टक्सार पिखुवा खोला हाइड्रोले फागुन २७ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १२ करोड रुपैयाँको १२ लाख कित्ता आयोजना प्रभावित क्षेत्र भोजपुराका स्थानीय बासिन्दालाई छुट्याएको छ । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता सेयर श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपाली, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोष र ६० हजार ६१३ कित्ता सेयरमा कर्मचारीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत १७ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा चैत २६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय भोजपुर, प्रभु बैंकको भोजपुर, प्याउली, हटुवागढी र सिटिजन्स बैंकको भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

नौविसे–नागढुंगा सडक अन्तिम चरणमा, ३५ दिनभित्र कालोपत्रे सक्ने

काठमाडौं । धादिङ जिल्लामा निर्माण भइरहेको नौविसे नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।  नौविसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकाअनुसार नौविसे नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माण गर्नुपर्ने थियो । सोही बमोजिम आयोजनाले धेरै काम सम्पन्न गरी सकेको छ । आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गनुपर्नेछ । अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम शुरु गरिने आयोजनाले जनाएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ ।  आकाशे पुल निर्माण हुने खानीखोला क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाई भएको छ । आकाशे पुल निर्माण लगायत मुख्य कामहरु ३५ दिनभित्र सक्ने आयोजनाको दाबी छ । सडक निर्माण स्थानीय वासिन्दासँग जोडिएको विषय भएकाले सडक निर्माणको क्रममा एउटै विषयमा समाज विभक्त हुँदा निर्माणमा समस्या हुँदै आएको छ ।  अकाशे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई सार्ने काम सकिएकाले पनि कामले  गति लिने विश्वास आयोजनाले लिएको छ ।  सगुन कन्टक्सनका प्रवन्ध निर्देशक शहदेव खड्का निर्वाचनका कारणले निर्माणमा केही ढिलाई हुने बताउँछन् । यसअघि सडकमा रहेका विद्युत पुलका कारण पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो । २०७९ बाट निर्माण शुरु गरिएको आयोजना तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।   

मर्स्याङ्दी जलविद्युतको मर्मत सम्भार धमाधम, फागुन २२ गतेदेखि सुचारु गर्ने

काठमाडौं । तनहुँको आँबुखैरेनीमा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँध, सुरुङ, पावरहाउस लगायतका संरचना मर्मत सम्भार कार्य धमाधम भइरहेको छ ।  ६९ मेगावाट क्षमताको सो जलविद्युत केन्द्रबाट अहिले विद्युत् उत्पादन ठप्प भएको सो केन्द्रले जनाएको छ । गत फागुन २ गतेदेखि २२ दिनसम्मका लागि विद्युत् उत्पादन बन्द गरी मर्मत कार्य अघि बढाइएको केन्द्रका कर्मचारी शैलेन्द्र भट्टले जानकारी दिए ।  कालीगण्डकी लगायतका विभिन्न आयोजनाबाट मिस्त्री, मजदुर झिकाएर मर्मत कार्य थालिएको हो । उनले भने, ‘बाँधमा बालुवा थुप्रिएका कारण सफा गर्न र गेट भत्किने अवस्थामा पुगिसकेकाले निर्माण कार्य थालिएको हो ।’ सुरुङ र अन्य संरचनाहरूको मर्मत सम्भार गर्नुपर्ने भएको थियो । उनले भने, ‘कार्यालयबाट पूर्व सूचना दिएर आउँदो २२ गतेसम्म उत्पादन बन्द गरिएको हो ।’  फागुन २२ गतेदेखि सो आयोजनाको विद्युत् उत्पादन सुचारु गर्ने योजना रहेको सो केन्द्रले जनाएको छ । वि.सं २०४२ देखि सञ्चालन गरिएको मर्स्याङ्दी जलविद्युत आयोजनाको तीन टर्वाइनबाट ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।