चितवन मेडिकल कलेजमा पोष्ट कोभिडको परामर्श र उपचार शुरु

चितवन । कोभिड सङ्क्रमितको उपचारमा अग्रणी चितवन मेडिकल कलेज (सिएमसि)ले पोष्ट कोभिडको परामर्श र उपचार सेवा शुरु गरेको छ । कोभिड सङ्क्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालको महत्वपूर्ण विभागका प्रमुखहरुको नेतृत्वमा सेवा शुरु गरिएको हो । वरिष्ठ छाती रोग विशेषज्ञ तथा सघन उपचारका प्रमुख डा.शितल अधिकारी, डा. वसन्त गौली, मनोरोग विभागका प्रमुख डा.शैलेन्द्र अधिकारी र फिजियोथेरापीका प्रमुख ऋषिकेश साहको विशिष्ट टोलीद्वारा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म परामर्श तथा उपचार सेवा दिन थालिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले कोभिड १९ को सङ्क्रमण निको भएर घर गएका र घरमै आइसोलेशन बसेर निको भएकाहरुमा पोष्टकोभिडको समस्या देखिएकाले यो सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार कोरोनाको दोस्रो लहरमा धेरै सङ्क्रमितलाई श्वास प्रश्वासको समस्या परेको थियो । अस्पतालमा आउने अधिकांशलाई सघन उपचार कक्ष र एचडियुमा राखेर उपचार गरिएको थियो । उनले भने, ‘अधिकांशलाई अक्सिजनको सहायताले उपचार गर्नु परेको थियो ।’ श्वासप्रश्वाससँगै सक्रमितहरुमा ज्वरो आउने, शरीर दुःख्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने जस्ता लक्षण देखिएका थिए । ती सङ्क्रमित निको भएपछि पोष्टकोभिडको समस्या देखिन थालेको उनले जानकारी दिए । उनले भने, ‘बिरामीहरुको समस्यालाई उच्च मूल्याङ्कन गरेर चितवन मेडिकल कलेजले पोष्ट कोभिड उपचार तथा परामर्श सेवा सञ्चालन गरेको हो ।’ पछिल्लो समयमा कोरोना सङ्क्रमित भई निको भएका बिरामीहरु कोभिड सङ्क्रमण मुक्त भएको लामो समयसम्म पनि, शारीरिक समस्या हुने, शरीर दुःख्ने/पोल्ने, हात खुट्टा गल्ने, छाती दुख्ने, छिटो छिटो थकानको महशुस हुने जस्ता समस्या देखिने गरेको छ । त्यसैगरी निद्रा नलाग्ने, मानसिक रुपमा कमजोर हुने, उच्च रक्तचाप, हिड्दा बढी स्वाँस्वाँ हुने र सास फेर्दा असजिलो महशुस हुने जस्ता विभिन्न समस्याहरु देखा पर्ने गरेको प्रा.डा.न्यौपानेले जानकारी दिए । साधारणतया कोरोना सङ्क्रमित मध्ये करिब ३० प्रतिशतलाई केही न केही पोष्ट कोभिडका लक्षणहरु देखिने गरेको उहाँको भनाइ छ । तिनै बिरामीलाई लक्षित गरेर परीक्षण थाालिएको हो ।

थप ४०२० जना संक्रमणमुक्त, साढे ५ लाखले जिते काेराेना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ४ हजार २० जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार संक्रमणमुक्त भएका सगैँ हालसम्म निको हुनेको संख्या ५ लाख ४९ हजार ५८२ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर तथा आरडीटी विधिबाट १३ हजार ३७ जनाको परिक्षण गरिएकोमा उक्त संक्रमित थपिएका हुन् । पीसीआर गरिएका मध्ये १९६३ र एन्टिजेन परीक्षण मार्फत ८०५ जनामा गरि कुल २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट देशभर थप ४४ जनाको कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म  कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजा ६४१ पुगेको छ ।

आयरल्यान्डले नेपाललाई दियो ४०० अक्सिमिटरसहित विभिन्न स्वास्थ्य उपकरण

काठमाडौं । आयरल्यान्ड सरकारले नेपाललाई विविध स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेको छ । युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका ती सामग्री नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपरेजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज(असार ४ गते) बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् । आज हस्तान्तरण गरिएका सामग्रीमा ७२ अक्सिजन कन्सन्ट्रेटर, ४४ थान भ्यान्टिलेटर, १२ थान बिटिएपी मेशिन, ४०० अक्सिमिटरलगायत उपकरण छन् । यसैगरी डेनमार्क सरकारले पनि सोही संयन्त्रमार्फत प्रदान गरेका स्वास्थ्य उपकरण शनिबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । डेनमार्कले २६ थान भेन्टिलेटरसहित अन्य स्वास्थ्य उपकरण प्रदान गरेको छ । त्यस अवसरमा मन्त्री तामाङले महामारीविरुद्ध लड्न समयमै स्वास्थ्य सामग्री उपलब्ध गराएकामा नेपाल सरकारका तर्फबाट दुवै देशका जनता र सरकारप्रति कृतज्ञता व्यक्त गरेका उक्त मन्त्रालयले जनाएको छ । रासस