उपत्यकाको चारै दिशमा स्याटलाइट सिटी बनाउँन साढे दुई खर्ब, जग्गा प्राप्तीमा मात्रै सवा खर्ब लाग्ने

काठामाडौं । उपत्यकाभित्रका चार स्थानमा विकास गर्न लागिएका महत्वकांक्षी चार नयाँ नगर (सयटेलाइट सिटी) का लागि सरकारले २ सय ५० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने भएको छ । पहिलो ५ वर्षभित्रमा जग्गा प्राप्ती र विकासका लागि मात्र १ खर्ब ३० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने छ । काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत विकास गर्न लागिएका स्याटेलाइट सिटीमध्ये काठमाडौंको इशान (पूर्व पश्चिम)मा रहने नगरमा सबैभन्दा बढी लगानी लाग्ने छ । यसका लागि १ खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक रहने छ । आग्नेय (पूर्व दक्षिण) नैऋत्य (दक्षिण पश्चिम) र उत्तरमा स्याटेलाईट सिटी बनाँउन भने ५० ( ५० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने छ । कुल रकमकै ८० प्रतिशत जग्गा प्राप्तीमा खर्च हुने पनि उल्लेख छ । (नयाँ पत्रिका दैनिकबाट)

मध्यपहाडी लोकमार्गपछि अब हुलाकी राजमार्गमा पनि १० नयाँ सहर

काठमाडौं । सरकारले हुलाकी राजमार्गमा १० नयाँ सहर बनाउने भएको छ । मध्यपहाडि लोकमार्गमा निर्माण भइरहेका सहर जस्तै हुलाकी मार्गमा पनि आधुनिक सहर निर्माण गर्न लागिएको हो । सहरी विकास मन्त्रालयका अनुसार हुलाकी राजमार्गको ३ किमी दायाँ बाँयाँ सहर बनाइने छ । जमिनको उपलव्धता, जनसंख्या, जनघनत्व, नोडल जक्सन, आर्थिक विकासको सम्भावना, गैरकृषि कार्यमा संलग्न जनसंख्या, खानेपानीको स्रोत, बसाईसराई, सरकारी सेवाको अवस्था, सारक्षरता र सडकको पहुँचजस्ता ११ सूचकलाई आधार बनाएर सहर निर्माण गरिने भएको छ । १ हजार सात सय ९२ किमिको यो सडकपूर्व झापाबाट सुरु भएर पश्चिमको कन्चनपुरसम्म पुग्छ । सहरी विकास मन्त्रालयका अनुसार २ वर्षभित्र डीपीआर तयार पार्ने र पाँच वर्ष भित्रमै न्युनतम पूर्वाधार तय गर्ने पनि उल्लेख छ ।

तामाकोशी–५ जलविद्युत् आयोजनाको निर्माण शुरू, १३ अर्ब रुपैयाँ लगानीमा ८७ मेगावाट विद्युत उत्पादन हुने

काठमाडौं । दोलखा जिल्लामा ८७ मेगावाट क्षमताको तामाकोशी–५ जलविद्युत् आयोजनाको निर्माण शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणले तामाकोशी जलविद्युत् कम्पनी खडा गरी केही हप्ता अघिदेखि उक्त आयोजनाको निर्माण शुरू गरेको हो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत्गृहमा प्रयोग भई टेलरेसबाट निस्केको पानीलाई लामाबगरको जगतबाट भूमिगत सुरुङमार्फत सुरीदोभान नजिक अर्को भूमिगत विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादनका लागि आयोजना शुरू गरिएको तामाकोशी–५ का आयोजना प्रमुख नसिव प्रधानले बताए । उनका अनुसार माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोले नै तामाकोशी–५ को पनि भूमिगत इण्टेक बनाउने कार्य थालिसकेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको टेलरेसको पानीलाई ६४ दशमलव ८९ मिटर ट्राञ्जिशन टनेल तथा भूमिगत ‘इण्टर कनेक्शन’ इण्टेक बनाई ५ दशमलव ६ मिटर व्यास भएको ८ दशमलव २ किलोमिटर लामो सुरुङ निर्माण गरी १ सय ६० मिटर हेडबाट ४ ओटा युनिटमा पानी खसाली विद्युत् उत्पादन गर्ने डिजाइन रहेको आयोजना प्रमुख प्रधानले जानकारी दिए । विदेशी कन्सल्ट्याण्ट ल्हामेरले आयोजनामा परामर्श सेवा प्रदान गरिरहेको आयोजनाले बताएको छ । आयोजनाको कुल लागत करीब १३ अर्ब रुपैयाँ रहेको बताइएको छ । स्रोतका अनुसार तामाकोशी–५ प्रतियुनिट विद्युत् उत्पादन लागतका हिसाबले सस्तो आयोजना हो । बाँध निर्माण नगरी तथा न्यून प्राकृतिक क्षति तथा आयोजनाको सम्पूर्ण संरचना भूमिगत निर्माण हुने भएकाले आयोजनाको निर्माण सस्तोमा हुने आयोजनासम्बद्ध कर्मचारीहरू बताउँछन् । आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर)अनुसार २५ मेगावाट क्षमताको ४ ओटा युनिट जडान गरिने योजना रहेको छ । आयोजनाको प्रवर्द्धक तामाकोशी जलविद्युत् कम्पनीको प्रबन्धपत्रअनुसार दोलखालीले पाउने १० प्रतिशत शेयरसहित विपन्नलाई २ प्रतिशत शेयर सुनिश्चित गरिएको आयोजना प्रमुख प्रधानले जानकारी दिए । आयोजनाबाट साविकको गौरीशङ्कर, लामाबगर, लादुक, बुलुङ, खारे, ओराङ र सुरी गरी ७ गाविसलाई प्रत्यक्ष असर पुग्ने बताइएको छ । उत्पादित विद्युत्लाई १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत माथिल्लो तामाकोशीको सबस्टेशनमा जोडिनेछ ।