म्याग्दीमा खानेपानी, सिंचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२\८३ मा खानेपानी, सिंचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयले ३४ वटा खानेपानी, ४ वटा नदी नियन्त्रण, २९ वटा सिंचाइ, विपद्का ४ र ऊर्जातर्फ २ वटा योजना कार्यान्वयनमा ल्याएको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ४३ वटा योजनाको ठेक्का लगाएको र बाँकी योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए । ‘प्रदेश सरकारको निर्देशनअनुसार यस वर्ष सबै योजना ठेक्का प्रतिस्पर्धाबाट कार्यान्वयनमा लगिएको छ’, उनले भने, ‘गत वर्ष सुरु भएका दुईवटा योजना निर्माण सकिएका छन् ।’ रत्नेचौर लिफ्ट खानेपानी र मंगला गाउँपालिका–४ को बुकेनी सिंचाइयोजना निर्माण सकिएको हो । सबै योजनाहरूका लागि पुँजीगततर्फ ११ करोड ६८ लाख बजेट विनियोजन भएको छ ।  खानेपानीतर्फ स्रोत सुनिश्चितता भएका १२, क्रमागत १०, मर्मतसम्भार ७ र सर्वेक्षणसम्बन्धी ४ योजना छन् । नदी नियन्त्रणतर्फ कुल १ करोड बजेट भएको पोखरेबगर, सिम, तातोपानी संरक्षण र ठाडोढुंगा पहिरो रोकथाम योजना छन् । सिँचाइतर्फका ११ वटा योजनाको स्रोत सुनिश्चितता, १३ वटा क्रमागत र ५ वटा मर्मतसम्भारसम्बन्धी योजना छन् । 

मुग्लिङ–पोखरा सडक : पूर्वी खण्डको काम ९५ प्रतिशत सम्पन्न

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको छ ।  पूर्वी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफल पर्छ । ४१ किलोमिटर लम्बाइ रहेको सडक खण्डको बजार क्षेत्रमा ६ लेन विस्तार गरिएको छ । मुग्लिङ– पोखरा सडकको पूर्वी खण्डको काम चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेशन कम्पनी लिमिटेडले गरिरहेको छ ।  सडक निर्माणमा सबै क्षेत्रको सहयोग भएका कारण निर्माणमा सहज भएको आयोजना निर्देशनालय (ए.डि.बी) का प्रमुख चुडाराज ढकाल बताउँछन् । मुग्लिङ–पोखरा सडक खण्ड नेपालकै नमूना सडक भएको आयोजना निर्देशक ढकालको भनाइ छ ।  मुग्लिङ–पोखरा सडक खण्डको पूर्वी खण्डमा चार लेनको सडक र रंगरोगनको काम सकिएको आयोजनाले जनाएको छ । यस सडक खण्डमा ५६ वटा पहिलो रहेका छन्, यि मध्ये १८ वटा पहिरो विशेष प्रकारका रहेका र यिनीहरुको अध्ययन भइरहेको छ । पूर्वी खण्डमा पर्ने मादी पुल निर्माणको ८० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीसँग २०७७ माघ १७ मा सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको थियो । मुग्लिङ–पोखरा सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नतिको थालनी गरिएको थियो ।   

पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

काठमाडौं । चालु आर्थिक वर्ष (आ.व.) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत पनि खर्च हुन सकेको छैन । जेठ १५ मा सरकारले चालू आर्थिक वर्षका लागि ४ खर्ब ७ अर्ब बराबर विकासका लागि बजेट छुट्टाएको थियो ।  महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुँजिगत शीर्षकमा छुट्टाइएको बजेटमध्येबाट फागुन १७ सम्ममा ७५ अर्ब ८३ करोड ४३ लाख मात्रै खर्च भएको छ । यो खर्च उक्त शिर्षकमा १८.५९ प्रतिशत मात्रै हो । सरकारले चालु आ.व.को आठ महिना बित्न लाग्दा समेत १ खर्ब पनि विकास बजेट खर्च गर्न नसकेको यो तथ्यांकले देखाएको छ । निर्माणको गति अघि नबढेका कारण अहिले पुँजीगत खर्च हुन नसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । उनकाअनुसार काम गर्ने समयमा सरकारले ठेक्का तोडेका कारण कामहरु प्रभावित भए भने अहिले मुख्यगरी काम नहुनुको कारण आर्थिकदेखि मजदुर अभाव रहेको बताए । अध्यक्ष सिंहले भने –‘विकास बजेट खर्च नहुनुको कारण एउटा कारण श्रमिक अभाव हो । अहिले काम गर्ने माहोल पनि छैन । जेनजी आन्दोलनपछि अस्थिरताका कारण पनि काम भएको छैन । अहिले अर्थमन्त्रालयले पनि विकास बजेटलाई खुम्चाउने प्रयास गरिरहेको छ ।’ अध्यक्ष सिंहले अहिले नेपालमा मजदुर अभाव पनि चर्किदै गएको बताएका छन् । अर्थतन्त्र चलायमान नहुँदा निर्माणसँगै धेरै क्षेत्रहरु प्रभावित भइरहेको उनको भनाइ छ । उनकाअनुसार निर्माण क्षेत्र मात्रै पनि चलायमान हुने हो भने अरु धेरै क्षेत्रहरुमा गतिविधिहरु बढ्नसक्ने भएकाले सरकारले यसलाई ध्यानमा राख्न जरुरी छ ।