरहेका व्यावहारिक कठिनाइ र चुनौतीबारे छलफल गर्न बैंक-व्यवसायी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनासको अध्यक्षतामा मंगलबार महासंघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रतिनिधि, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत, विभिन्न वाणिज्य बैंकका विभागीय प्रमुखहरू तथा महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।  महासंघका सचिव केशरबहादुर विश्वकर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा व्यवसायीहरूले बैंकबाट सुन खरिद गर्दा अपनाउनुपर्ने झन्झटिलो प्रक्रिया, आवश्यक कागजात, भुक्तानी व्यवस्था, भन्सार दर तथा सुनको मूल्यमा हुने उतार-चढावले बजारमा पारेको नकारात्मक प्रभावबारे ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा बैंकका प्रतिनिधिहरूले सुन बिक्री-वितरणसम्बन्धी नियामकीय प्रक्रिया, मूल्य व्यवस्थापन र अभिलेखीकरणबारे स्पष्ट पार्दै व्यवसायीहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल राष्ट्र बैंकका उपनिर्देशक यज्ञ श्रेष्ठ र नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले व्यवसायीहरूले उठाएका समस्या र प्राप्त सुझावहरूलाई नियामक निकायसमक्ष पुरÞ्याई समाधानका लागि पहल गर्ने आश्वासन दिए ।  महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले धन्यवाद ज्ञापन गर्दै समापन गरेको अन्तरक्रियामा पछिल्लो समय सुनचाँदी बजारमा देखिएको सुस्तता अन्त्य गर्न तथा बजारलाई चलायमान बनाउन सुनचाँदीमा लाग्ने भन्सार महसुल र अन्य करका दरहरू छिमेकी राष्ट्रहरूसँग प्रतिस्पर्धी हुने गरी घटाउन सरकारसमक्ष पुनः पहल गर्ने निष्कर्ष निकालिएको छ ।