वार्षिक २ खर्ब १७ अर्ब डलरको कोभिड खोप बजार, नेपाल नै ७३ अर्ब ७८ करोड रुपैयाँको
काठमाडौं । सन २०१९ को अन्तिम महिनादेखि देखापरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप तयार भइसकेको छ । खोप निर्माणमा विश्वका महाशक्ति देश अमेरिकादेखि बेलायत, रसिया, भारत, चीन, दक्षिण कोरिया जस्ता देशहरु खोप निर्माण गरिरहेका छन् । भारत र कोरियाले अक्सफोर्ड विश्वविद्यालयको एस्ट्रेजेनेकाको खोप उत्पादन गरिरहेका छन् भने अन्य देशले आफ्नै खोप बनाइरहेका छन् । अहिले विश्वभर फाइजर बायोटेक, मोडेर्ना, एस्ट्रेजेनका (कोभिशिल्ड लगायत), जोन्सन एण्ड जोन्सन, स्पुतनिक–५, सिनोभ्याक्स (भेरोसेल), नोभाभ्याक्स र भारत बायोटेकका खोप प्रयोगमा छन् । कोभिड महामारीले विश्वमा ठूलो परिमाणको जनधनको क्षति पुर्याइसकेको छ । कोभिड महामारीबाट मुक्ति पाउने एकमात्र उपाय यस विरुद्धको खोप हो भन्नेमा अब दुईमत छैन । तर, खोप खरिदका लागि ठूलो परिमाणको धनराशी खर्च गर्नुपर्ने बाध्यता पनि आइलागेको छ । खोप उत्पादक कम्पनीहरुमध्ये केहीले अझै पनि खोपको मूल्य सार्वजनिक गरिरहेका छैनन् । संसारभरकै सरकारहरु खोप किनेर आफ्ना नागरिकलाई लगाउन हतारिएका भएपनि खोपको उपलब्धता र मूल्यमा पारदर्शिता नभएको कारण अन्योलको अवस्था कायमै छ । कोभिड विरुद्धको खोपमध्ये केहीको दुई मात्रा र केहीको एक मात्रा लगाए पुग्ने बताइएको छ । एक पटक मात्रा पुर्याएर खोप लगाएपछि फेरि कति समयपछि खोप लगाउनु पर्छ वा दोहोर्याउनै पर्दैन भन्ने बारेमा पनि यकिन भइसकेको छैन । विश्व बजार २ खर्ब १७ अर्ब डलरको पपुलेसन म्याटर्स डट ओआर्जीका अनुसार अहिले विश्वको जनसंख्या ७ अर्ब ८८ करोड ४९ लाख भन्दा बढी छ । यस्तै, स्टाटिस्टा डटकमका अनुसार १४ वर्षभन्दा कम उमेरको जनसंख्या १ अर्ब २ करोडको हाराहारीमा छ । कोभिड विरुद्धको खोप १२ वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई मात्रै लगाइएको छैन । यो तथ्यांकलाई हेदा विश्वको करिब ७ अर्ब मानिसलाई कोभिड विरुद्धको खोप लगाउनु पर्ने देखिन्छ । बायोस्पेस डटकमले अहिले लगाइरहेको कोभिड विरुद्धका खोपको मूल्य उल्लेख गरेको छ । बायोस्पेस डटकमका अनुसार फाइजरको मूल्य प्रतिडोज १९.५ अमेरिकी डलर, मोडेर्नाको प्रतिडोज २५ देखि ३८ (औसतमा ३१) डलर, एस्ट्रेजेनेकाको प्रतिडोज ५ डलर, जोन्सन एण्ड जोन्सनको प्रतिडोज १० डलर, स्पुतनिक–५ को प्रतिडोज १० डलर, सिनोभ्याक्स (भेरोसेल) को प्रतिडोज ३० डलर र भारत बायोटेकको प्रतिडोज २ अमेरिकी डलर मूल्य रहेको छ । यीमध्ये जोन्सन एण्ड जोन्सनको एक डोज मात्रै खोप लगाए पुग्छ भने अन्य सबै खोप २ डोज लगाउनु पर्छ । एक डोजका दरले मात्रै हिसाब गर्दा पनि विश्वभरका करिब ७ अर्ब मानिसलाई कोभिड विरुद्धको खोप लगाउन १४ अर्ब डोज खोप चाहिन्छ, जसको मूल्य करिब २ खर्ब १७ अर्ब अमेरिकी डलरभन्दा बढी हुन आउँछ । खोपको मूल्य प्रतिडोज औसतमा ३१ अमेरिकी डलरका दरले हिसाब गर्दा २ खर्ब १७ अर्ब अमेरिकी डलर बराबर निस्किएको हो । नेपाल नै ७३ अर्ब रुपैयाँको बजार केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको जनसंख्या करिब ३ करोड छ । यसमध्ये १४ वर्षभन्दा कम उमेर समहुको जनसंख्या करिब ९२ लाख छ । करिब २ करोड जनतालाई प्रतिडोज ३१ अमेरिकी डलरका दरले किनेर दिने हो भने ६२ करोड डोज खोप आवश्यक पर्छ । यो खोपको मूल्य प्रतिडोज ३१ अमेरिकी डलरका दरले आजको विनियमदर (प्रतिडलर ११९ रुपैयाँ) अनुसार ७३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी हुन आउँछ । तर, नेपालले विभिन्न मित्रराष्ट्र तथा छिमेकी दशहरुबाट सित्तैमा पाएको र कोभ्याक्स सुविधा अनुसार पनि निःशुल्क खोप पाएकोले सो बराबरको रकम खर्च गर्नु नपर्ने हुन सक्छ ।
अब खाेपकाे लागि काेही पनि तड्पिनु पर्दैन: प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाविरुद्धको खोपका लागि कोही पनि तडपिनु नपर्ने बताएका छन् । आइतबार कोभिड – १९ युनिफाइड केन्द्रिय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले नेपालीलाई अब खोपको अभाव नहुने बताएका हुन् । ‘भ्याक्सिन हामीले उपलब्ध गराएका छौं, भ्याक्सिन आइराख्या छ । हिजो कि अस्तीको दिन पनि भ्याक्सिन आयो, भोलि पनि भ्याक्सिन आउँछ । त्यसपछि पनि निरन्तर भ्याक्सिन आउँछन् । भ्याक्सिन ल्याउने र जनतालाई उपलब्ध गराउने र गतिसाथ सकेसम्म ठूलो संख्यालाई भ्याक्सिन उपलब्ध गराउने कुरामा अभाव हुन नदिन हामी नयाँ नयाँ सम्झौताका लागि सहमतिका प्रयास गरिराखेका छौं,’ उनले भने । २०२१ को अन्त्यसम्ममा सबैलाई खोप दिने लक्ष्य अनुसार सरकार अघि बढिरहेको पनि उनले बताए ।
अमेरिकाले दिएकाे १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने, एक मात्रा लगाए पुग्ने
काठमाडाैं । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ । उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताए । उनले भने, ‘अमेरिकी सरकारको सहयोगका लागि नेपाल सरकारका तर्फबाट म अमेरिकी सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ राजदूत खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेषित गर्नुभएको पत्रको प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति जो वाइडेनले नेपाललाई अधिकतम सहयोग गर्ने बताएकाे जानकारी दिए । राष्ट्रपति वाइडेनले राष्ट्रपति भण्डारीलाई प्रेषित गरेकाे पत्रलाई उदधृत गर्दै राजदूत खतिवडाले भने, ‘अमेरिकी सरकारले जी–७ को बैठकले पारित गरेको खोपसम्बन्धी निर्णयलाई कार्यान्वयन गर्नेछ ।’ हालै सम्पन्न जी–७ को बैठकले विश्वव्यापीरूपमा खोप वितरणलाई उच्च प्राथमिकतामा राखिने निर्णय गरेको थियो । अमेरिकाका सङ्घीय सरकारका जनप्रतिनिधिमार्फत नेपाललाई खोप उपलब्ध गराउनका लागि समन्वय गर्दै आएका मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारले नेपाललाई हरेक सहयोगमा प्राथमिकतामा राख्दै आएको बताए । ‘कोरोना भाइरसका कारणले नेपालको अवस्था गम्भीर रहेको विषयलाई राजनीतिक तहमार्फत जनप्रतिनिधिहरूसँग निरन्तर समन्वय गर्दै आएकामा पहिलो प्रयास सफल भएको छ’, उनले भने, ‘यो एउटा सामूहिक पहलकदमी हो र सङ्घीय सरकारको नीतिगत व्यवस्थाअन्तर्गत कार्यान्वयन भएको हो, यो मानवीय सहयोगको महत्वपूर्ण पाटो पनि हो ।’ नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् । नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको भनाइ छ ।