स्वास्थ्यमन्त्रीको पहिलो निर्णय : बाढीपहिरो प्रभावितलाई कोरोनाविरुद्धको खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन । उनले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए । ‘कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ’, उनले भन, ‘हामी कुराभन्दा काममा विश्वास गर्दछाँै, त्यसैले हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौँ ।’ उनले खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको समेत बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका मन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने बताएका थिए । कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको भन्दै मन्त्री श्रेष्ठले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता रहेको बताए । उनले तेस्रो लहरबाट बालबालिकालाई बचाउन स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एशोसिएशनले उपलब्ध गराउने ३३ करोडको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरेका छन् । यस्तै मन्त्री श्रेष्ठले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ६०० सघन उपचार कक्ष (आइसियु), १०० भेन्टिलेटर, एक हजार ४०० हाइडिपेन्डेन्सी युनिट (एचडियु), २५० बालबालिकाका लागि श्यया थप गर्ने निर्णयमा समेत हस्ताक्षर गरे । पदबहालीका क्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आगामी असोज मसान्तभित्र ३३ प्रतिशतलाई खोप दिनसके सङ्क्रमण नियन्त्रणको नजिकमा पुग्ने बताए । उनले एक करोड १० लाख खोप किन्ने प्रक्रिया शुरु गरिएको समेत जानकारी दिए ।

असार २२ गतेबाट चिनियाँ खोपको दोस्रो डोज लगाईने

काठमाडौं । जेठ महिनामा चिनियाँ खोपको पहिलो डोज लगाएकालाई सरकारले असार २२ गतेदेखि दोस्रो डोजको खोप लगाईदिने भएको छ । गत जेठ २५ गतेबाट काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा (देशभर) ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नाागरिकलाई चिनियाँ खोपको पहिलो डोज खोप लगाईएको थियो । उक्त खोपको पहिलो डोज लगाएका ३ लाख ७० हजार बढी नागरिकलाई २२ गतेबाट दोस्रो डोज खोप लगाईने तयारी भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । विभागले अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत उक्त अवधिमा दोस्रो बुस्टर डोज लगाईने जनाएको छ ।

बिहिबार २ हजार ५१८ जनाले जिते काेराेना

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २ हजार ५१८ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ७ हजार २३५ जनाको पिसिआर र ४ हजार ९९७ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ५७७ जना र एन्टीजेटमाफर्त ८९७ जना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ९१८ पुगेको छ । मन्त्रालयकाे अनुसार पछिल्लाे समय देशभरी संक्रमण दर घट्दै छ ।