खोपको लाइनबाटै कोरोना संक्रमित भएर अस्पताल आउने बढे

काठमाडौं । सरकारले संचालन गरिरहेको खोप अभियानमा सहभागी भएकाहरु केही दिनमै संक्रमित भएर अस्पताल आउन थालेको सरुवा रोग विशेषज्ञ अनुप बास्तोलाले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक समेत रहेका बास्तोलाले खोप लगाउन जाँदा सुरक्षा मापदण्डहरु नअप्नाएको कारण मानिसहरु संक्रमित भएर अस्पताल आउन थालेका बताएका हुन् । ‘पछिल्लो समय खोप लगाएका मानिसहरु संक्रमण भएर अस्पताल आउन थालेका छन् । लाइनमा बसेर मापदण्ड नअप्नाएका कारण मानिसहरु खोप लगाएको ६९७ दिनमा संक्रमित भएर आउन थालेका छन्’, बास्तोलाले भने । उनले सबैलाई खोप लगाउँदैमा कोरोना लाग्दैन भन्ने भ्रममा नरही सुरक्षा मापदण्ड अप्नाउन आग्रह गरेका छन् ।

बुधबार २ हजार ८३८ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ८३८ जनामा स‌क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा भने आज ६९७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । आज ८ हजार ७१५ जनाको पिसिआर र ३ हजार ९०१ जनाको एन्टिजेन्ट विधि मार्फत परीक्षण भएको थियो ।  

कोरोना विरुद्धको खोप लिन निगमको जहाज चीन जाँदै

काठमाडौं । चीन सरकारले अनुदान स्वरुप दिएको कोरोना विरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज राति चीन जाँदैछ। बुधबार राति ११ बजे जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज राति चीन प्रस्थान गर्ने जहाज खोप लिएर भोली (बिहीबार) दिउँसो २ बजे नेपाल आइपुग्ने कार्यतालिका छन्। त्यसैगरी भोली राति ११ बजे फेरि सोही जहाज बाँकी खोप लिन चीन जाने भएको छ । चीनबाट अनुदानसहित ४८ लाख डोज खोप नेपाल आउने निश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप नेपाल ल्याइ​सक्ने तयारी छ। पछिल्लो समय चीनले थप १८ लाख डोज खोप अनुदानमा दिएको छ। गएको असार २५ गते आठ लाख मात्रा खोप नेपाल ल्याइएको थियो।