भक्तपुरमा भाेली र पर्सी खाेप लगाइने
काठमाडौं । भक्तपुर नगरपालिकामा भोलि र पर्सि (असार ३० र ३१) कोभिड विरुद्धको खोप लगाइने भएको छ । नगरपालिकाकी उपप्रमुख रजीना जोशीले भक्तपुरमा असार ३० र ३१ गते खोप लगाइने जानकारी दिएकी हुन् । उनका अनुसार भेरोसेल खाेप ५५ वर्ष र सो माथिका उमेर समूहका सबै नागरिकलाई लगाइने छ । नगरपालिकाले खाेप केन्द्रकाे लागि सबैलाई नजिकैकाे वडा कार्यलयमा सम्पर्क गर्नको लागि आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार भेरोसेल खाेप विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ । खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ । यस्तै सार्वजनिक यातायातका चालक तथा सहचालकहरूको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप प्रदान गरिनेछ ।
मंगलबार करिब २४ सय जना नयाँ संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २३ सय ९८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा गर्दा २ हजार ३९८ मा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाले ज्यान गुमाएका छन् । हालसम्म सक्रमणमुक्त हुनेको संख्या ६ लाख २३ हजमर १०५ रहेको छ भने मृत्यु हुनेको संख्या ९ हजार ४१२ रहेको छ ।
नेपालले थप साढे १ करोड डोज खोप खरीद सम्झौता गरेको छ: ओली
काठमाडाैं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले थप साढे १ करोड डोज खोप खरीद सम्झाैता गरेकाे बताएका छन् । उनले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै यस्ताे जानकारी दिएका हुन् । ओलीले जोन्सन एण्ड जोन्सनबाट ६० लाख डोज, मोर्डनाबाट ४० लाख डोज, फाइजरबाट ४० लाख डोज र एस्ट्राजेनेकाबाट २० लाख डोज गरी कुल १ करोड ५० लाख खोप खरीद सम्झौता भएको बताएका छन् । यस्तै बालबालिकाहरुलाई लगाउन मिल्ने थप ६० लाख डोज फाइजरको खोप पनि खरीद गर्ने प्रक्रिया सुरु भईसकेको उनले बताए ।