नेपालगञ्ज विमानस्थलकाे निर्माण कार्य तीव्र, लक्ष्यमा पुग्न साढे १२ अर्ब चाहिने

बाँके । गुरुयोजनाअनुसार नेपालगञ्ज विमानस्थलको निर्माण कार्य तीव्र पारिएको छ । राँझा विमानस्थलबाट विमान उडान शुरु भएको चार दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो । विसं २०१७ मा खजुरामा स्थापना गरिएको विमानस्थललाई विसं २०३० मा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगञ्ज विमानस्थलमा सेवा शुरू भएको हो । तराईको पुरानो र व्यवस्थित नेपालगञ्ज विमानस्थलले अन्तर्राष्ट्रिय मापदण्डमा पुग्न अझै दुई दशक कुर्नुपर्ने भएको छ । त्यसका लागि अहिलेबाटै काम शुरु भइसकेको छ । यतिबेला विमानस्थलको रनवे विस्तारको काम धमाधम भइरहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगञ्ज आएर ठूला जेट विमान उडाउन मिल्ने गरी नेपालगञ्ज विमानस्थलको विकास र विस्तार गर्न निर्देशन दिइसकेका छन् । नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको २० वर्षे गुरुयोजनामा यसको विकास र विस्तारका लागि सन् २०४० सम्म कुर्नुपर्नेछ । त्यत्ति बेलासम्म अहिलेको विमानस्थलको आकार झण्डै दोब्बर हुनेछ भने पूर्वाधार पनि त्यही अनुरुप थपिनेछन् । ठूला जेट विमान उड्नसक्ने महत्वकाँक्षी योजना छ । गुरुयोजनामा चार चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ । लक्ष्यमा पुग्न जग्गा अधिग्रहणबाहेक रु १२ अर्ब ५० करोडको लागत लाग्ने अनुमान रहेको विमानस्थल प्रमुख ठाकुरले बताए। उनले योजनाअनुसार काम भइरहेको बताउँदै विमानस्थललाई सुधारको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । सन् २०२३ सम्म सम्पन्न हुने पहिलो चरणका लागि झण्डै दुई अर्बको बजेट छ । पहिलो र दोस्रो चरणको काम शुरु भइसकेको छ । सन् २०३० सम्म सम्पन्न गर्ने दोस्रोचरणका लागि सबैभन्दा बढी बजेट साढे रु ६ अर्बको बजेट छ । त्यसैगरी सन् २०३५ मा सम्पन्न हुने तेस्रो चरणमा सवा दुई अर्बको बजेट छ । चौथो चरणमा पौने दुई अर्बको लागतमा सम्पन्न गर्ने लक्ष्य छ । दैनिक ४० सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलमा झण्डै एक हजार १०० यात्रुलाई दैनिक सुविधा पुगेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरुयोजनाअनुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्छ । हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुनेछ । यसका लागि डुडुवा नालालाई ३०० मिटर टाढा सार्ने योजना बनाइएको छ । ‘चार चरणमा काम सक्ने योजना छ,’ विमानस्थल प्रमुख ठाकुरले भने, “पहिलो चरण र दोस्रोचरणका काम अहिले धमाधम भइरहेका छन् ।” रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै शुरु हुने उनले बताए । डिपिआरले दोस्रोचरणका लागि सन् २०२५ भित्र थप रू दुई अर्ब ८ करोडको लगानीमा विमानस्थल विस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटेको छ । अन्तर्राष्ट्रियस्तरको विमानस्थलका लागि डिपिआर अनुसार नै काम अगाडि बढाउँदा लामो समय सम्पूर्ण उडान बन्द गरेर काम गर्नुपर्ने हुनसक्छ । डिपिआर स्वीकृतिपछि सरकारसँग लगानी माग गरिनेछ । त्यसैगरी तेस्रो र चौथो चरणको काम भने झण्डै २० वर्षको लक्ष्यलाई प्रक्षेपण गरिएको छ । प्राधिकरणका अनुसार, तेस्रो चरणको कामले नेपालगञ्ज विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनेको देखिने छ । जसमा रु सात अर्ब ४० करोड खर्च हुने अनुमान छ । नयाँ योजना अनुसार, नेपालगञ्ज विमानस्थलको रनवे तीन सी क्याटागाेरी अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटागाेरीमा दुई हजार ४४५ मिटर लामो रनवे बनाइनेछ । त्यसो गर्दा हाल एटिआर विमान उडान गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजना अनुसार काम भए आगामी दुई दशकभित्र एयरबस जस्ता ठूला जेट विमान पनि सहजै उडान गर्नसक्ने विमानस्थल तयार हुनेछ । हाल ६ वटा मात्र विमान अटाउने पार्किङमा नौ वटा ठूला (साना ११) वटा विमान पार्किङ गर्न सकिनेछ । नेपालगञ्जबाट सबैभन्दा धेरै उडान काठमाडौँं हुन्छ । नेपाल एयरलाइन्स, बुद्ध, यतिलगायतका विमानले उडान भरिरहेका छन् । प्राधिकरणका अनुसार अहिले दैैनिक एक हजार ५०० जनाले हुम्लाको सिमकोट, मुगुको रारा, जुम्ला, बाजुरा, रूकुमलगायतका जिल्लामा उडान भर्दै आएका छन् । रासस

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण सम्पन्न

काठमाडाैं ।  बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत सडकको मुख्य लेनको दुवैतर्फ पुल निर्माणको काम शुरु गरिएकामा एउटा अघिल्लो वर्ष नै सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । अर्काे दिशातर्फको पुल निर्माणको काम सकिएको र त्यससँग जोडिएका थप काम बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पुल निर्माण सकिएपछि सो स्थानमा सडक कालोपत्र गर्न, पुलमा रङरोगन र बत्ती जडान गर्न बाँकी रहेको छ । निर्माण व्यवसायीले केही समयमै रङरोगन र सडक कालोपत्र गर्ने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । उनले भने, “अबको केही समयमै पुल सञ्चालनमा आउनेछ ।” पुल निर्माण सम्पन्न हुँदै गर्दा पुलमा कस्तो बत्ती जडान गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ । आकर्षक र बढी लगानीमा निर्मित पुल भएकाले पनि हेर्दा आकर्षक बत्ती जडान गर्न चाहेको आयोजनाले जनाएको छ । ठेक्का सम्झौतामा भने सामान्य बत्ती जडान गर्ने उल्लेख थियो । निर्माण व्यवसायीले सम्झौतामा उल्लेख भएभन्दा फरक बत्ती जडान गर्न थप रकम माग्ने गरेको उनले बताए। सरकारले चार वर्ष पहिले धोबीखोला पुल र वाग्मती पुलमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माणको जिम्मेवारी दुई फरक ठेकेदार कम्पनीलाई दिइएको थियो । तीनकुनेस्थित वाग्मती पुलको निर्माण लामो समयदेखि ठप्प भए पनि धोबीखोला पुलको निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । एउटै ठेक्कामा सडकको दायाँबायाँ दुवै पुल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । वाग्मती पुलको निर्माण लामो समयसम्म अघि बढेको थिएन भने निर्माण हुँदा पनि डिजाइनअनुसार नभएको भनी सरकारले निर्माण रोकेको छ । त्यहाँ रहेका सबै अवरोध हटिसकेकाले अहिले ठेकेदार कम्पनीलाई काम गर्न कुनै बाधा छैन । शुरुका दुई तीन वर्ष विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको थियो । ठेकेदारको ढिलाइका कारण मात्रै नभएर विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ । देशभर निर्माण भइरहेका अरु पुलमा आफैँले डिजाइन गरेर ठेकेदार कम्पनीलाई त्यहीअनुसार काम गर्न ठेक्कामा दिइने गरिएकामा यस पुलमा डिजाइन समेत ठेकेदार कम्पनी आफैँले गरेको इञ्जिनीयर श्रेष्ठले बताएका छन्। आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख भएको उनले जानकारी दिए । “ठेक्का अवधि शुरु भएपछिको पहिलो डेढवर्ष डिजाइनमा नै सकिएको थियो”, उनले भने, “त्यसपछिको डेढवर्षमा पनि त्यहाँ रहेका संरचना नहट्दा उनीहरूले सरासर काम गर्न पाएका थिएनन् ।” सडक पुल निर्माण गर्ने स्थानमा खानेपानी, बिजुली, ढललगायत संरचना नहट्नुले ठेकेदारले सरासर काम गर्न नपाएको उनको भनाइ छ । सडकमा रहेका संरचना सम्बन्धित निकायले हटाउनुपर्ने भए पनि पटक/पटक ताकेता गर्दासमेत नहटाएकाले काममा ढिलाइ भएको उनको दाबी छ । आयोजना आफैँले यहाँका संरचना हटाएर काम गर्ने स्थान खाली गरेको थियो । नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त रहेको इञ्जिनीयर श्रेष्ठले बताए । अरू पुलमा भार बहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ । अरू सामान्य प्रविधि (आरसिसी) भन्दा पुल हेर्दा सुन्दर देखिने र लामो आयु हुने उनले बताए । उनले भने, “अरू पुलको औसत आयु ५० वर्ष भएकामा यसको एक सय वर्ष हुन्छ ।” माइतीघरदेखि भक्तपुर सडक विस्तारको काम केही वर्ष पहिले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सम्पन्न भएको थियो । जाइकाले पूरै सडक ६ लेनको निर्माण गरेपनि धोबीखोला र वाग्मती पुल चार लेनका थिए । सडक चौडाइ कम भएकाले यी पुल र नजिकैका सडकमा दैनिक जाम हुँदा यात्रु र चालक हैरान छन् । के हो नेटवर्क आर्क ब्रिज ? ‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हुन्छ । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ । यसलाई निर्माण गर्दा शुरुमा खोला र खोल्साको वारिपारि सडकको चौडाइ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ । यो ‘अब्युटमेन्ट’ पुलको भार थेग्ने प्रमुख संरचना हो । आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच/बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिन्छ । र, माथिल्लो भागमा बाङ्गो आकारका आर्क राखिन्छ । आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधि भन्दा सजिलो छ किनभने खोलाको बीचमा पिल्लर ठड्याउनु पर्दैन, जसका कारण कम खर्चिलो पनि छ । विश्वका विकसित देशको प्रविधि नेपाल भित्र्याउने उद्देश्यले यस पुलको निर्माण शुरु भएको आयोजनाले जनाएको छ । पुलको माथिल्लो भागमा अर्धवृत्ताकार संरचना निर्माण गरिएको छ । बीचमा बलिया तार जडान हुने र तिनका बीचमा दलिन राखिने श्रेष्ठले बताए । उनले भने, “नेटवर्क तारले पुलको भारवहन क्षमता तल र माथि गरेर सन्तुलन ल्याउनेछ ।” यो पुल निर्माणका लागि वि.सं ०७१ पुसमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । जेई कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मेवारी पाएको थियो । पुल तीन वर्षमा सक्नेगरी पहिलो पटक ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अवधिमा सम्पन्न नभए पनि पुल निर्माणमा सोही ठेकेदारलाई म्याद थप गर्दा काम सम्पन्न हुने भन्दै आयोजनाको सिफारिसमा सरकारले आगामी पुस सम्मका लागि एक वर्ष अवधि थप गरेको हो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ । रासस

गोदावरी सडक १६ मिटर चौडाइको बनाइँदै

काठमाडाैं । ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक १६ मिटर चौडाइको हुने भएको छ । तत्कालका लागि सडकमा आवश्यक अरू पूर्वाधारको निर्माण नगरी सो चौडाइमा सडक निर्माण गर्न लागिएको हो । सडकको कालोपत्र अहिले गरेपछि पैदलयात्रु मार्ग, ढललगायतका पूर्वाधार आगामी दिनमा निर्माण गरिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । २० मिटरको मापदण्ड भए पनि त्यसलाई कम गरेर पनि सडक निर्माण अघि बढाउन स्थानीयवासी, गोदावरी नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभाका संसद्बीच सहमति भएको थियो । सो सडकमा कालोपत्र मापदण्डानुसार नै हुने आयोजनाका इन्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । २० मिटरमा १६ मिटरमा कालोपत्र भएपछि अरू संरचना भने भविष्यमा निर्माण गर्ने गरी निर्माण अघि बढाइनेछ । सडकको चौडाइकै विषयमा विगतमा निर्माण व्यवसायी र स्थानीयवासीबीच विवाद भएको थियो । उनले भने, “जनप्रतिनिधिमार्फत समस्या समाधान भएकाले अहिले काम अघि बढाउने वातावरण बनाइएको हो ।” स्थानीयवासीले घरसँगै जग्गाको मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन विगतका वर्षमा भौतिक प्रगति कम थियो । सडक मापदण्डभित्र पर्ने १२० घर सर्वाेच्च अदालतको निर्णयका कारण भत्काउन सकिएको थिएन । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको आयोजनाले जनाएको छ । यो सडक निर्माणको ठेक्का आयोजनाले आशिष सी एम जेभी र लामा समानान्तर जेभी गरेर दुई ठेकेदार कम्पनीलाई दिएको छ । ठेक्का अवधि आगामी वर्ष कात्तिकमा सकिँदैछ । यो सडक जस्तै उपत्यकामा १० सडक निर्माणाधीन छन् । तीमध्ये अधिकांशमा जग्गा र घरको मुआब्जा विवादका कारण सम्झौता अवधि सकिँदा वा थोरै समय बाँकी हुँदा पनि भौतिक प्रगति कम छ । ठेक्का सम्झौताको लामो समय बितेको भन्दै अहिले आयोजनाले जनप्रतिनिधिसँगको समन्वयमा काम अघि बढाइरहेको छ । रासस