बिहीबार १ हजार २८८ ले जिते काेराेना
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप एक हजार २८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उक्त संख्यामा कोरोना संक्रमणमुक्त भएका हुन । यस्तैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार १२२ जनामा गरिएको एन्टिजेन परीक्षणमा १८५५ र ३ हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तैगरी आज काेराेना संक्रमणकाे कारण २४ जनाको मृत्यु भएको छ ।
नेपाललाई खोप खरिदका लागि एशियाली विकास बैंकले १९ अर्ब ८० करोड ऋण दिने
काठमाडाैं । एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । जीवनरक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई सङ्क्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्य मन्त्रालयले भन्योः कोरोना फेरि बढ्यो, स्वास्थ्य पूर्वाधार चुस्त दुरुस्त राख्नु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि कोरोना भाइरसको संक्रमण बढेको बताएकाे छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भयो, यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकेन ।’ अहिले पनि १० जिल्लामा ५ सयभन्दा बढी र २६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्न अनुरोध पनि गरिएको छ ।