४२ मेगावाट बिजुली त्यत्तिकै खेर, वैकल्पिक उर्जा प्रवर्धन केन्द्र तथा सामुदायले अनुदानमा निर्माण गरेका आयोजनाको विजुली खेर
काठमाडौं २१, असोज । राज्यको ९० प्रतिशतभन्दा बढी अनुदानमा बनेको लघु तथा साना जलविद्युत आयोजनाबाट उत्पादित ४२ मेगावाट बिजुली उपयोग हुन नसकी खेर गइरहेको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्र तथा सामुदायले निर्माण गरेका यस्ता आयोजनाबाट उत्पादित बिजुली साँझ केही घन्टा बत्ती बाल्ने प्रयोजनमा मात्र सीमित भएको छ । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालका अनुसार स्वतन्त्र रुपमा सञ्चालित साना तथा लघु जलविद्युत आयोजनाबाट उतपादित उक्त परिमाणको बिजुली राष्ट्रिय प्रसारण लाइनमा आवद्ध हुन नसक्दा उपयोगहीन भएको हो । राष्ट्रिय प्रसारण लायन विस्तार भएका विद्युत प्राधिकरणको सञ्जालमा भने बिजुली अपुग भई हाल दैनिक आठ घण्टा लोडसेडिङ भइरहेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट।
मेची राजमार्गको दमक–रबि सडक निर्माणका लागि थप बजेटको माग
काठमाडौं, २० असोज । मेची राजमार्गको विकल्पका रुपमा अगाडि बढाइएको दमक–चिसोपानी–रबि सडक (फाल्गुनन्द मार्ग) निर्माणका लागि थप बजेट उपलब्ध गराइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले सडक निर्माणका क्रममा पक्की ढल, ब्रेष्ट वाल, ग्राभेलिङ, रिटेनिङ वाललगायत निर्माणका लागि ५० करोड रुपैयाँ उपलब्ध गराउन माग गरेको हो । दमक–चिसोपानी–रबि सडक (फाल्गुनन्द माग) निमार्ण उपभोक्ता समितिका अध्यक्ष रेवतीराज पुरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सुरक्षाका कारण निर्माण कार्यलाई अगाडि बढाउन कठिनाइ भएको भन्दै तत्काल अस्थायी प्रहरी चौकी स्थापना गर्न पनि माग गरेको छ । विकास निर्माणका कार्यलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसँग छलफल गरेर अगाडि बढ्ने बताए। प्रनिनिधिमण्डलमा सहभागी सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले बहुआयामिक विशेषता बोकेको सडकलाई अगाडि बढाउन सरकारको सहयोग आवश्यक भएको बताए । त्यसैगरी, नेकपा (एमाले) नेता तथा पूर्वमन्त्री अग्नि खरेलले पूर्वको विकास र त्यहाँको आर्थिक उन्नतिका लागि महत्वपूर्ण मानिएको सडक निर्माणका लागि सबैको एकमत भएकाले त्यसमा सहयोग आवश्यक भएको बताए । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरीले २५ वर्ष बितिसक्दा पनि सडक निर्माण कार्य सम्पन्न नभएको भन्दै यस क्षेत्रका १२ लाखभन्दा बढी जनसङ्ख्यालाई प्रत्यक्ष सुबिधा हुने सडक सम्पन्न गर्न ध्यान दिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । उनका अनुसार कूल ४० किलोमिटर लम्बाइको उक्त सडक निर्माणका लागि एक अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्छ । त्यसका लागि यसै आर्थिक वर्षका लागि प्रधानमन्त्रीसँग रकम मागिएको हो । रासस
३९ करोड विनियोजनमा भारत र चीन जोड्ने लोकमार्गको निर्माण तीव्र गतिमा
पर्वत, २० असोज । करिब एक दशकदेखि अलपत्र बनेको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको निर्माण तीव्ररुपमा अघि बढेको छ । राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको भारत र चीन जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको छ । लोकमार्गअन्तर्गत सदरमुकाम कुश्मादेखि स्याङजाको मिर्मी सम्मको करिब ६८ किलोमिटर सडक खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको हो । उक्त सडकखण्डमा ट्र्याक खोल्ने, सडक चौडा बनाउने, तारजाली हाल्ने, कल्भर्ट बनाउने, नाली काट्नेलगायतको कामले तीव्रता पाएको छ । उक्त खण्डको स्तरवृद्धि गर्न ३९ करोड रुपैयाँ विनियोजन भइसकेको छ । सो सडकखण्डको काम २०७४ असारभित्र सम्पन्न गर्नेगरी दुई ओटा निर्माण कम्पनीमार्फत काम भइरहेका छन् । अहिले मिर्मी–रानीपानी खण्डमा काष्ठमान्डप निर्माण कम्पनी र रानीपानी–कुश्मा खण्डमा सूर्य कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका छन् । सडकको स्तर १० मिटर फराकिलो बनाइनुका साथै मोड तथा ग्रेड सुधार र ह्युम पाइप, कल्भर्ट निर्माण गर्नु मुख्य रहेको सूर्य कन्स्ट्रक्सन प्रालिका सञ्चालक आरके थापाले जानकारी दिए। कालीगण्डकी लोकमार्ग दक्षिणमा रहेको पूर्वपश्चिम राजमार्गबाट प्रारम्भ भई तीन अञ्चल नौ जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाकासम्म जोडिएकाले यस क्षेत्रको विकासका लागि मेरुदण्डका रुपमा लिइएको छ । लोकमार्गको निर्माणपश्चात् यस क्षेत्रको गरिबी निवारणमा ठूलो सहयोग पुग्ने पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले बताए । रासस