थप १ हजार ७७५ जना संक्रमणमुक्त, थपिए २ हजार ९३६ जना
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा संक्रमण पुष्टि भएको हो । देशभर हालसम्म २६ हजार ८२७ जना सक्रिय संक्रमित छन् भने शुक्रबार ४३ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा ५४१ जना संक्रमति थपिएका छन् । जसमध्ये काठमाडौंका ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
चीनले अनुदानमा थप १६ लाख डोज खोप दिने
काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा अनुदान स्वरुप उक्त खोप सहयोग गर्ने जनाएकी हुन । राजदुतले चीन सरकारले थप खोप सहयोग गर्ने जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै उक्त कुरा जनाएको हो । यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो भने नेपाल सरकारले थप ४० लाख डोज खोप खरिद गरेको छ । जसमध्ये पहिलो लटमा ८ लाख डोज खोप ल्याईसकिएको छ । यसअघि अमेरिकाले एक डोज मात्रै लगाए हुने जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३० हजार, भारतले ११ लाख डोज र जापानले १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । त्यसैगरी नेपाललाई कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ ।
मौज्दात खोप सकिएपछि रोकियो खोप अभियान
काठमाडौं । काठमाडौंमा चार दिनदेखि जारी कोरोनाविरुद्धको खोप अभियान कार्यक्रम स्थगित गरिएको छ । मौज्दातमा रहेको चिनियाँ खोप सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अर्को सूचना जारी नहुँदासम्मका लागि खोप कार्यक्रम स्थगित भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत अन्य जिल्लामा असार २९ गतेदेखि चिनियाँ खोप भेरोसेल अभियान सञ्चालन गरिएकाे थियो।