रसुवागढी नाका पुस १७ गतेदेखि सञ्चालनमा आउने, चीन-नेपाल व्यापार फेरि सुरु हुने

काठमाडौं । चीनसँगको मुख्य नाका रसुवागढी आगामी पुस १७ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार रसुवागढीमा बेलिब्रिज निर्माण सम्पन्न भइसकेको छ । २४ असारमा आएको बाढीले मितेरी पुल बगाएपछि नाका पूर्ण रूपमा अवरुद्ध भएको थियो र सडक सम्पर्क समेत विच्छेद भएको थियो ।  नेपाल सरकार र चिनियाँ सरकारको द्विपक्षीय पहल तथा समन्वयमा बेलिब्रिज निर्माण पूरा गरी यसको भार बहन क्षमता र अन्य प्राविधिक परीक्षण पनि सकिएको रसुवा प्रशासनले जनाएको छ । चिनियाँ समकक्षी पक्षले पनि नाका सुचारु हुने जानकारी दिएको छ । यसैबीच, नाका सञ्चालनका लागि ड्राइपोर्टमा गाडी पार्किङ र सामान भण्डारण व्यवस्था समेत पूरा गरिएको छ ।  रसुवागढी नाका बन्द हुँदा चीनसँगको व्यापार मुस्ताङको कोरला र सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै सर्नु परेको थियो । तर, तातोपानी नाकासमेत बाढी र पहिरोका कारण लामो समय बन्द भएपछि व्यापार प्रभावित भएको थियो ।  यसले चाडबाडको समयमा चीनबाट नेपाल आउने सामान रोकिनु र व्यापारीलाई ठूलो नोक्सानी भोग्नुपर्ने स्थिति सिर्जना गरेको थियो । रसुवागढी नाका पुनः खुल्दै गर्दा नेपाल-चीन व्यापार र मालसामानको आवागमन फेरि सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । ६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आइतबार बिहान ७ः०० बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् ।      रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ समकक्षीले जानकारी पठाएको जानकारी दिए ।      गत असार २४ गते अगाडि सामग्री ल्याउन केरूङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत केरूङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताए ।       ल्हेन्देखोला मितेरीपुल बाढीले बगाउँदा असारदेखि नै व्यापार व्यवसाय बन्द हुँदा गत वर्षको तुलना यस अवधिमा भन्सार शुल्कबापत उठ्ने राजस्व २० अर्ब रुपैयाँ नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए ।      ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन  सुक्खा बन्दरगाह क्षति हुनुका साथै रसुवागढी स्याफ्रुबेँसी १६ किमी सडक विभिन्न स्थानमा नदिले कटान गरेको थियो ।   

रिज लाइन इनर्जीको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । रिज लाइन इनर्जीले आज पुस १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ११ करोड ८५ लाख रुपैयाँको ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र गोरखाका अजिरकोट गाउँपालिकाका सबै र लमजुङको दुधपोखरी गाउँपालिका–१, २, ३ र दोर्दी गाउँपालिका(४, ५ र ६ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।  यस्तै, सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४२ हजार २०० कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई छुट्याइएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा माघ १२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानीयले रिज लाइन इनर्जी आयोजना कार्यालय गोरखा, प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।