तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन, लेदो बगेको स्थानमा ‘डाइभर्सन’ गरियो
काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो । अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा ‘डाइभर्सन’ बनाएर आज बिहानदेखि राजमार्ग सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो । सुक्खा पहिरोका कारण डाइभर्सन तथा अवरोध हटाउन केही समस्या भएको इञ्जिनियर योगेशले बताए । यस्तै, रोशी–१२ माम्ती क्षेत्रमा सुक्खा पहिरो खसिरहेकाले शनिबार पनि अवरोध पन्छाउन नसकिएको उनले बताए । 'सुक्खा पहिरो रोकिएपछि अवरोध हटाउँदै राजमार्ग सञ्चालनमा ल्याइएको छ', उनले भने। यही कात्तिक १३ गतेदेखिको अविरल वर्षाका कारण राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा खस्ने तथा लेदोसहितको पहिरो खसेर चौकीडाँडा–नेपालथोक सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक माथिबाट निरन्तर सुक्खा पहिरो खसेकाले बिहीबार रातिदेखि यातायात सञ्चालनमा रोक लगाइएको इञ्जिनियर योगेशले जानकारी दिए । उनका अनुसार बिहीबारदेखिको अविरल वर्षाले नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, बिरुवाडाँडा डालाबेँसी, नार्के, चारसयबेँसी, घुमाउनेलगायत स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर राजमार्गका विभिन्न भाग अवरुद्ध भएका थिए । यसअघि उक्त राजमार्गमा मनसुनको जोखिमका कारण पटकपटक सवारी सञ्चालनमा रोक लगाइँदै आइएको थियो । गत वर्षको असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडक बगाएको थियो । 'सडक बगेपछि खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो', उनले भने । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइएको जनाएको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।
काठमाडौंको फोहोर संकट : मन्त्री घिसिङले गरे बञ्चरेडाँडा अनुगमन
काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा गम्भीर संकट निम्तिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गरेका छन् । उपत्यकाका सडकहरू फोहोरले दुर्गन्धित हुँदै गएको अवस्थामा मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापन सम्बन्धित अधिकारीहरू तथा स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्न बञ्चरेडाँडाको अनुगमन गरेका हुन् । यो अनुगमन उपत्यकाको दैनिक जीवनलाई प्रभावित पारिरहेको फोहोर संकटलाई केन्द्रमा राखेर समाधानको बाटो खोज्ने प्रयासको रूपमा लिइएको छ । काठमाडौं महानगरपालिका र अन्य स्थानीय तहहरूबाट दैनिक १ हजार २ सय टनभन्दा बढी फोहोर उत्पादन हुने उपत्यकामा सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता सिमित हुँदै गएपछि बञ्चरेडाँडा ल्याण्डफिल्डलाई वैकल्पिक स्थलको रूपमा विकास गरिएको थियो । तर विगतका वर्षहरूमा यस साइटसँग जोडिएका विभिन्न समस्याले गर्दा फोहोर व्यवस्थापन पूर्णरूपमा प्रभावकारी हुन सकेको छैन । मन्त्री घिसिङले अनुगमनका क्रममा साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे विस्तृत जानकारी लिएका छन् । स्थानीयहरूले फोहोर विसर्जनले हुने वातावरणीय प्रदुषण, पानीका मुहानहरूको असर, स्वास्थ्य जोखिम र सडक अवरोध जस्ता समस्याबारे चिन्ता व्यक्त गर्दै आएका छन् । २०७९ भदौमा स्थानीयहरूले सडक अवरोध गरेपछि फोहोरका गाडीहरू नै बाटोमै रोकिएका थिए । जसले उपत्यकामा फोहोर थुप्रिने संकट निम्त्याएको थियो । अहिले पनि पुरानै स्थिति दोहारिएको छ । २०८० मा भएको एक अध्ययनले बञ्चरेडाँडा क्षेत्रमा फोहोरका कारण माटो र पानीको प्रदुषण बढेको देखाएको थियो । जसले स्थानीय किसानको कृषि उत्पादनमा असर पुर्याएको छ । स्थानीयहरूले विगतमा सरकारसँग १८ बुँदे सहमति गरे पनि ती कार्यान्वयन नभएको भन्दै पटकपटक विरोध प्रदर्शन गरेका छन् । असोज २०८२ मा भएको छलफलमा पनि सहमति जुट्न सकेन । जसले गर्दा फोहोर विसर्जनमा अवरोध सिर्जना भएको थियो । यी समस्याहरूले गर्दा उपत्यकाको फोहोर व्यवस्थापन दिगो हुन सकेको छैन । स्थानीयहरूले स्वास्थ्य जाँच, मुआब्जा तथा पूर्वाधार विकासको माग गर्दै आएका छन् । अनुगमनका क्रममा मन्त्री घिसिङले फोहोर छुट्याउने प्रक्रियालाई कडाइका साथ लागू गर्न र स्थानीयहरूसँगको सहमति कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
दक्ष जनशक्ति नहुँदा नागढुङ्गा सुरुङ सञ्चालनमा आएन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्ने
काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ । सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भएता पनि दक्ष जनशक्ति एवं सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन । मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) तोकिसकेको छ । सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको कार्य बोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ संचालन एवं मर्मत कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो । सेवा प्रदायकले पाँच बर्षको सुरुङ मार्ग संचालन तथा मर्मत गर्ने छ । यस अवधिमा पर्याप्त मात्रामा विदेशी विज्ञहरुबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङ, फास्ट ट्रयाकजस्ता संरचनाहरू स्वदेशी जनशक्तिबाटै संचालन गर्न सहज हुने देखिन्छ । सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ । यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ । सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।