निःशुल्क ओपिडी सेवा दिँदै नर्भिक, फोनबाटै नाम टिपाउन सकिने (नम्बरसहित)

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुनेछ । प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ । प्रत्येक साताको शनिवारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन् । प्रत्येक शनिवारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ । नर्भिक अस्पतालले आगामी शनिवारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निःशुल्क ओपिडी सेवा संचालनको घोषणा गरेको छ । यो दिन मधुमेह रोगबाट पीडितहरुले निःशुल्क ओपिडी सेवा लिन सक्नेछन् । नर्भिक अस्पतालका सीइओ मिश्रले प्रत्येक शनिवार अलग अलग विशेषज्ञहरुलाई फ्री ओपिडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् ।

चैतसम्म २ करोड १५ लाख डाेज खोप नेपाल आइसक्छ: स्वास्थ्य मन्त्रालय

सरकारले आगामी चैत सम्ममा २ करोड बढी कोरोना विरुद्धको खोप आइसक्ने जनाएको छ । सोमबार प्रतिनिधि सभा अन्तरगतकाे शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै स्वास्थ्य सचिव लक्ष्मण अर्यालले चैत महिनासम्ममा २ करोड १५ लाखलाई खोप उपलब्ध गराउने रोडम्यापको आधारमा काम गरिरहेको बताएका हुन । उनले आवश्यक खोप किन्नको लागि प्रक्रिया अगाडी बढिरहेको बताउँदै खोपको अभाव नहुने जनाएका हुन । ‘असोज महिना भित्रमा लक्षित समुहका ३३ प्रतिशतलाई खोप दिने र चैतसम्ममा खोप उपलब्ध भएमा सबैलाई २ करोड १५ लाखलाई खोप उपलब्ध गराउन सकिन्छ भन्ने रोडम्यापको आधारमा काम गरेका छौँ’, उनले भने । स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य आपतकालीन केन्द्रका संयोजक डा. गुणराज लोहनीले हालसम्म कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा ३४ लाख ५ हजार १ सय ५४ जनालाई लगाइएको र १४ लाख ३० हजार ४ सय १६ जनालाई दुवै मात्रा खोप लगाइएको बताए । उनले वैदेशिक अनुदानमा चीन सरकारबाट १८ लाख र भारत सरकारबाट ११ लाख मात्रा खोप आएको तथा हालसम्म ५० लाख मात्रा खरिद गरिएको जनाएका थिए । जसमध्ये भारतबाट १० लाख मात्रा कोभिशिल्ड र चीनबाट ३२ लाख मात्रा भेरोसेल खोप किनिएको स्पष्ट पारेका थिए । उनले चीनबाट ८ लाख डोज खोप आउने बाँकी रहेको भन्दै शुक्रबारसम्म नेपाल आईपुग्ने समेत बताएका थिए । असोज मसान्त भित्र थप १ करोड ५ लाख ४८ हजार मात्रा खोप कोभ्याक्स सुविधा अन्तर्गत, वैदेशिक अनुदान र खरिदमार्फत् नेपाल आउने उनले बताए । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने रहेको बताएका थिए । उक्त समितिको बैठकमा उनले सरकारको प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्धता गराउने भएकाले अनुदान, ऋण अथवा किनेरै भएपनि सबै नेपालीलाई खोप उपलब्ध गराइने बताएका हुन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साढे २ कराेड लगानीमा अक्सिजन उत्पादन

देउखुरी । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घ सरकारले उपलब्ध गराएको दुई करोड ५० लाख बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो । दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लािग अक्सिजन आवश्यकपर्ने भएकाले प्रतिष्ठानले प्लान्ट निर्माण गरेको छ । कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आवश्यकपर्ने अवस्था देखिएकाले पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीले जानकारी दिए । यसअघि दाङमा दाङ अक्सिजन उद्योग प्राली भिङनीले अक्सिजन उत्पादन गर्दै आएको छ । उक्त उद्योगले दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गदै आएको छ । अस्पतालको पछिल्लो प्रगतिका बारेमा जानकारी लिँदै उपकुलपति भण्डारीले कोरोनाको नयाँ भेरियन्टको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर प्रतिष्ठानले सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याएएको जानकारी दिए । तेस्रो लहरको सङ्क्रमणको उपचारका लागि पूर्व तयारीका लागि २० शय्याको सघन उपचार कक्ष, ५० श्ययाको हाई डिपेन्डेन्सी युनिट(एचडीयू) र ३० शय्याको आइसोलेशन गरेर १०० शय्या कोरोना सङ्क्रमितका लागि व्यवस्थापन गरिएको डा भण्डारीले जानकारी दिए । अस्पतालका निर्देशक डा प्रज्ञासिंह बस्नेतले बालबालिकालाई लक्षित गरेर सघन उपचार केन्द्रका शय्या थप्ने काम जारी रहेको जानकारी दिए । उनले अस्पतालमा ट्रान्समिटर जडान र फिडरलाइन जोड्नका लागि सम्बन्धित निकायमा पहल गरिदिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई आग्रह गरे । प्रजिअ कुरुम्बाङले प्रतिष्ठानको विकास र विस्तारमा आफ्नो पूर्णरुपमा सहयोग रहने बताए ।