ललितपुरमा साउन ४ र ५ गते जाेनसन एण्ड जाेन्सनकाे खोप लगाइने
काठमाडौं । ललितपुर जिल्लामा साउन ४ र ५ गते जाेन्सन एण्ड जाेन्सनकाे खाेप लगाइने भएकाे छ । ललितपुर महानगरका जनस्वास्थ्य प्रमुख खगेश्वार गलालले ललितपुर जिल्लामा ५० देखि ५५ वर्षकालाई जाेन्सन एण्ड जाेन्सनकाे ज्यान्सेन खाेप लगाइने भएकाे जानकारी दिएका हुन् । याे खाेप एक डाेज लगाए पुग्छ । उक्त खोप अति अशक्त र अपाङ्गता भएका व्यक्तिलाई पनि परिचय पत्रको आधारमा दिइने उनले बताए । उनको अनुसार बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइने छ । गलालका अनुसार महानगरले दैनिक १६ हजार जनालाई खोप लगाउने लक्ष्य राखेको छ । उनले सबै वडामा खोप केन्द्र रहेको र त्यही गएर सबैलाई खोप लगाउन आग्रह गरेका छन् ।
काठमाडाैं जिल्लामा भाेलिदेखि ५० देखि ५४ वर्षकालाई खाेप लगाइने (सूचीसहित)
काठमाडौं । काठमाडौं जिल्लामा भोलिदेखि ५० देखि ५५ वर्षकालाई खोप लगाइने भएको छ । काठमाडौं महानगरका जनस्वास्थ्य प्रमुख बद्री बहादुर खड्काले भोलिदेखि ५० देखि ५५ वर्षकालाई जाेन्सन एण्ड जाेन्सन कम्पनीकाे जेन्सन खाेप लगाउने तालिका रहेकाे जानकारी दिएका हुन् । खड्काले साउन ४ गतेबाट ६ गतेसम्म काठमाडौं महानगरपालिकामा रहेकाे २८ खोप केन्द्र र जिल्लामा रहेकाे ५५ ओटा खोप केन्द्र उक्त खाेप दिने बताए । जोन्सन एण्ड जोन्सनको खोप एक डोज लगाए पुग्दछ । उक्त खाेप क र ख वर्गका अशक्त अपाङ्गता भएका व्यक्तिलाई पनि दिइने उनले जानकारी दिए । उनकाे अनुसार बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइने छ ।
दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै
दाङ । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ । ‘एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ ।’ कार्यालायका कोरोना फोकल पर्सन कमल चन्दले भने, ‘स्थानीय तहका १०० बढी स्वास्थ्यचौकी एवं स्वास्थ्य एकाइबाट खोप लगाइने छ ।’ अहिलेसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ । त्यसैगरी जिल्लाभर आठ हजार बढीलाई भेरोसेल खोप लगाइएको छ । जोन्सन एण्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपाङ्गता भएका नागरिकलाई खोप लगाइने जनाइएको छ ।