स्वास्थ्य राज्यमन्त्रीको घोषणाः व्यवसायिक संस्थाबाट बाहिरिने, सरकारी तलब सुविधा नलिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा गरेका छन् । सोमबार एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । उनले मन्त्री पदमा रहँदासम्म आवास, गाडी र भत्ता नलिने बताएका हुन् । उनले सुरक्षाकर्मी बाहेक अरु सुविधा नलिने र हालसम्म संग्लग्न रहेको व्यावसायिक संस्थाबाट पनि बाहिरिने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले आफू व्यवसायिक पृष्ठभूमीको भएपनि समाजसेवाको उद्देश्यले राजनीतिमा आएको र स्वार्थ नबाझियोस् भन्नका लागि व्यवसायिक आवद्धताबाट राजीनामा दिने बताए । शिक्षा तथा स्वास्थ्य क्षेत्रका व्यवसायी श्रेष्ठलाई शेरवहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीका रुपमा नियुक्त गरेको भन्दै देउवा सरकारले आलोचना हुँदै आएको छ । व्यवसायिक पृष्ठभूमीबाटै राज्यमन्त्री भएको भन्दै उनको आलोचना भएपछि उनले सरकारी सेवा सुविधा नलिने उद्घोष गरेका हुन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य रहेका उनी ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनी उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसान र प्याब्सनका पूर्व अध्यक्षसमेत हुन् भने हाल सल्लाहकार छन् । श्रेष्ठको नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि लगानी छ । उनले व्यावसायिक शुरुवातमा भने लिटिल एन्जल स्कूल खोलेर शैक्षिक व्यवसायीका रुपमा परिचय बनाएका थिए । उनी प्राइम कमर्सिंयल बैंकका पूर्व अध्यक्षसँगै मुख्य लगानीकर्ता पनि हुन् । उनको पछिल्लो समय जलविद्युत आयोजनामा पनि लगानी छ । उनी पाँचथर पावर कम्पनी प्रालिका अध्यक्ष हुन् । यस्तै सानीगाड हाइड्रो पावर बझाङ, कालङगा हाइड्रो वझाङ, बुङ्गल हाइड्रो बझाङ, भिजन इनर्जी रामेछाप र माउन्टेन इनर्जी म्याग्दीका पनि उनको लगानी छ । यस्तै, चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा पनि उनको लगानी छ । पोखरामा उनको नयाँ होटल परियोजना सुरु भएको छ । कृषि फार्म, निजी वन विकास लगायत धेरै क्षेत्रमा उनको लगानी छ । यस्तै हाउजीङ तथा रियल स्टेटमा पनि उनको लगानी छ । उनको स्वास्थ्य क्षेत्रमा पनि लगानी छ । नेपालमा निजी अस्पतालमा लगानी गर्न सुरु गरेका श्रेष्ठले यस वर्ष नै ५० करोड रुपैयाँभन्दा बढी लगानीमा पाँचवटा निजी अस्पताल बनाउने तयारी गरेका छन् । उनी महेन्द्रनारायण निधि मेमोरियल सामूदायिक अस्पताल काठमाडौंको ट्रस्टीजको अध्यक्ष हुन् । यस्तै काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पतालकासमेत उनी अध्यक्ष हुन् । अब उनी यी सबै व्यवसायिक संस्थाबाट बाहिरिने भएका हुन् ।

क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण गर्न निर्देशन दिएका छन् । देउवाले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड लागु गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको सीसीएमसीको बैठक सिंहदरबारमा बसेको थियो । उक्त बैठकमा केही देशले कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले प्रधानमन्त्रीले क्यूआर कोड लागू गर्न निर्देशन दिएका हुन् । सकेसम्म छिटो क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण शुरू गर्ने सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले जानएका छन् । स्वास्थ्य मन्त्रालय र सीसीएमसी बसेर एउटा मोडालिटीमा लगेर छिटोभन्दा छिटो कार्यान्वयन गर्ने उनले बताए । क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण नहुँदा नेपालीहरुले दुख पाएका कारण यो सेवा शुरू गर्न लागेको हो ।

आइतबार २ हजार ५६८ जनामा संक्रमण पुष्टि, १८ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । मन्त्रालयका अुनसार ८ हजार ४०२ पीसीआर र ४ हजार २३४ एन्टिजेन विधिबाट परीक्षण भएको थियो । पीसीआर परीक्षणमा १ हजार ९८१ र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५८७ जनामा संक्रमण देखिएको हो । यस्तै आइतबार थप १८ जनाको मृत्यु भएको छ भने २ हजार २० जना संक्रमणमुक्त भएका छन् ।